भर्खरै :

सार्वजनिक पदमा बसेकाहरूले आफ्नाको मात्र चिन्ता लिने होइनन्, देशभरिका जनताका छोराछोरीहरूको चिन्ता लिनुपर्छ

सार्वजनिक पदमा बसेकाहरूले आफ्नाको मात्र चिन्ता लिने होइनन्, देशभरिका जनताका छोराछोरीहरूको चिन्ता लिनुपर्छ

काभ्रे, ६ माघ । वागीश्वरी मा.वि., वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट भक्तपुरको आयोजनामा ‘वागीश्वरी परिवार’ को वार्षिक भेटघाट कार्यक्रम धुलिखेल लज रिसोर्टमा शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार ख्वप कलेजहरू स्थापना भएको चर्चा गर्दै वागीश्वरी, बासु, आदर्श आजाद कलेजलगायत भक्तपुरका शैक्षिक संस्थाहरू नेमकिपाका नेता र कार्यकर्ताहरूको नेतृत्वमा स्थापना भएको हो भन्नुभयो ।
समाजलाइ भ्रष्ट बनाउनेहरूले शैक्षिक संस्थालाई ध्वस्त पार्नेतर्फ सचेत गराउँदै उहाँले प्रम, मन्त्री, सांसद र अन्य सार्वजनिक पदमा बसेकाहरूले आफ्नाको मात्र चिन्ता लिने होइनन्, देशभरिका जनताका छोराछोरीहरूको चिन्ता लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई छिटो तयार गर्न शिक्षक शिक्षिकाहरू शैक्षिक सामग्रीसहित कक्षा कोठामा जानु जरूरी छ । थोरै पढाउने र धेरै उत्प्रेरणा दिन जरूरी छ ।”
नेमकिपाले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले मौलिक हक सुरक्षित हुने गरी संशोधन दर्ता गरेको छ । शिक्षक राजनीतिमा लागेको कारण शैक्षिकस्तर खस्केको आरोप झूटा हो । शिक्षकले चुनावमा पैसा खाएर प्रचारमा लाग्ने र मत दिने होइन भनी नयाँ पुस्तालाई सचेत बनाउनु स्वाभाविक छ । शिक्षकले विद्यार्थीलाई प्रजातन्त्र, समाजवाद र साम्यवादबारे चेतना दिनुलाई राजनीति गरेको आरोप लगाउनु गलत हो । नातावाद, पक्षपात, जातिवादको विरोध शिक्षकहरूले गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको अवसरमा संसद्मा भएका दलहरूसँग भेटघाट गर्दै आफूसँग भेट्न आएका विदेशी पाहुना र राजदूतहरूले नेपालको संविधानमा तल्लो वर्गलाई सम्बोधन गरिएको प्रशंसा गर्नुभएको उल्लेख गर्नुभयो भने नेमकिपाले अधिकांश सामुदायिक विद्यालयको गुणस्तर खस्केको र युवाहरूलाई वैदेशिक रोजगारीमा पठाइएकोतर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “६ महिनायता २ लाख ४३ हजार ४०५ जना युवालाई वैदेशिक रोजगारीमा पठाइएको अभिलेख प्रकाशित भयो । गत वर्ष २ हजार ३१८ डाक्टरलाई वैदेशिक रोजगारीमा पठाइयो ।”
युगान्डामा भएको असंलग्न आन्दोलनको १९ औँ शिखर सम्मेलनमा प्रम पुष्पकमल दाहालले सरकारको असंलग्न परराष्ट्र नीति भएको र युक्रेन एवं गाजाको लडाइँबारे उल्लेख गर्नुभयो । तर, प्रम दाहालले युक्रेनमा रूसविरूद्ध अमेरिकी साम्राज्यवादको छद्म युद्ध भएको र इजरायली सेनाले अमेरिकी साम्राज्यवादको सहयोगमा प्यालेस्टिनको भूमि कब्जा र जातीय नरसंहार गरेको स्पष्टसँग राख्नुभएन, सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संसारका न्यायप्रेमी जनताले अमेरिकी राष्ट्रपतिको तस्बिरमा जुत्ता प्रहार भएको र इजरायली प्रम तथा अमेरिकी राष्ट्रपतिको पुतलाको दुवै हातमा रगत लतपटिएको बोकेर युक्रेन र प्यालेस्टिनमा भएको बमबारीको विरोध गर्दै छन् । तत्कालीन देउवा सरकारले संरा सङ्घमा रूसविरूद्ध युक्रेनको पक्षमा मत दिएको असंलग्नताको सिद्धान्तविपरीत हो ।
दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा कृषिमन्त्रीले रासायनिक मल कम प्रयोग गरी रैथाने बाली संरक्षणतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो । प्रम र मन्त्रीहरूले सोच्नु भनी जनतालाई निर्देशन दिने होइन, आफूले गरेर देखाउने हो । चार महिनायता तरकारीमात्र १२ अर्ब आयात गरियो, दाल र चामल पनि खर्बौँ रूपैयाँको आयात भइरहेको छ । कृषिप्रधान देश दाबी गर्दै आएका प्रम र मन्त्रीहरूलाई लाज लाग्नुपर्ने हो, सांसद सुवालले भन्नुभयो ।
गर्भावस्था र सुत्केरी अवस्थामा ज्यान गुमाउने ४३ प्रतिशत महिला उपचार नपाएर मृत्यु भएको कारण स्वास्थ्य चौकी गुणस्तरीय नभएको सार्वजनिक भयो । बहुदल र गणतन्त्रको ३५ वर्षमा पनि स्वास्थ्य चौकी गुणस्तरीय बनाउन नसकेका प्रम र मन्त्रीहरू कसरी लायक हुन्छन् ? प्रम भएकाहरूसँग देश विकासको खाका नै छैन, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भएको भ्रष्टाचारमा नेपाल दूर सञ्चार प्राधिकरणलाई दोष पन्छाएर मन्त्री र मन्त्रालय मुक्त हुन सक्दैनन् । एनसेलको ६२ अर्ब रूपैयाँ पुँजीगत लाभकर नउठाएका प्रम र मन्त्रीहरूले आठ वर्ष अगाडि १४३ अर्ब रूपैयाँमा बिक्री भएको एनसेललाई यसपटक साढे ६ अर्ब रूपैयाँमा बिक्री गराई थप अर्बौँ रूपैयाँ पुँजीगत लाभकर घोटाला गराए । हुन्डी र क्रिप्टो कारोबारमा अबौँ रूपैयाँ भ्रष्टाचार भइरहेको छ ।”
अमेरिकी बमबारीबाट खरानीजस्तै पारिएको प्रजग कोरियालाई त्यहाँको नेतृत्वले ३० वर्षमा संसारको राम्रो सहरभन्दा कम नहुने गरी निर्माण ग¥यो । अग्ला भनवसहितको आवास योजना एक वर्षमै विकास गरिएको छ । प्योङयाङस्थित को¥यो होटल अन्तर्राष्ट्रिय स्तरकै हो । देशको सार्वभौमिकता रक्षा र ऊर्जा आपूर्तिको लागि आणविक योजना बनाइयो । अमेरिकी साम्राज्यवादले दक्षिण कोरियामा हातहतियार तैनाथ गरी युद्धको धम्की दिएपछि प्रजग कोरियाले वार्ता वा युद्ध भनी जवाफ फर्कायो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेका नेताहरूले मात्र देश र जनताको सेवा गर्नेछन्, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “शिक्षक शिक्षिकाहरूले बोक्सा बोक्सी र छाउपडीजस्ता अन्धविश्वासबाट समाजलाई मुक्त बनाउन नयाँ पुस्तालाई सचेत पार्नु जरूरी छ । धर्मलाई अन्धविश्वास होइन मानिसको कर्तव्यको रूपमा लिनुपर्दछ । कलेजको अनुसन्धान व्यक्ति होइन समाज र देशमुखी हुनु आवश्यक छ । विश्वव्यापीकरणको नाममा विकसित देशलाई गरिब देशको कच्चा सामान र बजार कब्जा गर्न दिनु खेतबारीमा साँढे पस्नुजस्तै हो ।”
वागीश्वरी शैक्षिक संस्थालाई आजको अवस्थामा विकास गर्न योगदान गर्नुहुने व्यवस्थापन समिति, स्थानीय जनता, प्रधानाध्यापक र शिक्षकहरू सबैलाई धन्यवाद छ, सांसद सुवालले भन्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको उच्च शिक्षा सङ्कटबाट गुज्रिरहेको चर्चा गर्दै सङ्कटको सामना गर्न सबै जोसिनुपर्ने, थप आकर्षण बढाउनुपर्ने र चुनौतीलाई अवसरको रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
देशभरमा रहेका १४५० कलेजहरूमध्ये ५ सत्न्दा बढीमा १०० जना पनि विद्यार्थी नरहेको अवस्थामा वागीश्वरी कलेजमा १२ सत्न्दा बढी विद्यार्थी हुनु आफैँमा गौरवको विषय हो भन्दै उहाँले अब क्यूएए प्राप्त भएपछि कलेजको आकर्षण थप बढ्ने अपेक्षा गर्नुभयो ।
आज शिक्षा क्षेत्रमा देखिएका उत्कृष्ट परिणामहरू विगतमा हाम्रा अग्रजहरूले गरेको दुःख र सही मार्गनिर्देशनकै उपज हो भन्दै उहाँले स्वदेशी युवाहरू विदेशमा पठाएर गलत नागरिक ऐनमार्फत विदेशी ल्याएर देश भर्न लागेकोमा नेपालीहरू सचेत हुनुपर्ने बताउनुभयो ।
देशको जलस्रोत विदेशलाई सुम्पेर समृद्ध नहुने भन्दै उहाँले नेपालको जलस्रोतमा भारतीय एकाधिकार जमाउन दिएकोमा सरकारको विरोध गर्नुभयो ।
हालै भारतीय दूतावासबाट रू. २० करोडसम्मको विकास निर्माणमा ‘सहयोग’ गर्न सक्ने नीतिले शासक दलका नेता, सांसद र मन्त्रीहरू अब भारतीय दूतावास धाउनेछन् र रकमको लागि स्वाभिमान बन्धक राख्नेछन् भन्दै उहाँले जतिसुकै दुःख भोग्नुपरे पनि स्वाभिमान बन्धक राख्न नहुने बताउनुभयो ।
वाग्मती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले देश हरेक क्षेत्रमा खस्कँदै गइरहेको अवस्थामा वागीश्वरीजस्ता केही शैक्षिक संस्थाले आशा जगाइराखेको चर्चा गर्दै यहाँको प्रगतिमा जनताको योगदान रहेको बताउनुभयो ।
सरकारको आस गर्ने भर नपर्ने भन्दै उहाँले हामीले नै अथक प्रयास गरी प्रगति गर्दै अघि बढ्ने हो भन्नुभयो ।
एक सन्दर्भमा उहाँले हाल संसारभरमा ४ करोड ४० लाख शिक्षकको अभाव रहेको तथ्याङ्क प्रस्तुत गर्दै देशभरको थोरै जनशक्ति पनि वैदेशिक रोजगारीको नाममा विदेशले चोरिरहेको बताउनुभयो ।
शिक्षण पेसा सम्मानित पेसाको रूपमा समाजमा स्थापित गर्न नसकेसम्म बिदेसिने प्रवृत्ति नरोकिने भन्दै उहाँले समाजमा छोराछोरी विदेश गएकोमा बिस्तारै चिन्ता गर्न थालेका छन्; बिस्तारै परिस्थिति कोल्टो फेरिँदै छ भन्नुभयो ।
म्यानपावर कम्पनीमाथि कडा नियम बनाएको खण्डमा बिदेसिने क्रम नियन्त्रण गर्न सकिन्थ्यो भन्दै उहाँले सरकार म्यानपावर कम्पनीहरूको चङ्गुलमा परेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका समाजवादउन्मुख समाज निर्माणमा लागिपरेको चर्चा गर्दै स्वास्थ्यमा प्रसूति सेवादेखि ख्वप अस्पतालसम्म र शिक्षामा शिशु स्याहारदेखि कलेज तहसम्म सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
नगरपालिकाको विभिन्न कार्यक्रममा वागीश्वरी परिवारको भरपुर सहयोग पाएको बताउँदै उहाँले वागीश्वरी शैक्षिक संस्था सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उत्कृष्ट रहेको भन्दै सफलताको लागि शुभकामना दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी परिवारअन्तर्गत ५,२९५ जना विद्यार्थीहरूको भविष्य जोडिएको चर्चा गर्दै सरकारको शिक्षामा भइरहेको विभेदको विरोध गर्नुभयो ।
असल र देशभक्त नागरिक तयार गर्ने ध्येयका साथ शिक्षकहरू लाग्नुपर्ने भन्दै उहाँले वागीश्वरीले सामुदायिक स्कूलमा आफ्नो सन्तान पढाउने संस्कार बनाएको बताउनुभयो ।
प्रअ कृष्णप्रसाद धन्छाले धन्यवाद व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रअ कृष्णप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *