भर्खरै :

फ्रेडरिक एङ्गेल्सको सङ्क्षिप्त जीवनी – ४

फ्रेडरिक एङ्गेल्सको सङ्क्षिप्त जीवनी – ४

व्यवसायबाट एङ्गेल्सको मुक्ति
केही दिनपछि एङ्गेल्सले ‘पुँजी’ को एक समालोचना लेखेर ‘पाक्षिक समीक्षा’ ( फोर्टनाइट रिभ्यु) भने पत्रिकामा पठाउनुभयो । तर, पत्रिकाले ‘रुखो’ भनेर फिर्ता पठाइदियो । एङ्गेल्सको भनाइअनुसार वास्तवमा पुँजीपतिहरू ‘पुँजी’ लाई मौनतामा मार्न चाहन्थे । तर, १८६७ को सेप्टेम्बर महिनामा ड्युहरिङले ‘पुँजी’ को आलोचना गरे । युजेव कार्ल ड्युहरिङ हेगेलीय दर्शनको प्रतिक्रियावादी पक्षका समर्थक थिए । उनी बर्लिन विश्वविद्यालयका सहायक प्रोफेसर थिए र जर्मनी सरकारका प्रधानमन्त्री विस्र्माकका समर्थक थिए ।
एङ्गेल्सले १८६८ को जनवरी र मार्च महिनाको बिचमा लेखेका लेखहरूमा ड्युहरिङको आलोचनाको खण्डन लेख्नुभयो ।
माक्र्सले ‘पुँजी’ को पहिलो खण्ड प्रकाशित गरेर सन्तोषको सास फेर्नुभयो । यसले एङ्गेल्सलाई कम खुसी लागेको थिएन । १८६८ को आखिरतिर एङ्गेल्सले आफ्नो व्यवसाय छोड्ने विचार गर्नुभयो । उहाँ त्यस व्यवसायबाट वाक्कै भइसक्नुभएको थियो । त्यसको निम्ति एङ्गेल्स आफ्नो भविष्यको निम्ति चाँजोपाँजो मिलाउन खोज्नुहुन्थ्यो । आफ्नो निम्ति मात्रै विचार नगरेर एङ्गेल्सले माक्र्सको पनि विचार राख्नुभयो । एङ्गेल्सको विचारमा ५–६ वर्षपछि माक्र्स आफ्नै खुट्टामा उभिन सक्नुहुनेछ । उहाँले माक्र्सलाई वर्षको ३५० पाउन्ड दिन सक्ने व्यवस्था गर्न चाहनुहुन्थ्यो । आफ्नो उक्त विचारप्रति माक्र्स सकारात्मक देखिनुभएको एङ्गेल्सले माक्र्सलाई ५–६ वर्षसम्म वर्षको ३५० पाउन्ड आउने र आफ्नो खर्चको पनि व्यवस्था गर्नेतिर लाग्नुभयो । एङ्गेल्सले कारखानाको आफ्नो हिस्सा हिस्सेदार ग्राडफ्रीड एर्मेललाई बेच्ने निश्चय गर्नुभयो । सुरुमा हिस्सेदार मानेको थिएन । एङ्गेल्सले फेरि अर्को त्यस्तै कारखाना खोल्नसक्ने कुरामा हिस्सेदारलाई डर थियो । तर, एङ्गेल्सले अर्को कारखाना नखोल्ने शर्तमा कुरो मिलाउनुभयो । ३० जून १८६९ को दिन एङ्गेल्सले व्यवसायबाट छुटकारा पाउनुभयो ।
१ जुलाई १८६९ मा माक्र्सलाई एङ्गेल्सले लेख्नुभयो– आहा ! आज म व्यापारबाट मुक्त मानिस भएँ । ग्राडफ्रिड (एर्मेल) ले सबै कुरो माने । टुसी र मैले आफ्नो पहिलो मुक्ति दिवस बिहानै अलि परको एक गाउँमा डुलेर मनायौँ ।
‘हिसाबकिताब र वकिलले मलाई केही हप्ता त यहाँ राख्ने नै छ । तर, यसको माने अघिको जस्तो समयको ठुलो बरबादी हुनेछैन ।’ टुसी माक्र्सको कान्छी छोरी एलिनोर थिइन् । उनी त्यसबेला केही हप्तादेखि एङ्गेल्सकहाँ नै बसेकी थिइन् ।
माक्र्सले एङ्गेल्सको मुक्ति दिवसको शुभकामना यसरी लेख्नुभएको थियो– “तिम्रो बन्धन–मुक्तिमा सबभन्दा ठुलो बधाई । यस घटनाको खुसियालीमा एक अर्को ग्लास पिएँ, तर प्रसियन सिपाहीहरूले जस्तो बिहान सबेरै होइन, राति अलि ढिलो गरेरमात्र ।”
एङ्गेल्सको विचारमा ५–६ वर्षपछि माक्र्स आफ्नै खुट्टामा उभिन सक्ने अनुमान गर्नुभएको थियो । तर, पनि एङ्गेल्सले ५–६ वर्षपछि पनि वर्षको कमसेकम डेढसय पाउन्ड माक्र्सलाई पठाइरहने हिसाब गर्नुभएको थियो ।
आफ्ना व्यापारबाट मुक्त भइसकेपछि एङ्गेल्स अध्ययनमा तल्लीन हुनुभयो । त्यसबेला माक्र्स र एङ्गेल्स दुवैको ध्यान आयरल्यान्डको जनताको स्वतन्त्रता आन्दोलनतिर गयो । एङ्गेल्सले आइरिस–आन्दोलनको ऐतिहासिक विकासको राम्रो अध्ययन गर्न थाल्नुभयो । अन्तर्राष्ट्रिय मजदुर सभामार्फत आइरिस जनताको स्वतन्त्रता सङ्ग्रामको समर्थन गर्नुभयो । आइरिस जनताको बहादुरीको प्रशंसा गर्नुभयो र गैरकानुनी तरिकाबाट सजाय पाएका आइरिस देशभक्तहरूलाई आममाफीको निम्ति अपिल गर्नुभयो ।
त्यसैबेला अल्सर र लोरेन प्रदेशलाई लिएर जर्मनी र फ्रान्सबिच लडाइँ हुन लागेको थियो । फ्रान्सका मजदुरहरूले त्यसको विरोध गरे । त्यसले गर्दा फ्रान्स सरकारले मजदुरहरू धमाधम गिरफ्तार गर्दै थियो । अन्तर्राष्ट्रिय मजदुरसभाको तर्फबाट एङ्गेल्स र माक्र्सले प्रशिया (जर्मनी) र युद्धको विरोधमा वक्तव्यहरू दिनुभयो ।
प्रशियाले अल्सर र लोरेन प्रदेश पुरानो जर्मनी साम्राज्यको अङ्ग हो भनेर त्यसलाई फिर्ता लिने हो भने सम्पूर्ण युरोपको नक्सा नै बदल्नुपर्ने हुन्छ । प्रशियाका कति इलाकाहरू अरु देशको थियो । सुरक्षाको दृष्टिले ती दुई प्रान्त प्रशिया चाहन्छ भने दावाको खण्डन एङ्गेल्सले सैनिक दृष्टिबाट नै दिनुभयो– “यदि राष्ट्रिय सीमा आ–आफ्नो देशको सैनिक दृष्टिले हेर्ने हो भने अस्ट्रियालाई प्रशियाको कति भूभाग चाहिनेछ र फ्रान्सलाई कति चाहिनेछ । यदि प्राकृतिक सीमाको निम्ति लडाइँ गर्ने हो भने लडाइँको अन्त हुँदैन र नयाँ–नयाँ लडाइँ सुरु हुनेछ ।”
एङ्गेल्स लण्डनमा
एङ्गेल्स आफ्नो राजनैतिक र सैद्धान्तिक कार्यलाई जारी राख्न लण्डनमा बस्न चाहनुहुन्थ्यो । मेनचेस्टर छोड्नको लागि उहाँले लिजीका आमाबुबालाई मनाउन आवश्यक थियो । आखिर लिजीका आमाबुबाले लण्डनमा जान स्वीकृति दिए । १८७० सेप्टेम्बरको आखिरतिर एङ्गेल्स परिवार मेनचेस्टरबाट लण्डन पुग्यो ।
लण्डनमा उहाँले माक्र्सको आर्थिक र दार्शनिक सिद्धान्तको आधारमा अनेक समस्या र प्रश्नहरूलाई लिएर टिप्पणी र लेखहरू लेख्न थाल्नुभयो । यस अवधिमा एङ्गेल्सले थुप्रै फुटकर लेखहरू लेखे र अनेक खण्डनहरू पनि प्रकाशित गर्नुभयो ।
त्यसबेला युरोपका सहरहरूमा घरको समस्या एक जल्दोबल्दो समस्या हुने गर्दथ्यो । आवास समस्यालाई प्रुँधोले अनेक लेखहरू प्रकाशित गरिरहेका थिए । प्रुँधो एक फ्रान्सेली अर्थशास्त्री र निम्न पुँजीवादी विचारका नेता थिए । उनको पूरा नाम पिएर जोसेफ प्रुँधो थियो । प्रुँधो धनीहरूलाई असल ज्ञान सिकाएर गरिब जनताको दुःख हटाउन चाहन्थे । उनी वर्गसङ्घर्षमा विश्वास गर्दैनथे तर उनको विचारले फ्रान्सको जनतामा असर परिरहेको थियो । यसकारण, उनको दृष्टिकोणको आलोचना गर्नु जरुरी थियो । एङ्गेल्सले १८७२ मा ‘घरको समस्या’ भन्ने लेख लेख्नुभयो । त्यस लेखमा उहाँले भन्नुभयो, “आज पनि घरको अभाव छैन । घर नभएका र एउटै घरमा टनाटन बसिरहेका मानिसहरूलाई थुप्रै घरहरू सहरमा अझै छन् । तर, ती घर मालिकहरूको घरमा तिनीहरूलाई बसाल्नु पर्दछ । सर्वहारावर्गले राजनैतिक शक्ति आफ्नो हातमा लिनासाथै सारा जनताको हितको निम्ति काम गर्नेछ, जो सजिलोसित हुनेछ र राज्यले अरु सम्पत्ति लिएजस्तै घरहरूमा पनि बेघरवालाहरूलाई बस्न दिनुपर्दछ ।”


ड्युहरिङ मत खण्डन
१८७० तिर जर्मनीमा समाजवादी जनवाद (प्रजातन्त्र) को विचारधारा खुब प्रचार भएको थियो । उदारवादी पुँजीवादीहरूको ध्यान त्यतातिर गइरहेको थियो र समाजवादको नामले मजदुरवर्गभित्र अनेक तत्वहरू घुस्न सफल भयो । १८७१ मा एङ्गेल्सले पेरिस कम्युनको स्थापनाको समर्थनमा माक्र्सलाई मनग्य सहयोग गर्नुभयो ।
१८७४ मा सङ्कीर्ण राष्ट्रवादको विरोधमा एङ्गेल्सले भन्नुभयो, “अरु देशका जनतालाई दबाइराख्ने जनता आफैँ स्वतन्त्र हुनसक्दैन ।”
१८७५ को नोभेम्बर महिनामा ड्युहरिङले ‘राजनीतिक अर्थशास्त्र र समाजवादको आलोचनात्मक इतिहास’ भन्ने पुस्तक लेख्नुभयो । त्यसमा उनी आफूलाई समाजवादका समर्थक देखाउन चाहन्थे । तर, त्यसमा उनले माक्र्सवादलाई कडा आलोचना गरेका थिए । ड्युहरिङको प्रभाव जर्मनी समाजवादीहरूमा तीव्ररूपमा फैलियो । आखिरमा एङ्गेल्सले उनको विरोधमा १८७६ को फेब्रुअरी महिनामा कलम चलाउने निश्चय गर्नुभयो ।
१८७६ मे महिनादेखि १८७८ जुलाईसम्म एङ्गेल्सले ड्युहरिङ मतखण्डनको काममा लागिरहनुभयो । आखिर ८ जुलाईको दिन ‘ड्युहरिङ मतखण्डन’ प्रकाशित भयो । पहिले यस पुस्तकका लेखहरू भिन्नाभिन्नै पुस्तिका र लेखहरूको रूपमा निस्केको थियो । त्यसमा प्रस्तावना र परिशिष्टबाहेक दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र र समाजवाद गरेर जम्मा तीन विषयमा विभाजित थियो । त्यो किताब एक खण्डन वा प्रतिवादको रूपमा लेखिएको भए पनि यसले माक्र्सवादलाई सजिलो र राम्रोसँग व्याख्या गरिदिएको छ ।
१८७८ को अक्टोबर महिनामा जर्मनीमा समाजवादीहरूको विरोधमा असाधारण कानुन लागु गरियो । त्यस कानुनले एङ्गेल्सका अरु लेखहरू जस्तै ‘ड्युहरिङ मतखण्डन’ मा पनि प्रतिबन्ध लाग्यो ।
रूसप्रति एङ्गेल्सको आशा
एङ्गेल्स रुसी क्रान्तिकारी गतिविधिबारे जानकारी राख्नुहुन्थ्यो र उहाँ रुसको अद्वितीय लगनशील र सशक्त पार्टीमाथि पनि विश्वास गर्नुहुन्थ्यो । १८७८ देखि १८७९ मा उहाँले लेख्नुभयो, “रुसी क्रान्ति दैलोमा छ र चाँडै क्रान्ति हुनेछ ।” रुसी नेताहरूसँग उहाँको अटुट सम्बन्ध रहिरहन्थ्यो । माक्र्स र उहाँ त्यसबेला रुसमा जारको एकतन्त्रीय निरङ्कुश शासनको विरोधमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति हुनेछ भन्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । १८७८ मे महिनामा उहाँले लेख्नुभयो, “रुसको क्रान्तिले युरोपको परिस्थितिलाई नै बदलिदिनेछ र यो हरेक देशका सर्वहारावर्गको श्रमलाई विश्वव्यापी मुक्ति दिलाउने साझा उद्देश्यको निम्ति एउटा पाइला हुनेछ ।” रुसको आउँदो क्रान्तिलाई उनी संसारको इतिहासमा अर्को मोडको बिन्दु सम्झनुहुन्थ्यो ।
समाजवादः काल्पनिक र वैज्ञानिक
सन् १८८० मा लाफार्जको अनुरोधमा एङ्गेल्सले ‘ड्युहरिङ मतखण्डन’ लाई संशोधन गरी प्रकाशित गर्नुभयो । लाफार्ज फ्रान्सेली मजदुर पार्टीका संस्थापकमध्ये एक र माक्र्सवादको प्रख्यात प्रचारक थिए । सुरुमा ‘काल्पनिक समाजवाद र वैज्ञानिक समाजवाद’ भनेर एक किताबको रूपमा प्रकाशित गर्नुभयो । तर, पछि त्यसलाई ‘समाजवादः काल्पनिक र वैज्ञानिक’ शीर्षकमा एक किताब प्रकाशित भयो । यो किताब युरोपका धेरै भाषाहरूमा अनुवाद गरिए र मजदुरवर्गमा सा¥है लोकप्रिय पनि भयो । एङ्गेल्सकै जीवनकालमा यसको धेरै संस्करणहरू प्रकाशित भएको थियो ।
माक्र्सको समाधिमा एङ्गेल्सको भाषण
माक्र्सकी श्रीमती जेनीको निधन भएको पञ्च महिनापछि कार्ल माक्र्स १४ मार्च १८८३ को दिन बित्नुभयो । जेनीको निधनकै बेला एङ्गेल्सले भन्नुभएको थियो, “अब मुर (माक्र्स) पनि चाँडै बिदा हुनेछ ।” यो भविष्यवाणी पन्ध महिनामै सत्य साबित भयो । १७ मार्च १८८३ को दिन लण्डनको हाइगेट पार्कमा जेनीसँग माक्र्सलाई समाधिस्थ गरियो ।
त्यस अन्तिम समारोहमा विभिन्न देशका क्रान्तिकारी नेताहरू र वैज्ञानिकहरू पनि उपस्थिति थिए । त्यस समारोहमा एङ्गेल्सले माक्र्सको निधनले युरोप र अमेरिकाको लडाकु र ऐतिहासिक विज्ञानले बेहोर्नुपरेको क्षतिलाई नाप्न सक्ने छैन । अब हामी चाँडै त्यस महान् व्यक्तिको मृत्युले पु¥याएको अभावलाई महसुस गर्नेछौँ ।
“अरु कुरो भन्दा पनि उहाँ एक क्रान्तिकारी हुनुहुन्थ्यो । उहाँको महान् उद्देश्य पुँजीवादी समाज र त्यसका राजसंस्थाहरूलाई पल्टाएर सर्वहारा जनताको मुक्तिको निम्ति आवश्यक ज्ञान दिनु थियो । यस उद्देश्यमा उहाँ बडो उत्साहपूर्वक रह्नुभयो ।”
“उहाँका नाम र कृतिहरू सयौँ वर्षसम्म अमर रहनेछन् ।” यसप्रकार एङ्गेल्सले आफ्नो मित्रप्रति सम्मान व्यक्त गर्नुभएको थियो । आफ्नो परम मित्रको प्रिया जेनीको विषयमा पनि एङ्गेल्सले भन्नुभएको थियो, “अरुलाई सुखी बनाउनमै सबभन्दा सुख सम्झने कोही आइमाई छिन् भने उनी जेनी नै हुन् । उनको गुण र उनलाई साथीहरूले बिसर्न सक्ने छैनन् ।”
यसप्रकार एङ्गेल्स आफ्ना मित्र र माक्र्स परिवारप्रति सधँै अविच्छिन्न र अगाध सम्मान र प्रेम राख्नुहुन्थ्यो ।
नयाँ कृति
