भर्खरै :

अध्यक्ष बिजुक्छेँद्वारा संस्कृति शिरोमणि जोशी र गीतकार आचार्य सम्मानित

अध्यक्ष बिजुक्छेँद्वारा संस्कृति शिरोमणि जोशी र गीतकार आचार्य सम्मानित

भक्तपुर, २९ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ‘संस्कृति शिरोमणि’ हरिराम जोशी र साहित्यकार एवं गीतकार नारायणकुमार आचार्यलाई आइतबार एक विशेष समारोहबिच सम्मान गर्नुभएको छ ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त सम्मान कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा काम गर्नेहरूको सम्मान गरी देश र समाजमा चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बाँसुरीको धुनमा संस्थाको समुद्घाटन गर्दै उहाँले चाकडी चुकडी गर्नेलाई मात्र गन्ने र अरूलाई नगन्ने पूर्वाग्रहको कारण समाज र देशको उल्लेख्य योगदान गर्ने व्यक्तिहरूलाई सरकारले सम्मान नगरेको चर्चा गर्नुभयो ।
कुनै पनि सिद्धान्त, विचार र संस्कृतिको आँखा चिम्लेर समर्थन र विरोध गर्न नहुने स्पष्ट पार्दै अध्यक्ष रोहितले भन्नुभयो, “चाकडी नगर्ने, सरकारको प्रशंसा नगर्ने र आँखा चिम्ली समर्थन नगर्ने देशका विशिष्ट व्यक्तित्वहरूको योगदानको सरकारले कदर गरेको छैन । तर, यस्ता प्राज्ञ र संस्कृतिका ज्ञाताहरूको स्मरण र कदर संस्था र जनताले गरिरहनेछन्, संस्कृतिविद् जोशी र गीतकार आचार्यको सम्मान अत्यन्त सान्दर्भिक छ ।”
कम्युनिस्ट पार्टीको विगतको इतिहासमा नेतृत्वको कमजोरी वा इमानदारीको अभावले कम्युनिस्ट पार्टीमा सक्रिय नेता तथा कार्यकर्ताहरू निरास भएर छोडेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेमकिपाबारे झूटको खेती गरेर जनतामा भ्रम फैलाउने कार्य पनि गरिरहेको बताउनुभयो ।
प्रवचनले भन्दा गीतले देशको कला, सम्पदा र संस्कृतिलाई विश्वसामु चिनाउने काम गरेको उल्लेख गर्दै उहाँले हरेक कुराको राम्रो नराम्रो, सही गलत थाहा पाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षा, संस्कृति र आचरणमा महिलाहरू अगाडि परेको चर्चा गर्दै उहाँले विश्वविद्यालयको नतिजामा भक्तपुरकै चार जना छात्रा उत्कृष्ट भएको स्मरण गराउनुभयो ।
उहाँले शिक्षासेवी जगतसुन्दर मल्लले महिला स्कूल खोल्ने प्रयासमा अवरोध गर्दा महिलाहरू पछि परेको सन्दर्भ पनि उल्लेख गर्नुभयो ।
सात दसकदेखि अध्ययन, लेखन र प्रकाशनमा अनवरत लागेका संस्कृतिविद् एवं सम्मानित व्यक्तित्व हरिराम जोशीले आफ्नो योगदान र उच्च भावनाको कदर भएकोमा खुसी व्यक्त गर्दै नेपालको इतिहासमा भक्तपुरको स्थान महत्वपूर्ण रहेको बताउनुभयो ।
शोषणरहित समाज र उन्नत समाज स्थापनाको निम्ति संसारका विद्वत र दर्शनशास्त्रीहरूले आत्मसात गरेको चर्चा गर्दै संस्कृतिविद् जोशीले आजको समाज सानो ठुलो भेदभाव नहुने समान व्यवहार गर्ने र न्यायपूर्ण समाज हुनुपर्छ भन्नुभयो ।
समाजमा रहेका परम्परागत संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफूले कम्युनिस्ट पार्टीमा लाग्दा नेतृत्व पक्षले कम्युनिस्टको सिद्धान्त, विचार र आचरण पालना नगरेको कारण पार्टी छोडेको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसारमा चुनावबाट कम्युनिस्ट शासन आएको कहीँ छैन । तिम्रो र मेरो होइन हाम्रो भन्ने भावनाले देश र समाजको निम्ति काम गर्नुपर्छ ।”
‘प्रजाराज देशमा आउँछ, राजतन्त्र खतम हुन्छ’ भनी विसं २०१४ सालमै काव्य रचना गरेको चर्चा गर्दै संस्कृतिविद् जोशीले त्यसबेलै काव्यमार्फत सामन्तवादको विरोध गरेको स्मरण गर्नुभयो ।
साहित्यकार एवं गीतकार नारायणकुमार आचार्यले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारा अत्यन्त सान्दर्भिक भएको र यहाँको कला, संस्कृति हेरेर नै ‘विश्व सम्पदा जोगाउने हाम्रो रहर, कला संस्कृति सुसज्जित यो सहर, यो नगर भक्तपुर नेपालीको धरोहर’ गीत रचना गरेको बताउनुभयो ।
अरू सहकारीले सदस्यहरूलाई ठगिरहेको र संस्था डुबिरहेको बेला सिद्धि गणेश नमुना सहकारीको रूपमा सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्दै उहाँले यो सहकारी संस्था चेक एन्ड ब्यालेन्समा रहनुको कारण यहाँको असल व्यवस्थापक, सत्मार्ग देखाउने पक्ष र सचेत नागरिक हो भन्नुभयो ।
संस्थाले आफूलाई गरेको सम्मानले आफ्नो थप जिम्मेवारी बढेको उल्लेख गर्दै उहाँले गीत र साहित्य लेखनमा प्रेरणा थपेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको इतिहास र विकासको चरणबारे प्रस्ट पार्दै जनताको सेवा गर्न र सामाजिक दायित्व पूरा गर्न सहकारीमा इमानदारी र पारदर्शिता खाँचो छ भन्नुभयो ।
व्यक्तिगत स्वार्थ पूरा गर्न खोलेका सहकारीहरूले सदस्यको सङ्कलित रकम लिएर भाग्न थालेपछि सबैलाई सचेत रहन सहकारी अभियान थालेको उल्लेख गर्दै उहाँले जिल्ला सङ्घ गठन गरेको स्मरण गराउनुभयो ।
शासक र ठुला पार्टीबाटै समुदायमा आधारित सहकारी संस्थाको बदनाम गराउने नियोजित कार्यको निन्दा गर्दै उहाँले ठगी गर्नेहरूलाई ठाउँको ठाउँमा कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राज्यले गरेको बेवास्ता र पक्षपातको विरूद्ध लड्न सङ्गठित शक्तिको आवश्यकता रहेको चर्चा गर्दै उहाँले सबै क्षेत्रमा सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले सहकारीको भेदबारे चर्चा गर्दै समुदायमा आधारित एकथरी सहकारीका सदस्यहरू खुसी छन् भने अर्का थरीका सहकारीका सदस्यहरू पैसा ठगेको कारण सञ्चालकहरूलाई सराप्दै छन् भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजन लाखाले प्रगतिशील विचारबाट प्रेरित युवाहरूले समाजको दायित्व पूरा गर्न र परिवर्तन गर्न सिद्धि गणेश स्थापना भएको उल्लेख गर्दै समाजवादी व्यवस्था स्थापनामा टेवा पु¥याउन अग्रजहरूको मार्गनिर्देशनअनुसार संस्थाले काम गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रूद्रनारायण लाखाले सभापतिको आसनबाट बोल्दै समाज परिवर्तन गर्न सहकारी मूल्य र मान्यताअनुसार संस्था अघि बढिरहेको बताउनुभयो ।
सभामा उपाध्यक्ष विष्णुराम दुमरूले धन्यवाद ज्ञापन, कोषाध्यक्ष जयराम गोर्खाले सम्मानित व्यक्तित्वहरूको परिचय, संस्थाका व्यवस्थापक शिला गोसाईले स्वागत र सचिव विष्णुप्रसाद दुमरूले संस्थाको स्थापना दिवसको औचित्यबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँलाई मायाको चिनो प्रदान गरिएको थियो ।
संस्थामा गएको मङ्सिरसम्ममा १६,६१० जना सदस्य आबद्ध भइसकेका छन् । २०५१ पुस २९ गते स्थापना भएको सो संस्थाको कुल सम्पत्ति २ अर्ब ९२ करोड ९५ लाख १० हजार २ सय ७५ रहेको छ । संस्थाको शेयर पुँजी २७ करोेड ८ लाख ३२ हजार ५ सय र जगेडा कोष २२ करोड १५ लाख ८४ हजार २ सय ३ रहेको छ भने ऋण लगानी १ अर्ब ८५ करोड ५१ लाख ७ हजार ३ सय ८० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *