वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
(एकछिन कल्पना गरौँ– माघको एक शनिबार, कौसीमा पल्टेर तपाईँ पहारिलो घाम ताप्दै फेसबुकमा कुनै दुईपक्ष कमेन्टमा झगडा गर्दै गरेको मोबाइलमा पढेर आनन्द लिइराख्नुभएको छ । एक्कासि कौसी हल्लिएको महसुस गर्नुहुन्छ । सँगै राखेको पानीको बोतल, गिलास–भाँडाकुँडा, कौसीको डिलमा राखिएको गमला, भित्र दराजमा भएका वस्तुहरू लड्नखस्न थाल्छन् । जमीन हल्लिएर मच्चिन थाल्छ– मानिसहरू ‘राम–राम’ भन्दै बाहिर खुलातिर दौडिन थाल्छन् । अत्तालिँदै तपाईँ एकै सासमा तल चोकमा पुग्नुहुन्छ । अनि, चारैतिर धुलो उड्न थाल्छ– घरहरू चर्केका, भत्किन थालेका तपाईँ देख्नुहुन्छ । “लौ, फलाना त भित्रै पो परेछ… थिचियो कि खै..” इत्यादि सुनिन्छ ।)
ठुलो भूकम्प आउँदा धेरैले भोग्ने अवस्था यही हो– सुन्दै डरलाग्दो यो क्षण भोग्नेहरूलाई त फेरि मनमा चिसो पसेजस्तो हुन्छ ।
अब यही घटनालाई अलि अर्को तरीकाले हेरौँ – विगत केही दिनदेखि रेडियो, टीभी, इन्टरनेट, पत्रपत्रिकामा यो शनिबार भूकम्प आउँछ भन्ने पूर्वानुमान तपाईँले सुन्दैपढ्दै आउनुभएको छ । गृहमन्त्रालयले जनसमुदायलाई शनिबारको दिन सतर्क रहन, खुला स्थानमा बस्न र नअत्तालिन अनुरोध गरिरहेको छ । शनिबार बिहानै तपाईँ परिवार, टोलवासीसँग खुला चोकमा जम्मा भएर बस्नुभएको छ । एक्कासि जमिन हल्लिन थाल्छ, पूरै पृथ्वी फन्फनी घुमेको महसुस हुन्छ । मानिसहरू ‘राम–राम’ जप्न थाल्छन् । सबै त्यही बसेर भूकम्प रोकिने प्रतिक्षा गर्न थाल्छन् । केही घरहरू भत्किएका देखिन्छन्, केही चर्केका छन्, धुलो उडिरहेको छ– तर, कोही मानिस पनि हताहत भएका छैनन् । एकैछिनमा नअत्तालिन र केही समयमै आवश्यकता परेकाहरूको लागि राहत वितरण सुरु हुने कुरा माइकिङ हुन थाल्छ ।
यो दोस्रो दृश्य तुलनात्मकरूपले ठीक छ हैन र ? यदि मौसमजस्तै भूकम्पको पूर्वानुमान गर्न सकिने भए ? के यो सम्भव छ त ? छ भने किन यसबारे कुनै पनि देशको सरकारले पहल गरेको सुनिँदैन ? सम्भव छैन भने फेरि भूकम्प आउनु अघि अस्ति एकचोटि त मोबाइलमा सूचना आएको थियो त । के हो कुरा ? यी सबका बारे छोटकरीमा चर्चा गर्नेछौँ– तर त्योभन्दा अघि भूकम्प के हो र कसरी आउँछ त्यसबाट कुरा सुरु गरौँ।
भूकम्प के हो ? कसरी र कहाँकहाँ आउँछ ?
पृथ्वीको सबैभन्दा बाहिरी तह (क्रस्ट) टेक्टोनिक प्लेट भनिने एक दर्जनभन्दा धेरै साना–ठुला टुक्राहरूमा विभक्त छ । त्यसको ठीकमुनि रहेको एक सघन अर्ध–तरल तहमा ‘तैरिएर’ यी प्लेटहरू चलायमान हुँदै एकअर्कासँग ठोक्किने, एकअर्काबाट छुट्टिएर जाने वा एक भित्र अर्को पस्ने क्रम निरन्तर भइरहेको हुन्छ । पृथ्वीको गर्भभित्र रहेको अपार ताप र शक्तिका कारण हुने यस्ता प्रक्रियाले विश्वमानचित्र परिवर्तन गरिरहन्छ र यो सबै प्रक्रियाहरूलाई प्लेट टेक्टोनिक्स भनिन्छ । चलायमान यी प्लेटहरू ठोक्किँदा वा एक भित्र अर्को पस्दा निकै ठुलो मात्रामा शक्ति सञ्चित हुन्छ । बेला–बेला यो विशाल सञ्चित शक्ति निःसृत हुँदा पृथ्वीभित्र चट्टानमा दरार (भ्रंश) पर्छ र त्यसबाट निस्कने तरङ्गहरू पृथ्वीको बाहिरी सतहलाई थर्काउँदै पार हुन्छ । हामी त्यसलाई भूकम्प भन्छौँ । यदि एउटा रुखको सुकेको हाँगालाई दुई हातले बिस्तारै बङ्गायौँ भने केही समयपछि त्यो भाँचिन्छ र हामीले प्रयोग गरेको बल हाम्रो दुवै हातमा थर्कन पैदा गर्दै निःसृत हुन्छ– झन्डै उस्तै किसिमले टेक्टोनिक प्लेटहरूमा सञ्चित शक्ति पनि बिसर्जन हुन्छ । यी बाहेकका ज्वालामुखी विस्फोटले, ठुलो पहिरोले, जमिन भासिएर आणविक बम विस्फोट आदिले पनि भूकम्प सिर्जना हुन्छ– नजिकै ठुला मालबाहक गाडी पार हुँदा घरमा भूकम्प आएको जस्तो महसुस त धेरैले नै गर्नुभएको छ होला । तर, टेक्टोनिक प्लेटहरूका सञ्चित शक्ति बिसर्जन हुनु भूकम्पको सबैभन्दा प्रमुख कारण हो । उसो त ज्वालामुखीको लागि पनि प्लेट टेक्टोनिक्स नै जिम्मेवार छ, तर सो कुरा पछि कुनै बेला गराँैला ।
यसरी हेर्दा संसारभर दुई वा दुईभन्दा बढी टेक्टोनिक प्लेट जोडिएको ठाँउमा बढी भूकम्प जाने रहेछ भनेर बुझौँ । संसारभर भूकम्प गइरहने क्षेत्र र टेक्टोनिक प्लेटहरूका सिमानाहरू हे¥यौँ भने एउटैएउटै क्षेत्र पर्न जान्छ । बढी भूकम्प जाने स्थानहरू– जापान, इन्डोनेसिया, न्युजिल्याड, आलास्का, चिली, टर्की सबै टेक्टोनिक प्लेटहरूको सिमानामै पर्छ ।
दक्षिणमा इन्डिएन प्लेट र उत्तरमा युरेसिएन प्लेट ठोक्किएर बनेको भू–बनोट र त्यसले उत्पन्न गरेका दरारहरू भएका कारण नेपालमात्र नभई हाम्रो सम्पूर्ण हिमालय क्षेत्र नै भूकम्पको दृष्टिकोणले जोखिम भएको क्षेत्र मानिन्छ । ती दरारहरूमा हुने हलचलले सानाठुला भूकम्पहरू आइरहन्छन् । समय समयमा गइरहने सानाठुला भूकम्पका धक्काहरूले हामीलाई नेपाल भूकम्पकीय जोखिममा रहेको क्षेत्र हो भने सम्झाइरहेको छ ।
भूकम्पको केन्द्रबिन्दु भनेको जमीनमुनि दरार परेको स्थानबाट सीधै माथि सतहको भागलाई बुझिन्छ । नेपालमा आइरहने भूकम्पका केन्द्रबिन्दु विशेषगरी नेपालको मध्य पहाडी क्षेत्र अर्थात् महाभारत श्रृङ्खलातिर जस्तो देखिए पनि जोखिममा पूरै भूभाग पर्छ । हाम्रो हिमालय क्षेत्रमा बनेका यी दरारहरू सतहमा देखिने चुरे र तराई जोडिने भावर क्षेत्रतिर हो । पूर्वपश्चिम फैलिएका यी दरारहरू निकै सानो कोणले उत्तरतिर ढल्केको कारणले र कम गहिराइ (सहतबाट झन्डै १०–२० किमि) मा रहेका कारण केन्द्रबिन्दु मध्य भागमा परे पनि ठुला भूकम्प आए त्यसको असर दरार सतहमा देखिने चुरे र तराई क्षेत्रतिर पनि व्यापक पर्छ । १९९० सालको महाभूकम्पको केन्द्रबिन्दु संखुवासभामा भए पनि सो भूकम्प पैदा गर्ने दरार देखिएको महोत्तरीको बर्दिवास आसपासको क्षेत्रमा हो । भलै बढी क्षति बिहारतिर देखिएकोले निकै वर्षसम्म यो भूकम्पको केन्द्रबिन्दु बिहारको सीतामढी आसपासको क्षेत्रमा मानिएको थियो । अहिले पनि बिहारमै केन्द्रबिन्दु थियो भनेर मान्ने भारतीय शोधकर्ताहरूको कमी छैन । तर, हिमालय क्षेत्रमा आउने भूकम्पहरूको ढाँचा अध्ययन गर्दा नेपालको तराईभन्दा दक्षिणतिर त्यति ठुलो भूकम्पको केन्द्रबिन्दु पर्न सक्ने सम्भावना शून्य बराबर छ ।
अमेरिकी भूकम्पविद् रोजर विल्हामले २०७२ सालको भूकम्प अघि र पछि गरेको शोधले नेपालको पश्चिमी क्षेत्रमा विगत ५०० वर्षदेखि ठुलो भूकम्प नगएकोले त्यहाँ सञ्चित शक्ति धेरै रहेको र महाभूकम्प बनेर सो शक्ति निःसृत हुन सक्ने भनेर पश्चिम नेपाललाई भूकम्पकीय दृष्टिले ठुलो भूकम्प आउन सक्ने क्षेत्र भनेर देखाएको छ । हुन त हालै अछाम, बझाङ र जाजरकोटमा गएका ठुला भूकम्पहरूले पश्चिम नेपालको जोखिम दर्शाइरहेको छ । तर, यसको अर्थ यो होइन कि, नेपालको अरु क्षेत्रमा भूकम्प आउँदैन । अघि उल्लेख गरेझैँ हाम्रो पूरै हिमालय क्षेत्रमा कुनै पनि बेला ठुलो भूकम्प आउन सक्छ । अर्को कुरा चट्टानी क्षेत्रभन्दा माटो भएको क्षेत्रमा भूकम्पको तरङ्गले बढी हल्लाउँछ । फलस्वरूप काठमाडौँ उपत्यका सँगसँगै हाम्रो तराईका फाँटहरूमा भूकम्पको असर बढी देखिन सक्छ ।
भूकम्प पूर्वानुमानबारे
अब अघिकै चरणमा फर्कौँ । के साँच्ची भूकम्प पूर्वानुमान सम्भव छ ? “हरेक ५०–१०० वर्षमा यहाँ ठुलो भूकम्प आउँछ”, “यो क्षेत्रमा सञ्चित शक्ति धेरै भएकोले अब ठुलो भूकम्प आउने सम्भावना धेरै छ”– जस्ता बृहत् सम्भावनाका कुराबाहेक तिथिमिति तोकेर र यति ठुलै भूकम्प आउँछ भनेर स्पष्टरूपमा भन्न सकिएको छैन । सतहभन्दा तलको बनोट, टेक्टोनिक प्लेटहरूको चालको पूर्ण ज्ञान, चट्टानमा बन्ने र बनेका दरारहरूका बारे स्पष्ट जानकारीको अभावमा यो निकट भविष्यमै सम्भव हुन सक्ने जस्तो पनि देखिँदैन । भलै, भूकम्प आउने बेलामा सतहमा हुने केही भौतिक परिवर्तनको मापन र हालैका वर्षहरूमा कृतिम बौद्धिकता (AI) को प्रयोगले केही सफलता मिलेको भन्ने कुराहरू आए पनि पूर्वानुमानमा अझै समय लाग्ने निश्चित छ । भूकम्प आउँदा विभिन्न जनावरहरूले फरक व्यवहार देखाउने जस्ता कुरा धेरैले भने पनि भूकम्पको पूर्वानुमानको लागि यी कुराहरू व्यवहारतः प्रयोग हुन गाह्रो छ ।
भूकम्प आउँदा फोनमा सूचना आउने ‘भूकम्प पूर्व–सूचना प्रणाली’ भने फरक हो । यसले पूर्वानुमान नभइकन केन्द्रबिन्दुबाट निस्केका भूकम्पका तरङ्गहरू त्यहाँ नजिकैको भूकम्पमापन यन्त्रको सञ्जालले महसुस गरी “भूकम्पका तरङ्गहरू आउँदै छन् है” भनेर भूकम्पका तरङ्ग आइनपुग्दै प्रकाशको गतिमा सबैतिरका फोनमा जानकारी दिने गर्छ । यसका लागि धेरै भूकम्पमापन यन्त्रहरूको राम्रो सञ्जाल र चुस्त–दुरुस्त दूरसञ्चार प्रणाली चाहिन्छ– जहाँ नेपाल पुगिसकेको छैन । आशा छ, केही वर्षभित्रै हामीले यो प्रणालीको पनि उपयोग गर्न पाउँछौँ ।
भूकम्पबाट हुने क्षति कम गर्ने कसरी ?
“भूकम्पले मान्छे मार्दैन, हामीले बनाएका संरचनाले मार्छ” भन्ने भनाइ निकै प्रयोग हुने गर्छ । हुन पनि पृथ्वीको नियमित प्रक्रियाको रूपमा आइरहने भूकम्पले केही संरचना नभएको खुला स्थानमा मान्छेको ज्यान लिने होइन कि, बरु मानिसले नै बनाएका भवन, पुल, सडक, बाँध आदि भत्किएर मानिसको ज्यान जाने हो । यो हिसाबले भूकम्पले हुने क्षति न्यूनीकरणको लागि हामीले बनाउने संरचना भूकम्पको बेला धराशायी नहुने बनाउनुपर्ने भयो । यसको लागि हरेक देशले संरचना निर्माणको लागि मापदण्ड तोकेर ‘निर्माण संहिता’ बनाएको हुन्छ । यसको इमानदारीपूर्वक पालना गरिएको खण्डमा भूकम्पले गर्ने क्षति कम गर्न सकिन्छ ।
भूकम्पका तरङ्गहरू भिन्नभिन्न किसिमका भूबनोटबाट पार हुँदा त्यसको असर फरकफरक हुने भएकाले त्यसबारे व्यापक अध्ययन र त्यसमा आधारित भएर जोखिमका क्षेत्र पहिचान गरी त्यहाँका लागि उपयुक्त भवन निर्माण संहिता बनाउने गरिन्छ । कुन क्षेत्रमा कति अग्ला र कति भारवहन गर्ने भवन बनाउँदा कसरी कति परिमाणमा निर्माण सामग्री प्रयोग गर्ने भन्ने स्पष्ट रूपमा संहिताले उल्लेख गरेको हुन्छ । यसको उद्देश्य आउँदा वर्षहरूमा जानसक्ने ठुला भूकम्पहरूमा ती भवनहरूमा कमभन्दा कम क्षतिमात्र होस् र मानिसको ज्यानको सुरक्षा होस् भन्ने हो । बढी मानिसको आउजाउ हुने भवनहरू जस्तै विद्यालय, कलेज, सरकारी कार्यालय, अस्पताल, व्यापारिक भवन तथा धेरै परिवारहरू बस्ने अपार्टमेन्ट भवनहरूमा त झन् यो संहिताको पालना निकै नै संवेदनशील विषय हो ।
भूकम्पले हुने क्षति कम गर्नमा स्थानीय सरकार र समुदायको पनि महत्वपूर्ण हात हुने गर्छ । भवन संहिताको इमानदारीपूर्वक पालनाको अनुगमन स्थानीय सरकारको भूमिकाअन्तर्गत पर्छ । गत वर्ष टर्कीमा गएको भूकम्पले ५०,००० भन्दा बढी मानिसको मृत्यु भयो, हजारौँ घरहरू धराशायी भए । भवन निर्माणमा खेलाँची भएको भनेर त्यहाँ निर्माण व्यवसायीहरूमाथि मुद्दा पनि लागको थियो ।
भूकम्पबाट प्रभावित जनतालाई जम्मा हुन र केही समयसम्म शरण लिन खाद्यान्न, खानेपानी र सरसफाइको व्यवस्था भएको स्थानहरूको पहिचान गरी त्यसबारे जानकारी दिनु आवश्यक छ । त्यसैगरी भूकम्प आइरहेको बखत नअत्तालिकन सुरक्षित स्थानमा कुन बाटो कसरी जाने भन्ने पनि समयसमयमा स्कूल, टोल, कार्यालय आदि स्थानहरूमा अभ्यास गर्नुपर्छ । र भूकम्पपछि उद्दार गर्नको लागि पनि स्थानीय जनता, स्वयंसेवकहरूको सहयोग र साथ महत्वपूर्ण हुन्छ ।
यसका अतिरिक्त भूकम्पकीय हिसाबले जोखिम कम हुने किसिमका घर निर्माण गर्न जनचेतना, दक्ष जनशक्तिको तालिम आयोजना गर्ने, स्थानीय स्तरमा भूकम्पकीय दृष्टिकोणले जोखिम हुने क्षेत्रहरूको पहिचान गरी त्यसबारे सूचना दिने गर्न सकिन्छ । साथै भूकम्प आउँदा कसरी बच्ने, सुरक्षित र घरबारविहीनहरूको व्यवस्थापन कसरी गर्ने इत्यादि कार्यमा जोड दिन सकिन्छ । यो भूकम्पमात्र नभई अन्य प्राकृतिक प्रकोप– जस्तै बाढीपहिरो, आगलागी इत्यादिका लागि पनि गर्नुपर्ने हुन्छ ।
जापानमा ठुलो विपद् वा प्राकृतिक प्रकोपले प्रभावित मान्छेहरूका लागि सुरक्षित स्थान वा शिविरको बन्दोबस्त खुला क्षेत्र र ठुला खेलकुदको कभर्डहल भएका सरकारी विद्यालयहरूलाई तोकिएको हुन्छ । भूकम्प आउँदै गरेको बखत नअत्तालिनकन कसरी सुरक्षित रहने, कसरी सुरक्षित स्थानतर्फ लाग्ने भनेर वर्षैपिच्छे अभ्यास गर्ने गरिन्छ । पश्चिम जापानमा हालैको शक्तिशाली भूकम्पमा परी १६० भन्दा ज्यादा मान्छेले ज्यान गुमाए, १०० जना जति अझै बेपत्ता छन्, हजारौँ घरबारविहीन भएका छन् । भूकम्पका लागि निकै तयारी गर्ने जापान जस्तो देशमा यति ठुलो भुइँचालोले गरेको यो क्षति तुलनात्मकरूपले कम हो, भलै क्षति भएको छ । हाम्रो देशमा त तयारीको निकै कमी छ र यस्ता प्राकृतिक प्रकोपहरूमा ठुलो जनधनको क्षति हामीले बेहोर्नुपर्छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजमा भूकम्पजस्ता प्रकोप आएका बखत भक्तपुरका विभिन्न ठाउँबाट खुल्ला क्षेत्रमा जान कुन बाटो सबैभन्दा छोटो र भीड कम हुने गरी जान सकिन्छ, कुन ठाउँबाट कुन खुला क्षेत्रमा कति मान्छेहरू राख्न उपयुक्त हुन्छ जस्ता विषयमा शिक्षक विद्यार्थीहरूले अनुसन्धान गरिरहेका छन् । साथै भूकम्पको प्रक्रिया, भूकम्प आउँदा विभिन्न किसिमका माटोको प्रतिक्रिया, भूकम्पकीय जोखिम कम हुने गरी नयाँ तथा परम्परागत तरीकाले कसरी भवन निर्माण गर्न सकिन्छ जस्ता विषयमा पनि निरन्तर अनुसन्धान भइरहेका छन् । त्यसबाट ठोस निष्कर्ष निस्केपछि हामी यी कुराहरूलाई कसरी प्रयोग गर्ने भनेर जनचेतना जगाउने काम गर्छौँ। पछिल्ला वर्षहरूमा प्राज्ञिक सम्मेलन साथसाथै आधारभूत तहसम्म कुरा पु¥याउन डकर्मी तालिमजस्ता कार्यक्रमहरू गरिआएका छौँ ।
सङ्घीय सरकारको भूमिका
सङ्घीय सरकारले त झन् ठुलो भूमिका निर्वाह गर्नुपर्छ । समय–समयमा भवन संहितालाई संशोधन र अद्यावधिक गर्नुमात्र नभई भूकम्पबाट बच्ने अध्ययन–अनुसन्धानको लागि सहयोग र सहजीकरण गर्ने पनि सरकारकै कर्तव्य हो ।
दुर्गम क्षेत्रतिर अत्याधुनिक निर्माण सामग्री ढुवानी गर्न र त्यो प्रयोग गर्ने दक्ष जनशक्तिको अभाव हुन्छ । फेरि सबै नयाँ किसिमका निर्माण गर्दा हामीले हाम्रो सम्पदाहरू गुमाउँदै जान्छौँ । हाम्रो आफ्नो तरीकाका भवनहरू पनि त हाम्रा सम्पदा हुन् । यसको अर्थ त्यहाँका मान्छेलाई सधैँ त्यस्तै घरहरूमा बस भनेको होइन । तर, सम्पदागत हिसाबले पनि नबिग्रिने गरी अनि सुरक्षित पनि हुने गरी निर्माण गर्नेतिर प्रोत्साहन गर्दै दुर्गम क्षेत्रतिर सिभिल इन्जिनियर, आर्किटेक्टहरू खटाएर स्थानीय सामग्री नै प्रयोग गरेर सस्तोमा कसरी भूकम्पकीय जोखिम कम हुने गरी भवन निर्माण गर्न सकिन्छ– त्यो सिकाउन पठाउन पाए उनीहरूले पनि समाजका लागि केही गरेको जस्तो महसुस गर्थे साथै भविष्यका भूकम्पहरूमा धेरैको ज्यान बचाउन पनि सकिन्थ्यो ।
नयाँ प्रविधि साथसाथै हाम्रै पुरानो तरीका प्रयोग गरेर भूकम्प प्रतिरोधी निर्माणको शोध र अनुसन्धान गर्न भूकम्पको तरङ्ग पैदा गरेर हेर्ने शेक टेबलको स्थापनाको लागि सहयोग गर्न ढिलो भइसक्यो । आर्थिक हिसाबले कुनै एक विश्वविद्यालय वा संस्थालाई स्थापना गर्न कठिन भए पनि केन्द्रीय सरकारको सहयोगमा सबै विश्वविद्यालयहरूले प्रयोग गर्ने गरी स्थापना गर्न पाए यस सम्बन्धी अनुसन्धान अझ अगाडि बढ्थ्यो ।
साथसाथै नेपालका विभिन्न क्षेत्र भूकम्पकीय तरङ्गको स्थिति कस्तो छ भनी बुझ्न देशैभरि अत्याधुनिक भूकम्पमापन यन्त्रहरू स्थापना गर्नलाई पनि केन्द्रीय सरकारले पहल गर्नुपर्छ । यसले भूकम्प पूर्वसूचना प्रणालीको सम्भाव्यताको लागि पनि सहयोग गर्छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस
विस १९९० माघ २ गते गएको महाभूकम्पलाई सम्झेर हरेक साल माघ २ गते विभिन्न कार्यक्रमसहित राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । त्यसैको अवसरमा २०८० माघ २ गते पनि भूकम्पको उद्गम, तरङ्गको प्रशारण, भूकम्पबाट सुरक्षा जस्ता विभिन्न विषयमा जनचेतना जगाउने उद्देश्यले इन्जिनियरिङका विद्यार्थीहरूद्वारा निर्मित मोडेलहरूको प्रदर्शनी दत्तात्रय मन्दिर परिसरमा कार्यक्रम हुँदै छ । यो गर्नैपर्ने कार्यक्रमको रूपमा मात्र नभई धेरैभन्दा धेरै जनालाई जानकारी दिने उद्देश्यले सार्वजनिक स्थानमा नै गर्ने तयारी ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजले गरेका छन् । साथै माघ ५ गते भूकम्पकीय सुरक्षा सँगसँगै हालै पश्चिम नेपाल– अछाम, बझाङ, जाजरकोटमा गएका भूकम्पहरूबारे समीक्षा गर्ने छलफल कार्यक्रम पनि हुँदै छ ।
अन्त्यमा,
भूकम्प जहिले पनि आउनसक्छ र जत्रो पनि आउन सक्छ । त्यसबाट सुरक्षित हुन संरचना निर्माणमा इमानदारिता देखाउने, भूकम्प आउँदा नअत्तालिई सुरक्षित स्थानसम्म कसरी जाने, कहाँ जाने र त्यसपछिको उद्दार जस्ता विषयहरूमा सम्बन्धित निकायहरूको ध्यान जानु जरुरी छ । अब भविष्यमा जान सक्ने भूकम्पहरूमा कमसेकम जनधनको क्षति हुने गरी आजैबाट काम गर्नु आवश्यक छ ।
Leave a Reply