भर्खरै :

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव – १

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव – १

चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)

पेचिङबाट प्योङयाङतिर (२३ साउन, २०५२/8 Aug., 1995)
अपराह्न ४ः४५ बजे कोरियाली हवाईजहाजले पेचिङको भूमि छोड्यो । उडान नं.जे.एस. १५२ को ठुलो हवाईजहाजको २१ (घ) को सीटमा म बसेँ । हवाईजहाज ६.०० बजे प्योङयाङ हवाई अड्डामा उत्यो । झमझम पानी परिरहेको थियो । विभिन्न देशबाट प्रवासी कोरियालीहरू फूलको गुच्छा लिएर राष्ट्रपति किम इल सङलाई श्रद्धाञ्जली अर्पण गर्न आएका थिए । हवाईजहाजमा फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, इटाली, माल्टा, बुरुन्डी, भारत, श्रीलङ्का आदि देशका कोरिया मैत्री सङ्घ, कोरिया एकीकरण सहयोग समिति र विभिन्न पार्टी र सङ्गठनका प्रतिनिधिमण्डल र नेताहरू थिए ।
हवाई अड्डामा कोरियाली मजदुर पार्टीका केन्द्रीय समितिका अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरू, कोरिया पुनःएकीकरण समितिका पदाधिकारीहरू र हवाई अड्डामा उपस्थित सयौँ कोरियाली नरनारीहरूले ‘कोरिया एक हो’ र ‘पितृभूमिलाई पुनःएकीकरण गरौँ’ भन्ने नाराहरू लगाउँदै र फूलका गुच्छाहरू दिँदै स्वागत गरे ।
विभिन्न देशका प्रतिनिधिमण्डलको तर्फबाट अन्तर्राष्ट्रिय सम्पर्क समितिका सभापति का. डुप्रेले कोरिया पुनः एकीकरणको समर्थन र कोरिया मुक्तिको ५० औँ विजय दिवसमा बधाई ज्ञापन गरे ।
कोरियाली मजदुर पार्टीका सचिव का. ह्वाङसँग आउनुहुने का. लिसँग रातो तारा भएको ४०५ नम्बरको कारमा १९७२ मा निर्माण भएको कोरियाली क्रान्तिको सङ्ग्रहालयको का. किम इल सङको विशाल सालिक भएको मानसु पहाडमा सबै विदेशीहरूको तर्फबाट फूलको टोकरी चढाइयो र एक मिनेट मौनधारण गरियो ।
८ः०० बजिसकेको थियो । पार्टीको उपत्यका अतिथि सदनको पुरानै कोठामा पु¥याइदा ९ः०० बजेको थियो ।
म्याङयोन्देमा (२४ साउन, ०५२/9 Aug., 1995)
साउन २४ को दिन चौथोपटक राष्ट्रपति किम इल सङको जन्मस्थल म्याङयोन्दे पुगेँ । प्योङयाङको हरियाली गाढा थियो । झमझम पानीको वर्षाले क्षितिज धमिलो थियो । आकाशमा बादल लागेको थियो, नदीनाला र तायडोङ नदी पहेँलो थियो । कोरियाली राष्ट्रका पितातुल्य नेता का. किम इल सङको देहावसानको वार्षिकीपछि पनि प्रकृति रोएकै थियो । हो, रुँदा मानिसको मुख राम्रो हुँदैन, त्यस्तै प्रकृति पनि मौन थियो र आकाश धमिलो थियो ।
आत्मनिर्भर र आफ्नै खुट्टामा उभिने गरीब नेपाली किसान परिवारजस्तै का. किम इल सङको हजुरबुबाको घरमा आफ्नै हातले बनेका खेतीपातीका ज्यावल, सुकुल र गुन्द्री देख्दा मैले नेपालका लाखौँ बुढापाका किसानहरू सम्झेँ । २–३ चोटि म्याङयोन्दे गएर पनि त्यहाँको क्रान्तिकारी ऐतिहासिक दृश्य सङ्ग्रहालय देखेको थिइन । १९७० अक्टोबरमा बनेको त्यो ३–४ कोठे सङ्ग्रहालयको पहिलो कोठामा सिंहमरमरको आफ्नो पिताको अँगालोमा बसेको किशोर किम इल सङको सुन्दर सालिक थियो । त्यस सालिकको पछाडि नाउँअनुसार त्यस पहाडबाट देखिने प्योङयाङको दृश्यचित्र थियो ।
ती कोठामा त्यसबेलाको किम इल सङ र उहाँको पिताजीको राजनैतिक गतिविधि, बुबाले उहाँलाई देशभक्तिको शिक्षा दिनु हुँदाको चित्र, जापानविरोधी सङ्गठन, २४ वर्षको उमेरमा शिक्षकको रूपमा गिरफ्तारी, १४ वर्षको उमेरमा युवा किम इल सङ कोरियाको सीमापारि चीनको मञ्चुरीयामा जाँदाको बाटाका नक्सा र क्रान्तिकारी शिक्षा, सङ्गठन र गतिविधिका चित्र, नक्सा र त्यसबेलाका समाचारपत्रमा छापेका सम्बन्धित टुक्राहरू प्रदर्शित थिए ।
मानिस प्रचारले ठुलो हुन्न, योगदानले हुन्छ । गरिब किसान भएर पनि किम इल सङको हजुरबुबा अमेरिकी साम्राज्यवादी हमलाको विरोधमा लड्नुभएको थियो । उहाँको बुबा आफैँले जापानविरोधी स्वतन्त्रता आन्दोलनको निम्ति सङ्गठनको निर्माण गर्नुभएको थियो । विदेशमा बसेर पनि उहाँले सङ्गठन र सशस्त्र दल गठन गर्नुभयो । किम इल सङको बुबा यसरी देशको निम्ति काम गर्दागर्दै ३० वर्षको उमेरमा बित्नुभयो ।
किम इल सङको काका पनि जापानविरोधी सशस्त्र दलको सङ्गठन र सङ्घर्षमा पक्राउ पर्नुभयो र जेलमा ३१ वर्षको उमेरमा बित्नुभयो ।
उहाँको कान्छो भाइ चीनसँग संयुक्त मोर्चा गरी जापानको विरोधमा सङ्घर्ष गर्ने कार्यमा लाग्नुभएको थियो । कम्युनिस्ट युवा सङ्गठन बनाउने कार्यकै सिलसिलामा उहाँ जङ्गलमा शत्रुसँग भएको गोली हानाहानमा मारिनुभयो ।
उहाँको अर्को काका १९४४ मा गुप्त सङ्गठनको सिलसिलामा गिरफ्तार गरिनुभयो र जनवरी १९४५ मा मारिनुभयो ।
उहाँको काकाको छोरो जनवरी १९५७ मा सैनिक गतिविधिमा मारिनुभयो । का. किम इल सङलाई उहाँको बुबाले देशभक्त हुन, ठुलो उद्देश्य राख्न, कोरियाको एकता र सभ्य राष्ट्रको रूपमा देशलाई उभ्याउन शिक्षा दिनुहुन्थ्यो ।
अन्तिम कोठामा महान् नेताका अन्तिम दिनका फोटोहरू थिए । १८ देशका प्रतिनिधिहरूसँगको भेट, आर्थिक विकासबारेको निर्देशन आदि उहाँका अन्तिम कार्यहरू थिए । ८ जुलाई १९९४ को दिन अन्तिम क्षणसम्म देशको सेवा गर्दागर्दै उहाँ बित्नुभयो । अन्तिम भाषणको वृत्तचित्र पनि देखाइयो । सारगर्भित र अर्थपूर्ण मुत्यु ।
कोरियाको स्थितिबारे रिपोर्ट
५ बजे हामी जन–सांस्कृतिक भवनको बैठक कोठामा भेला भयौँ । झन्डै २० देशका प्रतिनिधिहरू थिए । कोरियाली मजदुर पार्टीका सचिव का. किम योङ सुनले कोरियाको स्थितिबारे एक रिपोर्ट दिनुभयो । महान् नेताको वार्षिकी सकेर पनि राष्ट्रपति चयन भई नसकेकोबारे उहाँले बताउनुभयो । यस शताब्दीको अन्तसम्म अर्थात् १९९० को दशकमै कोरियाको एकीकरण हुने दृढता व्यक्त गर्नुभयो । कोरियाली जनताको एकीकरणमा सहयोग र समर्थन गर्ने सबैलाई स्वागत र धन्यवाद दिनुभयो ।
प्रश्न उत्तरको समय पनि थियो । कसैले प्रश्न नगरेको हुँदा पार्टी अतिथि सदनको केन्द्रमा रात्रिभोजको निम्तो दिँदै सभा बिसर्जन भएको घोषणा गरियो ।
रात्रिभोजमा उहाँले भव्य राष्ट्रिय एकीकरण महोत्सवको कोरियाको उत्तरी भागको तयारी समितिको तर्फबाट कोरिया मुक्तिको ५० औँ वर्षको अवसरमा ७ करोड कोरियाली जनताको पुनः एकीकरणको दृढ इच्छा र आकाङ्क्षाबारे व्यक्त गर्नुभयो । उहाँले १९९० को दशकमै आफ्नै आँखाले देशको पुनः एकीकरण हेर्ने कोरियाली जनताको अविचल इच्छा ५ वर्षभित्रै पूरा हुने कुरा बताउनुभयो । उहाँले थप्नुभयो, “महान् नेता का. किम जोङ इलको अनुभवी नेतृत्वमा राष्ट्रिय पुनःएकीकरणको निम्ति संसारको प्रगतिशील जनतासँग घनिष्ठ एकता कायम गर्दै कोरियाली जनतासँग एक हँुदै अगाडि बढ्दै जानेछ ।”
राष्ट्रिय पुनः एकीकरणको ध्रुवतारा र कोरियाली राष्ट्रका महान् नेता आदरणीय जेनेरल किम जोङ इलको सुस्वास्थ्य, भव्य राष्ट्रिय पुनःएकीकरणको उत्सव र उपस्थित सबैको सुस्वास्थ्यको निम्ति टोस्ट प्रस्ताव गर्नुभयो ।
पाहुनाहरूको तर्फबाट पोर्तुगालका भूतपूर्व राष्ट्रपति फ्रान्सिस्को दा कोष्टा कोमेसले उत्तर दिँदै टोस्ट प्रस्ताव राख्नुभयो ।
कोरियाली मजदुर पार्टी स्थापना–स्मृति धरहरा (२३ साउन, ०५२/10 Aug., 1995)
कोरियाली मजदुर पार्टीको स्थापनाको ५० वर्ष १५ अगस्ट १९९५ अर्थात् ३० साउन, २०५२ मा पुग्थ्यो । त्यसको तयारी प्योङयाङको हरेक चौबाटोमा ठड्याएको ५० को अङ्क र फूलहरू सजाइएको तस्बिर प्रचार र सामग्रीले देखाउँथ्यो । त्यसो त हरेक पटकको कोरिया भ्रमणमा आउँदा एक न एक उत्सव पर्ने गर्छ । सजाइएका तोरण, द्वार, तस्बिर र अन्य नगरका श्रृङ्गारहरूले प्योङयाङलाई नयाँ दुलाहादुलही बनाएको भान हुन्थ्यो । हो त आज भर्खर १० अगस्त अर्थात् साउन २५ मात्र हो । तर, तयारी भने ठाउँठाउँमा भइरहेको सडक र भवन निर्माण कार्यहरू र परेडहरूको अभ्यासबाट थाहा हुन्थ्यो ।
