भर्खरै :

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–५

कोरिया मुक्तिको ५० औँ दिवस तथा राष्ट्रिय पुनःएकीकरणको भव्य महोत्सव–५

चौथो भ्रमण
२३ साउन – २ भदौ, २०५२ (Aug 8 – 18, 1995)

प्रजातान्त्रिक राष्ट्रिय मोर्चाको प्योङयाङ नियोग
१०ः३० बजे हामी नियोगको कार्यालयमा पुग्यौँ । “होङ छिङ योङको नेतृत्वमा नेपाल भ्रमणमा भक्तपुरमा भएको स्वागतमा देखाउनुभएको सद्भावनाको निम्ति धन्यवाद ! पुनःएकीकरणमा समेत सहयोगको निम्ति धेरै धेरै धन्यवाद !”
“हाम्रो जनतामा स्वाधीनताको चेतना जगाउने गा¥हो काम भइरहेको छ । पहिले पुनः एकीकरण भन्नासाथै कम्युनिस्ट र उत्तरको विचार सम्झिन्थ्यो र एक्लिन्थ्यो । अहिले फरक छ । का. किम इल सङको १० सूत्रीय कार्यक्रम र महासङ्घको प्रचार भइरहेको छ । त्यसले राम्रो असर परेको छ र अब शत्रुहरू एक्लिँदै छन् । किम योङ सामको तथाकथित नागरिक सरकार पहिलेकै सैनिक र फासीवादी सरकारभन्दा पनि क्रूर हो भन्ने कुरा उदाङ्गिएको छ, एक्लिएको छ र कुनै पनि दिन ढल्न सक्ने स्थितिमा पुगेको छ । अर्थात्, पाँचौँ र छैटौँ गणतन्त्रभन्दा उदाङ्गिँदै छ र ‘नागरिक’ सरकारको मकुन्डो (नकाब) उदाङ्गिँदै छ । स्वाधीनता प्राप्त गर्ने र अमेरिकालाई देशबाट हटाउने कुरामा जनता झन्झन् जागरित हुँदैछन् ।
पहिले हाम्रो विचार सीमित कार्यकर्ता र नेताहरूमा हुन्थ्यो भने अब त्यो जनतासम्म पुगेको छ । अहिले ‘शताब्दीका साथ’ हजारौँ प्रति प्रचार भइरहेको छ । त्यसको प्रभाव राम्रै परेको छ । गत जून महिनाको स्थानीय निर्वाचनमा सियोलबाट १३३ प्रतिनिधिमध्ये ११ वटाको मात्रै किम योङ सामको पार्टीले जित्यो र १२१ विरोधीले जित्यो, जबकि सियोलमा ४ भागको १ भाग जनसङ्ख्या बस्छ । प्रशासनिक दृष्टिले २५ स्थानमध्ये २ वटा मात्रै किम योङ साम गुटले जितेको छ, फेरि त्यसभित्र अन्तरविरोध पनि बढेको छ ।”
दक्षिण कोरियाका ४ करोड जनता सङ्गीन र तरबारको अगाडि भुक्ने छैनन् र १९९० को दशकमै कोरिया पुनःएकीकरण हुने विश्वासमा छन् । सुरक्षा कानुनले जनतालाई टाउको उठाउन नदिए पनि आन्दोलन बढ्दै जानेछ । त्यहाँ खोजी भएका मानिसहरू (हामी) मात्रै यता बसेका छाँै । कोरियाली जनताको पुनः एकीकरणको सङ्घर्षलाई नेमकिपा र नेपाली जनताको समर्थन रहिरहने कुरा बताउँदै मैले दक्षिण कोरियाली मित्रहरूसँग बिदा लिएँ ।
सांस्कृतिक भवनमा रेडियो कार्यक्रम
रेडियो प्योङयाङको तर्फबाट एक सांस्कृतिक कार्यक्रम ५००० सीट भएको १६ फेब्रुअरीको सांस्कृतिक भवनमा राखिएको थियो । अनेक गीत र धुनपछि विदेशी पाहुना र प्रवासी कोरियालीहरूले, प्रतिनिधिहरू र दक्षिण कोरियाली युवाहरूले पनि पुनःएकीकरणबारे बोले । ३ बजेदेखि ५ बजेसम्म त्यो कार्यक्रम चालु रह्यो । त्यसपछि हामी सर्कसको कार्यक्रमको निम्ति हिँड्यौँ ।
सर्कस
कोरियाको सर्कस भवन र सर्कसबारे मैले अगाडि नै लेखिसकेको छु । यसपालि पनि जीउ नै सिरिङ्ग हुने नयाँ नयाँ खेलहरू पनि हेर्ने मौका पाएँ । शारीरिक सर्कस, चटक, हाँसो, कुकुरको फूटबल र बरफमा चिप्लेटी (स्केटिङ) नाचजस्ता १३–१४ वटा रोमञ्चकारी र घतलाग्दा कार्यक्रम २ घण्टा चल्यो । ८ बजे अतिथि सदन पुगेँ ।
जुछे प्रतिष्ठानमा (१ भदौ, ०५२/17 Aug, 1995)
बिहान ८ः३० बजे अतिथि सदनबाट निस्क्यौँ र ९ बजे जुछे प्रतिष्ठान (Juchhe Academy) एक रमणीय स्थानमा पुग्यौँ । १७ अगस्ट अर्थात् १ भदौको कार्यक्रम यसरी सुरु हुन्छ । अभिवादन र स्वागतको आदानप्रदानपछि र सङ्ग्रहालयको दृश्यावलोकनपछि जुछे विज्ञान प्रतिष्ठानका अन्वेषक र प्राध्यापक डा. किम चोङ युक (Dr. Kim Chong Uk) सँग दर्शनबारे कुराकानी सुरु भयो । उहाँ अहिले यस संस्थानको दर्शनशास्त्र विभागको निर्देशक पनि हुनुहुन्छ । कुराकानीको सिलसिलामा उहाँको भनाइलाई यसरी राख्न सकिन्छ –
“१० वर्षअगाडि स्थापना भएको, अहिलेसम्म जुछे विचारबारे देशविदेशबाट ५,००० जना जति राजनैतिक व्यक्तिहरू, भौतिकशास्त्रीहरू, बौद्ध धर्मावलम्बीहरू, इस्लामी धर्मावलम्बीहरू र क्रिस्टानीहरूले यसबारे आ–आफ्नो अध्ययन र अनुसन्धान गरेका छन् । संसारका विभिन्न ठाउँहरूमा यसको अनुसन्धान र अध्ययन केन्द्रहरू छन् । यसको एक अनुसन्धानकर्ता फ्रान्सको सोलोभ विश्वविद्यालयका प्राध्यापक पेरुदुद्ध हुनुहुन्छ ।”
कसैले जुछे विचारलाई ईशा पूर्व ६०० वर्ष पहिले बुद्धको ‘मानिस सबैको अगुवा हो र मानिस सबथोक हो’ भन्ने दर्शनबाट प्रभावित भने । बुद्धले आफ्नो शिष्य आनन्दलाई भन्नुभएको थियो, “कसैमाथि विश्वास नगर आफैँमाथि भर पर ।” कसैले यसलाई ईशा पूर्व ३०० वर्षअगाडि एरिस्टोटल (अरस्तु) को विचारसँग मिल्छ भने । क्राइस्टेली धर्मअनुसार ईश्वरले मानिस बनायो र मानिसले सबै संसारलाई आफैँ बनाउँछ भन्छ । पश्चिमी विचारअनुसार आफ्नो भाग्य आफैँ बनाउँछ । हिन्दू दर्शन मान्नेहरूले जुछे पनि पूर्वेली दर्शन हो र हिन्दुवादमा यसले वैज्ञानिकता ल्याइदिएको भन्छ । कसैले यसलाई माक्र्सवाद–लेनिनवादमा वैज्ञानिकता ल्याएको भन्छन् ।
तर, कोरियाको एउटा उखान छ, “चलाख मानिसले विभिन्न कुरामा भिन्नता पत्ता लगाउँछ ।” अर्को कोरियाली उखान छ, “मूर्खले हरेक कुरालाई त्यस्तै देख्छ वा जथाभावी देख्छ ।”
तर, जुछे विचारमा पुराना सबै प्रगतिशील पक्षलाई परिमार्जित गरिएको देखिन्छ । २१ सौँ शताब्दीको माक्र्सवाद र अमेरिकाको उदार पुँजीवाद दुबैले जनतालाई आकर्षण दिन सकेन भन्ने युरोपेली विद्वानहरूको भनाइ छ । जाँपाल सात्र्रले १९६० तिर द्वन्द्ववादको तर्क वा विवेकलाई आलोचना गरे । १७७६ तिर एडम स्मिथले मानिसको बिचको प्रतियोगिताको सिद्धान्तलाई अगाडि बढाए । १९६० तिर पुँजीवादले ठुलो धक्का खायो । किन्सले सीमित प्रतियोगिता, राज्यको रेखदेख र कल्याणकारीतामा जोड दिए । १९६० तिर पुँजीवादले समाजवादको राम्रो कुरा नक्कल गर्न खोज्यो । १९७० तिर पुँजीवादले खतरनाक रूप लियो, इरानको क्रान्ति भयो, तेलको मूल्यवृद्धि भयो आदि । १९८० मा पश्चिम वा विकसित देशहरूमा नव–रुढीवाद पुनःस्थापना भयो र पुनः पूर्ण प्रतियोगितावादमा फक्र्यो । १९९० मा जोन मेजर र क्लिन्टनजस्ताले फेरि नवराज्य नियन्त्रणको सिद्धान्त ल्याए ।
१८४७ मा कम्युनिस्ट घोषणापत्रको प्रकाशन भयो । लेनिनले रुसमा त्यसलाई कार्यान्वयन गर्नुभयो । त्यसपछि माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादलाई चीनको परिस्थितिमा लागू गर्नुभयो । तर, त्यसमा सिर्जनात्मकताको अभाव रह्यो, जनतामा सचेतता र सङ्गठनकै अभावमा जनकम्युन र सांस्कृतिक क्रान्तिका उद्देश्य राम्रो भए पनि जनताको चेतनाको स्तरलाई ख्याल नगर्दा उत्पादन शक्ति र स्थिति नहेरिँदा मनोगतवादी पाइला चालियो र आज त्यसलाई अनुचित सम्झियो ।
१९६० मा विश्व जनसङ्ख्याको झन्डै ६० प्रतिशत जनताले माक्र्सवादलाई मनपराएका थिए । १९७० मा ४० प्रतिशतमा घट्यो, १९९० मा १० प्रतिशत मात्रै बाँकी रह्यो । किन ? पुँजीवादले परिवर्तनको ग्रहणशीलता कायम राख्यो र माक्र्सवादले विकास गर्न सकेन, त्यसमा पूर्णताको भ्रम भयो ।
पुँजीवाद नराम्रो कुरा हो भन्ने कुरा १८ औँ शताब्दीमै मानिसकिएको थियो, तर त्यो आफैँ पतन भएन, समाजवाद एक आदर्शको रूपमा रह्यो । तर, राम्रो भएर पनि समाजवाद किन विकास हुन सकेन ? समाजवादको विकास नहुनु र त्यो सुरक्षात्मक स्थितिमा पुग्नुमा ४० वटा समाजवादी धारणाहरू छन् । त्यसमध्ये जुछे विचारधाराले योगदान गरेको हुनाले त्यसमा देश–विदेशका प्रगतिशील जनमतको चाख बढ्दो छ । यसकारण, २१ औँ शताब्दीमा जुछे विचारधारा आकर्षणको विषय बन्ने छ ।
यसबारे सुरुमा जुछे सङ्ग्रहालयको निर्देशिकाले भनेकी थिइन्– जुछे विचारको अध्ययन र ठम्याइको आदानप्रदान गर्न वर्षको जापानबाट २००, चीनबाट ७०, भारतबाट ४० जना, युरोप र अमेरिकाबाट १०० जना जति विद्वान्हरू आउने गर्छन् । डा. किम चोङ युकले जापानी साम्राज्यवादबाट आफ्नो देशको मुक्तिको निम्ति का. किम इल सङको बुबाले सङ्गठन सुरु गर्नुभएको, त्यसलाई महान् नेताले १९३० को जून महिनामा जापानविरोधी सशस्त्र क्रान्तिको बेला यसलाई विकास गर्नुभएको बताउँदै भन्नुभयो– २० लाख वर्षपहिले मानिसको उत्पति भएको थियो भने ५००० वर्षको राज्य सङ्गठित भएको इतिहास छ । समाज र राष्ट्रको विकास पहिलेको र आजको युगमा भिन्न किसिमले भएको छ । सिङ्गापुरको ३० लाख मात्रै जनसङ्ख्या छ भने चीनमा १ अर्ब २० करोड छ । हरेक देशको विकासमा भूगोल, परम्परा वा अन्य खास विशेषताले काम गरेको हुन्छ । १ अर्ब जनसङ्ख्या नाघेको चीनमा ५६ वटा जातिहरू छन् । ५० प्रतिशत निरक्षर वा अशिक्षित छन् । सबै राज्यले गर्न गा¥हो हुन्छ । हरेक व्यक्तिको अगुवाइको महत्व हुन्छ, त्यसैले बजार अर्थतन्त्रको पनि आफ्नै महत्व हुन्छ ।
संसारमा ५ अरब ७० करोड जनसङ्ख्या छ, त्यसमध्ये ५–६ हजार जति जाति छन्, राज्य भने १९० वटा मात्रै छ । यसकारण, सम्बन्धित राष्ट्रहरूको समाजको वस्तुगत व्याख्या हुनुपर्छ र राज्यहरूको फरक फरक राजनीति र संस्कृति हुन्छ । इन्डोनेसियामा सुकार्नोको पालामा राष्ट्रवाद, धर्म र समाजवाद अर्थात् NASACOM भनेर पार्टीको विकास भएको थियो । तर, डी.एन. अडित (इन्डोनेसियाली कम्युनिस्ट पार्टीको अध्यक्ष) ले पार्टीलाई अझ बलियो पार्ने कार्यमा ध्यान दिएन र सन्तोष मान्दा ३० सेप्टेम्बर १९६५ को घटना (कम्युनिस्टहरूको आमहत्या) भोग्नुपर्यो ।
माक्र्सभन्दा पहिले प्रकृतिको मात्रै नियम हुने तर समाजको नियम नहुने, ईश्वर वा ठुलठुला व्यक्तिले समाजलाई परिवर्तन ल्याउने कुरा मानिन्थ्यो । १८६९ मा कार्ल माक्र्सले ‘राजनैतिक अर्थशास्त्रको आलोचना’ मा समाजको पनि नियम हुन्छ, यसलाई नाघ्न सकिन्न भन्नुभयो । उहाँले उत्पादन शक्ति र समाजको माथिल्लो बनावटलाई मात्रै महत्व दिनुभयो । १८९० तिर एङ्गेल्सले आफ्नो साथीलाई लेख्नुभएको एउटा पत्रमा युवाहरूले बढी अर्थतन्त्रमै जोड दिएकोबारे लेख्नुभएको थियो, तर जुछे विचारले तीन कुरामा जोड दिन्छ –
“१. समाज (राज्य र देश) प्रति एकात्मक निर्देशनको आवश्यकता र क्षमताबारे परिपक्व निर्देशनअनुसार माग र आपूर्तिबारे पनि नियन्त्रणको आवश्यकता ।
२. नेताले मात्रै सबै काम गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो भूमिका निर्वाह गरेपछि मात्रै मानिस समाजको मालिक बन्न सक्नेछ ।
३. प्रत्येक राष्ट्रको आ–आफ्नो परिस्थिति हुन्छ ।”
समय बित्दै गयो, अर्को कार्यक्रममा जानुपर्ने हुँदा मैले भौतिकवादले मानिसको अगुवाइबारे ध्यान दिएन भने यान्त्रिक भौतिकवादमा पतन हुने, समाजवाद रक्षात्मक स्थितिमा पुग्नुको कारण राज्य कृत्रिम भएकोले परिमार्जित गर्दै जाने, ग्रामसनको नियमअनुसार खोटो सिक्काले राम्रो सिक्कालाई बजारबाट फाल्ने र नक्कली भिक्षुहरू तयार गरेर बुद्ध धर्मप्रति मानिसको आस्था घटाउन गरेबाट शिक्षा लिइएन भन्दै पछि पछि फेरि छलफल गर्ने गरी बिदा लिएँ ।
यसरी ६९० कोठा भएको तारामण्डल, माछा पाल्ने, ताइक्वोन्डो, जुडो, अन्य वैज्ञानिक खेलकुद तालिमको बन्दोबस्त भएको भव्य बालदरबारबाट हामीले बिदा लियौँ । केटाकेटीहरूलाई यहाँ स्कूलको समयपछि तिनीहरूको रुचि र प्रतिभाअनुसार तालिम दिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *