भर्खरै :

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – ३

पितृभूमि मुक्ति युद्धको ४० औँ विजय दिवस – ३

तेस्रो भ्रमण
साउन ९ – १६, २०५० (July 24 – 31, 1993)

रात्रिभोज
चिया खाएर हामीले प्योङयाङ मैत्री सङ्घको आयोजनामा हुने विदेशी प्रतिनिधिमण्डल र कोरियाली जनताको एक संयुक्त भेलामा भाग लियौँ ।
एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका विभिन्न देशका प्रतिनिधिमण्डलका सदस्यहरू र विदेशसँग सम्बन्धित कोरियाली जनताका सङ्घ–संस्थाका सदस्यहरू त्यस भेलामा उपस्थित थिए ।
पालैपालो विभिन्न देशका प्रतिनिधिहरूले अङ्ग्रेजी र अन्य भाषाहरूमा पितृभूमि मुक्ति युद्धको विजयको ४० औँ वर्षको सुअवसरमा कोरियाली सरकार र जनतालाई बधाई दिए; अमेरिकी साम्राज्यवादको निन्दा र विरोध गरे, कोरियाली जनता, मजदुर पार्टी र सरकारलाई सबै प्रकारको सङ्घर्षमा विजय प्राप्त होस् र सुख तथा समृद्धिमा– उत्तरोत्तर सफलता प्राप्त होस् भन्ने कामना गरे ।
रुसको मुक्ति मोर्चाको प्रतिनिधिले अङ्ग्रेजी भाषामा बडो जोशका साथ भने– “साम्राज्यवादी प्रचारहरूबाट तपाईँहरू नछकिनु होस्, अमेरिकी साम्राज्यवादले हामीलाई डलरले किन्न सक्ने छैन, हामी डलरको पछि लाग्ने छैनौँ । हामीले देखाइदिने छौँ कि हामीले डलरको विरोध कसरी गर्नुपर्छ । हामी आफ्नो देशको स्वतन्त्रता र स्वाभिमानको लडाइँ लड्ने छौँ ।”
मेरो पनि बोल्ने पालो आयो, नेमकिपाको प्रतिनिधिमण्डलको तर्फबा मैले ४० औँ विजय दिवसलाई शुभकामना र बधाईको साथै नयाँ नयाँ सफलताको कामना गरेँ ।
नाचगान र हाँसखेलसमेत भएको त्यस भेलामा मनोरञ्जनपछि सैनिक कार्यमा दुवै आँखा गुमाएका कोरियाली जनसेनाका एक सिपाही र उनका श्रीमतीको जीवनी, भनाइ र गीतले मर्मलाई छोयो ।
त्यो जोडी मञ्चमा आयो । दुवै आँखा नदेख्ने भूतपूर्व सिपाहीले बोले– मलाई आफ्नो देशप्रति गौरव छ र मेरो आँखाले मैले आफ्नो स्वास्नीको मुख हेर्न पाइन । तर, मलाई लाग्छ, मेरी श्रीमती सा¥है राम्रो हुनुपर्छ, किनभने महिलाहरू फूल जस्तै राम्रा हुन्छन् ।
श्रीमतीले भनिन्, देशको रक्षाको निम्ति मरिमेट्ने योद्धाहरूलाई माया गर्नुपर्छ । मलाई पनि कर्तव्यबोध भएरै उहाँको सेवाको निम्ति मैले उहाँसँग बिहा गरेँ । उहाँ सा¥है राम्रो र देशभक्त हुनुहुन्छ ।
पछि लोग्नेले कर्डिन बजाए र श्रीमतीले एक दुइटा गीत गाइन् । गीत पितृभूमि, का. किम इल सङ र प्रिय नेताको बारे थियो ।
यसपालिको सैनिक परेडमा लाखौँ युवा सेनाहरू देखेँ । फेरि केटीहरू वा महिलाहरूले देशको सेवा गर्ने घाइतेहरूसँग विवाह गर्नुपर्छ भन्ने कुरा युवावर्गलाई शिक्षित र दीक्षित गरिएको देखियो । भनिन्छ, १५ लाख युवाहरू सेनामा नयाँ भर्ती भएका छन्, त्यसमा महिलाहरू पनि छन् । नयाँ पुस्तालाई क्रान्तिकरण गर्ने र युवतीहरूलाई पितृभूमिको निम्ति घाइते भएकाहरूसँग विवाह गर्नुपर्छ भन्ने कर्तव्यबोधको भावनाबाट शिक्षित गराइएको छ । नयाँ पुस्ता क्रान्तिकारीकरण हुने देख्छु । समाजवादी निर्माणको निम्ति यो एक नयाँ कुरा हो – कोरियालीहरूको निम्ति यो गौरवको कुरा हो ।
त्यस साँझको भेटघाट र भेलापछि हामी उपत्यका अतिथि सदनतिर हिँड्यौँ । तर, रात्रि भोजनपछि बाटोमा पनि मेरो मनमा आँखा नदेख्ने सिपाहीको भनाइ गुञ्जिरहेको थियो– “मैले मेरो जहानलाई आफ्नै आँखाले हेर्न पाइन, तर मलाई लाग्छ उनी सा¥है राम्री छिन्, किनभने फूलहरू राम्रा छन्, महिलाहरू भनेको फूलजस्तै राम्रा हुन्छन् ।”
मलाई लाग्यो– आँखा देख्नेहरू बाहिरी मनले कुरा गर्छन् र आँखा नदेख्नेहरू भित्री मनले कुरा गर्छन् । उनको भनाइ आखिर कविता थियो– हृदयको आवाज ।


कोरियाको प्रतिनिधिसभा भवन [१४ साउन ०५०/29 July 1993]
राजधानी प्योङयाङको केन्द्रस्थित प्रजग कोरियाको प्रतिनिधिसभा बस्ने मानसुडे संसद भवनमा हामी ९.१५ बजे पुग्यौँ । ५०,००० वर्गमिटरभित्र बनेको र ४५,००० वर्गमीटरको त्यो ५ तले विराट भवन ७०० जवान प्रतिनिधि र २००० दर्शक बस्ने स्थानको बन्दोबस्त भएको विशाल सभाकक्ष हुनु मात्रै यसको विशेषता होइन । सा¥है परिष्कृत र आँखै लोभ्याउने काठका मूर्तिहरू, ढुङ्गाका कालीगडी, भित्ते श्रृङ्गार र चित्रकलाहरूजस्ता कलात्मक वैभवले यस भवनको महत्व र शालीनतामाथि चमक बढाइदिएको थियो । त्यस भवनमा कोरियाली प्रतिनिधिसभाको बैठक मात्र होइन अन्य राष्ट्रिय गोष्ठी र बैठकहरू पनि हुने गर्छन् ।
१९८४ मा तयार भएको र १९८५ मा ७ औँ सर्वोच्च जनताको सभा (प्रतिनिधिसभा) को चौथो महाधिवेशन त्यसै भवनमा भएको थियो । ऐश्वर्य र श्रेष्ठताको परिचय दिन सक्ने त्यस भव्य सभाकक्षमा जीउभन्दा ठुलो राष्ट्रपति किम इल सङको मूर्ति र त्यसको माथि प्रजग कोरियाको राष्ट्रिय चिह्न छ । प्रजग कोरियाको तल र माथिको दुई किनारामा नीलो पेटी, त्यसको सँगै दुई सेता धर्का, बिचमा रातो पेटी र बायाँपट्टि बिचमा सेतो गोलो भूमिमा एउटा रातो तारा भएको झन्डा छानामा सधँै फहरिरहन्छ ।
दस भाषाको अनुवाद सुन्न सक्ने र ध्वनिको अति उत्तम बन्दोबस्त भएको, ताप, हावा र अर्दताबारे सुव्यवस्था गरिएको तथा झाड–पानस, भित्ता, दलिने गुम्बज र चारैतिर प्रकाश र बिजुलीको सन्तुलित कान्ति र श्रृङ्गारले देदीप्यमान त्यो विशाल सभाकक्ष, अरू अनेक साना–ठुला बैठक गर्ने कोठाहरू, छलफल गर्ने, कुराकानी गर्ने, सुस्ताउने र अन्य कोठा, दुबैतिरका कोठामा जाने लामा लामा लाँबो (बरण्डा – Corridor) को बेग्लाबेग्लै कलात्मक सजावट र झिलिमिलीले प्रजग कोरिया, कोरियाली जनता र जुछेमा आधारित समाजवादको ऐश्वर्य, वैभव र सम्पन्नतालाई पुनःपुष्टि गर्न खोज्छ ।
भित्ता–खम्बाहरू र लाँबोहरू ढुङ्गाले छापिएका छन् भने राम्रा राम्रा बुट्टाहरू पनि कुँडेका छन् । अति सन्तुलित शैलीबाट कोरियाका एकसेएक उत्कृष्ट शिल्पकार, खप्पिस, जानकार र कामदारहरूले डेढ वर्षभित्र तयार गरेको यो भवन कोरियाकै एक सुन्दर दर्शनीय भवन र विशिष्ट वास्तुकलाको नमुना हो ।
धेरै प्रवेशद्वारहरू भएको त्यस विराट भवनमा भित्र पस्नासाथै अचानक हाम्रो ध्यान सबभन्दा पहिले किम इल सङ – फूल र चिनियाँ गुराँसका कोठाभरिकै सुन्दर गलैचाहरूले तान्छ, अनि हाम्रा आँखाहरू कोरियाको उँचो र राम्रा (शुभ्र) पहाड, नदी नाला, समुद्र र रुखहरू जस्ता प्राकृतिक दृश्यहरूले लोभ्याउँछन् । सिंहमर्मर र स्फटिकका जस्ता खम्बा र भित्तामा जडिएका पन्ना र मणिका विविध बुट्टाहरूको चमकले कोरियाली संसद् भवनको शोभालाई द्विगुणित पारेको थियो ।
विद्युत्ले चल्ने भ¥याङ र सुल्ल चढ्ने भ¥याङहरू उपयोग गर्दै हामी त्यस मानसुडे सभा भवनको तल माथि, विभिन्न सभाकक्ष र कोठाहरू अवलोकन गर्दै गयौँ । त्यहाँ काम गर्ने सबैजसो पदाधिकारीहरू महिलाहरू देखें । हामीलाई स्वागत गर्ने ती महिलाहरूले बिदा दिने बेलामा भने “आज हामीले सबै ठाउँ तपाईँहरूको समयको अभावले देखाउन सकेनौ, तपाईँहरूको अर्को कोरिया भ्रमणमा अरू पनि धेरै कोठाहरू देखाउनेछाँै ।”
आश्चर्य मान्दै मैले सोधेँ “आज किन देखाउनुभएन, तपाईँहरूले ?” जवाफ दिए– “सबै एकैचोटि देखाउँदा तपाईँहरूको अर्को ठाउँको कार्यक्रममा हानि पुग्ने भयो । सबै एकैबाजी देखाउँदा पछि हामीले तपाईलाई के देखाउने ?” मैले उत्तर दिएँ– वास्तवमा कोरियामा हेर्ने ठाउँहरू धेरै रहेछन्– २–४ पटकको भ्रमणले सबै घुम्न सक्ने ठाउँ होइन रै’ छ ।”
त्यहाँबाट बिदा लिएर हामी उपत्यका अतिथि सदन फक्र्यौं र खाना खाइसकेपछि कार्यक्रम अनुसार हामी कोरियाली मजदुर पार्टीको कार्यालय पुग्यौँ । अति भव्य र शालीन, सादा र शान्त भवनको एकपछि अर्को कोठा हुँदै हामी वार्ताकक्षमा पुग्यौँ । त्यहाँ हाम्रो स्वागत पार्टी सचिव का. योङ बाङ योपले गर्नुभयो । कुराकानीमा मैले भनेँ, “यो मेरो तेस्रो पटकको कोरिया भ्रमण हो, तर हरेक पटक नयाँ नयाँ दर्शनीय ठाउँहरू हेरेँ, कोरिया विश्वकर्माको देश हो, निम्तो दिनुभएकोमा आभार व्यक्त गर्छु, कोरियाली मजदुर पार्टीको सफलता र कोरियाली जनताको उत्तरोत्तर समृद्धिको कामना गर्छु आदि ।”
उहाँले भन्नुभयो, “आफ्नो व्यस्त समयमा पनि कोरिया आइदिनुभएकोमा धन्यवाद ! कोरियामा मादक पदार्थ खाने, बेरोजगारी आदि समस्याहरू छैनन् । मानिसहरू लुगा फेर्नका लागि मात्र जन्मेका होइनन् …. नेपाल लामो इतिहास भएको देश हो र नेपाल राम्रो भविष्य भएको देश हो…. आदि ।”
तीन क्रान्तिको प्रदर्शनी
तीन बजे हामी १९९३ को अप्रिलमा मात्रै सुरु भएको तीन क्रान्तिको प्रदर्शनी स्थलमा पुग्यौँ । विचारधारा, प्राविधिक र सांस्कृतिक क्रान्तिको प्रदर्शनी स्थायी प्रदर्शनी स्थल हो । ८०,००० वर्गमिटर क्षेत्रमा फैलिएको त्यस प्रदर्शनीमा सबभन्दा पहिले हामी मुख्य परिचय दिने विभागमा लगियौँ । त्यस विभागको पहिलो कक्षमा सबै जनतालाई बुद्धिजीवीकरण गर्ने पार्टी नीति र समाजवाद र साम्यवादको उद्देश्यबारे जानकारी दिइयो । जापानविरोधी लडाइँपछि र पितृभूमि मुक्ति युद्धपछि शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधिमा प्रजग कोरियाले के कस्तो नीति लियो र के कति सफलता पायो भन्नेबारे तस्बिर, दस्तावेज, ग्राफ र चार्टहरूद्वारा जानकारी दिइएको थियो । कुनै कक्षामा भिडिओ र अन्य झाँक्रीहरूबाट प्रस्ट पारिएको थियो ।
जापान या अरू देशमा बसोबास गरेका कोरियाली केटाकेटीहरूको पढाइको निम्ति पनि प्रजग कोरियाले आर्थिक दायित्व व्यहोर्ने वा आर्थिक सहायता गर्दै आएको बुझियो । त्यसबारे पहिले मलाई थाहा थिएन । शिक्षा र स्वास्थ्यबारे निःशुल्क बन्दोबस्त र उपचारभन्दा रोग नै हुन नदिने प्रतिकारात्मक नीति अपनाएको देखियो ।
शिक्षा, स्वास्थ्य र सांस्कृतिक विभागपछि हामी ठुलो उद्योगको विभागमा लगियौँ । २३,००० वर्गमीटर क्षेत्र ओगटेको त्यस विशाल हलमा विद्युत् उद्योगबाट उत्पादित ठुल–ठुला सामान, कोइला, धातु, फलाम, सुन आदि खानी र खानी झिक्ने प्रविधिको झाँक्री र नक्कलहरू, धातु उद्योग, जहाज बनिसकेपछि आफै पानीमा उत्रने वा पानी जहाज आफँै पानीबाट जमिनमा बिसाइने नयाँ प्रविधि र जहाज उद्योग र ठुल–ठुला मेसिन उद्योगका अनेक सामान प्रदर्शित थिए । त्यस्तै रुख रोप्ने, हुर्काउने, काट्ने र रोप्ने नीति र नियमबारे नमुना तथा उपायहरूबारे झाँकीहरू देखाइएका थिए । त्यस्तै भवन निर्माणको उद्योगबाट उत्पादित सामान, रेल र जहाजसम्बन्धी उत्पादित सामान प्रदर्शित थिए ।
त्यस्तै हामीले हल्का उद्योगको विभाग पनि हेर्यौँ । भारी उद्योग र साना उद्योगबाट उत्पादित सामानहरू जम्मा २२,००० किसिमका २,३०,००० प्रकारका वस्तुहरू प्रदर्शित थिए । ती सब हेर्दा उद्योगमा प्रजग कोरियाको तुलनामा अहिले हामीले अझ धेरै बाटो हिँड्नुपर्ने देखियो ।
कृषिसम्बन्धी हल नहेरी हामी नयाँ प्राविधिक विकासको विभागमा पुग्यौँ । टी. भी., कम्प्युटर, रेडियो, टेपरिकर्डर आदि अनेकौँ इलेक्ट्रोनिक सामानहरू र अन्य धेरै नयाँ नयाँ आविष्कार र प्राविधिक प्रगतिका नमुनाहरू देखाइएका थिए । १०,००० वर्गमिटरमा निर्मित भवन त त्यसै विभागको थियो । विभिन्न देशसँग सञ्चार सम्बन्ध, एक उपग्रहहरूसँगको सम्बन्ध, ब्रह्माण्डका विभिन्न दिशाका नक्कल, उल्कापात र सम्बन्धित विषयमा अनेक जानकारीहरू त्यहाँका महिला निर्देशकहरूले दिए ।
त्यसपछि हामी प्लानेटोरियम अर्थात् ब्रह्माण्डसम्बन्धी गतिहरू देखाउने कक्षमा गयौँ । एउटा ठूलो गोलाकार गुम्बज भएको त्यस कक्षमा बत्ती निभाउँछ, अनि एउटा प्रकाशको यन्त्रबाट ध्रुवतारा र अन्य तारागण, ग्रहहरू, आकाश गंगा, चन्द्रकला र अन्य आकाशीय क्रियाकलापहरू देखाइए । आकाश गंगाबारे कुराकानी हुँदा एक कोरियाली परीकथा वा किंवदन्ती सुनें । कोरियाका हरेक प्रेमी–प्रेमिका हरेक वर्ष आकाश गंगामा भेटघाट गर्छन् । कल्पनाको उँचो उडान ।
पृथ्वीबाट स्पुनिक उडाएको गागरिन र भालेन्टिना तेरेस्कोभा र लाइका कुकुरलाई अन्तरिक्ष पठाएको बारे चलचित्रहरू हेर्यौँ ।
बाहिर निस्कँदा झमक्क साँझ परिसकेको थियो । हामी तीन क्रान्ति प्रदर्शनीका पथप्रदर्शकहरूसँग बिदा लिई उपत्यका अतिथि सदनतिर लाग्यौँ ।
त्यो प्रदर्शनी स्थल वास्तवमा वैज्ञानिक र प्राविधिक आविष्कार र क्रान्तिको थलो थियो । बाटाभरि नेपालमा कहिले प्लानेटोरियम बन्ने हो भन्ने कल्पनामा म रुमलिएँ । हो त, संसारका हरेक ठुल–ठुला सहरमा सङ्ग्रहालय, चिडियाखाना र प्लानेटोरियम हुने गर्छ ।
छलफल
उपत्यका अतिथि सदनमा आएर कोरियाली मजदुर पार्टीका प्रतिनिधिहरूसँग ३१ जुलाई अर्थात् १६ साउनको दिन फर्कने निश्चय गर्न आग्रह गर्दै थिएँ। तर जीवनजीका निम्ति समय छोटो थियो भने मलाई आन्दोलनकै पिर थियो । देशभित्र आन्दोलन गर्ने, जनता लाठी र गोली खाने, जेल जाने हामी भने विदेशको भ्रमणमा बस्ने कुराले मलाई अत्याइरहेको थियो । कोरियाली मित्रले ठट्टामा भन्नुभयो, “का. जीवनलाई केही दिनको निम्ति कोरियामै छाडेर जानुहोस्, उहाँले धेरै कुरा हेर्न पाउनुभएको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *