भर्खरै :

संरा अमेरिका मध्यपूर्वमा पुनः आक्रमण गर्ने सम्भावना

संरा अमेरिका मध्यपूर्वमा पुनः आक्रमण गर्ने सम्भावना

अन्तर्राष्ट्रिय राजनीतिक दबुलीमा संरा अमेरिकी राष्ट्रपति बाइडेनले इरानसँग लडाइँ गर्न चाहँदैन भनेको २४ घण्टा ननाघ्दै अमेरिकाले इराक र सिरियाको सीमामा आक्रमण गरेको समाचार सुनियो ।
त्यसबारे इरानले ‘अमेरिकी सरकारको अर्को दुस्साहस कार्य र अर्को रणनीतिक त्रुटी बतायो । (‘नयाँ पत्रिका, २१ माघ २०८०)
इराकले आफ्नो भूमिमाथि आक्रमण गरी कम्तीमा १६ जना मारिएको बतायो । त्यस घटनालाई इराकले आफ्नो सार्वभौमिकताविरूद्ध गरेको ‘नयाँ आक्रमण’ बतायो र त्यस आक्रमणको निन्दा ग¥यो । इराकले त्यस अमेरिकी आक्रमणबाट मध्यपूर्वमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दियो । मारिनेहरूमध्ये साधारण जनता भएको इराकी सरकारको प्रवक्ताले शनिबार बताए ।
अमेरिकाले इराकमाथि गरिएको आक्रमणबारे इरानसमर्थक सङ्गठनसँग ‘समन्वय’ गरेको वाशिङ्गटनको दाबीलाई ‘झूट र अन्तर्राष्ट्रिय जनमतलाई भ्रममा राख्ने उद्देश्यबाट प्रेरित’ भनी इरानले खण्डन ग¥यो । यसबारे इराकी प्रधानमन्त्री मोहम्मद सिया अल सुदानीले ‘त्यस क्षेत्रमा अमेरिकी गठबन्धनको नेतृत्व सैन्य गठबन्धनको उपस्थिति इराकको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने कारण’ भएको बताए ।
अमेरिकी आक्रमणको कारण सिरियामा कैयौँ जनता हताहत भएकोमा सिरियाली रक्षा मन्त्रालयले अमेरिकी आक्रमणकारी सेनाको उग्र क्रियाकलापको आलोचना ग¥यो ।
अमेरिकाले इराक र सिरियाका ८५ स्थानमा हवाई हमला गरेको थियो । त्यसको कारण इरान समर्थित लडाकुले गत आइतबार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा गरेको आक्रमण भनी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बताएको थियो ।
अमेरिकी आधार क्षेत्रमा आक्रमणको जिम्मेदारी ‘इस्लामिक रेसिडेन्ट’ भनिने सैन्य गठबन्धनले लिएको बताइएको थियो । त्यहाँका जनता अमेरिकी सेनालाई ‘अतिक्रमणकारी फौज’ को रूपमा लिन्छन् ।
प्रमको निम्ति दागरहित व्यक्तिको खोजी
नेपालमा एकातिर शासक गठबन्धन दागरहित व्यक्तिको खोजीमा रहेको बताइन्छ भने अर्कोतिर ‘टेरामक्स अनुसन्धान अन्तिम चरण’, ‘पूर्वमन्त्री र बहालवाला मन्त्रीलाई बयान लिइँदै’ भन्ने समाचार छ । (‘नेपाल समाचारपत्र’, २१ माघ २०८०)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा भएको अनियमितताको अनुसन्धानलाई अन्तिम चरणमा पु¥याइएको बताइएको छ । त्यसबारे एकदेखि डेढ अर्बसम्म अनियमितता ठहर भएको एक स्रोतले बतायो ।
एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एकवर्षे सरकारको बेला बालुवाटार काण्ड, पशुपति काण्ड, पूर्वमा चियाबगानलाई समेत साटफेर गर्ने गिरीबन्धु जग्गा प्रकरण, सुन तस्करी काण्ड र जुत्ता तथा छाला कारखानाको निजी र १० रोपनी जग्गाको काण्ड आदिको फाइल खुल्दै जाँदा ‘प्रधानमन्त्री बनाउन लायक बेदाग व्यक्ति’ को खोजमा सकस देखिएको बताइन्छ ।
धेरै चर्चा भइरहेका एक पूर्व प्रमको बारे भात्तिजावाद, अयोग्य व्यक्तिलाई ‘प्रमोसन गर्ने’ बालुवाटार काण्ड, नातावादबाहेक शासन व्यवस्थाको ख्याल नगर्ने, कुनै त अत्यन्त विवादस्पद र गुन्डा गिरोहमा बदनाम पूर्वप्रधानमन्त्री, कोही निर्वाचनको बेला अनियमितरूपले पैसा बाँड्ने आरोपित र पहिलेदेखि नै विवादमा पर्दै आएको र बारम्बार मन्त्री हुँदा पनि केही राम्रो प्रदर्शन गर्न नसक्ने जस्ता उम्मेदवारहरूबारे चर्चा चल्दै छ ।
तर, युवाहरू कलेज र चिया पसलहरूमा नेपालमा कहिले कङ्गोका प्याट्रिस लुमुम्बाजस्ता इमानदार, देश र जनताप्रति समर्पित प्रधानमन्त्री हुने भनी चर्चा गर्दै छन् । केही विद्यार्थी र युवाहरू सेरेमोनियल राष्ट्रपतिको ठाउँमा घानाका एनक्रुमाजस्ता सिद्धान्तनिष्ठ राष्ट्रपति कहिले आउने र गिनीका शेकु तुरेजस्ता राष्ट्रपति नेपालले कहिले पाउने होला भनी छलफल गर्दै गरेको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *