भर्खरै :

बौद्ध सम्पदा र सांस्कृतिक पर्व भक्तपुरको सम्यक दान

बौद्ध सम्पदा र सांस्कृतिक पर्व भक्तपुरको सम्यक दान

सम्यक दानपर्व नेपालको बौद्ध धर्ममा ऐतिहासिक एवं सांस्कृतिकरूपले मनाइने एक मौलिक पर्व हो । बुद्ध हुने बोधिसत्वहरूमा नभई नहुने दस पारमिता गुणहरूमध्ये प्रथम (दान पारमिता) गुण पूरा गर्ने मार्ग हो । यो दानपारपिता सम्पन्नपश्चात् दश पारमिता चर्या गरी कालान्तरमा दस पारमिता पूर्ण भइसकेपछि बोधिसत्व बुद्ध हुनेछन् । त्यसैले, नेपालको सम्यक भोजन दानपर्व बोधिसत्व चर्याको प्रथम खुड्किलो हो । यस पर्वमा दान गर्ने दाताले परम्परागतरूपमा स्थापना भएका बौद्ध विहारहरूमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्य बन्देहरूलाई भोजन, अन्न र दक्षिणादि दान गरी मनाउँदै आएको हो । सम्यक दानपर्व पहिला पहिलाका बुद्धहरूको पालादेखि चल्दै आएको बौद्ध धर्मालम्बीहरूको विश्वास रहे तापनि ऐतिहासिक प्रमाणको रूपमा लिच्छवीकालीन धार्मिक राजा वृषदेवको पाला देखि आजसम्म मनाउँदै आएको देखिन्छ । काठमाडौँ उपत्यकामा सांस्कृतिक सम्यक दानपर्व नियमित र ऐच्छिकरूपमा चल्दै आएको छ । काठमाडाँैमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भूको भुइँख्यलमा, ललितपुरमा ५ वर्षमा एकपटक नागबहालमा र भक्तपुरमा प्रत्येक वर्ष नियमितरूपमा यो सांस्कृतिक पर्व चल्दै आएका छन् भने ऐच्छिकरूपमा विभिन्न समयमा सम्यक सङ्घ भोजन दान गरिएको अभिलेख सम्यक दानमा स्थापना गरिने सुवर्ण दीपङ्करहरूको सङ्ख्याले पुष्टि गर्दछ ।
सम्यक दानको महिमाः सम्यक दान धर्ममा पुण्य परिणामको गर्नाको महिमा तथागत बुद्ध बोधिसत्वहरूलाई पूजा गरी आर्य सङ्घलाई भोजन गराई आफ्नो राष्ट्रको गौरव र महत्वले परिपूर्ण बुद्ध शासनको साहित्य सङ्गीत तथा कला संरक्षण संवद्र्धन गर्ने, देश र जनताको हित उन्नति हुने कार्यमा सहयोग प्रदान गर्ने, जनहित कल्याणको लागि सत्पात्र ज्ञानी, गुणी साधु श्रमण आदि अतिथिहरूलाई स्वागत एवं सद्धर्मरूपी सम्यक दानमा सुकिर्ती, त्याग तपस्या गर्नु नै सम्पत्तिको सार्थकता हो । न कि असत्मार्गमा खान पिन, असङ्गत, कुकृत्य कार्यमा अनाहकमा लागी समय बर्बाद गर्ने र मन धनलाई खर्च गरी पिर मर्कामा लिन हुनु ।
नेपाल मण्डलमा सम्यक महादान सम्पन्नको लागि देहायका आठ प्रकारका प्रयोजन साक्षात्कार हुन्छ । सम्यक पर्वको आयोजना र खर्च ठुलो सानो नभई श्रद्धा र पुण्य समान हो । १. तथागतको गुणस्मरण योग्य पूजा २. आत्मभावरुपी स्वार्थ त्यागको निमित्त दान ३. आर्यसङ्घको यथा सत्कार भोजन ४. शान्ति सुरक्षाको निमित्त बौद्ध सङ्घ प्रत्याभूति ५. चित्तवृत्ति सुधार हेतु सद्धर्म चर्या ६. देशको गौरव निमित राज्य प्रमुखको समुपस्थिति र अनुपम कलाकृति ७. दर्शक वृन्दका लागि सद्धर्म यात्रा र ८. दानपतिको श्रद्धाङ्क र विकसित सम्यक महोत्सव । नेपालको बौद्ध संस्कृति अध्ययन एवं अनुसन्धानमा आठ किसिमका सङ्घ भोजन चलिआएको देखिन्छ । जस्तैः क) मूल विहारया सङ्घ भोजन ख) मूल विहारअन्तर्गतका आ–आफ्नो कुटुम्बमा मात्र सङ्घ भोजन ग) १८ विहार सङ्घ सम्मिलित सङ्घ भोजन घ) सम्पूर्ण बहीहरू भेला गरी सङ्घ भोजन ङ) बहीका कुटुम्बहरू मात्रको सङ्घ भोजन च) बही र बिहार समन्वयमा सङ्घ भोजन छ) आ–आफ्नो देश÷प्रदेशको सङ्घ भोजन र ज) देशका सङ्घहरूको एकमत सङ्घ भोजन ।
भक्तपुरमा सम्यक भोजन दानपर्व ने.सं. ७८७ सालमा भक्तपुर चतुर्ब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको थियो । उहाँले सम्यक दान आयोजना गरिएको स्थान भनपा वडा नं. १७ इटाछेँस्थित थथुबही (जयकीर्ति महाविहार) हो । त्यस समयमा थथुबही जीर्ण भएको हुँदा जयरत्नले जीर्णोद्धार गरी थथुबहीको दुईतिर पाटीसहित मूल प्रवेशद्वार र त्यसको भित्रपट्टि एक चैत्यको निर्माण गरी स्थापना गर्नुभएको थियो । उहाँले सम्यक दानपर्व नियमितरूपमा प्रत्येक वर्ष सम्यक दानपर्व आयोजना गर्न करिब ३६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरिएको थियो । जयरत्नपछि उहाँका छोराहरू जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्यरूपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपङ्कर स्थापना गरिएको थियो । नियमितरूपमा सम्यक दानपर्वको लागि व्यवस्था गरिएको ३६० रोपनी जग्गामध्ये करिब २० रोपनीमात्र जग्गा बाँकी रहने गरी राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकालदेखि विभिन्न समयमा जग्गा अधिकरण गरिएको थियो ।
भक्तपुरमा प्रत्येक वर्ष सम्यक भोजन दान गरिने स्थल नःपुखु (गुह्य पोखरी) को पश्चिम जयकीर्ति महाविहार, थथुबहीको परिसर भुइँख्यल क्षेत्र हो । सङ्घभोजन दान गर्न प्रयोग गरिने क्षेत्र/जमीनलाई भोजन गराइने क्षेत्र भएकोले नै उक्त परिसरलाई भुइँखेल (नेपालभाषामा भुइख्यः) भनिन्छ । यस क्षेत्रलाई सुरक्षित गर्न चारैतिर पर्खालले घेरिएको थियो । यसको प्रमाण आज पनि पर्खालको जगका अवशेषहरू भेटिन्छन् । यो भुइँखेल क्षेत्र ने.सं.१०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपङ्करहरू, सुवर्ण देवतासहित लोकेश्वर, देवता लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनि, नमोबुद्ध, जनबहाद्यः बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साङ्गा, थिमि आदि ठाउँमा रहेका दीपङ्कर तथागतहरू उपस्थित गराई थथुबहीदेखि तः पुखु (सिद्धपोखरी) को उत्तरको खुला मैदान, थथुबही परिसर नःपुखुको पश्चिमसम्म (हाल भक्तपुर अस्पताल, नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार कार्यालय, खानेपानी कार्यालय, सरकारी वकिलको कार्यालय रहेको क्षेत्र) मैदानसम्म दीपङ्कर र अन्य देवताहरूको क्रमबद्ध लाइन रहेको थियो । सम्यक दानको दिन भक्तपुरलगायत काठमाडौँ, ललितपुर, बनेपा, साँखु, थिमि आदि ठाउँका बासिन्दाहरू दानमा सहभागी हुने र गुँलाबाजा, दाफा भजन, ज्ञानमाला भजन, धाँबाजालगायतका साङ्गीतिक टोलीको प्रदर्शनीसमेत हुने भएकोले प्रत्येक वर्ष माघ सङ्क्रान्तिका दिन मनाइने ऐतिहासिक तथा सांस्कृतिकरूपले महत्व बोकेको आफ्नै मौलिक पर्व मानिन्छ ।
हाम्रो ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको सम्बन्धमा विभिन्न विद्वान अनुसन्धाता, इतिहासकार, संस्कृतिविद्हरूले आफ्नो लेख प्रतिवेदनहरूमा विशेषरूपमा उल्लेख गरेको पाइन्छ । जस्तैः एक विदेशी अनुसन्धाता एवं संस्कृतिविद् फाडर जोन के लकले (Sir. John K Lock) आफ्नो पुस्तक Buddhist Monasteries या Nepal मा यहाँ अहिलेसम्म बाँकी रहेको बहाबहीको रूपरेखाले बौद्ध दर्शन वाङमय तथा बौद्ध कलाकृतिहरू यतिसम्म समृद्धि रहेको छ भनी अभिव्यक्त गर्नुभयो । “The Malla city of Bhaktapur has reputation of leaving been more of a Hindu city than either Kathmandu or Patan and this is borne out by the status of Baha and Bahis in Bhaktapur . “In Bhaktapur the ceremony is enhanced by a procession of the five main the DIPANKAR images are brought out in procession at the time of samyak ceremony which held every year by Makar Sankranti of Magh there by entrance through the special Panch Buddha gate to Thathu Bahi (Jaya Kirti) functioning there particular ground for the Holy Puja festival N.S. 787 year in memorial sustained.”
भक्तपुरका प्रमुख पाँच दीपङ्कर तथागतका प्रतिमूर्तिहरूलाई सम्बन्धित विहार/बहीबाट वर्षमा २ पटकमात्र बाहिर ल्याई जात्रा गर्ने प्रचलन रहेको छ । त्यसमध्ये माघ १ गते (सङ्क्रान्ति) को दिन पनि हो । भक्तपुरको नियमित सम्यक सङ्घ भोजन दान प्रत्येक वर्ष माघ सङ्क्रान्तिका दिन मनाइने सांस्कृतिक पर्वमा क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतब्र्रह्म महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछेँ जयकीर्ति महाविहार (थथुबही) र भार्वाचो बौद्ध समकृत विहारको दीपङ्कर गरी पाँच दीपङ्कर तथागतहरू एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको कुलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपङ्करहरू) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकिर्तिमहाविहार (थिमि)का उपाध्याय गुरुजु एवं मूलपुरोहित गुरुजुहरूलाई हाम्वजा (तील भोजन) दान गरिने भएकोले माघ सङ्क्रान्तिको दिनलाई नेपालभाषामा हाम्व सङ्क्रान्ति (तील सक्रान्ति) को रूपमा मनाउँदै आएको हो ।
माघे सङ्क्रान्तिका दिन भक्तपुरमा सम्यकदान पर्व यसरी पूजा, स्वागत र दानको कार्यक्रम यसरी सम्पन्न हुन्छ :
बिहान नै थथुबहीमा क्वापाद्यको अगाडि गुरुजुले कलश साधना गरी होम गर्नुपर्दछ । यही समयमा सम्यक पर्वमा आवश्यक दान तथा पूजा सामग्रीहरू भल्या नायोहरूलाई थथुबहीमा व्यवस्थितरूपमा राख्न लगाइन्छ । यसरी सम्यक पर्वका परिवारलाई समयोचित जन परिचालन गरी सम्यक पर्वको परिचय र महत्व सबैलाई बोध गराइन्छ । सम्यक देवताको पालो पर्ने सदस्यको घरमा बिहानै जेतवर्ण महाविहारका शाक्य समूहले सम्यक दीपङ्करहरूलाई सरसफाइ गरी वस्त्र, गहना लगाइदिने गर्छन् । भक्तपुरको सम्यक पर्व व्यवस्थितरूपमा सञ्चालन गर्न सम्यक गुथिका परिवारको अतिरिक्त जेतवर्ण महाविहार, इन्द्रवर्ण महाविहारका थकालि नायो (नाइके) हरूलाई परिचालन गरिन्छ । सम्यक पर्वमा सम्यक गुथिका सदस्यहरूले अत्यावश्यक कार्यको व्यवस्थापन गरी अवस्थाअनुसार अन्य कार्य सम्पन्न गर्न स्वयम्सेवकहरूको सहयोग रहन्छ । सम्यक पर्वमा सम्यक पूजा कार्य सम्पन्न गर्नको लागि सबभन्दा पहिले दीपङ्कर बुद्धहरू लिन जान सम्यक गुथिका थकाली नायोले गुथिका सदस्यहरू चतुब्र्रह्म विहार तधिछेँमा भेला गरी करिब १२.३० बजेभित्र दीपङ्करहरूको स्वागतका लागि विहारहरूमा प्रस्थान गर्छन् । सबभन्दा पहिला क्वाठण्डौँस्थित प्रशन्नशील महाविहार लागा– दीपंकर विहार (द्यः ननी), गोल्मढी टोलको मङ्गल धर्मदीप विहार, झौरबही, चतुब्रह्म विहार (तधिछेँको) दीपङ्कर समेत ३ जना दीपङ्कर बाजागाजासहित लायकू (दरबारस्क्वायर), खौमा– इटाछेँ हुँदै नः पुखु पु¥याइन्छ र त्यहाँ थथुबही र कुथुबहीका दीपङ्करले तीन दीपङ्करहरूलाई मर्यादा क्रमअनुसार अभिवादन गरी स्वागत गरिन्छ । सोही क्रममा ज्येष्ठता क्रम मिलाई भुइँख्यको पूर्वी ढोका पञ्च बुद्ध प्रवेश द्वार तर्फ प्रस्थान गरिन्छ । पूर्वी पञ्चबुद्ध द्वारमा सम्यक गुथिका पालाले दीपंकर तथागत बोक्नेको पाइतालामा अर्ग, पूजा अर्पण पछि ढोगगरी स्वागत गरिन्छ ( नेपाल भाषामा तुति लिचाय्का) । यसरी पाँच दीपङ्करहरूलाई सोहि विधिमा स्वागत सत्कार गरी भुइख्यलमा प्रवेश गराइन्छ । भुइँख्यको दक्षिण भागमा रहेको पूर्व–पश्चिम आसनमा उत्तरामुख हुने गरी क्रमबद्धरूपमा दीपङ्कर बुद्धको विराजमान गराइन्छ । त्यसपछि क्रमशः आमन्त्रित सुवर्ण चैत्य, देवी देवताहरू आसनमा राखिन्छ । सोही क्रममा मूल पुरोहित थपाय्जू, आर्य सङ्घका प्रतिनिधिको रूपमा बज्राचार्य, शाक्यहरू क्रमशः पङ्क्तिबद्ध भएर आसन ग्रहण गर्दछन् ।
आसन ग्रहण प्रक्रिया सम्पन्नलगत्तै सम्यक गुथिका पाला, गुथिका सदस्यहरू चार पाँचजना क्रमशः लामबद्ध भएर दीपङ्कर बुद्ध आसन रहेको स्थानदेखि भूमिशोधन विधिको रूपमा सबैभन्दा अगाडि एकजनाले तगो गां (घण्टा) बजाई घण्टा घोषणा गर्दै जान्छ र उहाँको पछाडि सम्यक गुथि पालाले पूर्ण कलशले जल सिंचन गर्दै जान्छ र उहाँलाई देवछत्रले ओढाई अगाडि बढ्छ । सबभन्दा पछाडि बस्नेले अक्षेताले भूमि पूजा गर्दै सम्यक भोजन दान गरिने भुइँख्यलको सबै भुभागमा भूमि शोधन गरिन्छ । पाँच दीपङ्कर, सुवर्ण चैत्य, देव देवताहरू र मूल पुरोहित गुरुजुहरूलाई सम्यक दान गुथिले भोजन दान गर्दा भूमिमा उब्जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरू (जस्तै कालो/रातो मास, सिमी, राजमा, बोडी, गहत, केराउ, भटमास, तील) का साथै मुलाको तरकारी, नैवेद्य, फलफुल र मिठाई आदि दान प्रदान गरिन्छ । साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ । त्यस्तै सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरू बज्राचार्य र शाक्य वर्गहरूलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ । यस दान दिने कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्त, इष्टमित्र साथीहरूले आ–आफ्नो गच्छेअनुसार दान दिने गर्दछन् । यसरी सम्यक दानपर्वमा दीपङ्कर तथागतको दर्शन, स्वविर आजु, मूल पुरोहितलगायत दानमा सहभागी गृहस्थ भिक्षुहरूलाई दान दिने कार्यमा तपाईँ हामी सबै जना सहभागी हुनसक्छन् । यस्तो पवित्र दिनमा उपस्थित भई पुण्य सञ्चय गर्न हुन र सम्यक दान पर्वलाई हर्षोल्लासका साथ मनाउन सबैलाई सहभागिताको लागि अनुरोध गर्दछौँ ।
पाँच दीपङ्कर तथागतका प्रतिमूर्तिहरू विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन दान गरिने थथुबही (जयकीर्ति महाविहार) परिसरमा दीपङ्कर तथागतको लागि आसनको व्यवस्था, गुह्यपोखरी पश्चिम किनारमा रहेको चैत्यको पुनःनिर्माण एवं अन्य चैत्यहरूको मर्मत सम्भार गरी संरक्षण गरेको सर्वविदित नै छ । यस्तो ऐतिहासिक भुइँखेलमा हाल विभिन्न किसिमका गैरधार्मिक एवं गैरसांस्कृतिक गतिविधिहरूको अनियन्त्रित र अस्वाभाविक क्रियाकलापले भुइखेल क्षेत्र, विहार र चैत्य जस्तो सांस्कृतिक सम्पदाको असुरक्षा बढ्दै जानु ठुलो चिन्ताको विषय बनेको छ । यसले ऐतिहासिकरूपमा मनाउनुपर्ने सम्यक दानपर्वको मौलिकता र अस्तित्वमा आघात पुग्ने कुरा निर्विवाद छ । यस क्षेत्रमा विगत केही वर्षदेखि सरकारी, गैरसरकारी, अर्धसरकारी निकाय तथा क्षेत्रहरूबाट विभिन्न बहानामा अतिक्रमित हुँदै आउनु निन्दनीय छ यसतर्फ नेपाल सरकार, स्थानीय तह, नागरिक समाज, राजनैतिक दल, पत्रकार, इतिहासकार, संस्कृतिकर्मी सबैको गम्भीर ध्यानाकर्षण गर्दछु । यस क्षेत्रको ऐतिहासिकता, धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्रलाई संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो । सरकारी, गैरसरकारी, अर्धसरकारी निकाय तथा क्षेत्रहरूबाट भएको अतिक्रमण तुरुन्त बन्द गर्न र सम्बन्धित निकाय, स्थानीय सरकारबाट यथासमयमा उचित संरक्षणको लागि विहार बही एवं बौद्ध सङ्घ, संस्कृतिविद्, स्थानीय जनसमुदायले जोडदार माग गरिरहेका छन् ।
अन्तमा, भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक बौद्ध चाडपर्वहरूमा प्रत्येक वर्ष मनाइँदै आएको सम्यक दानपर्व हाम्रो आफ्नै मौलिक, ऐतिहासिक जीवित सम्पदाको ज्वलन्त उदाहरणहरूमध्ये एक महत्वपूर्ण पर्व हो । यस्तो ऐतिहासिक एवं सांस्कृतिक धरोहरको रूपमा रहेका मौलिक सम्पदाहरूको संरक्षण संवद्र्धन गरी हाम्रो पहिचानको रूपमा रहेका धर्म, संस्कृति, सम्पदाको जगेर्ना गर्ने कार्यमा सम्पूर्ण भक्तपुरवासीलगायत सबैमा हार्दिक आह्वान गर्दछौँ ।
सन्दर्भ सामग्रीहरू :
१ नेपाःया बौद्ध सांस्कृतिक सम्पदा,
२. नेपाः या बौद्ध सांस्कृतिक सम्पदा

३.सम्यक महादान पर्व सङ्क्षिप्त परिचय

४. विविध पत्रपत्रिकाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *