भर्खरै :

छोरीहरू राजनीतिकरूपमा सचेत तथा सङ्गठित हुन आवश्यक

छोरीहरू राजनीतिकरूपमा सचेत तथा सङ्गठित हुन आवश्यक

स्थापनाकालदेखि समाजको तल्लो वर्गका छोराछोरीलाई शिक्षादीक्षा दिने गहन जिम्मेवारी बहन गर्दै आएकोमा बाल विकास परिवार बधाईको पात्र हो । यस कार्यमा बाल विकास परिवार अविचलित ढङ्गमा अगाडि बढ्नेछ भन्ने विश्वास छ । शैक्षिक क्षेत्रमा यस विद्यालयले गर्दै आएको सेवा एवम् योगदानको निरन्तरताको शुभकामना व्यक्त गर्दछु ।
शैक्षिक क्षेत्र या बाल विकास स्कूलको विषयमा छलफल चलिरहँदा यो विद्यालय स्थापनाको परिवेशतिर नजर डुलाउनु समीचीन होला । यहाँ धेरै महिला दिदीबहिनी र आमाहरूको उपस्थितिले पनि मलाई त्यतातिर दोहो¥याइरहेको छ । स्कूलको स्थापना ४४ सालमा भयो ।
४० को दशकतिरको कुरा हामीले केही सुनेका छौँ र केही पढेका छौँ । त्योभन्दा अगाडिका बहुसङ्ख्यक छोरीहरू, आमाहरू तथा हजुरआमाहरूले शिक्षाको उज्यालो पाउनुभएन, अक्षर चिन्न पाउनुभएन, विद्यालय जान पाउनुभएन । आजभन्दा ४० वर्षअगाडि समाज पछाडि थियो, त्यसमाथि छोरीहरू निकै पछाडि थिए । शैक्षिक, सामाजिक र राजनीतिक हिसाबले असाध्यै पछाडि थिए । मुस्किलले ५ देखि १० प्रतिशत छोरीहरूले स्कूल देख्न पाएको अनुमान गर्न सकिन्छ । ४ दशकपछि आजको समयमा स्कूल नदेख्ने आमाहरू, छोरीहरू नगन्य होला । यो समारोहको उपस्थितिले यही सङ्केत गर्दै छ ।
४० कै दशकमा भक्तपुरको तात्कालीन शिक्षाको अवस्था हेर्ने हो भने पनि उपत्यकामा सबैभन्दा पछाडि र गुणस्तरलाई पटक्कै ध्यान दिन नसकेको स्थिति थियो । स्रोतसाधनले युक्त विद्यालयहरू छँदै थिएनन् भन्दा फरक नपर्ला । जनशक्तिको हिसाबले पनि अत्यन्त पछाडि परेको समय थियो । मावि तहको स्कूल हातमा गन्न पुग्ने पनि थिएन । त्यो चरण पार गरेर भक्तपुर अगाडि बढ्यो । त्यही सेरोफेरोमा यो विद्यालयको स्थापना भएको हो । यसले विद्यालयको उद्देश्य स्पष्ट पार्दछ । त्यही सेरोफेरोमै भक्तपुरमा महिलाहरूको निम्ति साक्षरता कक्षा सञ्चालन आरम्भ भयो । आजको यो परिवर्तनको बीउ थियो, त्यो ।
०३६ सालमा पार्टी अध्यक्षज्यू १० वर्षको भारतप्रवास जीवनपश्चात् नेपाल फर्कनुभयो । नेपाल मजदुर किसान पार्टीको स्थापना प्रवासमै २०३१ साल माघ १० गते भएको हामीलाई थाहा छ । यो वर्ष हामी पार्टी स्थापनाको ५० औँ वर्ष मनाइरहेका छौँ । पार्टीको स्थापना र पार्टी नेतृत्व प्रवासबाट फर्कनुभएपछि शैक्षिक क्षेत्रमा प्राथमिकता र परिवर्तन नयाँ ढङ्गमा प्रारम्भ भयो । महिलाहरूलाई साक्षर या शिक्षित बनाउने अभियानको सुन्दर बिहानी त्यहीबाट सुरु भयो ।
पार्टीका अग्रजहरूले घरघर गएर किसानका छोराछोरीलाई पढ्न उत्साहित गर्नुभयो । त्यतिबेला भक्तपुर चिट चोर्ने र चोरेर पास गर्न सजिलो जिल्ला भनी बदनाम थियो । दाइहरूले ‘चोरेर होइन पढेर पास गरौँ’ भन्ने अभियान नै चलाउनुभयो । छोरालाई नपढाउने त्यो समाजमा छोरीहरूलाई विद्यालय भर्ना गर्ने, छोरीहरूलाई शिक्षादीक्षा दिने अभियान चल्यो । यसर्थ, एक समयका हाम्रा छोरीहरूले शैक्षिक क्षेत्रमा निकै दुःख पाउनुभयो, सङ्घर्ष गर्नुभयो । त्यसपछिका छोरीहरूले शैक्षिक क्षेत्रमा क्रमशः पाइला अघि बढाए । अवसर पाए । हाम्रो धरातल यही हो । हामी यही पृष्ठभूमिबाट आएका हौँ ।
यहाँ उपस्थित अहिलेका आमाहरू, हाम्रा दिदीबहिनीहरू निम्नत्तम शैक्षिक योग्यतादेखि विभिन्न पेसा र क्षेत्रमा सक्षम जनशक्तिको रूपमा सक्रिय हुनुहुन्छ । यो ४० को दशकमा अग्रजहरूले शैक्षिक क्षेत्रमा गर्नुभएको सङ्घर्षको उपलब्धि हो† सफलता हो ।
हामी यहाँसम्म आइपुग्न, साक्षरतादेखि शैक्षिक योग्यतासम्म आइपुग्न, प्रौढ कक्षादेखि कलेज—विश्वविद्यालयसम्म आइपुग्न लगभग ४ दशक लाग्यो । शून्यबाट सुरु गर्न निकै कठिन थियो सायद । तर, सकारात्मक पक्ष के हो भने हामी क्रमशः उकालो चढ्यौँ, पछाडि हट्न परेन । यो शैक्षिक यात्राको निकै उज्यालो पक्ष हो । यही सन्दर्भलाई नै लिएर हाम्रा पार्टी अध्यक्षज्यूले भन्नुभयो, “आज जीवनका हरेक क्षेत्रमा महिलाहरू सक्रिय छन्, अगाडि बढ्दै छन्, नेतृत्व सम्हाल्न तयारी गर्दै छन् । यो आजको उज्यालो पक्ष हो ।”
हामी देख्दै छौँ, आज विद्यालय विद्यालयमा महिलाहरू, शिक्षिकाहरूको सङ्ख्या उल्लेख्य छ । बाल विकासको तस्बिर त अगाडि छँदै छ । स्कूल, कलेज, सहकारी, अस्पताललगायतका सामाजिक क्षेत्रमा, सामाजिक गतिविधिमा महिलाहरू सक्रिय छन् । यो एक किसिमको परिवर्तन हो ।
यतिमा मात्र सीमित नराखिकन हामी अझ राजनीतिकरूपमा पनि सचेत हुँदै, सङ्गठित हुँदै अघि बढ्न सके समाज परिवर्तन योभन्दा पनि तीव्र हुने निश्चित छ । विगतमा ४० वर्ष लागेको परिवर्तन १० वर्षमा सम्भव हुनेछ । परिवर्तन छरितो हुनेछ । त्यसको निमित्त आमाहरू, छोरीहरू राजनीतिकरूपमा सचेत र सङ्गठित नभई हुँदैन । यो आजको आवश्यकता हो ।
हामी महिला दिदीबहिनीहरूमाथि अर्को एउटा षड्यन्त्र हुँदै गरेको हामीले चाल पायौँ या पाएनौँ ? हामीलाई फेरि पनि अन्धविश्वासमै अल्मल्याउने चालबाजी हुँदै छ । यो आजको समाजको चुनौती हो । अन्धविश्वास र अन्धपरम्परा महिलामाथि शोषणको एउटा सामाजिक रूप हो । यसबाट उन्मुक्ति या छुट्कारा पाएको दिन, अन्धविश्वासमा नफसिकन महिलाहरू अगाडिको बाटो हिँडेको दिन हाम्रो समाजले बेग्लै परिवर्तनको अनुभव गर्न पाउनेछ । हाम्रो समाज साँचो अर्थमा उज्यालो बन्नेछ ।
यस मञ्चबाट हामीले हाम्रो नयाँ पुस्तालाई कस्तो समाज सुम्पने भन्नेबारे पनि छलफल गर्दै छौँ । यो छलफल आजको आवश्यकता पनि हो । आज हामीले यहाँ हाम्रै स–साना छोराछोरीहरूको केही आकर्षक प्रस्तुति हे¥यौँ । अझ अरु धेरै हेर्न बाँकी छ । ती सबैले हाम्रो नयाँ पुस्ताको उज्यालो भविष्यको सङ्केत गरिरहेको अनुभव हुन्छ ।
हामीले खोजेको समाज वास्तवमा आमाहरूले दुःख नपाउने समाज हो । महिलाहरूले समतामूलक जीवन बाँच्न पाउने समाज हो । बालबच्चाहरूले यथोचित अवसर पाउने, शिक्षादीक्षा पाउने, ज्येष्ठ नागरिकहरूले सम्मानजनक जीवन पाउने र युवाहरूले रोजगारी स्वदेशमै पाउने समाज हो । शिक्षा, स्वास्थ्य राज्यले जिम्मा लिने समाज हो । हामी जानुपर्ने बाटो त्यही हो । जसलाई राजनीतिक भाषामा समाजवादी व्यवस्था भनिन्छ ।
समाजवादी समाजमा राज्यले नै बालबालिका, महिला र ज्येष्ठ नागरिकको सुन्दर एवम् सुरक्षित जीवन सुनिश्चित गर्छ । अर्को भाषामा भन्ने हो भने राज्यले जन्मदेखि मृत्यु अर्थात् गर्भदेखि चिहानसम्मको जिम्मेवारी वहन गर्दछ । यो यथार्थ विशेषगरी बहुसङ्ख्यक महिलाहरूले बुझेको दिन परिवर्तन, आमूल परिवर्तन अत्यन्त नजिक हुनेछ ।
अन्तमा, यस स्कूलको सफल ३६ वर्षको निम्ति बधाई र आगामी दिनको सुखद तथा सफल यात्राको निम्ति शुभेच्छा व्यक्त गर्दछु ।
(बाल विकास सेकेन्डरी स्कूलको माघ २० गते भएको ३६ औँ वार्षिकोत्सव समारोहमा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले व्यक्त गर्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *