भर्खरै :

देशको विभिन्न जिल्लामा पार्टी स्थापना दिवस

देशको विभिन्न जिल्लामा पार्टी स्थापना दिवस

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवस देशका विभिन्न जिल्ला, नगर र गाउँहरूमा कामदार जनता, किसान, युवा, विद्यार्थी, बुद्धिजीवी समुदायहरूले मनाउँदै छन् ।
नेमकिपाको स्थापनाका आधारहरू के के हुन् र किन फरक पार्टीको आवश्यकता भयो भन्ने उत्तरको रूपमा नयाँ पुस्तालाई शिक्षित गर्दै कार्यकर्ता साथीहरू एक नयाँ राजनीतिक र सैद्धान्तिक सङ्घर्षमा भिड्दै छन् ।
वर्तमान अवस्थामा आफूलाई कम्युनिस्ट भन्न रूचाउने तर काम भन्ने पुँजीवादी र शोषक वर्गको हित गर्ने आफूलाई समाजवादी भन्न मन पराउने शिविरमा कुन दल कति पटक सरकारमा गए, कति जना मन्त्री भए र अबको सरकारमा को को मन्त्री बन्ने तथा के कति रकम जुटाउनेबारे दिनरात वादप्रतिवाद हुँदै छ ।
तर आश्चर्य छ, ती ‘समाजवादी’ र कम्युनिस्ट’ भनी टोपल्ने दलका नेता कार्यकर्ता जनताको माझमा समाजवाद के हो र त्यो कसरी आउँछ भन्नेबारेमा एक शब्द बोल्दैनन् । समाजवाद र साम्यवादमा के कति फरक छन् ? यसबारे हाम्रा कार्यकर्ताहरूलाई कहिलेदेखि कक्षा सञ्चालन गर्ने हो भनी साउती गर्दा नेताहरू ‘समाजवाद’ र ‘साम्यवाद’ को छलफल ‘म्याद नाघेको औषधि हो’ र ‘बाहिर भन्नुहुन्न पुष्पलालको समाजवाद पनि आज सान्दर्भिक भएन’ भनी कार्यकर्ताहरूलाई थामथुम गर्दै छन् ।
नयाँ पुस्ताका अनेक बौद्धिक र सैद्धान्तिक जिज्ञासाबारे ती ‘सरकारी’ समाजवादी र कम्युनिस्टहरू अहिलेको विज्ञान र प्रविधिको द्रुतत्तर युगमा कहाँ १७ औ र १८ औँ शताब्दीको सैद्धान्तिक छलफलमा लाग्ने हो भनी पन्छाउँछन् । यसरी सरकारमा गएर विदेशीको स्वार्थ पूरा गर्ने उद्देश्यमै बाँचेका पुँजीवादी राजनीतिक दलका नेताहरू आफूहरूमात्रै राजनीतिक ‘रक्सी’ र ‘लागुपदार्थ’ खाएर जीवनलाई मृत्युतर्फ धकेलिरहेका छैनन् बरू नयाँ पुस्तालाई समेत सँगै पातालमा लिएर जान चाहन्छन् ।
यसकारण, नेमकिपाका कार्यकर्ताहरूले ‘रक्सी’ र ‘लागुपदार्थ’ को निम्ति सरकारमा गइरहेका राजनीतिक दलका नेताहरूको नयाँ पुस्तालाई कसरी उद्धार गर्ने हो भन्नेबारे सोच्नुपर्ने समय आएको छ ।
यी पुँजीवादी सरकारका दलका नेताहरू गाउँ र नगरका गरिबका छोराछोरीहरूलाई लाखौँ लाख कमाउने लोभ देखाएर विदेशमा जाने ‘पासपोर्ट’ पाउन, विदेशको भिसा पाउन घरखेत बेच्न लगाउँदै छन् । तर, ती युवाहरू फर्कँदा एक दुई जनाबाहेक हजारौँ युवाहरू घाइते र बिरामी भएर घर फर्कने छन् र त्यसबेला आफ्नो बस्ने घर र काम गर्ने खेतसमेत ‘साहु’ (म्यानपावर कम्पनी र कन्सलटेन्ट) हरूको हातमा पुगिसकेको हुन्छ ।
वन म्हास्न जसरी बञ्चरोको बिँडको आवश्यकता हुन्छ, विदेशी एकाधिकार पुँजीको निम्ति ‘रक्सी’ र ‘लागुपदार्थ’ लाई पूजा गर्ने नेताहरूको सरकार आवश्यक हुन्छ । त्यही काम अहिले नेपालमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष मिलेर विदेशीहरूकै सबै माग पूरा गर्दै छन् ।
एसियाका खुब नाउँ चलेका विभिन्न देशका स्वतन्त्रता सङ्ग्रामी राष्ट्रपति र प्रधानमन्त्रीहरू मर्ने बेलामा अमेरिकी र युरोपेली साम्राज्यवादी र उपनिवेशवादीहरूकै सल्लाह पाएर जिउँदै मर्दै गए । अनेक अफ्रिकी देशका साम्राज्यवादीहरूका पिछलग्गू ‘राष्ट्रपति’ र ‘प्रधानमन्त्रीहरू’ पनि देश र जनतालाई घात गर्दै जनताका शत्रुको रूपमा केही मरे र केही जीउँदै मर्दै छन् ।
‘स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा’ भन्ने शीर्षकको पुस्तक जनताको माझ पुग्दै छ, जसमा केही जीउँदा र जाग्दा अफ्रिकी वीर नेताहरूबारे पाठकहरूको हात हातमा पुग्दै छ । आऔँ, केही अफ्रिकी नेताहरूबाट पनि सिकौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *