चीनमा नेपाली वैज्ञानिकको ख्याति
- पुष २८, २०८१
काठमाडौँ, २७ माघ । संसारमा प्रजातन्त्र, न्याय, समानता, मानव अधिकार र मुक्ति आन्दोलनसँगै सूचना र सञ्चारको विकास भइरहेको यथार्थ हो । विज्ञान र प्रविधिको विकाससँगै प्रेस जगत्मा भएको विकास अर्को यथार्थ हो । यो प्रेस जगत् राजनीतिक दलको सिद्धान्त र विचार विभाजित भएझैँ विभाजित छ । जसरी राजनीतिक दलमा विचार र दृष्टिकोण स्पष्ट हुनु आवश्यक छ त्यसरी नै पत्रिपत्रिकाको दृष्टिकोण या विचार स्पष्ट हुनुपर्छ । देशको व्यवस्था परिवर्तनमा सञ्चारकर्मी या पत्रकारिताको पनि महत्वपूर्ण देन छ भन्ने कति सञ्चारकर्मी, पत्रपत्रिका सञ्चालकहरू पत्रकारितामा राजनीतिक गन्ध हुनुहुँदैन या पत्रकारिता स्वतन्त्र हुनुपर्ने कुरा फुक्छन् । विचार र दृष्टिकोण स्पष्ट भएन भने त्यो पत्रकार र पत्रकारिताले देश र समाजको निम्ति के देन गर्छ ? देशमा कहीँ कतै घटेको घटना, गतिविधिको खबर मात्र छापेर देश र जनताको सेवा कसरी हुन्छ ? देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिताको भूमिका कसरी हुन्छ ? यसकारण पत्रिका या छापामा समाचार र विचार पनि हुनुपर्छ । पत्रकारितालाई आस्थाको पत्रिकाको रूपमा विकास गर्नु खाँचो छ ।
कुनै पत्रिका या सञ्चारकर्मीको माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचार या समाजवादप्रति रुचि नहुनु, त्यसको समर्थन नगर्नु अर्को पाटो हो । कुनै पत्रिकाले आमूल परिवर्तनको निम्ति जनतालाई सुसूचित पार्ने खालको सामग्री या एजेन्डा नपस्कनु या त्यसबारे प्रचारप्रसार नगरेको होला । जातीय राजनीति गर्ने, सङ्कीर्ण विचारमा केन्द्रित हुने राजनीतिक दलझैँ पत्रपत्रिका या पत्रकारिताको चिन्तन, सोचाइ पनि सङ्कीर्ण भएको हुनसक्छ । वर्गमा विभाजित समाजमा पत्रिका पनि विभाजित हुनु आश्चर्य होइन । ठुलो ठुलो र रङ्गीन पत्रिका भन्ने तर समाज परिवर्तन गर्ने, अन्धविश्वास भगाउने, आपराधिक घटना नियन्त्रण गर्ने, देश जोगाउने र बनाउने सन्दर्भमा समाचार र लेख छापिँदैन, जागरुक बनाउने काम गरिँदैन भने ठुलो दल र ठुलो पत्रिकाको गर्व गरेरै के गर्ने ?
प्रेस काउन्सिल नेपालद्वारा काठमाडौँमा शुक्रबार आयोजित ‘सम्पादक संवाद’ कार्यक्रममा पत्रकारिता राजनीतिबाट प्रभावित हुन नहुने अभिमत पनि देखियो । आफ्नो पेसाप्रतिको स्वतन्त्रतामा कसैले बाधा पु¥याउन नहुने, अनुगमन र नियमन गर्न नपर्ने कुरा उठाइयो । युट्युब, टिकटक, फेसबुक या अन्य कुनै पनि छापा या पत्रिकाले अश्लील, अतिरञ्जित, घृणित, देख्न, हेर्न र सुन्न नहुने खालका दृश्य, एजेन्डा प्रस्तुत गरे पनि आफ्नो स्वतन्त्रतामा हस्तक्षेप गर्न नहुने विचार पनि सञ्चारकर्मीहरूले व्यक्त गरे । कुनै पनि सञ्चार क्षेत्रलाई अनुगमन र नियमन गरे त्यो कसरी स्वतन्त्र हुन्छ भन्ने उनीहरूको भनाइ हो । सञ्चार क्षेत्रका वरिष्ठ, पुराना, अनुभवी सम्पादक, सञ्चालक, रेडियो, गोरखापत्र, टीभी तथा अन्य बुद्धिजीवी र सञ्चारविज्ञहरूको सो भेला महत्वपूर्ण भए पनि सञ्चार क्षेत्रलाई मार्गनिर्देश गर्ने, सत्मार्गमा लाने या समाज परिवर्तनको निम्ति बाटो देखाउने काममा खासै चासो देखाइएन । प्रेस जगत्मा संलग्न हरेक सञ्चारकर्मी जिम्मेवार हुनुपर्ने, आ—आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा थोरबहुत चर्चा भयो ।
सञ्चार क्षेत्र व्यक्तिकेन्द्रित होइन समुदायप्रति समर्पित हुनुपर्ने, देशको सिमाना जोगाउने, देशको सार्वभौमसत्ता रक्षा गर्ने, देशभक्त, अनुशासित नागरिक तयार गर्नुपर्ने कुरा थोरैले व्यक्त गरे । प्रेस जगत्लाई निश्चित दिशामा मार्गनिर्देशन गर्नसक्ने खालका सञ्चारकर्मीहरू कसैको निर्देशनमा बस्नुपर्ने, जागिर बचाउनुपर्ने बाध्यताले थुक निलेर बसे । सम्पादक र पत्रकारहरूमाझ समन्वय हुनुपर्ने, पत्रिका प्रकाशक या मालिकको निर्देशनमा बस्नुपर्ने बाध्यताले सञ्चारकर्मीहरू ढुक्कसाथ काम गर्न नसकेको अभिव्यक्ति पनि व्यक्त नभएको होइन । सञ्चारकर्मीहरू संविधानमा उल्लेखित समाजवादउन्मुख देश बनाउने एजेन्डा लिएर अघि बढ्नुपर्ने प्रसङ्ग पनि ‘सम्पादक संवाद’ कार्यक्रममा उठ्यो । सूचना प्रविधिको विकासले देश विदेशमा रोजगार पाएकाहरू बेरोजगार भएको उदाहरण पनि प्रस्तुत भयो । सो कार्यक्रम समय सान्दर्भिक र आवश्यक भएको महसुस गरियो । छोटो समयमा एकै बैठकमा सबै विषय समेटिने पनि होइन । यथार्थमा सबैजसो विषय कार्यक्रममा आए पनि कुनै निष्कर्षमा पुगेन । तर, छलफल चालु राख्नुपर्ने महसुस गरियो ।
Leave a Reply