भर्खरै :

सादकी आमा

सादकी आमा

(सन् १९३६ मा बेलायतशासित प्यालेस्टिनमा जन्मेका घसान कानाफानी ३६ वर्षको उमेरमा सन् १९७२ मा शरणार्थी अवस्थामा लेबननको राजधानी बेरुतमा मारिए । इजरायली गुप्तचर निकाय मोस्सादले कार बम विस्फोट गराई १७ वर्षीय भान्जीसहित उनको हत्या ग¥यो ।
घसान लेखक, उपन्यासकार, कथाकार, चित्रकार, पत्रकार र चिन्तक थिए । कम्युनिस्ट थिए, क्रान्तिकारी योद्धा थिए । उनी अरब जगतका सतिसाल साहित्यकार थिए । उनलाई मानिसहरू ल्याटिन अमेरिकाका मार्खेजसँग तुलना गर्छन् । ‘घामले डामेका मान्छेहरू’, ‘हाइफा फर्किँदा’, ‘सादकी आमा’, ‘जम्मा उत्तरदान’ जस्ता कालजयी उपन्यासका रचयिता घसान ‘उपन्यासलाई राजनीतिबाट अलग्याउन सकिँदैन’ भन्थे । घसानकी भान्जीले एक दिन उनलाई सोधेकी थिइन्, “तपार्इँका कथाहरू राम्रा छन् मामा । राजनीति छोडेर कथा मात्र लेख्नु न ?” उत्तरमा घसानले भनेका थिए, “कथा मात्र लेख्ने रे ! म राम्रो लेख्छु किनभने म एउटा उद्देश्य र निश्चित सिद्धान्तमा विश्वास गर्छु । मैले आफ्नो सिद्धान्त छोडेको दिन, मेरा कथाहरू रित्ता हुनेछन् । मैले आफ्ना सिद्धान्तहरू त्यागेको दिन तिमीले मलाई सम्मान गर्न छोड्नेछ्यौ ।”
घसान डा. जर्ज हब्बासले सन् १९६७ मा स्थापना गरेको कम्युनिस्ट पार्टी ‘पीएफएलपी’ का प्रवक्ता थिए । प्यालेस्टिनी समाजको माक्र्सवादी विश्लेषणमा ‘पीएफएलपी’ पार्टीको महत्वपूर्ण योगदान छ । घसान पार्टीको मुखपत्र ‘अल हदफ’ साप्ताहिकका सम्पादक थिए । यो पार्टीले कुनै बेला इजरायली विमानहरू अपहरण गरेर इजरायली शासकहरूलाई आच्छुआच्छु पारेको थियो भने प्यालेस्टिनी जनताको समस्यातिर विश्वको ध्यान तानेको थियो । विमान अपहरण गरेर प्यालेस्टिनी युवायुवतीकी ढुकढुकी बनेकी २५ वर्षीय लैला खालिद यसै पार्टीकी कार्यकर्ता थिइन् । सन् १९९३ मा इजरायल र प्यालेस्टिनबिच भएको ओस्लो सम्झौतालाई इजरायलको छलछाम र प्यालेस्टिनी पुँजीपतिवर्गको धोका भनेको थियो । यसले प्यालेस्टिनी प्राधिकरणलाई प्यालेस्टिनी पुँजीको एक तप्काको प्रतिनिधि मान्छ र यो तप्काले प्यालेस्टिनी पुँजीलाई इजरायली पुँजीको अधीनमा लगेको बताउँछ । इजरायलले यस पार्टीका धेरै नेताको हत्या गरेको छ भने यसका धेरै कार्यकर्ताहरू अझै पनि इजरायली जेलमा छन् । ‘पीएफएलपी’ का वर्तमान महासचिव अहमद सआदत इजरायली जेलमा कैद छन् ।
पार्टीको ‘राजनीतिक र साङ्गठनिक रणनीति’ तयार पार्नमा घसानको अहम् भूमिका थियो । यसका साथै यहुदीवाद–बेलायती उपनिवेशवाद, स्वदेशी शासक तथा छिमेकी देशका प्रतिक्रियावादी शासकहरूविरुद्ध सन् १९३६–३९ मा भएको प्यालेस्टिनी विद्रोहबारे उनले एउटा पुस्तक लेखेका थिए । यी कृतिहरूमा उनको चिन्तक व्यक्तित्व उजागर भएको छ । घसान प्यालेस्टिनी सङ्घर्षलाई अरब जगत र समग्र विश्व क्रान्तिको एउटा अध्याय मान्थे । उनले भनेका थिए, “प्यालेस्टिनी सङ्घर्ष केवल प्यालेस्टिनी जनताको सङ्घर्ष होइन, बरु थातथलो जहाँसुकै भए पनि हरेक क्रान्तिकारीको सङ्घर्ष हो, हाम्रो युगका सम्पूर्ण शोषित र उत्पीडितहरूको सङ्घर्ष हो ।”
मजदुरको यस अङ्कमा हामी कानाफानीको प्रसिद्ध उपन्यास ‘सादकी आमा’ को एक अंश प्रकाशित गर्दै छौँ । समग्र उपन्यास अङ्ग्रेजीमा उपलब्ध नहुनाले यो उपन्यास अंश उनको मर्मस्पर्शी कृति ‘घामले डामेका मान्छेहरू’ बाट साभार अनुवाद गरिएको हो । समालोचकहरूले ‘सादकी आमा’ लाई समाजवादी यथार्थवादको नमुना कृति भनेका छन् ।)
मेरा आमाबुबा अल–घबासियामा छँदा नै सादकी आमाले हाम्रो परिवारसँग वर्षौँ सँगै बिताएकी थिइन् । त्यसपछिका कैयन् बोझिला वर्षहरू उनले शरणार्थी शिविरमा काट्दै आएकी छिन् । अझै पनि उनी प्रत्येक मङ्गलबारको दिन हाम्रो घर आउँछिन् । उनी घरका सरसामानतिर नजर डुलाउँछिन्, कुन काममा हात हाल्ने भन्ने विषयमा अभ्यस्त छिन् । उनी मलाई आफ्नो छोराजस्तै मान्छिन् । आफ्नो दुर्दशा, खुसियाली र सास्तीबारे बेलिबिस्तार लाउँछिन् । तर, कत्ति पनि गुनासो गर्दिनन् ।
उमेरले झन्डै ४० काटेकी छिन् । चट्टानभन्दा बलवान र धैर्यभन्दा बढी धीर लाग्छिन् उनी मलाई । आउने–जाने हर हप्ता उनी प्रतिदिन दसौँ गुना बढी दुखजिलो गर्छिन् । आफू र आफ्ना सन्तानका लागि इमानका दुईचार टुक्रा रोटी जुटाउँछिन् ।
उनलाई चिनेको वर्षौँ भइसक्यो । उनी मेरो जीवनसित गाँसिएकी छिन् । उनीबिना मेरो काम गर्ने जाँगर चल्दैन । मूलढोका ढक्ढक्याएर जब उनी आफ्ना झिटिझाम्टा हाम्रो बैठक कोठामा राख्छिन् तब शरणार्थी शिविरको गन्ध, त्यहाँको दरिद्रता र अन्तरतम् दृढताले मलाई छप्पकै भिजाउँछ । तिनीहरूको निर्धनता र आशाले म कायल हुन्छु । लगत्तै वर्षौँपिच्छे भोग्दै आएको तिक्तताले मलाई वाक्क पार्छ ।
गएको मङ्गलबार पनि उनी सदाझैँ हामीकहाँ आइन् । आफ्नो कुटिरो तल राखिन् र मतिर फर्किन् ।
“एउटा कुरा भन्नु थियो भतिज ! साद गयो नि !”
“कहाँ ?”
“तिनीहरूकहाँ ।”
“को तिनीहरू ?”
“फेदायीन ।”
अलिबेर हामी मौन र सोचमग्न भयौँ । अचानक मैले उनलाई धुम्धुम्ती बसिरहेकी, बुढ्यौलीले छोपेकी, कठोर र दुखिया कर्मले खुइलिएकी पाएँ । उनका दुवै हात काखमा थिए । मेरा आँखा उनका हत्केलामा परे । दाउराझैँ सुक्खा र युग पुरानो रुखजस्तो पटपटी फुटेका हत्केला थिए उनका । कलिलो बालकबाट हुर्केर साद लक्का जवान भयो । ऊसँग हेलिएको उनको दुखिया जीवनयात्रा म देख्न सक्छु । धर्तीले एउटा कलिलो बिरुवालाई सुसार गरेर रुख बनाएजस्तै उनका यिनै कडा हातले सादलाई स्याहारसुसार गरेका थिए । अहिले ती हातहरू एकाएक खुलेका थिए र बीस वर्षसम्म त्यहाँ बसेको एउटो चरो भुर्रर उडेर गएको थियो ।


“ऊ फेदायीन बन्यो बा !”
मेरा आँखा अझै पनि उनका हातमै अडिएका थिए । एकै ठाउँ खप्टिएका उनका हत्केलाहरू भक्कानिएर रोइरहेका दुई हतास जीवजस्ता देखिन्थे, सबथोक छोडेर खतरनाक र अज्ञात दिशातिर लम्किरहेको व्यक्तिलाई पछ्याइरहेजस्ता देखिन्थे । हे दैव ¤ आमाहरूले किन यसरी आफ्ना छोरा गुमाउनु परेको ? जिन्दगीमा पहिलोचोटि मैले आफ्नो आँखै अगाडि त्यो हृदयविदारक दृश्य देखिरहेको थिएँ । मलाई हामीले कुनै ग्रिसेली डबलीमा मञ्चन गरिएको वियोगी दृश्य भोगिरहेझैँ महसुस भयो । उनको र आफ्नो ध्यान मोड्न मैले उनलाई सोधेँ, “उसले तपार्इँलाई केही भनेको थियो कि ?”
“केही भनेन । चटक्कै छोडेर गयो । बिहानपख उसको साथीले ‘तिनीहरूकहाँ भर्ती हुन गयो’ भन्यो ।”
“पहिले ‘म जान्छु’ भनेको थियो कि ?”
“अँ, भनेको थियो । मैले पत्याएँ पनि । सादलाई बुझेकी छु । एक दिन जान्छ भन्ने थाहा थियो ।”
“अनि किन छक्क पर्नुभएको त ?”
“को म ? छक्क परेकी छैन । तिमीलाई सुनाएकी मात्र । सादको हालखबर के छ भनी सोधौला भनेर भनेकी हुँ ।”
काखका हात चल्मलाए । कति सुन्दर, बलिया हातहरू ¤ केही न केही बनाउन सदा तत्पर भइरहने उनका हातहरू । तिनलाई साँच्चै विरह नछुटेको होला त ? एकखाले आशङ्का उब्जियो । उनले भनिन्, “अहँ । आज बिहान मैले छिमेकीलाई भनिसकेँ – ऊजस्तै मेरा अझ १० छोरा भए कति गज्जब हुने थियो । म गलिसकेँ भतिज । त्यो त्रिपालमुनि जेनतेन सास धान्दै छु । हरेक बिहान यही भन्छु – हे भगवान् ¤ बीस वर्ष बिति गए, साद नगए को जाला ?” उनी उठिन् र कोठाभरि सालिनता फैलियो । सबथोक चिरपरिचित लागे । मेरा आँखा अगाडि अल–घबासियाका घरहरू झलझली भए । उनको पछि लागेर म भान्सासम्म गएँ । त्यहाँ मतिर हेर्दै उनी गलल्ल हाँसिन् र भनिन्, “बसमा मसँगै बसेकी आइमाईलाई भन्दिएँ– मेरो छोरो लडाकु बन्यो । भन्दिएँ – म उसलाई असाध्यै माया गर्थेँ तर ऊ आमाको सच्चा छोरो बन्यो । भतिज, सादलाई तिनीहरूले मेसिनगन देलान् त ?”
“तिनीहरूले सबै लडाकुलाई सधैँ मेसिनगन दिन्छन् ?”
“खाना नि ?”
“तिनीहरूले पेटभरि खान्छन् । चुरोट पनि पाउँछन् ।”
“सादले त चुरोट खान्न नि । तर, मलाई विश्वास छ, त्यहाँ उसले त्यो पनि सिक्नेछ । मेरो आँखाको नानी ¤ मेरो नजिकै बसे पनि हुन्थ्यो नि । नजिक भए आफ्नै हातले पकाएको खाना दिनदिनै लगिदिने थिएँ ।”
“धन्दा नमान्नु । साथीहरूले खाने खाना उसले पनि पाउँछ ।”
“ईश्वरले उनीहरू सबैलाई कल्याण गरून् ।”
पलभर उनी चुप लागिन् । त्यसपछि मतिर फर्किँदै भनिन्, “म उसलाई भेट्न गएँ भने ऊ खुसी होला कि ? यात्राको लागि पैसाको जोरजाम गर्न पनि सक्छु । फेरि दुई दिनमै त्यहाँ पुगिन्छ भन्छन् ।”
केही सम्झेजस्तो गरेर उनले भनिन्, “तिमीलाई थाहा छ छैन भतिज ? बालबच्चा स्याहार्नु दासकै जुनी रहेछ । यी दुई केटाकेटी नभए म पनि ऊसँगै जाने थिएँ । ऊसँगै बस्ने थिएँ । त्रिपालमुनि बस्ने थिएँ । छापामार इलाकाको त्रिपाल शरणार्थी शिविरको त्रिपालभन्दा फरक हुन्छ रे । म उनीहरूसँगै बस्ने थिएँ, खाना पकाइदिने थिएँ । तिनीहरूको लागि सकेको सबथोक गर्ने थिएँ । तर के गर्ने, बालबच्चा स्याहार्नु दासकै जुनी रहेछ ।”
जवाफमा मैले भनेँ, “उसलाई भेट्नु पर्दैन । उसलाई आफै सम्हालिन दिनुस् । फेदायीन भइसकेको मान्छेलाई सम्हालिन आमा चाहिन्न ।”
उनले आफ्ना हात गम्छाले पुछिन् । मैले उनको आँखाभित्र गहिराइमा निराशाका बादल देखेँ । आफूलाई खुइलिएर तिरस्कृत हुन र कुनामा फालिन सक्ने वस्तुजस्तै महसुस गर्दा आमाहरू सायद यस्तै भयावह क्षणबाट गुज्रिन्छन् । अलि नजिक आएर उनले सोधिन्, “साँच्चै हो त ? त्यसो भए म आफै गएर कमान्डरलाई उसको रेखदेख गर्नुहोला नभने पनि हुन्छ भन्ने लाग्छ तिमीलाई ?”
लाजले उनी भुतुक्कै भइन् । अनि सोधिन्, “तिमी आफै गएर कमान्डरलाई उसको रेखदेख गर्नुहोला भन्छौ कि ? उनलाई भन्नू – सादलाई ख्याल गर्नुहोला; ईश्वरले तपार्इँका बालबच्चाको आयु बढाऊन् ।”
“कसरी भन्ने ?” मैले भनेँ । “छापामारको रेखदेख गर्नुहोला भनेर कसैलाई भन्न सकिन्न के !”
“किन सकिन्न ?”
“किनभने त्यो भनेको ‘कमान्डर, तिमीले अरूको बन्दोबस्त मिलाऊ र आफू चाहिँ खतराबाट टाढा बस’ भनेसरह हो । तर, साद र उसका साथीहरू भने आफूलाई तत्कालै युद्धमा पठाए आफ्नो सबैभन्दा राम्रो हेरविचार होला भन्ठान्छन् ।”
त्यसपछि उनी चकटीमा थचक्क बसिन् । यसपालि उनी अत्यन्त दृढ देखिइन् । मैले यसअघि उनलाई यतिबिघ्न बलवती देखेको थिइनँ । मैले एउटी आमाको हडबडी देखेँ, उनको आँखाको छटपटी देखेँ र देखेँ उनका ठेला परेका हातहरू । अन्त्यमा उनले आफूलाई सम्हालिन् र भनिन्, “म के भन्छु भने नि ¤ उसलाई ख्याल गर्नु भनेपछि कमान्डरसँग ‘उसलाई नसताउनुस्’ भन है । उनलाई भन्नू – ‘सादकी आमाको बिन्ती छ, आमाको मुख हेरेर भए पनि सादलाई उसले चाहेको काम गर्न दिनू । ऊ असल छ । उसले केही कुरा चाह्यो र त्यो पूरा भएन भने ऊ असाध्यै पिर मान्छ ।’ कमान्डरलाई भन्नू – ‘आमाको पुकार छ, सादलाई उसले चाहेको काम दिनू ।’ हैन, ऊ युद्धमा जान चाहन्छ भने कमान्डरले किन उसलाई नपठाएका ?”
अनुवाद : सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *