विद्यार्थीको चाप र सम्भावित सडक दुर्घटना हुन नदिने उपाय अपनाउने कि ?
- मंसिर २०, २०८१
राम्रो व्यवस्थापन, जनप्रतिनिधि, शिक्षक र अभिभावकहरू भएको सार्वजनिक विद्यालयहरूको शैक्षिक नतिजा राम्रै आउँछ । सुगम क्षेत्रका कतिपय विद्यालयहरू पनि विद्यार्थीहरूको सङ्ख्यामा कमी हुन पुगेका कारण बन्द गराउनुपर्ने, मर्ज हुनुपर्ने स्थिति सिर्जना भएको हो । तर, नजिकैका निजी विद्यालयहरू भने राम्रोसँग चलिरहेको पाउँछौँ । समग्र देशभरिमा निजी विद्यालयहरूको शैक्षिक नतिजा सार्वजनिक विद्यालयहरूको भन्दा राम्रो आएको पाउँछौँ । यसको मुख्य कारण शिक्षा क्षेत्रमा पनि नाफामुखी सोच र निहित व्यक्तिगत स्वार्थ रहेको पाउँछौँ । समयमा पाठ्यसामग्री नपुग्नु, तालिम प्राप्त शिक्षकहरूको अभाव, शिक्षक, कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम नगर्नु पनि सार्वजनिक विद्यालय क्षेत्रको समस्या हो ।
रत्ननगर नगरपालिका–९ स्थित मोहना माविमा ४ महिनादेखि अङ्ग्रेजी विषयको शिक्षक खाली छ । यो विद्यालयमा चौधरी, तामाङलगायत गरिब परिवारका विद्यार्थीहरू पढ्छन् । नजिकै रहेको टाँडीबजार आसपासमा जिल्लामै नाम चलेका महँगा निजी विद्यालयहरू प्रशस्त छन् । ती निजी विद्यालयहरूमा पढाइ राम्रैसँग चलेका छन् । गरिबका छोराछोरी पढ्ने मोहमा माविमा अङ्ग्रेजी विषयको शिक्षक नहुँदा विद्यार्थीले पढ्न पाइरहेका छैनन् । नगर प्रमुखको आफ्नो स्वार्थ र प्रअको आफ्नो स्वार्थको कारण सो विद्यालय प्रधानाध्यापकविहीन बन्न पुगेका छन् । टाँडी बजारमा अर्को एउटा नेपाल मावि छ । सो विद्यालयको केही आन्तरिक आर्थिक स्रोतको आधार भएको सचेत नगरवासीको भनाइ छ । जहाँ आर्थिक चलखेल हुनसक्ने सम्भावना रहन्छ त्यस्तो क्षेत्रमा सत्ताधारी राजनीतिक दलका लोभी, पापीहरूको झगडा हुनु स्वाभाविक रहन्छ । नेपाल माविको प्रअ बन्ने शिक्षकहरूको स्वार्थको लडाइँ हो भने आफ्नो नजिकका शिक्षकलाई प्रअ बनाउने नगर प्रमुखको अर्को स्वार्थ रहेको स्थानीय अभिभावकहरूबाट बुझ्न सकिन्छ ।
एउटा शिक्षक नेपाल माविमा प्रअ जिम्मेवारी समालिरहेको मलाई नगरले अन्यत्र किन सरुवा गरेको भनी अदालतसम्म पुग्दछ । शिक्षकहरूको योग्यता, आवश्यकताअनुरूप सरुवाबढुवा गर्न पाउनु नगरका जनप्रतिनिधि अधिकार ठान्दछ र निहित स्वार्थ अनुकूल मनलाग्दो गर्दछ । सत्ताधारी नगर प्रमुख र एउटा शिक्षकको जुँगाको लडाइँले नगरको शिक्षा अवस्था नै अस्तव्यस्त बन्न पुगेको शिक्षाप्रेमीहरूको कुरा छ । व्यक्ति विशेषको स्वार्थको लडाइँका कारण गरिबका छोराछोरीहरू पढ्न पाउनबाट वञ्चित हुनुपरेको अभिभावकहरूको अर्को गुनासो रहेको छ । नगरपालिकाले छिटोभन्दा छिटो विद्यालयमा विषयगत शिक्षक र प्रअको पदपूर्ति गराउनुपर्ने स्थानीय अभिभावकहरूको माग रहेको छ ।
Leave a Reply