पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
चीनको प्रौद्योगिक उन्नतिदेखि डाह गर्ने पच्छिमी मुलुकलगायत संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको नाममा चीनको सेमिकन्डक्टर उद्योगलाई ध्वस्त गर्ने प्रयास गरिरहेकै अवस्थामा अमेरिका र पच्छिमेलीहरूको अधिपत्य रहेको ठुला हवाईजहाजको बजारमा चीनको प्रवेश अमेरिकालगायत पच्छिमेलीहरूको लागि अर्को झट्का हुनसक्छ । हरेक प्रविधि क्षेत्रमा चीनले गरेको प्रगतिलाई अरुको नक्कल भनेर खिल्ली उडाउने पच्छिमेलीहरू अहिले पनि त्यस्तै कुरा गरेर आफूले आफैँलाई सान्त्वना दिइरहेका छन् । चिनियाँ विमानमा अमेरिका र युरोपमा बनेको पार्टपुर्जा जोडेर बनाएकोले यो चिनियाँ जहाज होइन भन्दै पच्छिमेलीहरू आफैँ मन हलुका गर्दै छन् । आजको युगमा कुनै पनि वस्तु पूर्णतया एउटै मुलुकमा बनिँदैन । त्यसो त अमेरिका र युरोपमा बनेका थुप्रै वस्तुमा चीनमा बनेका पार्टहरू राखिएको हुन्छ । तर, यो वास्तविकता बुझेर पनि बुझ पचाउँदै चिनियाँ विमानको खिल्ली उडाउनुले पश्चिमेलीहरूलाई ठुलो पीडा भएको हुनुपर्छ ।
अमेरिकाको बोइङ र युरोपको एअरवस विमानलाई टक्कर दिनसक्ने चिनियाँ विमानले चीनको शाङ्घाईबाट राजधानी पेइचिङसम्म व्यवसायिक उडानको शुभारम्भ गरेको थियो । यसले बोइङ र एयरबसको द्वयधिकार (Duopoly) बजारले अर्बौँ डलर गुमाउनुपर्नेछ र चीनमा हजारौँ रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ ।
आधिपत्य अमेरिकाको मात्र हुनसक्छ ?! के संसारका अन्य देशहरूले सक्दैनन् ? यो २०२४ को वर्ष हो ! १९२४ साल होइन ! अमेरिकी साम्राज्यले डलरलाई बर्चस्वको लागि सधैँको प्रयोग गर्न सक्छन् भनेर सोचेको थियो । शिक्षा, उत्पादन र ऊर्जाको दुःखद अवस्थालाई हेर्दा यस्तो देखिन्छ, पच्छिमेली शक्तिहरूलाई आफ्नो पाइतालामुनिको जमिन भाँसिएको अनुभव गरेको हुनुपर्छ ।
शाङ्घाई अवस्थित सरकारी स्वामित्वको कर्पोरेसन अफ चाइना (COMAC) उद्यमले C919 को कमर्सियल एयरक्राफ्ट निर्माण गरेको हो । यो विमानले मे २८, २०२३ मा चीनको शाङ्घाईबाट विश्वको पहिलो व्यावसायिक उडानको लागि उडान भरेको छ । यो विमानमा १९२ यात्रुसम्म बस्न सक्छन् र ५५५० किलोमिटरसम्म उड्न सक्छ । अहिलेको एअरवस र बोइङको १४ हजार किलोमिटर निरन्तर उडान भर्न सक्ने क्षमताको तुलनामा यो कम हो । तैपनि, यो विमानद्वारा पहिलो व्यावसायिक उडान एक महत्वपूर्ण माइलस्टोन थियो । चीनसँग अन्ततः बोइङ र एयरबससँग प्रतिस्पर्धा गर्नसक्ने घरेलु हवाईजहाज भएको छ । अत्यन्त उच्च प्राविधिक विशेषज्ञता, कठोर नियामक आवश्यकताले गर्दा अहिले विश्वका केही देशले मात्रै आफ्नै विमान बनाउँछन् ।
यदि बोइङ र एयरबसले आफ्नो चिनियाँ बजार गुमाउनुप¥यो भने बोइङ र एयरबसको लागि ठुलो क्षति हुनेछ । चीनमा १७०० एयरबस विमानहरू सञ्चालनमा छन् र बोइङहरूको उस्तै सङ्ख्या बराबर छ । त्यसैले दुबै कम्पनीहरूले उत्पादनमा ठुलो कमी आउनेछ । दुवै कम्पनीहरू आगामी दुई दशकहरूमा कडा लडाइँको सामना गरिरहनेछन् । बेलायतलगायत अमेरिका र युरोप दुवैले विगत ५० वर्षमा आफ्नो एयरोस्पेस उद्योगहरू निर्माण गर्न ठुलो रकम र धेरै राजनीतिक ऊर्जा खर्च गरेका छन् । अब अमेरिका र युरोपको हवाईजहाज उद्योगको द्वयधिकार बजारमा पहिलो पटक गम्भीर खतरामा परेको छ ।
प्रविधि क्षेत्रमा चीनको प्रगति यतिमै रोकिँदैन । अटो उत्पादक कम्पनी बीवाइडीले घरेलु कार बिक्रीमा भर्खरै अमेरिकी फक्सवागन कारलाई उछिनेको छ र यसका प्रतिद्वन्द्वीहरूसँग विश्वको बाँकी भागमा प्रतिस्पर्धा गरिरहेको छ । चीनले आफ्नो पहिलो चन्द्रमा अवतरणको योजना पनि घोषणा गरेको छ ।
यी सबै पक्षलाई मनन गर्ने हो भने चीनले औद्योगिकीरणको दोस्रो ठुलो लहर सुरु गरेको छ । यसले आधारभूत निर्माणभन्दा धेरै अगाडि बढेको छ । यसले अब एयरोस्पेसजस्ता उद्योगहरूलाई अगाडि बढाएको छ । यो बेलायत, अमेरिका र बाँकी युरोपेली अर्थतन्त्रहरूको लागि खतराको घण्टी हुनुपर्छ । चीनले उद्योगहरूको सम्पूर्ण क्षेत्रमा स्थापित व्यवस्थालाई उल्टाउन लागेको छ । गाडी उत्पादनमा पनि यही कुरा लागु हुन्छ । बीवाइडी कम्पनीको नेतृत्वमा चिनियाँ अटो उत्पादकहरूको नयाँ पुस्ताले आफ्नो घरेलु बजारमा प्रभुत्व जमाउन थालेको छ । विशाल घरेलु बजारलाई प्रयोग गरेर आकर्षक, प्रतिस्पर्धी मूल्यका कारहरू बनाएर चीनले विश्वव्यापी बजारमा लिनसक्नेछ । चीन पहिले नै विश्वको दोस्रो सबैभन्दा ठुलो कार निर्यातकर्ता हो । गत वर्षको पहिलो त्रैमासिकमा १० लाख गाडीहरू बाँकी विश्वमा निर्यात गरेको छ, जुन वार्षिकरूपमा ७० प्रतिशतले बढेको छ । रेनो वा फोर्डजस्ता विश्वविख्यात कार निर्माताहरूको लागि यो ठुलो चुनौती हो ।
चीनले आफ्नो ठुलो घरेलु बजारलाई उत्पादनहरू परिष्कृत गर्न प्रयोग गरेर कम लागतमा उत्पादन भएको वस्तु बाँकी संसारमा निर्यात गर्छ । औषधि, दूरसञ्चार, खुद्रा बिक्री, उपभोग्य वस्तु र वित्तीय सेवाहरूजस्ता उद्योगहरू उस्तै दबाबमा पर्न धेरै समय लाग्नेछैन, चिनियाँ प्रतिस्पर्धीहरूको विशाल नयाँ दायराले पच्छिमेली बजारमा चिनियाँ प्रतिस्पर्धाको सामना गर्नुपर्ने छ । उदाहरणको लागि अमेरिकाको लागि ५० प्रतिशतको तुलनामा कुल विश्वव्यापी खर्चको २० प्रतिशत हिस्सा ओगट्ने औषधि अनुसन्धान तथा विकासमा चीन अमेरिकापछि दोस्रो स्थानमा छ । यद्यपि, यसले अझै ठुलो प्रगति गर्न बाँकी छ । यसले विश्व विख्यात अमेरिकी औषधि कम्पनी फाइजरजस्ता औषधि कम्पनीलाई चुनौती दिन धेरै समय पर्खिनुपर्ने छैन ।
चिनियाँ औद्योगीकरणको पहिलो चरण विकसित देशहरूलाई सस्तोमा उत्पादित वस्तुहरू आपूर्ति गर्नु थियो भने दोस्रो चरणमा उच्च प्रौद्योगिकजन्य वस्तुको उत्पादन गर्ने हो । अहिले आएर चीनको औद्योगीकरणको गतिलाई रोकेर पच्छिमाहरू दुवैमा चीनसँग प्रतिस्पर्धा गर्न सक्छौँ भनी बहाना गर्नु हास्यास्पद हुनेछ । चिनियाँहरू पहिले नै पच्छिमाभन्दा धेरै अगाडि छन् र चिनियाँहरू राष्ट्रिय औद्योगिक प्राथमिकताअनुसार स्रोतहरू परिचालन गर्नमा खप्पिस छन् । यसरी नै चीनमा उत्पादित अरु वस्तुको मूल्य घटेझैँ विमानको मूल्यलगायत उच्च प्रौद्योगिकजन्य वस्तुको पनि मूल्य घटोस् जसले गर्दा हवाई यात्रा पनि सस्तो भएर हामीजस्तो विकासोन्मुख मुलुकमा बस्ने मानिसको पहुँचमा आओस् ।
Leave a Reply