माक्र्सपछि एङ्गेल्स नै युरोपेली समाजवादीहरूको सल्लाहकार र नेता हुनुभयो । उहाँसँग सल्लाह लिन जर्मनी, स्पेन, रुमानिया, रुस आदि विभिन्न देशका समाजवादीहरू र अनेक नेताहरू आउँथे । माक्र्सको निधनको बेलामा एङ्गेल्स ६३ वर्ष भइसक्नुभएको थियो । तर, माक्र्सले जानुभएका धेरै कामहरू सिध्याउन बाँकी नै थियो । यसकारण, एङ्गेल्सको काँधमै ती सबै काम आएको थियो । पुराना किताबहरूको नयाँ संस्करण निकाल्ने र त्यसमा संशोधन गर्ने काम पनि उहाँले थाल्नुभयो । उहाँले अनुवाद र पुराना कृक्तिहरूको भूमिका मात्रै लेख्नुभएन, नयाँ कृति पनि लेख्नुभयो ।
इतिहासलाई भौतिकवादी दृष्टिकोणले अध्ययन गर्ने कुरा माक्र्सले सम्झनुभएको थियो । तर, यो काम उहाँले गर्न पाउनुभएन । यस सम्बन्धमा १८८४ मा एङ्गेल्सले ‘परिवार, व्यक्तिगत सम्पत्ति र राज्य सत्ताको उत्पति’ भने किताब प्रकाशित गर्नुभयो । पहिले पुँजीवादी लेखकहरू मानव समाजको सुरुदेखि नै शोषण र वर्ग छ भने भ्रमहरू प्रचार गर्थे । तर, एङ्गेल्सको उक्त किताबले त्यस भ्रमलाई मर्मान्तक प्रहार गयो । त्यस किताबमा उहाँले राम्रैसँग मानव समाजको सुरुमा शोषण र वर्ग भने कुरो थिएन भन्ने कुरा देखाइदिनुभयो ।
त्यस किताबमा उहाँले सम्पत्ति र राज्यसत्ताको उत्पति कसरी भयो भने कुरो अनेक पुराना जातिहरूको प्रमाण दिएर लेख्नुभयो । उहाँले त्यसमा आदिम साम्यवादी समाजमा आइमाई पूर्ण स्वतन्त्र थिए भन्ने कुरा राम्रै देखाई दिनुभयो । त्यत्तिमात्र होइन, पुरानो युगमा आइमाई कति क्षेत्रमा अधिकारी पनि थिए आजको पुँजीवादी समाजमा जस्तो आइमाई घरेलु दास थिएनन् भन्ने कुरा लेख्नुभयो । उहाँको ‘परिवार, व्यक्तिगत सम्पति र राजसत्ताको उत्पति’ नामको पुस्तक मोर्गन नामका एक अमेरिकी समाजशास्त्रीको ‘प्राचीन समाज’ मा आधारित थियो । माक्र्सवादलाई बुझ्नको निम्ति यो सा¥है आवश्यक किताब हो । मोर्गनको आदिम साम्यवादमा वर्ग थिएन भन्ने प्रमाण भएपछि एङ्गेल्सले ’मानव समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो’ भन्ने वाक्यमै सम्पत्ति, वर्ग, वर्गसङ्घर्ष, राज्यसत्ता र लिखित इतिहासको पाद टिप्पणी ‘कम्युनिस्ट घोषणा पत्र’ मा एङ्गेल्सले लेख्नुभयो ।


‘पुँजी’ दोस्रो भागको प्रकाशन
माक्र्सले आफ्नो जीवनमा पुँजीको पहिलो भागमात्रै प्रकाशित गर्न पाउनुभएन । उहाँले दोस्रो र तेस्रो भाग पनि लेखेर जानुभएको थियो, तर प्रकाशित गर्न सकिने खालको थिएन । एङ्गेल्सले नै यसलाई पूरा गर्ने जिम्मा लिनुभयो । पूरा एक वर्षसम्म पुँजीको दोस्रो भाग तयार गर्न तन, मन, धनले उहाँ लगाउनुभयो । उहाँले यसमा धेरै थपघट र राम्रो बनाउनुभयो । आखिर १८८५ मा पुँजीका बाँकी भागहरू प्रकाशित भए । यसकारण, पुँजीको दोस्रो र तेस्रो भागको लेखक माक्र्स र एङ्गेल्स दुवैलाई मान्ने गरिन्छ ।
दोस्रो भागको ‘पुँजी’ मा कसरी पुँजीपतिहरूले मजदुरवर्गको ज्याला च्यातेर आफ्नो नाफा बनाउँछन् र कसरी जग्गाधनी, पुँजी लगाउने हिस्सेदारहरू र व्यापारीहरू बाँडेर लिन्छन् भने कुरो देखाइएको छ ।
– माक्र्स र एङ्गेल्स सङ्क्षिप्त जीवनीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *