भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
किन भइरहेको छ जलवायुजन्य विस्थापन, आगामी बाटो के ?
विषय प्रवेश
“मेरा पुस्तक, बाबाका पेन्टिङहरू, मेरो हजुरबाका पालाको छालाले मोरेको पुरानो कुरान र हरेक बिहान बा र मैले ब्रेकफास्ट खाँदा प्रयोग गर्ने सानो फोल्डिङ टेबलजस्ता बिक्री गर्न नचाहेका थोरै सामानहरूलाई हामीले हतारहतार प्याक ग¥यौँ । बाबाको श्रीसम्पत्ति, मैले उत्तराधिकारमा पाउने अंश र मेरो मुटुको एक टुक्रासहितका सबै सबै चिज त्यहीँ छाडिराखेर हामी हिँड्यौँ ।”
खालिद हुसेनको ‘द काइट रनर’ को मुख्य पात्रको परिवार राजनीतिक अस्थिरताका कारण आफूले मेहनतले जोरजाम गरेको सम्पत्ति र सम्झनाहरूलाई चटक्कै छाडेर अफगानिस्तानबाट विस्थापित भएको छ । जलवायु परिवर्तनका कारण विस्थापनमा परिरहेका र लगत्तै त्यही नियति भोग्न बाध्यहरूको पीडा पनि यस्तै हुनेछ । जलवायुजन्य कारणले विस्थापनमा परेकाहरूले घरबास त्याग्नुको पीडा र नौलो परिवेशमा लय मिलाउनुपर्ने चुनौतीका कारण यस्तो भौतिक क्षतिभन्दा पर कठोर स्वास्थ्य समस्या झेल्नुपर्ने हुन्छ ।
संसारको तापक्रम सहजै अनुभव हुनेगरी बढेको छ र खासगरी गएको दशक (२०११–२०२०) निकै तातो रह्यो । वास्तवमा सन् १८०० को तुलनामा हाम्रो पृथ्वीको तापक्रम एक डिग्री सेल्सियसभन्दा बढी माथि गएको छ । अहिले तपाईँ यसै धर्तीमा बस्दै हुनुहुन्छ भने (हामीमध्ये धेरैलाई अर्को विकल्पै छैन) त्यो झनै तातो भएको छ किनभने त्यसको तापक्रम झन्डै १.६ डिग्री सेल्सियसले बढेको छ । यस परिदृश्यलाई हेर्दा तापक्रममा यस्तो तीव्र वृद्धि गत दुई हजार वर्षयता देखिएको थिएन । किन यस्तो भइरहेछ त ? यसो हुनुको मुख्यकारण हो खासगरी कोइला, तेल र ग्यासजस्ता खनिज इन्धन जलाएर वायुमण्डलमा हामीले थोपरेको प्रदूषण । सन् २०१९ तिर आइपुग्दा गत २० लाख वर्षमा पनि नदेखिएको मात्रामा हाम्रो वायुमण्डलमा कार्बनडाइअक्साइड (मुख्य प्रदूषक) देखियो ।
सोही वर्ष हामीले ५९ अर्ब टन हरितगृह ग्यास उत्सर्जन ग¥यौँ जुन हामीले १९९० मा गरेको उत्सर्जनको तुलनामा ५४ प्रतिशतले बढी हुन्छ । यस्तो अत्यधिक गर्मीले मानिसको जीवनलाई प्रभावित गर्ने नै भयो । समुद्र सतह बढ्दै छ । यसले निम्त्याउने थप पोल्ने तातो हावा र लामा लामा खडेरीजस्ता असामान्य मौसम नै हो । परिणामतः खासगरी कमजोर क्षेत्रको ठुलो जनसङ्ख्या आवश्यक खाद्य पदार्थ र शुद्ध पानीका लागि सङ्घर्षरत छ । त्यसका अतिरिक्त उष्ण वातावरणले थप स्वास्थ्य समस्या थपिदिन्छ र दूषित खाना, पानी र लामखुट्टेजस्ता कीटका कारण व्याधि फैलिन्छ ।
हिमालयको काखमा अवस्थित नेपालको शान्त तथा सुन्दर प्रकृति हुँदाहुँदै पनि २०२० ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सका अनुसार जलवायु परिवर्तनका कारण ठुलो जोखिममा रहेका १० राष्ट्रमध्येमा यो मुलुक पर्दछ । यो हाम्रा लागि फगत तथ्याङ्क नभएर दैनिक भोगाइजन्य अनुभव हो । मौसमसम्बन्धी पछिल्ला तथ्यअनुसार पूर्वानुमान गर्न नसकिने मौसमसँग नेपाल कठोरतासाथ लडिरहेको छ । अघिअघि विरलै सुनिने गरेको बाढी, खडेरी र पहिरोले अहिले यथार्थमा नियमित घटनाक्रमको रूप लिइरहेका छन् जसले व्यापक क्षति र विस्थापनलाई उक्साइरहेको छ ।
भर्खरैमात्र अहिलेसम्म अनुभव नगरेको गर्मीको अनुभव हामीले गर्नुपर्यो । पहिले स्थिर रहेका हिमनदीहरू आश्चर्यजनकरूपमा पग्लिरहेका छन् । यस क्रमलाई नियाल्दा नदीमा आश्रित यस मुलुकले भविष्यमा पानीका स्रोतको ठुलो सङ्कट बेहोर्नुपर्ने कहालीलाग्दो सन्देश आइरहेको देखिन्छ । त्यति मात्रै होइन, जलवायुजन्य कारणहरूले नेपालको अथाह जैविक विविधता जोखिममा छ । यसले मुलुकको विशिष्ट प्राकृतिक सम्पदालाई समेत नराम्ररी चुनौती दिइरहेको छ । सारमा भन्दा, नेपाल विकास र जलवायुजन्य जोखिमको चौबाटोमा उभिएका बेला यसका सामु आइरहेका वातावरणीय कठिन चुनौतीहरूलाई विश्वव्यापी चेतावनीका रूपमा लिनुपर्ने देखिन्छ र नेपालको जलवायु सङ्कटलाई विश्वव्यापी चासोको संवाहकका रूपमा संसारले स्विकार्नुपर्दछ ।
स्वास्थ्यजन्य चुनौती
जलवायु परिवर्तनका बृहत्तर चुनौतीहरू र त्यसले स्वास्थ्यमा पार्ने प्रभावसँग विश्व लड्दै गर्दा कमजोर जनसङ्ख्याको विस्थापन र तिनका सामु उपस्थित स्वास्थ्यजन्य चुनौती एउटा सशक्त चासोका रूपमा अगाडि आएको छ । बढ्दो विश्व उष्णीकरणले विषम मौसमी घटनाहरू वृद्धि गर्छ र शुद्ध पानीका स्रोतहरू घटाउँछ जसका कारण करिब १४ करोड ४३ लाख मानिसलाई सुरक्षाका लागि आफ्नो थातथलो छोड्न बाध्य बनाएको छ । यीमध्ये चार करोड दक्षिण एसियाका मात्रै पर्दछन् । सामुन्ने आएको खतराबाट तत्काल उम्कनलाई होस् या बिस्तारै सहर पस्ने क्रम, दुवैले निम्त्याउने बसाइँसराइले मानिसलाई बिरानो वातावरणमा पु¥याउँछ जहाँ प्रायः स्वास्थ्य सेवा पूर्वाधारको अभाव रहन्छ वा पहुँचमा कमी रहन्छ । परिणामतः उनीहरूले तात्कालिक स्वास्थ्य जोखिममात्रै होइन स्वास्थ्य सेवामा जघन्य विभेदको समेत सामना गर्नुपर्दछ ।
मानिसमा गहिरो तनाव, दुश्चिन्ता, उदासीनताजस्ता मानसिक रोगले नराम्ररी क्षति पु¥याउने मात्र होइन बाढी, आगलागीजस्ता प्रकोपका कारण मानिस आत्महत्या गर्ने सोचमा समेत पुग्दछ । अनिश्चित मौसमले बसाइँसराइको मार्ग बदलिदिन्छ जसका कारण मानिस नौला सङ्क्रामक रोगको सिकार बन्न पुग्दछन् । उदाहरणका लागि पशुपंक्षी, खासगरी विषाणु संवाहक मानिने चमेरोले आफ्नो बासस्थान परिवर्तन गर्दछ जसका कारण मानिसमा सम्भावित रोग सर्ने जोखिम बढ्दछ । यस लेखमा जलवायु परिवर्तन, विस्थापन र स्वास्थ्यबिचको जटिल अन्तरसम्बन्धलाई तत्काल एकीकृतरूपले सम्बोधन गर्न आवश्यक रहेको देखाउन खोजिएको छ । जलवायु परिवर्तनका अन्य पाटा र असरहरूलाई यहाँ हेरिएको छैन ।
अर्को एउटा उदाहरण लिऔँ– तापक्रमको वृद्धिले आमाको आफ्नो नानीलाई स्तनपान गराउने बानीमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । जसअनुसार जाडो दिनको तुलनामा गर्मी दिनमा आमाहरूले २५ मिनेट कम दुध चुसाएको पाइयो । चार महिनामाथिका शिशुहरूमा यसको निकै ठुलो असर परेको देखियो । यसका अतिरिक्त ज्यादै गर्मीको समयमा नवजात शिशुलाई दूध मात्रै चुसाउनुको साटो पानीजस्ता अन्य तरल पदार्थ समेत दिने गरेको पाइयो ।
यो किन महत्वको विषय हो त ? सामान्यतः यसलाई एउटा असुविधाजनक अवस्थाको घटना मात्रै हो भनेर पन्छाउन सकिएला तर यसले पार्ने प्रभाव व्यापक हुन्छ । नवजात शिशुलाई खासगरी प्रारम्भिक महिनाहरूमा आमाको दुध मात्रै खुवाउनाले शिशुले आवश्यक पोषक तत्व पाउँछ, रोग लाग्नबाट जोगिन्छ र उसमा प्रतिरोधी क्षमता थपिन्छ । जलवायु परिवर्तनले यस महत्वपूर्ण चलनलाई तलमाथि पा¥यो भने हामी भविष्यको पिँढीप्रति सम्झौता गरिरहेका हुन्छौँ । जलवायु परिवर्तनको असर आमाले शिशुलाई आफ्नो दूध खुवाउने कुरामा मात्रै सीमित छैन । यसले घरभित्रको वातावरणमा समेत दखल पु¥याउँछ । जस्तै, खाना बनाउने क्रममा घरभित्रको हावा प्रदूषित हुन्छ जसको प्रभाव र असर आमा र शिशु दुवैको स्वास्थ्यमा पर्न जान्छ ।
जलवायु परिवर्तनको यस्तो नराम्रो प्रभावलाई सम्बोधन गर्न ढिलाइ गर्नुहुँदैन । यसले गर्ने प्रत्यक्ष क्षतिलाई न्यूनीकरण गर्न त आवश्यक छ नै दिगो र स्वस्थ भविष्यका लागि यसलाई आत्मसात गरेर यस्ता कम बुझिने खाले परिणामलाई पनि बुझ्न र सम्बोधन गर्न जरुरी छ ।
किन जलवायुजन्य विस्थापन ?
जलवायुजन्य विस्थापनमा बढी चासो किन ? अरू प्रकारका विस्थापनले भन्दा जलवायुजन्य विस्थापनले विशेष स्वास्थ्य चुनौती ल्याउँछ । प्रथमतः मौसमको स्तर र यसको पूर्वानुमान गर्न नसकिने अवस्थाका कारण छोटै समयमा धेरै जनसङ्ख्यामा बसाइँसराइ हुने भएकाले तत्काल स्वास्थ्य सेवा पु¥याउन गा¥हो हुन्छ । यस्तो विस्थापन प्रायः त्यस्ता इलाकाबाट हुन्छ जहाँ वातावरणीय कारणबाट पहिले नै स्वास्थ्य सेवा कमजोर अवस्थामा रहेको हुन्छ । दोस्रो, मौसमजन्य घटनाले विशिष्ट किसिमका स्वास्थ्य चुनौती ल्याउँछ† जस्तै– बाढीपछि दूषित पानीबाट लाग्ने रोगहरू फैलिन्छन् भने खडेरीले कुपोषण र खाद्य असुरक्षा निम्त्याउँछ । लामो समय विषम मौसममा रहनुपर्दा शरीरको तापक्रम अत्यधिक बढ्ने र त्यसलाई नियन्त्रण गर्न गा¥हो हुने (हिट स्ट्रोक) जस्ता शारीरिक समस्या मात्रै आउने होइन, आघात तथा चिन्ताजस्ता मानसिक समस्यासमेत आउन सक्दछन् । राजनीतिक वा आर्थिक आप्रवासीभन्दा फरकरूपमा जलवायुजन्य आप्रवासी सांस्कृतिक तथा पुख्र्यौली सम्बन्धका कारण प्रायः प्रभावित क्षेत्रमा फर्कने वा त्यसको समीपमा रहने गर्दछन् जसले गर्दा उनीहरू एकपछि अर्को स्वास्थ्य जोखिमको चक्रमा परिरहन्छन् ।
स्वास्थ्य सेवामा रहेको विभेदविरुद्ध सङ्घर्षरत मुलुक नेपालमा मौसम प्रभावित विस्थापनले असुरक्षालाई थप विस्तारित गर्दछ । यसले पाँच वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकमा आघात पुग्दछ । बालबालिकाको कमजोर प्रतिरोध क्षमता तथा ज्येष्ठ नागरिकको सङ्क्रमणउन्मुख अवस्थाका कारण जीवाणु प्रतिरोधी क्षमता (एन्टी–माइक्रोबायल रेसिस्टेन्स) झन् कमजोर भएर जान्छ । कम आय भएका र वञ्चितिमा परेको जनसङ्ख्या दोहोरो मारमा पर्दछन्– पहिलो जलवायु परिवर्तनजन्य विनाशकारी शक्तिको कुप्रभाव र दोस्रो, त्यसपछिको अवस्थामा स्वास्थ्य सेवामा विद्यमान असमताका कारण भोग्नुपर्ने समस्या । स्वास्थ्य सेवामा विद्यमान विभेदलाई बढ्दो औषधिप्रतिरोधी सङ्क्रमणले झन् बलियो बनाउँछ जसको परिणामले स्वास्थ्य सेवामा रहेको सीमित पहुँचलाई समेत खुम्च्याउँछ ।
नेपालको स्वास्थ्य सेवाको पूर्वाधार जलवायु परिवर्तनका असरहरू झेल्ने दृष्टिले तयारी अवस्थामा पटक्कै छैन । यस मुलुकको भौगोलिक अवस्थाले पनि स्वास्थ्य सेवालाई जटिल बनाएकै छ । यस्तो अवस्थामा नियमितरूपमा आउने बाढीपहिरोजस्ता जलवायुजन्य समस्या थपिँदा प्रकोप व्यवस्थापनको अवस्था कस्तो होला ? यो पूर्वाधारको मात्रै कुरा होइन । नेपालको स्वास्थ्य सेवामा संलग्न अधिकांश जनशक्ति कमजोर ग्रामीण क्षेत्रलाई उपेक्षा गर्दै सहरकेन्द्रित बनेको छ । जलवायु परिवर्तनजन्य बसाइँसराइको दबाब उसै पनि अपुग स्रोतमा पर्न जान्छ जसले स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा झन् खडेरी ल्याउँछ । स्वास्थ्य मन्त्रालयले यसमा अग्रता लिन चाहे पनि अपुग आवश्यक सरसामान तथा जनशक्ति, सञ्चार व्यवस्था र सरकारका अन्य निकायको परिवहनको अवस्थाले विभागलाई बाँधेको छ । स्वास्थ्य क्षेत्रको न्यून बजेट च्यापेर जलवायु परिवर्तनजन्य बसाइँसराइलाई समग्ररूपमा तात्कालिक स्वास्थोपचारदेखि दीर्घकालसम्म रहने मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने चुनौती सानो छैन । नेपालका लागि जलवायुसँग जुध्ने क्षमता र स्वास्थ्य सेवाको व्यवस्था ऐच्छिक नभएर अनिवार्य छ ।
दिगो विकास लक्ष्यको यस समयमा जलवायु परिवर्तन, बसाइँसराइ र स्वास्थ्यबिच जेलिएको चुनौती अरू समयमा भन्दा प्रखर भएको छ । संयुक्त राष्ट्र सङ्घको तत्वावधानमा सन् २०१५ मा अगाडि ल्याइएको दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सबैका लागि अझ उत्तम र दिगो भविष्यको मार्गचित्र प्रस्तुत गर्दछ । यीमध्ये दिगो विकास लक्ष्य १३ ले जलवायु परिवर्तन र त्यसको प्रभावलाई सामना गर्ने वातावरण निर्माणका लागि आह्वान गर्दछ भने लक्ष्य ३ को उद्देश्य सबै उमेर समूहका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने र सुख समृद्धिलाई प्रवर्धन गर्ने रहेको छ । त्यति मात्र होइन, दिगो विकास लक्ष्य १० ले राष्ट्रभित्र र राष्ट्र राष्ट्रबिचको असमानतालाई घटाउने ध्येय राख्दछ ।
यी लक्ष्यलाई जलवायु परिवर्तनका कारण कमजोर जनसङ्ख्याको विस्थापनले प्रत्यक्ष प्रभावित गर्दछ । यी लक्ष्यहरूबिचको जटिल सम्बन्धले हामीले सामना गर्ने चुनौतीको महत्वलाई दर्साउँछ । विश्व समुदाय नै दिगो विकास लक्ष्य प्राप्तिमा लागेका बेला जलवायुजन्य विस्थापन र त्यसले ल्याउने स्वास्थ्य चुनौतीजस्तो गम्भीर मुद्दालाई सम्बोधन नगरी हुँदैन । यसो भए मात्रै कसैलाई पनि पछाडि नछाडी हाम्रो दिगो भविष्यतर्फको यात्रा अघि बढ्ने सुनिश्चित हुन्छ ।
आगामी बाटो
जलवायुजन्य विस्थापन र स्वास्थ्य सेवामा यसले पार्ने प्रभावले बढाएको चुनौती व्यापक छ र त्यसलाई सम्बोधन गर्न तथ्याङ्क सङ्कलनबाट थालिनुपर्छ । अहिलेको हाम्रो काम गर्ने शैलीको कमजोर पक्ष नै समष्टिगत तथ्याङ्कको अभाव हो, यस्तो तथ्याङ्कले मौसमजन्य परिघटना र जनस्वास्थ्यमा त्यसको प्रभावलाई अनुगमन गर्न सघाउँछ । मौसमजन्य अस्वाभाविक अवस्था र प्रभावित रुग्ण जनसङ्ख्या दुवै पत्ता लगाउन उन्नत प्रविधियुक्त निगरानी व्यवस्थाको स्थापना नगरी नहुने विषय हो । यसले विषयवस्तुको हाम्रो बुझाइलाई तिख्खर बनाउने मात्रै होइन कार्यान्वयन लायक तत्परता बनाउनमा समेत सघाउँदछ । अनुकूलन योजना पनि उत्तिकै महत्वको छ– सम्भावित जोखिमका बारेमा समुदायलाई सुशिक्षित गराई स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत समेत उपलब्ध गराइनुपर्दछ । यस्तो योजना अन्तर्राष्ट्रिय सहयोग समर्थित हुनुपर्दछ जसले साँच्चै समस्यामा परेको समुदायले सहयोग प्राप्त गर्न सकेको सुनिश्चित गर्दछ । ठुला राष्ट्रका कारण नेपालले जलवायु परिवर्तनको असमानुपातिक प्रभाव बेहोर्नुपरेको हुनाले पनि ती राष्ट्रले अझ बढी सहयोग गर्नुपर्ने देखिन्छ ।
उच्च जोखिम क्षेत्र नक्साङ्कन गर्न र बसाइँसराइ मार्ग पहिले नै आँकलन गर्न स्थान विशेषको प्रविधि उपयोग गरी नक्साङ्कन गर्ने जस्ता नवप्रवर्तनीय समाधानले हाम्रो पूर्वतयारीलाई बल प्रदान गर्दछ । बसाइँसराइको प्रवृत्तिलाई पूर्वानुमान गरेर हामीले विशेष सक्रियतासाथ स्वास्थ्य सेवाको व्यवस्थालाई सबल पारी समयबद्ध तथा प्रभावकारी सेवा उपलब्ध गराउनुपर्दछ । स्वास्थ्यकर्मीहरू यस सङ्ग्राममा अग्र मोर्चामा रहन्छन् ।
उनीहरूलाई विस्थापित मानिसका विशिष्ट किसिमका आवश्यकतालाई बुझ्ने र तिनलाई सम्बोधन गर्नेसम्बन्धी विशिष्टीकृत तालिम दिइनुपर्छ । यस्तो तालिममा मौसमजन्य परिघटनासँग सम्बन्धित रोग वर्गीकरण, जस्तै हिट स्ट्रोकदेखि लामखुट्टे आदिले सार्ने रोग (भेक्टर वोर्न डिजिज), लाई बुझ्नेजस्ता विषय समावेश गरिनुपर्दछ । कुनै पनि प्रकारको हिचकिचाहट र अनुभवहीनताले अन्ततः अत्यावश्यक सेवा उपलब्ध हुँदैन ।
यस परिप्रेक्ष्यमा नीति निर्माताहरूलाई हाम्रो सुस्पष्ट सन्देश हुनुपर्दछ ः हाम्रो पुस्ताले नयाँ पुस्तालाई छाड्ने बिरासत अल्पकालीन उपलब्धिले होइन, त्यसलाई आउँदो पुस्ताको स्वास्थ्य र भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताले परिभाषित गरिनुपर्दछ । थुप्रै राजनीतिक एजेन्डाभन्दा माथि उठेर दीर्घकालीन समाधानलाई प्राथमिकीकरण गर्नु उपयुक्त रणनीति मात्र होइन, नैतिक अपरिहार्यता पनि हो ।
(गौतम अन्वेषणका प्रबन्ध निर्देशक हुन् र जलवायुपरिवर्तन र जनस्वास्थ्यमा पर्ने असरका विषयमा अनुसन्धान गर्छन् । अन्वेषण जनस्वास्थ्यका विषयमा अनुसन्धान गर्ने संस्था हो ।)
Leave a Reply