भर्खरै :

शिक्षामा राजनीतीकरणको अर्थ के हो ?

केही शिक्षाविद् र बुद्धिजीवीहरू नेपालको शिक्षा क्षेत्रमा अत्यधिक राजनीतीकरणको प्रभाव पर्यो र त्यसको परिणाम शिक्षा क्षेत्रको स्तर तल झर्दो अवस्थामा पुग्यो भन्ने निष्कर्षमा पुगेका छन् ।
यस भनाइमा तीनवटा पक्ष देखिन्छ– एक, नेपालमा धेरै राजनीतिक दलहरू भए । दुई, राजनैतिक दलहरूले आफ्ना कार्यकर्तालाई शिक्षक बनाए । तीन, नेपालको शिक्षा क्षेत्रमा राजनीतीकरणको कारण शिक्षाको स्तर घट्यो ।
शिक्षाको स्तर खस्किएको भन्ने ती निष्कर्षहरू पूर्णरूपले खोटपूर्ण छन् । एक, राजनैतिक दलहरू नेपालमा मात्र होइनन् हरेक देशमा फरक फरक दर्शनको आधारमा भिन्नाभिन्नै आदर्श समाज खडा गर्ने उद्देश्य बोकेका तथा वर्ग, जात, भाषा, क्षेत्र, धर्म आदि समाजमा विद्यमान विचार, सिद्धान्त र स्वार्थको आधारमा राजनीतिक दलहरू स्थापना भएका हुन्छन् ।
गहिरिएर तथा सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने बहुमत विद्यार्थीहरू २०–३० वर्षअगाडि पनि अनुत्तीर्ण र कमजोर थिए । साँचो अर्थमा ६० प्रतिशत अङ्क ल्याएका मात्रै उत्तीर्ण भएको सीमा हिजो पनि तोक्न सकेको थिएन, आज पनि तोक्न सक्दैन । तर, अरू देशमा बन्दोबस्त छ ।
पहिले राजधानी, सहरबजार र सदरमुकाममा मात्रै स्कूल र विद्यालयहरू थिए । अत्यन्त बहुमत जनता शिक्षाको पहुँचबाट टाढा थिए ।
दुई, राणाविरोधी सङ्घर्ष सुरु भएको बेला शिक्षकहरूले नै स्कूल र विद्यालयहरू सञ्चालन गरेका थिए । त्यस अर्थमा शिक्षा र राजनीति पर्यायवाचीजस्तो देखिन्थे ।
राजनीतिक चेतनाले शिक्षा प्रचारमा ऊर्जा थपेको अनुभव छ । राजनीतिक चेतना आफँै शिक्षाको नापो बनेको थियो । शिक्षकहरू खोजेर नपाइने बेला राजनीतिक कार्यकर्ता नोकरी नगरी आ–आफ्ना टोल र गाउँमा शिक्षक बनेका थिए ।
त्यसबेला शिक्षाको स्तर ठाउँ र क्षेत्रअनुसार फरक हुनु स्वाभाविक थियो ।
तीन, राजनीतीकरणले शिक्षाको स्तर घट्यो भन्ने भनाइ पूर्णतः शिक्षा र राजनीतिको अपव्याख्या हो ।
राजनीतीकरण भएको होइन बरु योग्यता नभएका शिक्षकहरूलाई पनि आ–आफ्ना भाइ, भतिजा, नातागोता, जातका र भाषाको आधारमा स्कूलहरूमा शिक्षण पेसामा लगाइयो । त्यो राजनीतीकरण नभई पक्षपात, जातिवाद र सामाजिक भेदभावलाई चरमचुलीमा पु¥याइएको हो । कमजोर शिक्षक नियुक्ति भयो । जनताका छोराछोरीलाई योग्य नबनाउने उद्देश्यका साथ राम्रो नपढाउने शिक्षकहरू बढी देखिए ।
शिक्षकहरूले राजनीतिक दर्शन, प्रजातन्त्रका विविध रूप, अर्थशास्त्र, भूगोल, इतिहास आदि पढाएका भए विद्यालाई राजनीतीकरण अर्थात् सरकारी पाठ्यक्रमभन्दा फरक शिक्षा दियो भन्न सकिन्थ्यो । शिक्षकहरूले प्रजातन्त्र, समाजवाद र साम्यवादका विभिन्न सिद्धान्तहरूको शिक्षा दिएका भए राजनीतीकरण गरे भन्न सुहाउँथ्यो । त्यस्तो गरेको भए आजको जस्तो पैसामा बिक्ने र सिद्धान्तच्युत फोहोर राजनीतिको गलत परिणाम पनि देशले भोग्नुपर्ने थिएन ।
देश विभिन्न जातजाति, भाषाभाषी र भौगोलिक क्षेत्रमा विभाजित भएको हुँदा आ–आफ्नो मातृभाषामा र जलवायुअनुसारै परीक्षा, बिदा र कक्षा सञ्चालन गरेको भए शिक्षाको स्तरमा ¥हास आयो भन्ने गुनासो गर्ने अवसर कसैले पाउने थिएनन् ।
यसकारण, नातावाद, कृपावाद, भाषावाद, जातिवाद र पक्षपातको आलोचना गर्नु आवश्यक छ । शिक्षकहरूले सबै आ–आफ्ना गाउँ, सहर र प्रदेशको शिक्षालाई स्तरीय बनाउन कष्टसाध्य काम गर्नुपर्ने हो । काठमाडौँमा प्राप्त सबै प्रकारको शिक्षा, स्वास्थ्य, रोजगारी आदिको अवसर प्राप्त गराउने उद्देश्यबाट देशको सन्तुलित विकासबारे सरकारको ध्यान नजानु अहिलेसम्मका सबै सरकारहरू यस स्थितिको निम्ति जिम्मेवार छन् । यस अर्थमा गरीब भए पनि काठमाडौँमै घर बनाएर बस्ने प्रवृत्तिको विकास गराउने परिस्थिति तयार गर्ने सरकारका नाइकेहरू नै शिक्षाको स्तरलाई तल झार्नेमा दोषी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *