भर्खरै :

मानसिक रोगमा देखिने मुख्य लक्षणहरू के कस्ता हुन्छन् ?

मानसिक रोगमा देखिने मुख्य लक्षणहरू के कस्ता हुन्छन् ?

मानसिक स्वास्थ्यबारे आधारभूत जानकारी
१. म को हुँ र किन यहाँ लेख्तै छु, बोल्दै छु ?
म डा. धनरत्न शाक्य एक मनोचिकित्सक वा मानसिक रोग विशेषज्ञ (साइक्याट्रिस्ट) हुँ । दुई दशकभन्दा लामो अवधिदेखि मानसिक स्वास्थ्यको सेवा, शिक्षा र अनुसन्धानमा लागेको छु । आफ्नै देशमा कार्यरत छु । यस विषयको प्राध्यापक र आफ्नो विभाग प्रमुखको हैसियतमा यस भौगोलिक क्षेत्रमा कार्यरत छु ।
यो अवधिमा धेरै पटक यसबारे आवश्यक जानकारी नहुँदा धेरै समस्या भएको देखेको छु, समस्याको साक्षी बनेको छु । यसमा आफूले सकेको काम गर्ने कोसिस गरेको छु । यसैमा केन्द्रित भएर ‘मानसिक स्वास्थ्य र मनोरोगः हाम्रो दायित्व’ भन्ने पुस्तक पनि लेखेको छु ।
यसबारे जनसाधारण सबैले के कति जानकारी राख्दा फाइदा हुन्छ ? के कति आधारभूत ज्ञान राख्न आवश्यक हुन्छ ? भनेर बेलाबेलामा सोच्न घोत्लिन बाध्य हुन पुग्छु । यही कुरालाई मनन गरेर यहाँ केही कुरा राख्न चाहन्छु ।

२. मेरो विषय मनको स्वास्थ्य हो । यससँग सम्बन्धित मन र मस्तिष्कलाई कसरी बुझ्न सकिन्छ ?
मानिसहरूको शरीरमा कोषहरू मिलेर तन्तु, तन्तुहरू मिलेर अङ्ग र अङ्गहरू निर्दिष्ट कार्यको क्रियाकलापको लागि प्रणाली बनाउँछन् । शरीरका सबै जैविक प्रक्रियाहरूलाई नियमन, सन्तुलन र नियन्त्रण गर्ने प्रणाली पनि हुन्छ । मस्तिष्क सहितको स्नायु प्रणालीले तुलनात्मकरूपमा चाँडो र अन्तःश्राप प्रणालीले बिस्तारै नियन्त्रण र नियमनको काम गर्छ । यी प्रणालीहरू परस्परमा सम्बन्धित र समन्वयात्मक हुन्छन् । मस्तिष्क शरीरका अरू धेरै अङ्गहरू जस्तै एक संरचनागत अङ्ग हो जुन संरचना र कामको हिसाबले एकदम जटिल हुन्छ । मस्तिष्कले गर्ने विविध कार्यहरूलाई मनसँग जोडेर बुझ्न सकिन्छ ।

३. मन मस्तिष्कका कामहरू के के हुन् ?
शरीरमा विविध जैविक प्रक्रियाहरू सुचारु र सन्तुलित राख्ने अङ्ग मस्तिष्क हो भने मान्छेलाई मानिस भएर जन्मेपछि मानव बनाउने उच्च मानसिक क्रियाकलापहरू सम्पादन गर्ने मन (माइन्ड) हो । मस्तिष्कले शरीरका सम्पूर्ण जैविक प्रक्रियाहरूको नियन्त्रण र सन्तुलन गर्ने गर्छ । साथमा मनले मस्तिष्क र मनले गर्ने कामहरूमा पनि नियमन गर्छ । उच्च मानसिक क्रियाकलापहरू व्यवहार, बोली, अनुभूति–भावना, सोच विचार, इन्द्रीय ज्ञान, होस् हवास, चेत, ध्यान एकाग्रता, स्मरण, संज्ञान बुध्दि, निर्णय र अन्तरज्ञानका प्रक्रियाहरूको सञ्चालन, सम्पादन मनबाट हुन्छ ।
यस्तो मन मस्तिष्कका काम, कर्तव्य, प्रक्रिया आदि सम्बन्धी कुरालाई मानसिक (मेन्टल) सँग जोडेर बुझ्न सकिन्छ, संरचनागत कुरालाई स्नायु (न्युरोलोजी) र प्रक्रियागत कुरालाई मनोवैज्ञानिक (साइकोलोजी) पक्षसँग तथा यसमा हुने गडबडी विकृति वा रोगसम्बन्धी विषयलाई साइक्याट्रीमा अध्ययन सम्बोधन गरिन्छ ।

४. मानसिक रूपले स्वस्थ हुनुका लक्षणहरू के–के हुन सक्छन् ?
एक व्यक्ति स्वस्थ हुन र जीवन सुखद र आनन्दमय राख्नको लागि शरीर स्वस्थ हुनु जति जरुरी छ त्यति नै मानसिक स्वास्थ्य पनि जरुरी हुन्छ । मानसिक स्वास्थ्य बिना स्वास्थ्य अपुरै रहन्छ ।
मानसिकरूपले स्वस्थ व्यक्ति बेचैनी रहित, आनन्दमय रहन्छ, जीवन उद्देश्यमा परिलक्षित हुन्छ । फुर्सदको समयको सदुपयोग गर्ने आफ्नै तरिका हुन्छ । सहयोगको आदानप्रदान हुन्छ । अरूलाई पनि सहयोग गर्छ, आफूलाई चाहिँदा पनि सहयोग मिल्छ, समाजलाई सक्दो योगदान दिन्छ ।
स्वस्थ जीवनमा जन्मजात अन्तर्निहित क्षमताको समय सँगसँगै उजागर र वृद्धि, विकास हुँदै जान्छ । दैनिक कामकारबाही र प्रतिकूल परिस्थिति, तनावसँग पनि जुझ्ने, समायोजन गर्ने क्षमता रहन्छ । विभिन्न मानसिक लक्षण र चिन्हहरूबाट मुक्त हुन्छ । उसको जीवन उत्पादनमूलक, सन्तोषजनक र प्रभावकारी हुन्छ ।

५. मस्तिष्क स्वस्थ रहन वा राख्नका लागि आधार केके हुन् ?
वंशाणु, शरीरको संरचना, रोगप्रतिरोधी क्षमता, पोषण स्थिति जस्ता जैविक पक्षहरू अरू मानिससँगको सम्बन्धजस्ता सामाजिक पक्ष तथा तनाव र प्रवृत्तिसँग सम्बन्धित मनोवैज्ञानिक पक्षले नै व्यक्तिको मन मस्तिष्कको स्वस्थताको आधार तयार पार्छन् ।
यसका लागि आहार, विहार र विचारले जगको काम गर्छन् । खाना पोषण तत्वयुक्त, स्वच्छ, सन्तुलित, सफा हुनुपर्छ र खानाले मन मस्तिष्क स्वस्थ राख्ने आधार तयार गर्छ । त्यस्तै, अति धपेडी वा निष्क्रियता, अनुचित वा अनुपयुक्त व्यवहार अर्थात् विहारमा प्रतिकूलता हटाएर सन्तुलित व्यवहार गर्दा मानसिक स्वास्थ्य पनि हासिल गर्नमा मद्दत पुग्छ । संज्ञा, बुद्धि, विवेक, सोचविचार, प्रज्ञा विचारका विविध स्वरूप पक्ष हुन् । सकारात्मकता, सजगता र राग, द्वेष, अति मोहप्रति सजग भई पर रहेको मुदिताजस्ता गुण, विचारबाट मानसिकरूपमा स्वस्थ रहने आधार तयार हुन्छ ।

६. कुन अवस्थामा वा के भएमा मनमा रोग लागेको भन्ने बुझ्दा हुन्छ ?
रोगै लागेको अवस्थामा त्यस अङ्ग वा प्रणालीले गर्ने काम कारबाहीमा परिवर्तन, गडबडी वा सधैंभन्दा फरक अवस्था आइपर्छ । मन मस्तिष्कले गर्ने विविध काम कर्तव्यहरूमा आउने यस्ता परिवर्तन लामो समयसम्म रह्यो, त्यसले जीवन र समाजका विविध माहोलमा, विभिन्न परिस्थितिमा आफ्नो डेग नचल्ने गरेर असर गर्यो, त्यसले व्यक्तिको विविध काममा असर गरिकन आफू र अरूलाई बेचैन बनाएको छ, उल्लेख्य समस्या गरेको पैदा गरेको छ र अरू पनि लक्षणहरूका साथमा प्रकट भएको छ भने त्यस्तो अवस्थामा यो वा त्योले भएको भनी यथार्थ नकार्नु, उपचारमा आनाकानी गर्नुभन्दा मानसिक समस्याका लक्षण, चिह्न वा सङ्केतको रूपमा भएको भनी बुझेर उपचार सेवामा जानु बुद्धिमानी हुन्छ ।

७. मानसिक रोगमा देखिने मुख्य लक्षणहरू के कस्ता हुन्छन् ?
मानसिक रोगहरूमा लामो समय (Persistently) जीवन र जगतका विविध माहोलमा आफ्नो नियन्त्रणभन्दा बाहिर जाने, आफ्नो डेग नचल्ने हिसाबले (Pervasively), काममा असर पर्ने गरेर (Dysfunction) वा आफू वा अरूलाई बेचैन पार्ने गरेर (Distress) अर्थात् समस्या हुने गरेर (Problematic) अरू पनि लक्षणहरूका साथ (Psycho–Pathology) पैदा हुने विविध लक्षण चिह्न वा सङ्केतका रूपमा मन मस्तिष्कले गर्ने विविध क्रियाकलाप काम कारबाहीहरूमा परिवर्तन गडबडी वा समस्या आइपर्छन् । मानसिक रोगमा विभिन्न खालका लक्षणहरू रोग अनुसार देखिन्छन्, जस्तैः
१. व्यवहारसम्बन्धी लक्षणहरू
२. बोलीवचन, सञ्चारमा समस्याहरू
३. मुड भावना वा अनुभूति सम्बन्धी समस्या
४. सोच विचारमा गडबडी
५. इन्द्रीय ज्ञानमा आउने समस्या
६. होस हवासमा समस्या
७. ध्यान, एकाग्रतामा गडबडी
८. समय, स्थान र व्यक्तिको पहिचानमा समस्या
९. सम्झना शक्ति वा स्मृतिमा समस्या
१०. ज्ञान, अमूर्तता, गणना वा संज्ञानको बुद्धि क्षमतामा समस्या
११. निर्णय गर्ने क्षमतामा समस्या
१२. आफ्नो मन मस्तिष्क र स्वास्थ्यको अवस्थाबारेको ज्ञान अन्तज्र्ञानमा समस्या
मस्तिष्कका विविध कार्यकलापहरूमा आउने यी गडबडीबाहेक अरू खालका लक्षणहरू पनि मानसिक रोगहरूमा उत्पन्न हुन्छन्, जस्तैः
१३. निद्रा, भोक, प्यास, यौन जस्तामा समस्या
१४. दुखाइ, ढुकढुकी, झमझमी, कब्जियत, पखाला आदि इत्यादि जस्ता शारीरिक लक्षणहरू
१५. लागुपदार्थ, मध्यपदार्थ वा धूमपानजस्ता मादक पदार्थहरूको सेवन, व्यसन र लत,
१६. आत्महानी वा आत्महत्याको सोच हुटहुटी योजना वा व्यवहार,
१७. बुद्धि, विकास, सिकाइमा सुस्तता वा समस्या

८. मानसिक रोगका कारणहरू के कस्ता हुने गर्छन् ?
अक्सर मानिसहरू मानसिक रोगलाई कुनै तनावसँग जोडेर व्याख्या गर्छन् । हुन पनि विभिन्न खालका सामाजिक र मनोवैज्ञानिक पिर, चिन्ता, विपद, प्रतिकूल परिस्थितिको पृष्ठभूमिमा उत्पन्न हुने तनाव सबैजसो मानसिक रोगहरूको कारक तत्वको रूपमा रहन्छ । यस्ता तनावहरूले मानसिक रोगहरूको पृष्ठभूमि तयार गर्ने, रोग सुरु गर्नमा भूमिका खेल्ने तथा रोगलाई जीर्ण वा लामो समयसम्म रहने गराउँछन् ।
यस्ता मनोसामाजिक समस्याहरू प्रस्टरूपमा भए पनि नभए पनि सबैजसो मानसिक रोगहरूको पछाडि स्नायु रसायन, तिनले काम गर्ने रिसेप्टर र वंशाणुगत पृष्ठभूमि रहने अध्ययनहरूमा देखिएको छ । अक्सर मानसिक रोगहरू एकभन्दा धेरै तत्वहरूको बीचमा जटिल अन्तरक्रिया भई पैदा हुन्छन् । यस्ता अन्तर्निहित कारक तत्वहरूको पहिचान गरी सम्बोधन गर्नु व्यवस्थापनको मूल पहुँच वा तरिका हुने गर्छ । मनोसामाजिक र जैविक तत्वहरूको गडबडीले मानसिक रोग उत्पन्न हुनमा कारक भूमिका निभाएजस्तै मानसिक रोगले यिनै पक्षहरूमा असर पुर्याउने, जटिलताहरू निम्त्याउने गर्छन् ।

९. मानसिक रोगहरू के कस्ता प्रकारका छन् र तिनको उपचार नगर्दा के कस्ता जटिलताहरू आइपर्छन् ?
समाजमा उदासिन मनोरोग डिप्रेसन, छटपटीको मनोरोग एन्जाइटी र नशालु मादक र लागुपदार्थहरूको लत, दुव्र्यसन धेरैलाई हुने मानसिक रोगमा पर्छन् । उदासिन मनोरोगमा प्रायःजसो समय कम्तीमा दुई हप्ता मन उदास हुने, शरीर नातागत हुने, केही कुरामा रुचि नहुने देखि लिएर भोक, निद्रा, यौन, उत्साह इत्यादिमा कमी वा गडबडी हुने गर्छ ।
विभिन्न हिसाबले सोच, व्यवहार र शरीरमा विविध लक्षणहरूका साथ चिन्ता, छटपटी, त्रास जस्ता लक्षणहरू सहित विभिन्न किसिमका एन्जाइटीका रोगहरू उत्पन्न हुन्छन् । त्यस्तै, जाँड, रक्सी, सुर्ती, चुरोट, गाँजा, अफिमलगायतका विविध कुराहरूको सेवनले दुव्र्यसनको समस्या निम्तिन्छ ।
मानसिक अन्तरङ्ग विभागमा भर्ती भएका बिरामीहरूमा साइकोसिस, बाइपोलर एफेक्टिभ डिसअर्डर, Obsessive compulsive disorder, delirium जस्ता कडा मानसिक रोगहरू बढी देखिन्छन् । त्यस्तै, शारीरिक लक्षणहरू हावी हुने सोमाटोफोर्म, निद्रा, भोक र यौन लगायतका कुराहरूमा गडबडी हुने रोगहरूले धेरै मानिसहरू झुक्किन्छन् ।
मानसिक क्रियाकलापमा असर पर्ने र मस्तिष्कको विभिन्न भागमा असर पर्ने हिसाबले संसारमा धेरै थरीका, ५०० भन्दा बढी थरीका मानसिक रोगहरूको उल्लेख भएको देखिन्छ । मानसिक रोगहरू मानिसलाई अशक्त रोगी बनाउने स्वास्थ्य समस्याहरूको पङ्क्तिमा निकै अगाडि देखिन्छ । यस्ता मानसिक रोगहरूले मानिसलाई अस्वस्थ बनाउनुका साथै काम गर्न नसक्ने विकलाङ्ग तुल्याउने पनि हुन्छ ।
यति मात्रै होइन, आत्महत्या, दुर्घटना, शरीरमा भएका विविध शारीरिक रोगहरूको उपचारमा नैरास्यताजस्ता कारणहरूले अकालमा मृत्यु भइरहेको हुन्छ । त्यसैले, मानसिक रोगहरूको समयमै पहिचान, निदान गरी उपचार गर्न जरुरी हुन्छ ।

१०. मानसिक रोगहरूको व्यवस्थापनका लागि के गर्न सकिन्छ ?
मानसिक रोगहरूको व्यवस्थापनमा ती रोगहरूका कारक तत्वहरूको सम्बोधन हुनुपर्छ । ती रोगहरूका असरहरूको र त्यस्ता रोगका लक्षणहरूको नियन्त्रण पनि गर्नुपर्छ । फेरिफेरि यस्ता रोगहरू नडोहोरिउन् भनेर आवश्यक सावधानीका उपायहरू पनि गर्नुपर्छ । यसका लागि मनोसामाजिक तरिकाहरू अपनाउनुपर्छ, नियमित फलो अप गर्नुपर्छ र आवश्यक उपचारमा निरन्तरता दिनुपर्छ । पर्याप्त मात्रा र पर्याप्त अवधिको लागि उपचार प्रक्रिया, औषधि उपचार गर्नुपर्छ । मानसिक रोगको उपचारको कुरा गर्दा आजभोलि हरेकजसो मानसिक रोगहरूको सुरक्षित, निर्दिष्ट र प्रभावकारी दबाईहरूको विकास भई सुलभ हुँदै गएको अवस्था छ ।

११. के सन्देश छ त ?
स्वास्थ्यको अभिन्न अङ्गको रूपमा मानसिक स्वास्थ्य रहन्छ । यसको लागि आहार, विहार र विचारको सन्तुलन एकातिर जरुरी हुन्छ भने अर्कोतिर कथंकदाचित कुनै खालका मानसिक लक्षणहरू उत्पन्न भएको अवस्थामा उपचार प्रक्रिया अगाडि बढाउनुपर्छ । यसका लागि सबै नागरिक मानसिक स्वास्थ्य र मानसिक रोगको बारेमा सुसूचित रहन जरुरी हुन्छ । यसबारे कुराकानी गर्न जरुरी हुन्छ । जानेकोले नजानेकोलाई बताउनु, सिकाउनु र यससम्बन्धी भरपर्दो जानकारी सेयर गर्न जरुरी हुन्छ । यो सबैको दायित्व हो ।
(प्रा.डा. शाक्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक एवं मनोरोग विभाग प्रमुख हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *