भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
मेचीनगर १३, झापा जिल्लाका लेखक, कवि, कलाकार तथा चर्चित व्यक्तिहरूको संस्मरण तथा एघार वटा आफ्नो देशका विभिन्न ठाउँको परिचय समावेश ‘छिचोल्दै बादलका घुम्टाहरू’ पुस्तक पढ्दा दुई चार वर्षमा एक दुई वटा पुस्तक पढ्ने पाठकहरूलाई रमाइलो, आश्चर्य र कतैकतै सुस्केरा हाल्नुपर्ने यात्रा वर्णनहरू पढ्दा पुस्तकको पछिल्लो गाताको तस्बिर हेर्न बाध्य बनाइयो । नेपाली साहित्यका अनेक पुस्तकहरू अध्ययन गरेका नेपाली भाषाकै स्नातकोत्तर सीताराम उप्रेती कसरी राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारी भए जस्तो लाग्छ ! कतै उनी हास्यव्यङ्ग्यकार पो त हुन् कि भन्ने अड्कल काट्न मन लाग्छ ।
‘छिचोल्दै बादलका घुम्टाहरू’ मा एक जना पाठकले ‘आकाश पहेँलो, खाली ठाउँमा कलेजी पोतेको बिरुवाहरूको लाममा राता–पहेँला रङ्ग पोतेको र पश्चिम किनारामा र अक्षरका बिचबिचमा नील–नीलो पोतेको बाट के अर्थ होला दाइ भनेर सोधिहाल्यो । अर्कोले जवाफ दियो, “त्यो त कलाकारलाई थाहा होला ।” अर्कोले थप्यो, “कहीँकहीँ फोटोहरू कतै कतै फोटाहरू लेख्छन्, धेरै ठाउँमा घुम्टीहरू पढेको छु, यहाँ भने घुम्टाहरू छन्, के होला दाइ ?”
मैले भाइहरूको उत्तर नदिई पुस्तक पल्टाउँदै गएँ, प्रथम संस्करण २०७३ माघ आवरण चित्र–आर्शिया शर्मा, कम्प्युटर/कभर डिजाइन– भुँडी पुराण डेस्क धेरै वर्षपछि मात्रै सुन्ने अवसर मिल्यो ‘भुँडी पुराण’ ।
निर्माेही व्यासका ‘बाइस रङ्गी घुम्टाहरू’ मा सीताराम उप्रेतीबारे सरल, विनम्र, सहयोगी स्वभाव एवम् निश्चल र निर्मल हृदय भएका, सबैप्रति सद्भाव सम्पन्न र आँखामा राख्दा पनि नबिझाउने रातीगेडीतुल्य प्रिय प्राणी हुनुहुन्छ भन्ने लेखकको चिनारीले एक झल्कोमात्रै देखेका पाठकलाई फेरि भेटेरै कुरा गरौँ भन्ने लाग्ने नै भयो । तर, मेरो विचारमा लेखकका यात्राका केही संस्मरणले पाठकलाई पनि सँगै भोक प्यास, दुःख र पीडा बोध गरायो । ‘कामाख्या यात्रा’, ‘भोकै तिर्खे जङ्गली यात्रा’ र ‘यात्रामा ज्यानको बाजी’ हेर्दा उमेरमा अनेक अनुभव बटुलेका ज्येष्ठ नागरिकहरूको कथा सुने जस्तो लाग्यो ।
निर्मोही व्यासको चर्चित व्यक्तिहरूको संस्मरण र यात्रा साहित्यबारेका भिन्नता लेख र पाठकहरूलाई व्यासीजीले लेखक उप्रेतीका केही लेखहरू अन्य पत्रपत्रिकामा छापिएका मितिसमेत कोरेर पाठकहरूलाई पूर्व जानकारी दिनुभयो । लामो समयदेखि नेपाली साहित्यको स्वाद लिन नपाएका पाठकहरूको निम्ति समालोचक, टिप्पणीकार वा भूमिका लेख्ने लेखकहरूबारे परिचय दिलाउने समीक्षकको तस्बिर हेर्न पाए हुन्थ्यो भन्ने तृष्णा जाग्नु स्वाभाविक हो ।
बल्लभमणि दाहाल पूर्वी नेपालका भाषा र साहित्यको दृष्टिले बिर्सन नहुने व्यक्तित्व हुनुहुन्थ्यो भने नेपालको कम्युनिस्ट आन्दोलनको सुरुका एक अत्यन्त चर्चित व्यक्ति हुनुहुन्थ्यो । मध्य भागमा उहाँले नेमकिपा र भक्तपुरको कम्युनिस्ट आन्दोलनलाई बिर्सनै नसकिने गुण लगाउनुभएको भुक्तभोगीहरू बताउँछन् ।
‘छिचोल्दै बादलका घुम्टाहरू’ का साहित्यकारहरू र चर्चित व्यक्तित्वहरूका तीन पुस्ताको सम्बन्ध चिनाई दिनमा सीताराम उप्रेतीको सफलता र विषयवस्तुमा गहिरिने बानी राम्रो हो । भवानी घिमिरे एकातिर कलम समात्नु हुन्छ भने अर्काेतिर कहिलेकाहीँ राजनीति र सोम रसतिर लाग्ने कुरो धेरैलाई थाहा नहुन सक्छ ।
‘कवि कुनामा सारथिको अन्त्य’ मा र ‘बाँचुन्जेल लेखेर जानेहरूप्रति’ शीर्षकमा मकवानपुरको चिसापानी गढीमा जन्मेका कवि उपेन्द्र श्रेष्ठ र अन्य साहित्यकारहरू तथा वरिष्ठ समालोचक कृष्णचन्द्र सिंहका रचनाहरू, समालोचनाहरू तथा उहाँका रचनाका विशिष्टता सँगै ८५ वर्षको उमेरमा १७ असार २०६७ मा त्रिपुरेश्वरको अस्पतालमा निधनबारे पाठकहरूलाई जानकारी दिएर लेखकले आफ्ना सहधर्मीहरूप्रति कर्तव्य निभाएकोमा सबै एकमत हुने अनुमान छ । ‘आकाशमा ताराहरू…’ र ‘पहाडको झरना र समुद्रका लहर’ का कथाकार ‘रमेश विकलका तीन पुस्ता’ पनि साँच्चै जानकारीमूलक विषय हो ।
ध्रुवचन्द्र गोतामेका निबन्धहरूबाट प्रभावित लेखक उप्रेतीले गोतामेसँग भेटेर कुराकानी गर्ने ‘नजुरेको साइत’ पाठकहरूले पाए भने ‘दिवङ्गत चार गुरु’ प्रति आफ्नो आदर र सम्मान पनि सदाचार र शिष्टाचारकै विषय हो ।
कवि र निबन्धकार, ‘विमर्श’ पत्रिकाको स्तम्भकार गोविन्द वर्तमानलाई स्वाभिमानी स्रष्टाको …’ रूपमा लिन्छन् र ५५ वर्षभन्दा कम उमेरमा उप्रेतीले ‘बिदाइ’ गर्छन् । अन्य समकालीन लेखक, कवि र पत्रकारहरूसँग उप्रेतीजीको राम्रो उठबस प्रस्ट छ र उस्तै केही ‘राजनीतिक…पात्रहरू’ सँग । ‘बद्री विक्रम र विष्णुलाई सम्झँदा’ शीर्षकमा बडाहाकिमबाट अञ्चलाधीश भएका र ‘साहित्यका विष्णु ‘नवीन’ प्रति पनि लेखक सद्भावना देखाउँछन् । हास्यव्यङ्ग्यकार केशव पिँडालीसँगको सानो भेटघाट र लुसुनको कथालाई आफ्नो मौलिक रचना भनी दिएको ‘रचना फिर्ता गर्नुपर्दा’ का घटनाजस्ता शीर्षक र लेखकहरूको स्वभाव साँचो हो वा हाँसो हो वा व्यङ्ग्य हो थाहा पाउन समय लाग्छ ।
‘छिचोल्दै बादलका घुम्टाहरू’ का लेखक सीताराम उप्रेतीको सरल र शिष्ट लेखाइको निम्ति साधुवाद !
Leave a Reply