भर्खरै :

भक्तपुर नगरका ढुङ्गेधाराहरूबारे एक अध्ययन

भक्तपुर नगरका ढुङ्गेधाराहरूबारे एक अध्ययन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ’ भन्ने आफ्नो निबन्धमा हीरा, मोती, मणि, आँखाको नानी अनि मुटु सानो हुन्छ भनेजस्तै नेपाल पनि आकार र क्षेत्रफलले सानो छ । तर, संस्कृति, भूगोल, इतिहास, हावापानी, प्राकृतिक स्रोत र सुन्दरतामा विशाल छ भन्ने भाव व्यक्त गरिएको छ । यहाँ विविध जातजाति र भाषाभाषीका मानिसहरू बस्छन् । उनीहरूको कला, संस्कृति र त्यसअनुरूपको सांस्कृतिक सम्पदामा नेपाल धनी छ । नेपालको ७५३ वटा नगरपालिकाहरूमध्ये भक्तपुर नगरपालिका क्षेत्रफलले सानो छ । तर, संस्कृति र सम्पदामा धनी छ । भनपाका जनप्रतिनिधिहरू देशभक्त, दूरदर्शी, विचार र त्यसअनुरूपको कर्मले भक्तपुर आज सफा र सुन्दर, सांस्कृतिक नगरको रूपमा नेपाल र विश्वमा परिचित छ । भक्तपुरका जनताको न्यानो माया, साथ र सहयोगमा पुर्खाले नासोको रूपमा सुम्पेर गएको मठमन्दिर, पाटी, पौवा, पोखरी, ढुङ्गेधारालगायत अन्य मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण शिक्षा, स्वास्थ्य र सरसफाइमा निरन्तर अगाडि बढिरहेको यो नगर, देशकै नमुना सहरको रूपमा अग्रस्थानमा रहेको देखिन्छ ।
विश्वका धेरै देश घुमेका पहिलो विश्वयुद्धमा संरा अमेरिकाका युद्धसंवाददाता एडवार्ड अलेक्जान्डर पावेलले सन् १९२९ मा प्रकाशित गरेको ‘The last home of Myster’ भन्ने पुस्तकमा भक्तपुरबारे भादगाउँको दरबार क्षेत्रबाहेक नेपालमा त्यस्तो ठाउँ कतै छैन जहाँ पुग्दा आधा विश्व घुम्नुभन्दा बढी हुन्छ भनेर त्यसै भनेका होइन होला । त्यस्तै, विश्वको धेरै ठाउँ घुमेर पनि ५० वर्षको लामो बसाइँका कारण यहाँको ऐतिहासिक नाचगान, रीतिरिवाजका कारण संस्कार, कला संस्कृति, परम्परा र वास्तुकलाबारे राम्रो ज्ञान हासिल गरेका जर्मन सम्पदाविद् निल्स गुत्सो (Neil Gutschow) ले भक्तपुरजस्तो सुन्दर जीवित सङ्ग्रहालय (Living Museum) संसारको अन्य ठाउँमा हुन नसक्ने भनेर त्यसै भनेका होइनन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ नामक पुस्तकमा भक्तपुरलाई सय वर्षपछि बिहान प्राचीन सहरजस्तो, दिउँसो खुला विश्वविद्यालयजस्तो र राति प्राचीन लुगा लगाएकी सुन्दरीजस्तो देखिने एउटा सुन्दर आकर्षक नगर बनाउने परिकल्पना गरिएअनुसार भक्तपुर नगरपालिका र भक्तपुरका जनता निरन्तर अग्रसर छ भन्ने कुरा परिणामतः नेपाल र विश्वका जनताले देख्दै, अनुभव गर्दै आएका कुरा हुन् भन्दा फरक नपर्ला ।
‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ नारालाई आत्मसात गर्दै भक्तपुरका सचेत जनता अगाडि बढ्दै छन् । भक्तपुरलाई देशकै ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यअनुरूप भक्तपुर नगरपालिका र भक्तपुरका जनताले शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा जोगाउने पवित्र कामलाई अझ अगाडि बढाउने काम गर्दै छन् । नेपालका राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरू पूर्वमन्त्रीहरू, विभिन्न प्रदेशका सांसद, गाउँपालिका, नगरपालिकाका मेयर, उपमेयरलगायतका जनप्रतिनिधिहरू, विदेशी विश्वविद्यालयका प्राध्यापकहरू, विद्यार्थीहरू भक्तपुरमा अध्ययन, अवलोकन भ्रमणमा आइरहेको परिणामले पनि भक्तपुर ज्ञान विज्ञानको केन्द्र बन्दै गएको जनताले अनुभव गर्दै छन् ।
भक्तपुर सहर सफा सुन्दर सांस्कृतिक सम्पदाले धनी हुनुमा पुर्खाको देनलाई नकार्न सकिँदैन । नेपालको इतिहासमा लिच्छविकाल र मल्लकाललाई ‘स्वर्णकाल’ भन्ने गरिन्छ । लिच्छवि र मल्ल राजाहरूको पालामा जनताको सुविधा र सेवाको लागि मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, कुवा आदि बनाएका पाइन्छ । त्यसबेला जनताको सहयोगमा त्यस्ता सम्पदाहरू बनाउन राजाहरूको बिचमा प्रतिस्पर्धा हुन्थ्यो । त्यही सांस्कृतिक सम्पदाले आज नेपाल विश्वमा परिचित छ ।
मानव सभ्यताको विकास सँगसँगै खानेपानीको सहज आपूर्ति गर्नको लागि मानिसले विभिन्न साधनको प्रयोग गरेर पानीलाई उपयोग गर्दै आएको पाइन्छ । त्यस क्रममा जनताले ढुङ्गाको चिरा, प्वाल, खाल्डो भागबाट बगेको धारा (झरना) को पानी उपयोग गर्दै आएका थिए । त्यसको सिकाइ अनुभवबाट मानिसले रुख, बिरुवा वा वनस्पतिको पातलाई उपयोग गरेर धारा बनाई पानीको सहज उपयोग गर्दै आएको पाइन्छ । त्यसपछि क्रमशः ढुङ्गा, तामा, फलामका पाता राखेर धारा बनाइएको पाइन्छ । तर, आज नयाँ र उन्नत प्रविधिको फलाम र प्लास्टिकको पाइपको उपयोग गरेर घरघरमा खानेपानीको सहज आपूर्ति गर्दै आएको पाइन्छ ।
भक्तपुर नगरमा लिच्छवि र मल्लकालमा बनाइएका थुप्रै कलात्मक, ढुङ्गेधारा रहेको पाइन्छ । ढुङ्गेधारालाई नेपालभाषामा ल्होहँ हिटी भनिन्छ । ल्होहँ भनेको नेपालभाषामा ढुङ्गा हो, हिटी भनेको धारा हो । ढुङ्गा, बालुवा (प्राकृतिक फिल्टर) भई बगेको पानी सङ्लो र सुरक्षित हुन्छ । त्यसो हुँदा हाम्रा पुर्खाहरूले ढुङ्गालाई धाराको रूपमा ठाउँ ठाउँमा प्रयोग गर्दै आएको देखिन्छ ।
भक्तपुर नगरमा लिच्छविकालदेखि नै जनतालाई खानेपानीको आपूर्ति गर्दै आएको देखिन्छ । राजा आनन्ददेवको पालामा भक्तपुर सहरमा महादेव, गणेश र विष्णुको मन्दिर स्थापना गरी सँगै कुवा, इनार, ढुङ्गेधाराको निर्माण गरेर मूलको पानी ल्याएर जनतालाई सुविधा दिएको देखिन्छ । भक्तपुर नगरको पूर्वपट्टि कमलविनायक बाहरे, तुमचो, च्याम्हासिंह, देगइना मूलबाटोको दायाँबायाँ क्षेत्रलाई लिच्छविकालीन मानवगृह दरबारको क्षेत्र मानिन्छ । त्यस क्षेत्रभित्र कमलपोखरी, गरुड कुण्ड, वाचुहिटी, ठाउँ–ठाउँमा चतुर्मुखी शिवलिङ आज पनि अवशेषको रूपमा रहेको देखिन्छ । त्यतिबेला त्यस क्षेत्रमा घर बनाउन जग खन्दा ठुलठुला किल्ला भेटिएको सुन्नमा आएको, त्यसबेलाका दरबारका टोला रानी कमलपोखरीमा कमलको पातमा हिँडेर नुहाउने गरिन्छ भने च्याम्हासिंहको पूर्व पट्टि ब्रह्मायणी जाने बाटो देगइनासँगै उत्तरपट्टि रहेको वाचुहिटीमा राजा, रानीहरू दैनिक स्नान गर्ने अनि त्यही रहेको ढुङ्गाको ऐना (न्ह्ेयकँ ल्होहँ) मा हेरेर कपाल कार्ने गरिन्छ भन्ने लोक कथन छ । त्यस वाचुहिटी र ब्रह्मायणीको ढुङ्गेधारामा उत्तरपट्टि दुगुरेको मूलबाट पानी लाने गरिएको थियो । यसरी भक्तपुरमा लिच्छवि राजाहरूको पालामा मूलको पानी, इनार, धारा, पोखरीको माध्यमबाट जनतालाई खुवाएको देखिन्छ ।
जितामित्र, भूपतीन्द्र मल्ल राजाहरूको पालामा नगरकोट फेदी हालको मुहान पोखरीबाट राजकुलोको माध्यमबाट भक्तपुर दरबारलगायत टोलटोलमा ढुङ्गेधाराबाट पानी जनतालाई खुवाएको देखिन्छ । शासक दलहरूले असन्तुलित र अव्यवस्थित सहर विस्तार गरेको कारण मूलबाट पानी आउने केही ढुङ्गेधाराबाहेक अरु सबै ढुङ्गेधारामा पानी आउन बन्द भएको अवस्था छ । हाल ती ढुङ्गेधारामध्ये केही ढुङ्गेधारामा स्थानीय जनता र भक्तपुर नगरपालिकाको समन्वयमा खानेपानीको पाइप जाडेर स्थानीय जनताले पानी उपभोग गरिरहेको अवस्था देखिन्छ । हाल नगरकोटको मुहानबाट आउने पानी भक्तपुर नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुरसँग समन्वय गरेर समय तालिका मिलाएर वितरण गरिरहेकाले भक्तपुरका जनतालाई पानीमा केही राहत मिलेको छ भने केही ठाउँमा दीप बोरिङ गरेर पानी वितरण गरेर थप सहज बनाएको छ ।
लिच्छवि र मल्ल राजाहरूको पालामा जनताले रगत पसिना बगाएर भक्तपुरको टोल–टोलमा ढुङ्गेधारा निर्माण गरेर जनतालाई खानेपानी खुवाएको माथि उल्लेख भयो । ती राजाहरूको पालामा भक्तपुरका जनताले बनाएका करिब ८६ वटा ढुङ्गेधारा देखिन्छन् । केही अरु बाँकी छुटेका होलान् । हाल प्राप्त ती ढुङ्गेधाराहरूमध्ये नगरको वडा नं १ मा ७ वटा, वडा नं २ मा १४ वटा, वडा नं ३ मा ६ वटा, वडा नं ४ मा ३ वटा, वडा नं ५ मा १० वटा, वडा नं ६ मा ८ वटा, वडा नं ७ मा १० वटा, वडा नं ८ मा ४ वटा, वडा नं ९ मा १३ वटा र वडा नं १० मा ११ वटा छन् । ती ८६ वटा ढुङ्गेधाराहरूमध्ये पूर्वतर्फ फर्केको १३ वटा, दक्षिणतर्फ फर्केको २४ वटा, पश्चिमतर्फ फर्केको ४३ वटा, उत्तरतर्फ फर्केको ४ वटा र उत्तर–पश्चिमतर्फ फर्केको एउटा धारा र एउटा तीनधारा रहेको पाइन्छ । त्यसै नगरमा दुईवटा स्वर्णधारा, दुईवटा बाघमुखे धारा र एउटा तीनधारा रहेको पाइन्छ । नगरमा पश्चिमतर्फ फर्केका धाराहरू सबभन्दा बढी अर्थात् ४१ वटा ढुङ्गेधारा देखिएका छन् । यसो हुनुको कारण यहाँ पानी आउने ढुङ्गेधाराहरूको पानीको मुख्यस्रोत, बहाब पूर्वनगरकोट फेदीबाट पानी भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यसका अरु पनि कारण होलान् ।
नगरको ढुङ्गेधाराहरूमध्ये धेरै ढुङ्गेधारा वडा नं ९ र १० मा पाइन्छ । यसो हुनुको कारण यो भक्तपुर नगरको नगरकोट फेदीबाट आउने राजकुलाको मुख्य प्रवेश क्षेत्र, बाटो हुनुको साथै लिच्छविकालीन दरबार मानगृह क्षेत्र वरपर भएकोले हुनुपर्छ । त्यसपछि धेरै धारा वडा नं २ मा पनि रहेको पाइन्छ । त्यो ठाउँ वडा नंं २ इताछेँ र ब्यासी टोलमा परेको छ । यहाँ ढुङ्गेधाराहरू धेरै रहनुको कारणमध्ये यो ठाउँ दरबार छेउमै अवस्थित छ । यो ठाउँ भूगोलअनुसार घाम त्यति नलाग्ने चिसो, ओसिलो, बलौटे, भिरालो परेको ठाउँ हो । भूमिगत पानीको स्रोत पनि भएकोले त्यतातिरको अधिकांश ढुङ्गेधारामा मूलको पानी आइरहेको देखिन्छ । ती क्षेत्रका धाराहरूमध्ये इन्द्रायणी पीठपछाडिको धब्बा ढुङ्गेधारामा सबभन्दा बढी मूलको सङ्लो पानी आइरहेको दखिन्छ । तर, नगरको दक्षिणतर्फ दरबार, राजकुलोबाट टाढा र पूरै घाम लाग्ने (याता) फराकिलो भिरालो ठाउँ परेकोले मूलको पानी पनि त्यति नभएकोले थोरै मात्र धारा अर्थात् ४ वटामात्र ढ्ङ्गेधारा रहेको अनुमान लगाउन सकिन्छ ।
प्रायः सबै ढुङ्गेधारामाथि गोहीको मूर्ति राखेको पाइन्छ । गोही जलदेवी गङ्गाको बाहन र जलचर प्राणी भएको हुँदा त्यसरी धारामाथि यसको पानीको प्रतीकको रूपमा राखेको पाइन्छ । त्यस्तै, सबैजसो ढुङ्गेधाराको मुनि राखिएको मानिसजस्तो ऋषिजस्तो, राजाजस्तो राखिएको ढुङ्गाको मूर्तिको सम्बन्धमा इतिहास र संस्कृतिका युवा अध्यक्षता ओमप्रसाद धौभडेलले त्यो मूर्ति गङ्गापुत्र भगीरथको मूर्ति हुन् भनेका छन् । उनी महादेव शिवका एकपत्नी हुन् । गङ्गापुत्र भगीरथले धर्तीमा पानीको खडेरी, सङ्कट भएको बेला पानी ल्याउन कठिन तपस्या वा प्रयत्न गरेकोले महादेवको जटामा बसेकी देवी गङ्गाले दुवै हातको अञ्जुलीबाट पानीको धारा धर्तीमा बसेको पुत्र भगीरथलाई पानी खुवाएको, उनले धर्ती लोकमा पानी ल्याएको भन्ने शास्त्रअनुसार त्यसको प्रतीकको रूपमा सबैजसो ढुङ्गेधाराको मुनि भगीरथको विभिन्न आकृति, रूपको ढुङ्गाको मूर्ति राखेको हेर्न, देख्न सकिन्छ । गङ्गापुत्र भगीरथको भगीरथ प्रयत्नले गर्दा धर्तीमा जल (समुद्र, पोखरी, नदी, ताल, इनार कुवा, धारा आदि पानीको स्रोत) उपलब्ध भएको मानिन्छ । त्यस्तै, कठिन तपस्या गरी स्वर्गबाट धर्तीमा, पृथ्वीमा गङ्गा ल्याउने सूर्यवंशी राजा सगरका पनातिको कथालगायत अन्य लोक कथाहरू पनि शास्त्रमा सुन्न, पढ्न पाइन्छ ।
ढुङ्गेधाराको मुख वा टुटीमा विशेष प्रकारको जीवका मुखबाट पानीको धारा बहेको, झारिएको देख्न हेर्न सक्छौँ । यस सम्बन्धमा युवा संस्कृति र इतिहासका अध्येयता धौभडेलले पुराण शास्त्रअनुसार लिच्छवि र मल्ल राजाहरूले सबैजसो ढुङ्गेधारामा मुख वा टुटीमा एक विशेष प्रकारको जलचरको टाउकोको मूर्ति राखिएको पाइन्छ भनेका छन् । त्यस जलचरको विशेषता भनेको पानीको स्रोतमा रहेको अशुद्ध फोहर पानी मुखले खाएर, तानेर शुद्ध पारी हात्तीको सुँदजस्तो अङ्गबाट बाहिर धाराको रूपमा फाल्नु, निकाल्नु हो । कहीँकहीँ ढुङ्गेधारामा ती ढुङ्गेधारामा विशेष प्रकारको जलचरको मुखमा बोका, बाघ, गाईलगायतका जीवको मुखबाट पानी झरेको र धारा बहेको पाइन्छ । ती विशेष जीव शाकाहारी भएको हुँदा तिमीले खाने पानीमा त्यस्ता जीवहरू पनि हुन सक्छन् है भनेर सचेत गराएको प्रतीकको रूपमा राखिएको उनको कथन छ ।
हामीले शिवलिङ्ग हेर्दा सबैजसो शिवलिङ्गको धारा, टुटी, उत्तरतिर फर्केको वा फर्काएर राखेको पाउँछौँ । यसको तान्त्रिक वैज्ञानिक कारण भनेको नेपालमा बहने सबै पवित्र सङ्लो जल हिमालको हिउँ पग्लिएर नदीको रूपमा आउने गरिन्छ । त्यो हिउँ पग्लिएर खाली भएको ठाउँ पूर्ति गर्न त्यो शिवलिङ्गमा चढाएको पवित्र जल पुनः उत्तरतिर जमिनबाट, हावा (वाष्पीकरण) बाट हिमालमै गएर हिउँको रूपमा जम्मा हुन जाने गर्दछ । यदि यसो नहुने हो भने पवित्र जल, सङ्लो पानीको प्रमुख स्रोत, भण्डार रितिन्छ र पानीको हाहाकार वा विपत्ति हुन्छ । यसलाई अहिलेको विज्ञानको भाषामा जलचक्र (वाटर साइकल, पारिस्थिक प्रणाली (इकोसिस्टम) भनिन्छ । यसको अर्को वैज्ञानिक कारण दिशाबोध गर्ने कम्पास पत्ता नलागेको समयमा यसले कम्पासको रूपमा काम गर्दछ । जलहरी, टुटी जतापट्टि फर्केको छ उतापट्टि उत्तर दिशा हुन्छ । जसरी सूर्य उडाएको दिशा पूर्वपट्टि वा पूर्व दिशा हुन्छ । पहिलेका मानिसहरू शिवलिङ्गको टुटी, धाराको आधारमा दिशा हेरेर यात्रा गर्ने काम गर्ने गरिन्थे । यसले सही बाटो सही ठाउँमा पुग्न मद्दत गर्दछ ।
प्रायः सबै ढुङ्गेधाराको माथि वा वरपर शिवलिङ्ग, महादेवको मूर्ति राखिएको पाइन्छ । मानिसहरूले बिहान उठ्नासाथ धारामा स्नान वा मुख धोइसकेपछि महादेवको नाममा, शिवलिङ्गको नाममा धाराबाट आएको जल चढाउने चलन छ । हिजो र आज पनि त्यो परम्परा कायमै छ । अञ्जुली वा करुवामा, आङ्खोरामा थापेको, भरेको पवित्र जल शिवलिङ्गलगायत अन्य देवी देवतालाई चढाउँदा त्यो जल पवित्र, चोखो हुन्छ । यसलाई घर आँगन, सबै ठाउँमा चढाउँदा, छर्दा, चोखो र शुद्ध हुन्छ भन्ने मान्यता रहिआएको छ । ढुङ्गेधारामाथि वा वरपर शिवलिङ्गबाहेक विभिन्न आकृति र रूपका देवी देवताका मूर्तिहरू पनि राखेको पाइन्छ । ती देवीदेवताले पनि यस पृथ्वीलोकमा, ढुङ्गेधारामा जलको उत्पत्ति, प्रवाह गर्नमा सहयोग गरिरहेको हुन्छ भन्ने मान्यता रहिआएको पाइन्छ । त्यसैले मानिसले ती शिवलिङ्गको साथै विभिन्न देवी देवताको मूर्तिमा पनि जल चढाउने चलन चल्दै आएको पाइन्छ । यसप्रकार सबै सांस्कृतिक सम्पदामा मानव जीवन, सभ्यता, धर्म, ज्ञान, विज्ञानका सन्देश र इतिहास पाइन्छ ।
स्थानीय सरकार भक्तपुर नगरपालिकाले पुरानो र जीर्ण ढुङ्गेधारा, इनार, कुवालाई यहाँका स्थानीय जनताको साथ र सहयोगमा पुनः निर्माण गर्ने र यहाँका जनतालाई सम्भव भएसम्म खानेपानीको स्रोत खोजी गरी पानीको सहज बन्दोबस्त गरिरहेको भक्तपुरका जनताले अनुभव गरिरहेकै कुरा हुन् । भक्तपुर सहरको पानीको मुख्य स्रोत नगरकोट फेदी मुहान पोखरीमाथि भङ्गेरी डाँडामा खेल मैदान बनाउने नाममा जङ्गल अतिक्रमण गरी, जङगल फाँडी पानीको स्रोत जलधार क्षेत्र विनाश गरेको हुँदा ती पानीको मुख्य स्रोतलाई जलाधार क्षेत्र घोषणा गरेर त्यसको वरिपरि नेपाली सैनिकको क्याम्प राखेर सरकारले सुरक्षा गर्न आवश्यक देखिन्छ । सरकारले स्थानीय सरकारसँग समन्वय गरेर वृक्षरोपण र भिरालो बहाब क्षेत्रमा ठाउँ–ठाउँमा बाँध बाँधेर वर्षाको पानी जम्मा गर्न सकेको खण्डमा थप पानीको भण्डारण भई भक्तपुरका जनतालाई खानेपानीको थप सहज व्यवस्था हुने देखिन्छ । अन्तमा, यो सामग्री तयार गर्न सहयोग गर्नुहुने भक्तपुर नगरपालिका वडा नंं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, ओमप्रसाद धौभडेल, गौतमप्रसाद लासिवालगायत सबैलाई साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *