भर्खरै :

नागरिकशास्त्र र नागरिक चेतनाको पाठ्यपुस्तक

नागरिकशास्त्र र नागरिक चेतनाको पाठ्यपुस्तक

हरेक व्यक्तिले जानेर वा नजानेर एउटा एउटा जीवनको उद्देश्य मनमा साँचेको हुन्छ । एकजना ९ कक्षाका विद्यार्थीले भन्यो, “म पुलिस बन्छु ।” अभिभावकहरू आश्चर्यमा परे । निबन्धको पुस्तकमा पुलिसको निबन्ध रहेनछ । बुबाले पुलिस किन बन्ने बाबू भन्ने प्रश्नमा छोरोले उत्तर दिन्छ, “पुलिस भएपछि मान्छेलाई पिट्न पाइन्छ, पैसा उठाउन पाइन्छ र अरूलाई जेल लान पाइन्छ ।”
अभिभावकहरूमा चिन्ता बढ्यो । प्रहरीले जनताको सेवा कसरी गर्छ भन्नेबारे प्रहरीको निबन्धमा लेख्नुपर्ने विद्यालयलाई सुझाव दियो ।
त्यस्तै डाक्टर बन्ने छोरीले घरमा भनिन्, “आमा ¤ म डाक्टर भएपछि धेरै पैसा कमाउँछु । रोग फैलेपछि धेरै पैसा हुन्छ ।” बुबाले मनमनै आत्तिएर भने, “छोरी, डाक्टर भएर रोगीको सेवा गर्ने हो । रोगी निको भएपछि डाक्टर खुसी हुन्छ ।”
विद्यालयको स्थापना दिवसमा राष्ट्रिय गान गाइन्छ । त्यसबारे कक्षामा एक एक शब्दको बुझ्ने भाषामा सम्झाउनुपर्ने हुन्छ । ठुलठुला व्यापारी, उद्योगपति, मजदुर, किसान, कलाकार, गायक, लेखक र कविबारे पनि निबन्ध पढाउनु खाँचो पर्ने भयो ।
नेपाल र भारतका पुराना पुस्तकहरूमा नेता, प्रधानमन्त्री र मन्त्रीहरूको बारेमा राम्रो कुरा लेखिएको छ । तर, आज नेता, प्रधानमन्त्री र मन्त्रीहरूले भ्रष्टाचार गरेको, जनतालाई दुःख दिएको र इमानदारीपूर्वक देश र जनताको हितमा काम नगरेको हुँदा ‘चोर’ र ‘डाँकु’ जस्तो खेलमा अब नेता र मन्त्रीहरू राख्ने सम्भावना बन्दै जानेछ ।
तल्लो कक्षादेखि नै वडाध्यक्ष, गाउँपालिकाको अध्यक्ष, नगरको मेयर, जनप्रतिनिधि, अस्पतालको नर्स, विद्यालयमा सफा गर्ने दिदी, स्कूल बस चलाउने अङ्कल, सहयोगी अङ्कल र दिदीहरूबारे पनि राम्रो बताउनु आवश्यक छ ।
पुस्तक, कापी र शैक्षिक सामग्री किन्ने पसल र पसले काका वा काकी, फलफुल बेच्ने काका र काकी, रेष्टुराँ र अन्य पसलका काका, काकी वा साहुजी र साहुनीजस्ता व्यक्तिहरूबारे पाठ्यपुस्तकमा भएमा हाम्रा छात्रछात्राहरूमा राम्रा र नराम्रा व्यक्तिहरूको जानकारी हुन्छ । पाठ्यपुस्तकमा लेखिएका साहुमहाजन र उद्योगपतिहरूले नकारात्मक काम गरेको खण्डमा हाम्रो नयाँ पुस्तालाई ठग्न सक्ने छैनन् ।
हाम्रा लाखौँ युवाहरू काम नपाएको भन्दै ‘घर खेत’ अरूलाई बेच्न लगाई विदेश जाँदै छन् । धेरैलाई बढी पैसा लिएर वा पैसा दिनै नपर्ने देशमा समेत बढी पैसा ठग्ने म्यानपावर कम्पनी (आधुनिक गल्लावाला) वा मानिस विदेश पठाउने र बेच्ने भनी जानकारी पाठ्यपुस्तकमा दिनु अति जरूरी देखिँदै छ ।
प्रदेशसभा के हो, प्रदेशसभा, नगरपालिका मेयर र उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू र वडा सदस्यहरूबारे पनि जानकारी दिनुपर्ने भयो । तिनीहरूको काम कर्तव्य पनि प्रस्ट गर्दा नयाँ र पुरानो पुस्तालाई भ्रम हुनेछैन† ठग्न सक्नेछैन । नागरिकता दिने बिचौलिया, तरकारी र खाद्यान्न व्यापारी र किसानको बिचको बिचौलियाबारे पनि कसरी गर्नुपर्ने र कसरी नराम्रो काम गरी जनतालाई ठगेछन् भनी जनतालाई सचेत पार्नैपर्छ ।
त्यस्तै सहकारी संस्थाको काम, कर्तव्य, उद्देश्य र सहकारी संस्थाहरूको कमजोरीबारे सहकारीका अगुवाहरूलाई सहकारीका सदस्यहरूलाई कसरी ठग्दै छन् भनी उदाहरण दिएर पाठ्यपुस्तकमा लेख्दा नयाँ पुस्ता सचेत हुनेछ ।
संसद् के हो ? राष्ट्रियसभा के हो ? यी दुवै संस्थाको निर्वाचन के कसरी हुन्छ र काम कर्तव्य के हो र के फरक छ भन्नेबारे ९–१० कक्षाको पाठ्यक्रममा जानकारी गराउँदा पूर्व जानकारी दिएजस्तै हुनेछ ।
त्यसपछि मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति र न्यायपालिकाको बारे पनि जानकारी दिँदा नयाँ पुस्ता देशको शासन व्यवस्थाबारे कुहिरोको काग हुनेछैन । राजनीतिक पार्टीहरूको उद्देश्य, काम, कर्तव्य र कमीकमजोरीबारे पनि यथोचितरूपले बताउनु जरूरी छ । सारमा, कक्षाअनुसारको नागरिक शिक्षा वा नागरिकशास्त्र पाठ्यक्रममा अनिवार्य गर्न पाए धेरै विषयमा जनतालाई जानकारी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *