साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, २ माघ । वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा मङ्गलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो । ‘स्थानीय स्रोत र प्रविधिसमेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारासहित सो दिवस मनाइएको हो ।
भक्तपुर नगरपालिका, नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मङ्गलबार भक्तपुरको दत्तात्रयमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रम भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले सरकारले संरचना निर्माणमा भूकम्पीय क्षति कम हुने मापदण्ड पालना गर्नु गराउनु जरुरी रहेको उल्लेख गर्दै देशभरि नै नयाँ पुस्ताका डकर्मी सिकर्मीहरूलाई भूकम्पीय जोखिम कम गर्ने प्रविधिबारे तालिम दिनु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ भन्नुभन्दा ‘भूकम्पीय जोखिम कम गर्ने प्रविधिसम्बन्धी शिक्षा दिने दिवस’ भन्नु उपयुक्त होला । भूकम्प विषय भूगर्भशास्त्रसँग पनि सम्बन्धित हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आवास क्षेत्र विकास गराउनुअघि भूगर्भ के कस्तो छ, सबै अध्ययन गर्ने गराउने काम गर्नुपर्नेमा त्यसो नगरी जताततै निजी प्लटिङ गर्न दिएको गलत छ । यसकारण, काठमाडौँ उपत्यका विकास प्राधिकरणको नाम ‘निजी प्लटिङ विकास प्राधिकरण’ राख्नुपर्ने त होइन भन्ने प्रश्न उठिरहेको छ ।”
२०७२ सालको भूकम्पबाट क्षति भएको भक्तपुर लाय्कुको चित्रकला सङ्ग्रहालय सरकारी कार्यालय रहेको मल्लकालीन सिंहध्वाका भवनको पूर्वतर्फको आधा भाग विसं १९९० सालको भूकम्पबाट क्षति भएपछि राणाकालीन शैलीमा निर्माण गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अर्को विनाशकारी भूकम्प आएमा टेको अड्याइएको यो सङ्ग्रहालय भत्किने र यहाँ आउने आन्तरिक एवम् बाह्य पर्यटकलगायत स्थानीय जनताको धेरै ज्यान गुम्ने सम्भावना छ । यसकारण, चित्रकला सङ्ग्रहालय भएको सिंहध्वाका दरबार मल्लकालीन शैलीमा अविलम्ब जीर्णोद्धार गर्ने गराउने काम सरकारले गर्नु जरुरी छ ।”
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा जनघनत्व बढाइएको हुँदा अर्को विनाशकारी भूकम्प आए धेरै जनधनको क्षति हुने सम्भावना छ । यसबारे सरकारहरू अहिले नै सचेत हुनु जरुरी छ । प्रधानमन्त्री र मन्त्री हुने भनेको झन्डावाल गाडीमा सिंहदरबारभित्र बाहिर गर्ने होइन, युवालाई राहदानी भिराएर वैदेशिक रोजगारीमा पठाउने होइन । सरकारले गत वर्षमात्रै २,३१८ जना चिकित्सकलाई ‘असल चरित्र प्रमाणपत्र’ दिएर वैदेशिक रोजगारीमा पठायो । के अब नेपाली विनाउपचार मर्ने दिन आउँदै छ ?”
राष्ट्रपति रामचन्द्र पौडेलले माघीको अवसरमा संसद्मा भएका राजनीतिक दलका प्रतिनिधिहरूलाई आफ्नो निवासमा निम्ता दिएर आफूसँग भेटेका विदेशी पाहुना र राजदूतहरूले नेपालको संविधानमा तल्लो वर्गलाई सम्बोधन गरिएको एसियाकै बेजोड भएको भनी प्रशंसा गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, “हामीले तल्लोवर्ग अध्ययन गर्ने देशभरिका अधिकांश सामुदायिक विद्यालयहरूको गुणस्तर खस्किएको, युवालाई देशभित्र काम नदिई सरकारले वैदेशिक रोजगारीमा पठाएको देश हितमा छैन । चिकित्सकसमेत हजारौँलाई वैदेशिक रोजगारीमा पठाएको र नेपाल विद्युत् प्राधिकरणको शेयर ६० अर्ब रुपैयाँ बराबरको बिक्री गर्ने निर्णय पनि प्राधिकरणलाई निजीकरण गर्ने तयारी भएको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गरायौँ ।”
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्प निर्मित संरचनाले क्षति पुग्ने हुँदा बलियो र भूकम्प प्रतिरोधी निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवसको अवसरमा जनचेतनामूलक प्रदर्शनी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउँदै उहाँले ऐतिहासिक एवम् पुरातात्विक सम्पदा पुनःनिर्माणमा भूकम्प प्रतिरोधी निर्माण शैली सीप र सामग्री प्रयोग गर्दै सम्पदा संरक्षण गर्दै आएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशले ४०—५० वर्षको अन्तरालमा महाभूकम्प व्यहोर्दै आइरहेको यथार्थबारे प्रस्ट पार्दै १९९० सालको भूकम्पपश्चात् पनि धेरै ठुल्ठुला भूकम्पबाट सिक्दै सुरक्षित समाज र बस्ती निर्माणमा अगाडि बढ्ने कोसिस हुँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बलियो र भूकम्प प्रतिरोधी संरचना निर्माणमा जनताको चेतनास्तर जति आवश्यक हुन्छ, देश सम्हाल्ने सरकारको जिम्मेवारी, दूरदर्शिता र संवेदनशीलता पनि त्यति नै महत्वपूर्ण हुन्छ ।”
हाम्रो पुर्खाले पनौती, चित्तपोल, कटुन्जे, कीर्तिपुरलगायतका ठाउँहरूमा बस्ती विकास गर्नु आफैँमा भौगर्भिक ज्ञानपश्चात्को निर्माण हुनुपर्छ भन्दै उहाँले पुर्खाले मठ मन्दिर, पाटी पौवाहरू देवता राख्नको लागि मात्र बनाएको नभई यहाँको जनजीवन र भौगर्भिक स्थितिलाई मध्यनजर गर्दै बनाइएका संसारकै उत्कृष्ट र नमुना निर्माणको रूपमा रहेको बताउनुभयो ।
केन्द्रीकृत बस्तीको निर्माणले पनि उपत्यकालाई भूकम्पीय जोखिमलाई झन् बढाएको उल्लेख गर्दै उहाँले विगतका विपद् र क्षतिबाट सिकेर अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदाहरू २१ औँ शताब्दीमा पनि अत्यन्त महत्वपूर्ण संरचनाको रूपमा रहेको चर्चा गर्दै भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा स्थानीयको सहभागिता, स्थानीय प्रविधिमै जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले विभिन्न आयातीत वस्तुमा आधारित भएर निर्माण गरिएका संरचना मात्रै भूकम्प प्रतिरोधी हुने मानसिकता गलत भएको बताउँदै स्थानीय स्रोत र साधनलाई प्रयोग गरी भूकम्प थेग्ने संरचना गर्न सक्छौँ भन्ने सन्देश दिन यो दिवस सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो । कार्यक्रमको उद्घाटनपश्चात् प्रमुख अतिथि तथा अतिथिहरूले प्रदर्शनीस्थल अवलोकन गर्नुभएको थियो ।
उक्त प्रदर्शनीमा ३१ वटा मोडल, ४३ वटा चित्रकला, २६ वटा पेपर ब्रिज, ६ वटा पोस्टर र सुरक्षा निकायबाट सुरक्षा तथा उद्धार सामग्रीहरू तथा जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको तर्फबाट राखिएको खोज तथा उदार सामग्रीको स्टल राखिएका थिए ।
Leave a Reply