कोरियाका हरेक ठुलठुला भवन, धरहरा वा स्मारकहरूले एक न एक ऐतिहासिक दिन वा प्रतीकको सम्झना गराउँछ । त्यस्तै, निर्माण भइरहेको कोरियाली मजदुर पार्टीको स्थापना स्मृति धरहराले पनि देखाउँथ्यो । ३० अगस्ट १९९५ को दिन यस स्मृति धरहराको उद्घाटन हुँदै थियो ।
साउन २५ को बिहान ८ः४० बजे म अतिथि सदनबाट लगिएँ । निर्माणमा लागेका एक प्रमुखसँग परिचय गराइयो । खाँटी मजदुर देखिने अग्लो र ५०–६० वर्षका पाको देखिने प्रमुख निश्चय पनि एक इन्जिनियर हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । अर्को एकजना कामरेड तर दुब्लो पातलो र होसियार व्यक्तिसँग पनि परिचय गराइयो । चारैतिर ध्वाङ जडान गरिएको थियो, भाषण जस्तै केही भनिरहेका र बिच बिचमा गीत र गीतको धुन बजिरहेको थियो । सोध्दा जवाफ पाएँ – सिधिनै लागेको यस निर्माणलाई अझ राम्रो र दक्षतापूर्वक सिध्याउन भनिरहेको त्यो एक राजनैतिक कार्य थियो ।
३,००० महिला र ५,००० पुरुषहरूले ३० सेप्टेम्बर १९९४ मा सुरु गरेको यो पार्टी स्थापना धरहरामा २०,००० टन ढुङ्गा लाग्छ । ८–८ घण्टाको पालैपालो काम २४ सै घण्टा एक वर्षदेखि काम भइरहेको छ । ढुङ्गा काम्पो सहरबाट ल्याइएको हो ।
कोरियाली मजदुर पार्टीको झन्डामा हँसिया, घन र कलमको प्रतीक धरहरा निर्माण हुँदै छ । ती सबै ५० मिटर उँचो छ । तल गोलाकार घेरामा भवनहरू सजाइएका छन् । त्यो घेरा पनि ५० मिटरको छ । अर्थात्, दुबैले पार्टीको ५० वर्षलाई सङ्केत गर्छ । गोलको अर्थ जनता, पार्टी र नेता एक हुनु हो ।
त्यस्तै ती सबै निर्माणको क्षेत्रफल २,५०,००० वर्गमिटरमा फैलिएको छ । साथै बाहिरी क्षेत्रफल ७० वर्गमिटर छ । त्यसको अर्थ हो– का. किम इल सङले साम्राज्यवाद–मुर्दावाद सङ्गठनको स्थापनाको ७० वर्षको प्रतीक । त्यस स्मृति धरहरामा क्रान्तिभन्दा पहिलेको, १९५०–५३ पितृभूमि मुक्ति युद्धको र मुक्तिपछिको गरी तीन विभागीय सङ्ग्रहालय हुनेछन् ।
यसको चारैतिर रुखहरू रोपिएका छन् । ती रुखहरू का. किम इल सङले आफ्नै हातले लगाउनुभएको हो । यसको अर्थ हो, “साम्राज्यवाद–मुर्दावाद सङ्गठन र कोरियाली मजदुर पार्टी पनि का. किम इल सङले नै रोप्नुभएको र हुर्काउनुभएको हो । ५० मिटरको लम्बाइमा ६ वटा फोहराहरू हुनेछन् ।”
यस कामको सबै निर्देशन का. किम जोङ इलले नै गर्नुभएको र बरोबर निरीक्षण गर्न आउनुभएको कुरो पनि बताइयो । ३–४ दिनभित्र सिध्याउन नसकिने मेरो अनुमानको जवाफमा कार्य प्रमुख कामरेडले बताउनुभयो, “यो खालि श्रृङ्गार वा अन्तिम काम भइरहेको हो ।” सा¥है मन लगाएर कामदारहरू काम गर्दै थिए । पार्टी स्थापनाको ५० औँ वर्ष र समयमै निर्माण सिध्याउने जाँगरलाई बधाई दिँदै बिदा लिएँ ।
किम इल सङ विश्वविद्यालय
१०ः३० बजे हाम्रो मोटर किम इल सङ विश्वविद्यालयको मूलढोकाभित्र पस्यो । १ अक्टोबर १९४६ को दिन राष्ट्रिय मुक्ति र स्वतन्त्रताको प्रतीकको उद्देश्यको निम्ति कोरियाली राष्ट्रपिता किम इल सङकै अगुवाइमा त्यस विश्वविद्यालय स्थापना भएको थियो । त्यसबेला सरकारसँग न प्राध्यापकहरू थिए न आवश्यक रकम नै थियो । तर, नयाँ समाज बनाउने शिक्षा र संस्कृतिलाई नयाँ रूप नदिई भएको थिएन । स्थापना हुँदा विश्वविद्यालयमा ७ विषयमात्रै राखिएका थिए र ६० जनामात्रै प्राध्यापकहरू थिए, १,५०० जना विद्यार्थीहरू थिए ।
“प्राकृतिक विज्ञान र समाज विज्ञान गरेर जम्मा १५ विषयमा यहाँ अध्ययन र अध्यापन हुन्छ । समाज विज्ञानमा अर्थशास्त्र, इतिहास, कानुन, कोरियाली भाषा, दर्शन र अन्य विदेशी भाषा र साहित्यका विभागहरू (Faculty) छन् भने प्रकृति विज्ञानको क्षेत्रमा भौतिक विज्ञान, गणित, रसायन शास्त्र, जीव विज्ञान, भूगोल, भूगर्भ शास्त्र, आणविक ऊर्जा, स्वयंचालित मोटरकार (Automobile) आदि विषयको पढाइ हुन्छ । त्यसपछि अन्य विश्वविद्यालयबाट स्नातक भइसकेका छात्रछात्राहरूलाई यहाँ पुनः शिक्षा, अनुसन्धान र अन्वेषण (शोध) को पनि बन्दोबस्त छ ।”
विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र पदाधिकारीहरूको तर्फबाट स्वागत गर्दै विदेश मामलाका विभागीय प्रमुखले विद्यालयको इतिहास र अन्य विभाग तथा संस्थानहरूबारे बताउनुभयो ।
प्रकाशन गृह, पुस्तकालय, प्रयोगशाला, सेवा विभाग, शारीरिक सुगठन, खेलकुद, पार्टी, जन–शक्ति र सेना, विज्ञानको नयाँ अनुसन्धान आदि गरी विद्यालयमा जम्मा १० वटा संस्थानहरू छन् । यस विद्यालय ८ किलोमिटरको घेरा वा १,५०,००० वर्गमिटरमा फैलिएको छ । भवनहरूको मात्रै ४०,००० वर्गमिटर छ । पुस्तकालयमा २ अर्ब पुस्तकहरू छन् र १२,००० बस्ने स्थान उपलब्ध छ । परराष्ट्र मामलाका प्रमुख कामरेडले भन्दै जानुभयो – १९४८ अक्टोबरमा आफ्नै प्रविधि र आफ्नै सामानबाट कोरियाली जनताले यस विश्वविद्यालयको निर्माण गरेका थिए । तर, १९५०–५३ को पितृभूमि मुक्ति युद्धमा अमेरिकी आक्रमणले यो विश्वविद्यालय ध्वस्त भएको थियो ।
त्यसपछि हामी विश्वविद्यालयको क्रान्तिकारी सङ्ग्रहालय हेर्न गयौँ । एक महिला निर्देशिकाले भन्दै गइन्, “यस विश्वविद्यालयलाई महान् नेता का. किम इल सङको १०० पटकको निरीक्षण, रेखदेख र ५०० पटक निर्देशन शिक्षा पाउने गौरव प्राप्त छ । यसले का. किम जोङ इलबाट १९६० देखि १९६४ सम्म अध्ययन गर्नुभएको शिक्षालय हुने गौरव प्राप्त गरेको छ । उहाँले यहाँ राजनीतिशास्त्र र अर्थशास्त्रको अध्ययन गर्नुभएको थियो ।” विदेशी विश्वविद्यालयमा नपढी आफ्नै विश्वविद्यालयमा पढ्ने अठोट, आफ्नै देशलाई पहिले बुझ्ने भावना, क्रान्तिकारी साहित्यहरूको अध्ययन, सैद्धान्तिक पक्षमा बढी ध्यान दिनुका साथै बाटो बनाउने, कारखानामा काम गर्ने र भान्छामा अरु सरह भाग लिने, पार्टीको सङ्गठनमा बढी ध्यान दिने, पार्टीको प्रारम्भिक समिति बनाउने, पार्टीको निम्ति चन्दा उठाउने, सैनिक तालिम र कविता लेख्ने आदि किम जोङ इलका विश्वविद्यालयको जीवनबारे निर्देशिकाले बताइन् ।
निर्देशिकाले का. किम जोङ इलको विश्वविद्यालयको जीवनसँग सम्बन्धित फोटोहरू र चित्रहरू भएका कोठाहरू देखाउँदै गइन् – सबै विद्यार्थीहरूलाई माया गर्नुपर्छ, मजदुरवर्गको उद्देश्यबाट युवावर्ग शिक्षित हुनुपर्दछ, सामाज्यवादीहरूले आफ्नो चरित्र बदल्दैनन् भन्ने जस्ता भावना र कुराहरू उहाँ विश्वविद्यालयमा व्यक्त गर्ने र लेख्ने काम गर्नुहुन्थ्यो । विश्वविद्यालयबाट स्नातक भइसकेपछि रोङडोङ सिम्बुन (‘मजदुर’ दैनिक) मा उहाँले लेख्नुभयो, “आफ्नै विश्वविद्यालयमा अध्ययन गर्न उत्साहित गराउनुपर्छ ।”
सङ्ग्रहालयका कोठाहरू हेर्दै जाँदा उहाँले पढ्नुभएका पुस्तकहरूमध्ये कोरियाली भाषाकै थियो – माक्र्स र एङ्गेल्सको ‘कम्युनिस्ट घोषणापत्र’, लेनिनको ‘राज्य र क्रान्ति’, अनि स्तालिनका ग्रन्थहरू, त्यसपछि ताल्स्तोयको ‘युद्ध र शान्ति’, गोर्कीको ‘आमा’, ओस्ट्रोवस्कीको ‘इस्पात कसरी बन्यो’ (तरुण गार्ड) आदि ।
अध्ययनपछि किम जोङ इल पार्टी र सरकारको कार्यमा लाग्नुभयो र आफ्नो देशलाई बुझ्न दिन उहाँले पठाउनुभएको कोरियामा पाइने विभिन्न प्रकारका खनिज वस्तुहरू प्रदर्शित थिए र त्यस्तै छात्रछात्राहरूको प्राणी विज्ञानको अध्ययनको निम्ति पठाउनुभएका संसारका अनेक चराचुरुङ्गी र पशुहरू पनि प्रदर्शित थिए । कोरियाको पेक्डु पहाडमा पाइने सेतो हरिण, स्वर्गकी चरी भन्ने अत्यन्त सुन्दर सेतो चरा, दाँत नभएको– कमिला मात्रै खाने कांयडा (शालाक) जस्तो जनावर पनि पहिलोचोटि देखेँ । नेपालको पनि कुनै नमुना छ कि भनी सोद्धा तिनीले भनिन् – एक प्रकारको हरियो माछा छ । छुटेका धेरै छन् र पछि आउँदा देखाउने र स्वागत गर्ने मौकाको अभिव्यक्त गर्ने विदेश मामलाको विभागीय प्रमुखसँग बिदा लिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *