भर्खरै :

हाङचाउतिर – १

हाङचाउतिर – १

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

रेल्वे स्टेसन ठुलो जनसमूहले खचाखच भरिएको थियो । तर, भारतको स्टेसनमा जस्तो धकमधक्का र पाकेटमारको कुनै अप्रिय घटनाहरू हुने कुनै शङ्कासम्म गर्ने ठाउँ थिएन । ‘पाकेटमारबाट बच्नु’ भन्ने कुनै साइनबोर्ड पनि टाँगिएको थिएन । रेल चल्नुभन्दा अगाडि नै हामीले आफू बस्ने कम्पार्टमेन्ट (रेलको बस्ने कोठा या डिब्बा) घुम्यौँ र आ–आफ्ना मालसामानहरू ठीक ठीक ठाउँमा राखेपछि हामी प्लेटफारममा शाघाई फेडरेसनका साथीहरूसँग कुराकानी गरिरह्यौँ । साँच्चै भनुँ भने २–४ दिनको सहवासले उहाँहरूसँग छुट्टिनु पर्दा सा¥है नरमाइलो लागिरहेको थियो । श्री ऊ तुङ–मिङ्ग शाँघाइ विद्यार्थी फेडरेशनका अध्यक्ष हुनुहुन्थ्यो । सेक्रेटरी श्री लिंच्युन हो । उहाँहरू हामीलाई आफ््नै घरका दाजुभाइले जस्तै राम्रो या आत्मीय व्यवहार गर्नुहुन्थ्यो । टुङ्गची विश्वविद्यालयका गृह निर्माण इञ्जिनियरिङ विभागको चौथो वर्षका एक महिला विद्यार्थी हाम्रो द्धिभाषियाको रूपमा मद्यत गर्नुहुन्थ्यो । उहाँको नाम टुङची हो । उहाँ अङ्ग्रेजीमा हामीलाई सरल तरिकाले उल्था गरेर हाम्रो जिज्ञासालाई शान्त गर्न मदत गर्नुहुन्थ्यो । त्यहाँ स्वास्थ्य निवासको द्वेभाषी मिस्टर ली पनि सँगै थिए । शाङ्घाईमा उहाँहरूको सत्कार र सहयोगको लागि धन्यवाद दिँदै हामी उहाँहरूसँग बिदा लियौँ । ६.३० मा रेल गुड्न लाग्यो । आँखाले देखेसम्मन् प्लेटफार्ममा उहाँहरूले हात, हल्लाएर बिदा दिनुभयो ।
राति ९ बजे हामी हाङचाउ पुग्यौँ ।
हाङचाउ
“बाँला माया ‘हाङचाउ’ बाँला
वसन्त ऋतुया बाय धाये लो
प्रकृति सुन्दर, कृत्रिम झिदुगँ
जन्मकाछी पासा याये लो” –चित्तधर हृदय

हाङचाउ साँच्चै अत्यन्त सुन्दर रमणीय ठाउँ हो । हाङचाउको प्राकृतिक सौन्दर्यको विषयमा पुरानो चिनियाँ भनाइ यस्तो छ – ‘धरतीको स्वर्ग ।’
हाङचाउ चेकियाङ प्रान्तको राजधानी र राजनैतिक, आर्थिक र सांस्कृतिक केन्द« हो । यो ३०.१५ उत्तरी अक्षांश र १२०.१० पूर्व देशान्तरमा पर्दछ । चेङताङ नदीको किनारमा रहेको हाङचाउ पूर्वी चीन समुद्रदेखि १०० किलोमिटर टाढा र समुद्र सतहभन्दा १० मिटर उचाइमा छ । हाङचाउको जम्मा क्षेत्रफल ३२०० वर्ग किलोमिटर छ र जनसङ्ख्या २.२ मिलियन (२२ लाख) छ । हाङचाउ नगरको मात्रै जनसङ्ख्या ७ लाख ५० हजार छ । १६.३ सेन्टिग्रेड यहाँको वार्षिक सालाखाला तापक्रम हो । यहाँको उच्चतम तापमान ४० सेन्टिग्रेड र निम्नतम तापमान १० सेन्टिग्रेड र शून्त्न्दा तल छ ।
हाङचाउ चीनको प्राचीन नगरहरूमध्ये एक हो । यो नगरको निर्माणदेखि २१०० वर्षको इतिहास ऊ ऐह (सन् ८९३–९७८) राज्य शासनमा पाँच वंशसम्म र दक्षिणी सुङ वंशको (सन् ११२७–१२७९) पनि राजधानी रह्यो ।
हाङचाउको राम्रो हावापानी र उब्जाउ माटोले गर्दा दक्षिण चीनमा हाङचाउ खेतीमा अगाडि छ । राम्रो जलवायु, बढी वर्षा र सम जग्गा आदिले गर्दा धान, जुट, कोकुन (रेशमको कीरा पाल्ने), कपास, हरेक प्रकारका तरकारी र नासपाती, आलुबखडाजस्ता फलफूलको राम्रो उब्जनी हुन्छ । हाङचाउ खास गरेर रेशमको राजधानीको नाउँले प्रख्यात छ । यहाँको लुङ्गचिन हरियो चिया त चीन र विदेशमा प्रख्यात छ ।
इस्पात, फलाम, मेसिन, कलपुर्जाहरू, रासायनिक वस्तुहरू, कपडा आदिको भारी उद्योगको साथसाथै कैंची, छाता, श्रीखण्डका मालसामान र अरु ससाना क्युरियोका हलुका उद्योगहरूको पनि हाङचाउमा राम्रो विकास भइसकेको छ । तर हाङचाउको मुख्य प्रसिद्ध उत्पादन रेशम र चिया नै हो । कलात्मक मिहिन काममा पनि प्रख्यात छ ।
हाङचाउ खेती र उद्योगको साथसाथै चीनको एक स्वास्थ्य निवास पनि हो । यहाँ धेरै स्वास्थ्य निवासहरू र विश्राम घरहरू छन् । जहाँ देशको हरेक कुना काप्बाका मजदुरहरू स्वास्थ्य लाभ गर्न र आराम गर्न आउँछन् ।
क्रान्तिभन्दा पहिले हाङचाउ साम्राज्यवादीहरू, देश विदेशका पुँजीपतिहरू र जमिनदारहरूको आराम गर्ने ठाउँ थियो । तर क्रान्तिपछि हाङचाउमा ठूलो र सानो उद्योगहरूको तीव्र विकास भयो र खेतीमा नवीकरण ल्यायो र यहाँको रमणीय प्राकृतिक स्थलको सुन्दरतम दृश्यहरू हेरेर आराम गर्ने मौका देशका तमाम कामदार जनताले पाए ।
देशमा झन् असल (better), छिटो, कम मूल्यमा बढी उत्पादन गर्ने आम दिशा, लामो कुदाइ, जनकम्युनको तीन झन्डालाई माथि उठाएर कम्युनिस्ट पार्टीको निर्देशनअनुसार टेक्निकल इनोभेशन (प्राविधिक आविष्कार) र टेक्निकल रिभोल्युसन (प्राविधिक क्रान्ति) को आन्दोलनमा हाङचाउका जनताले दिलो ज्यान दिएर भाग लिए र कारखानाहरूलाई स्वचालित र अर्धस्वचालित बनाएर उत्पादनमा धेरै राम्रो सफलता प्राप्त गरे ।
‘लामो कुदाइ’ पछि औद्योगिक उत्पादनमा निम्न प्रकारले वृद्धि भयो–
१९५८ मा १९५७ को तुलनामा ९८ प्रतिशत वृद्धि गर्यो । १९५९ मा १९५८ को तुलनामा ३२ प्रतिशत वृद्धि गर्यो । १९६० को ३ महिनामा १९५९ को तुलनामा ९६ प्रतिशत वृद्धि ग¥यो ।
हाङचाउ नगरभित्र ३० भन्दा बढी जनकम्युनहरू छन् । विद्यार्थीहरूले नयाँ शिक्षा नीतिपछि कारखाना र खेतमा गएर शारीरिक र मानसिक श्रम गर्छन् । खेतीमा नवीकरण गरेर १ माऊ खेतमा ८ सय क्याटिज धान उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखिएको थियो । तर गहिरो जोताइ, वैज्ञानिक तरिकाले छानिएको बीउ, रासायनिक मल र उचित पानीको प्रयोगले गर्दा एक माऊ खेतमा ८ सय क्याटिज उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई नाघेर ११०० क्याटिजसम्म उत्पादन गर्न सफल भयो । यस्तै प्रकारले कपास र जुटको उत्पादनमा पनि एक माऊमा १५०० क्याटिज उत्पादन गर्ने कोसिस गर्दै छन् ।
हाङचाउ उद्योग र खेतीमा विकास हुँदै जानुको साथै शिक्षा र सांस्कृतिक क्षेत्रमा पनि त्यत्तिकै विकास गरेर अगाडि बढेको छ ।
हाङचाउमा विश्वविद्यालय र अरु हाइस्कूल, प्राइमरी स्कूलहरू गरेर जम्मा १९०१ शिक्षण संस्थाहरू छन्, जसमा ३ लाख ७० हजार विद्यार्थीहरू पढ्छन् ।
यहाँ ४० वटा कलेज र विश्वविद्यालयजस्ता उच्च शिक्षालयहरू छन्, जहाँ २० हजार विद्यार्थीहरू अध्ययन गर्छन् । ९७ वटा सेकेन्डरी स्कूलहरूमा ५० हजार विद्यार्थीहरू पढ्छन् साथै ११७० वटा प्राइमरी स्कूलहरू छन्, जहाँ ३ लाख विद्यार्थीहरू पढ्छन् । यस बाहेक अरु अवकाशकालीन स्कूलहरू पनि छन्, जहाँ मजदुर र किसानहरू शिक्षा हासिल गर्छन् । ‘दुवै खुट्टाले हिँड्ने’ नीतिअनुसार चीनमा रेगुलर (नियमित) स्कूलहरूबाहेक अवकाशकालीन स्कूलहरूको पनि व्यवस्था छ । यसले गर्दा मजदुर र किसानहरूले पनि आफ्नो फुर्सतको समयमा पढ्न पाउँछन् र रात्रि विश्वविद्यालयहरू पनि चलाइएको छ । अवकासकालीन र रात्री स्कूलले निरक्षरता हटाउनमा सा¥है ठूलो योगदान गरेको छ ।
स्वास्थ्यको दृष्टिले पनि हाङचाउ प्रख्यात छ । हाङचाउमा जम्मा ६२१ वटा मेडिकल युनिट (उपचारका केन्द्रहरू) छन् र ५८ वटा अस्पतालहरू छन् । ११ वटा स्वास्थ्य निवास छन्, जसमा ८ हजारभन्दा बढी बेड (शøया) छन् ।
१८ तारिखमा ९ बजे हामी हाङचाउको रेलवे स्टेसनबाट नगरको लागि हिँड्यौं । मोटरबाट होटल अगाडि ओर्लनासाथै त्यहाँको हावा र दृश्यले आफ्नो अमिट छाप पारिहाल्यो । होटलमा जापानी चेस (बुद्धिचाल) का खेलाडीहरूसँग हाङचाउका खेलाडीहरूको प्रतियोगिता भइरहेको रहेछ । होटलको ठुलो हल दर्शकहरूले टन्न भरिएको थियो । लामा लामा सेतो दाढी भएका बुढापाकाहरू गम्भीर मुद्रामा खेल खेल्नमा व्यस्त थिए ।
खाना पछि सुतिहाल्यौँ ।
१९ जुलाई बिहानको खाना ८ बजे खायौँ, ८.३० बजे हाङचाउ विद्यार्थी फेडरेसनका अध्यक्षले हामीलाई स्वागत गर्न पाउँदा खुसी प्रकट गर्नुभयो र एसियाली युवक–विद्यार्थीहरूको एकतामाथि जोड दिनुभयो । त्यसपछि फेडरेसनका सेक्रेटरीले हाङचाउको छोटो परिचय दिनुभयो । उहाँले नयाँ चीनको निर्माणमा विद्यार्थीहरूको योगदानको विषयमा पनि भन्नुभयो– “कम्युनिस्ट पार्टीको नेतृत्वमा देशलाई उद्योग, खेती, विज्ञान र टेक्नोलोजि (प्राविधिक ज्ञान) ले उठेको सुन्दर देश बनाउने आमदिशालाई जनताले सा¥है ठुलो उत्साहले देशको निर्माणमा भाग लिएका छन् र देशको नयाँ शिक्षा नीतिले गर्दा विद्यार्थीहरूको पहिलेको एकपक्षीय सैद्धान्तिक ज्ञानलाई हटाएर, अहिले जुन सैद्धान्तिक र व्यवहारिक ज्ञानसँगै लाने शिक्षा नीति बनाएको छ, त्यसले गर्दा विद्यार्थीहरूले धेरै राम्रो प्रगति गर्न सकेका छन् ।”
कुराकानीपछि हाङचाउको कार्यक्रमको विषयमा छलफल भयो र १२ बजेको खानापछि कार्यक्रमअनुसार पश्चिमी झिल, भित्री झिल र हाङगचाउको १ नं कुञ्ज आदि स्मरणीय स्थलहरूको लागि मोटर कुड्यो ।
पश्चिमी झिल
हाङचाउ नगरको पश्चिममा परेको झिलको नाम पश्चिमी झिलले प्रख्यात छ । खास गरेर यो पहिले समुद्रको खाडी थियो र पछि चेताङ नदीले बगाएर ल्याएको मलिलो माटोको थुप्रोले गर्दा खाडी एउटा झिल हुनगयो । अहिले झिलको पानीको स्रोत झरनाहरू नै हो । यसको विशेषता नै यसको अवर्णनीय सुन्दरता हो ।
ताह वंश (सन् ६१८–९०७) देखि पश्चिमी झिलको दृश्य प्रसिद्ध भएको थियो । यस झिललाई प्राचीन चिनियाँ सुन्दरीसँग तुलना पनि गरेको पाइन्छ । यस विषय चिनियाँ कवि तुङ–पो यसरी लेख्नुहुन्छ –
“जगमग जगमग चम्केको
यस झिलमा सूर्य भिजेर
दृश्य सारा सुन्दर रे,
कुहिरो ओढेकी
टाढा पहाडहरूको
सिमसिमे झलकबाट
झन् मनोहर रे ।
मानिस भन्छन्
हशी सिंहको सुन्दरता
न बढ्छ जुहारातले, न मणी–माणिकले,
सिङ्गारी या नसिङ्गारी ।”
सू तुङ–पोको कविताको भावानुवादले यो स्पष्ट गर्छ कि पश्चिमी झिल एक सुन्दरतम प्राकृतिक झिल हो । हुन पनि साँच्चै यसको सुन्दरता देखेर मानिसले जिब्रो टोक्नु पर्छ ।
झिलको उत्तर दक्षिण ३.३ किलोमिटर र पूर्व पश्चिम २.८ कि. मि. छ । यसको परिधि १५ कि. मि. र क्षेत्रफल ५.५६ वर्ग किलोमिटर छ । यसको सालाखाला गहिराइ २ मिटर छ । झिललाई सु पुल र पाई पुल नामको दुई पुलले तीन भागमा विभाजित गरेको छ । चिटिक्क परेको अत्यन्त सुन्दर पुलहरूले विभाजित यो झिलको नाम यसरी पर्न गएको छ– बाहिरी झिल, भित्री झिल र कालो झिल ।
कु सान (एकान्त पहाड) – बाहिरी झिलको उत्तर पश्चिममा पाई पुलबाट जाने झिलको सबभन्दा ठुलो टापु छ, जो कु सान अथवा एकान्त पर्वतले प्रसिद्ध छ । यसको क्षेत्रफल १९ हेक्टर र ३.८ मिटर उचो छ । यसको दक्षिणतिर बाहिरी झिल र उत्तरतिर कालो झिल छ । यसको पूर्व र पश्चिममा पाई पुलले जोडेको छ । चारैतिर पानीले घेरिएको कु सान (एकान्त पर्वत) टापु, झिलको सबभन्दा राम्रो पार्क मात्र होइन, सांस्कृतिक स्मारक चिह्नहरूको पनि केन्द्र हो ।
टापुको दक्षिणी कुनामा चेक्याङ पुस्तकालय, चेक्याङ म्युजियम र चुडशान पार्क (डा. सन यातसेन पार्क) र दक्षिण–पूर्वी कुनामा चेक्याङ खेती प्रदर्शनी, शान्त झिलमा ‘शरद चन्द्र ’ भन्नेछ, जहाँ शरद ऋतुको रातमा ऐना जस्तो सफा र शान्त झिलमा चन्द्रमा टल्कँदा अत्यन्त राम्रो देखिन्छ । टापूको पश्चिमी कुनामा हशीलीन शील समाज र उत्तरमा सागर मण्डप र लिङ हो–चिङ्गको चिहान छ ।
शील समाज १९०३ सन्मा चिङ्ग वंशका राजा क्वाङ हसुको पालामा हाङचाउका केही कलाकारहरूले शील काट्ने राम्रो कलाको अध्ययनको लागि सङ्गठित गरेको थियो ।
लिङ हो–चिङ कुनै समयमा लिङ पू (९६७–१०२८) नामले पनि प्रसिद्ध, सुङ वंशका एक कवि सामन्त शासनबाट असन्तोष भएर यस एकान्त पहाडमा जीबन विताउन आएका थिए । प्वाँख र फूलहरूले ढाकेको यो ठाउँमा लिङ पूको चिहान छ ।
बाहिरी झिलमा हसियाङ इङ चाउ (चन्द्रमा प्रतिबिम्बित तीन कुण्ड) हुसिन टिङ (मध्य झिल कुण्ड) जस्ता टापुहरू पनि छन् ।
चन्द्रमा प्रतिबिम्बित तीन कुण्ड झिलको सबभन्दा गहिरो भाग हो जहाँ ५–५ वटा प्वाल भएका ३ वटा ढुङ्गाको गजुर जस्ता खम्बाहरू छन् । मध्य अगष्टको पर्वमा गजुर या खम्बाहरू भित्र मैनबत्ती बालेर पाँचै प्वालहरूमा कागतले तालिदिँदा त्यहाँबाट आउने तीनै गजुरे खम्बाको प्रकाश पानीको सतहमा चन्द्रमा जस्तै टल्कछ । त्यस ठाउँमा ५५ वटा चन्द्रमा उदाएको जस्तो हुन्छ । त्यो दृश्य अत्यन्त राम्रो देखिन्छ ।
मध्य झिल कुण्ड झिलको बिचमै छ जो मिङ वंश (सन् १५५२) ले बनाएको थियो । क्रान्तिको समयमा ध्वस्त प्रायः थियो । मुक्तिपछि नयाँ मण्डप बनाई धेरै प्रकारका फलफूलहरू रोपेका छन् ।
भित्री झिलमा ‘ङासिङको सुनौला पोखरी’ र ‘सुनौला बालु–पुल’ छ ।
ङासिङ सुनौला पोखरी मुक्तिभन्दा पहिले ३ माऊ (०.५ एकड) मात्रै थियो । मुक्तिपछि यसलाई २१० माऊ (३५ एकड) सम्म फैलाएर बनाइयो । अब त्यहाँ दसौ हजार सुनौला माछाहरू खेल्छन् । यो पोखरी सु पुलमा याङ पो र सुलान नामको दुई पुलको बिचमा पर्छ । वर्षामा ‘कालो झिल’ मा कमल बिछाएको जस्तो हुन्छ । रातको शितल बतासले कमलका फूलको मीठो वासनालाई बहाउँदा यहाँ घुम्न आउनेहरू आनन्दले विभोर हुन्छन् । यस झिलको नाम ‘कालो झिल’ न भई ‘कमलको झिल’ भनेको भए सान्है सुहाउँथ्यो । यसको
चारैतिर हरियो रुख बिरुवाले टम्म ढाकेको छ । त्यसले सुन्दरतालाई दोब्बर बढाइदिएको
छ ।
पश्चिमी झिल हाङचाउ नगरपट्टि बाहेक चारैतिरबाट पहाडले घेरिएको छ । पहाडहरू मध्ये ३०२ मिटर उँचो दक्षिणको उचो चुचुरो र ३५५ मिटर उँचो उत्तरी चुचुरो प्रसिद्ध छ । पश्चिमी झिल प्राकृतिक सौन्दर्यले अत्यन्त राम्रो छ । तर यसमा मानिसहरूले थपेको सिँगारले त्यसको सुन्दरतालाई झन् रमाइलो र आनन्ददायक बनाइदिएको छ सुनमा सुगन्ध थपे जस्तै । चिनियाँ जनता ती कामदार कलाकारहरूप्रति आभारी छन्, जसले पहिले यस
प्राकृतिक झिललाई आफ्नो बुद्धि र बलले बुट्टा भरेर यतिको सुन्दर र आनन्ददायक बनाए । चिनियाँ पुरानो उखान भन्छ –
“माथि जहाँ स्वर्ग छ त
तल जहाँ सुचाऊ र हाङचाउ ।”
सुन्दछु, सुचाउ पनि हाङचाउ जस्तै सुन्दर र रमाइलो ठाउँ हो । तर मेरो लागि हाङचाउ सबभन्दा राम्रो छ । सुचाऊ गएको छैन भने माथिको स्वर्गमा विश्वास छैन ।
हामी पश्चिमी झिलको कुना काप्चा डुल्याँै । झिलको आनन्ददायक स–साना हावाले चलाएका लहर वनकुञ्जको हरियाली र पुलहरूको सुन्दरता अनि सुनौला माछाको आकर्षक चुलबुल हेरेर हामी आनन्दले विभोर थियौँ । हामी वनको कार्पेटजस्तो अत्यन्त नरम घाँसले ओछ्याइएको प्रकृतिको काखमा एकछिन लडीबुडी खेल्यौँ, सानोमा सूर्यविनायकको जंगलमा खेलेजस्तै । क्या आनन्द, नबिर्सिने क्षणहरू, हेरुँ हेरुँ लाग्ने हरियाली र सुन्दर हाङचाउ ! अहो ! अवर्णनीय !
राति हामी ८ बजेतिर पेचिङ अपेरा हेर्न गयौं । दर्शकहरू पेचिङमा जस्तै सा¥है अनुशासित थिए । त्यसप्रकारको अपेरा हामीले पेचिङमा पनि हेरिसकेका थियौँ । अपेरा गीति नृत्य हो । यो चीनको शास्त्रीय नृत्य भने पनि हुन्छ । सायद पेचिङ अपेरा जस्तो हाम्रो कुनै नृत्य छ भन्ने मलाई लाग्दैन । भैरव र देवी नाच नवदुर्गाको नाचदेखि यो विलकुलै भिन्न छ । भैरव र देवी नाचमा जस्तो ख्याक (ख्या ग्वारा), कवाँ (कवाँचा) आदि पात्रहरूको शारीरिक कला प्रदर्शन पेचिङ अपेरामा पनि छ । तर यस्तो समताले पेचिङ अपेरा र हाम्रो भैल प्याखेँ र देवी प्याखँसँगै तुलना गर्न सकिन्न । तर पेचिङ अपेरा प्राचीन चिनियाँ लोक कथामा आधारित हुन्छ भने हाम्रो भैल प्याखें र देवी प्याखँ धार्मिक भावनाले ओतप्रोत छ । पेचिङ्ग अपेरा पनि धर्म र स्वर्गसँग मुक्त छैन र त्यस्तै हाम्रोमा आफ्नै कथा । भैरव र देवी प्याखं भाव नृत्य हो भने पेचिङ अपेरा गीति नृत्य । अपेरापछि हामी भोलि बिहानसम्मको लागि आराम गर्न गयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *