प्यालेस्टिनी जनताले यहुदीहरूलाई शरण दिएको नरसंहार गराउन होइन
- माघ १, २०८१
भक्तपुर, माघ २८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले साहित्यकार, पत्रकार, कलाकार बन्न चाहने नयाँ पुस्तालाई सम्बोधन गर्दै समाजलाई क्रान्तिकारी बनाउने उद्देश्यले साहित्य लेखन, साहित्यिक संस्थाको सञ्चालन, सञ्चार संस्था र विद्यालयकलेजको स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “समाजवाद नभएको देशमा मानवता हुँदैन । मानिसको वर्ग फरक भएपछि दृष्टिकोण पनि फरक हुन्छ । समाजमा डरत्रास देखाई सज्जनलाई गलत बाटोमा हिँडाउनेहरूको पनि कमी छैन । जाँडरक्सी–वियरजस्ता मद्यपान र चुरोट, खैनीजस्ता धूमपानलगायत स्वास्थ्यलाई हानि हुने लागुपदार्थसमेतको विरोध हाम्रो साहित्यमा हुनु आवश्यक छ । विरोधीहरूले नेपाल मजदुर किसान पार्टीका समर्थकहरूलाई जाँडरक्सीलगायत मद्यपान र धूमपानजस्ता खराब लतमा फसाई बिगारेका उदाहरण पनि छन् । यतातिर सबै सचेत हुनु आवश्यक छ ।”
“विश्व कम्युनिस्ट आन्दोलनका योद्धा एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको रचना येनानको साहित्य गोष्ठीलगायत हिन्दुस्तानका साहित्यकारहरू चतुर्सेन शास्त्री, यशपाल, कृष्णचन्दर, नम्बुदिरिपाद, मदनमोहन मालविय, बलराज साहनी, नेपालका साहित्यकारहरू पारसमणि प्रधान, गोविन्दप्रसाद लोहनी, कृष्णचन्द्र सिंह प्रधान, भूपी शेरचन, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, हृदयचन्द्र सिंह प्रधानका साहित्यहरू अध्ययन गर्नु आवश्यक छ । गेटे, रवीन्द्रनाथ टैगोर, टाल्सटोयलगायत अन्तर्राष्ट्रिय साहित्यकारहरूको साहित्य पनि अध्ययन गर्नु जरुरी छ ।” बिजुक्छेंले नयाँ पुस्तालाई सचेत गराउँदै भन्नुभयो ।
“कविता विधाका साहित्यकारहरूले छन्द, मात्रा, रस, अलङ्कारको राम्रो जानकारी राख्नु आवश्यक छ । ‘लघु कथा’ नाम दिएर लामो कथा लेख्नु हुँदैन । प्रगतिशील साहित्यमा कामदारवर्गलाई ‘वीर पात्र’ बनाइन्छ । रुसी साहित्यकार गोर्कीले ‘आमा’ उपन्यासमा एक मजदुरलाई वीर पात्र बनाएका थिए । हामीले पनि समाजका कामदारवर्गलाई वीर वीराङ्गनाको पात्र बनाएर साहित्य लेख्नु आवश्यक छ । हिजोका साहित्यहरूमा राजा महाराजा र देवताको बयान हुन्थ्यो । पछि धनीहरूको मायाप्रेमको साहित्य सुरु भयो । हामीले साहित्यमार्फत समाजलाई प्रगतिशीलतातर्फ तान्नु आवश्यक छ । नेपालमा प्रगतिशील साहित्य लेखनमा नेपाल मजदुर किसान पार्टीका साहित्यकारहरूको महत्वपूर्ण योगदान रहेको छ ।” अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले स्पष्टसँग भन्नुभयो, “विद्यालय र विश्वविद्यालय भनेको भवन र बेन्च–टेबुल होइन । कामदारवर्गको आँखाले त्यहाँ कुन कुन विषय पढाइ हुने हो हेर्नु जरुरी छ । गरिबका छोराछोरीले धेरै शुल्क तिर्न सक्दैनन् । विद्यालय, कलेज, साहित्यिक पत्रकारिता आदि संस्थाको उद्देश्य स्पष्ट हुनु जरुरी छ । साहित्यकार पत्रकार, कलाकार धनी बन्नको लागि होइन कामदारवर्गको सेवा गर्न हो भन्नेमा स्पष्ट हुनु जरुरी छ ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “आयरलैन्ड र बेलायतको युद्धको बेला बिहान उठ्ने बित्तिकै कति मान्छे मारिए भनी चर्चा हुन्थ्यो । अहिले प्यालेस्टिनमा त्यसरी नै मानिस मारिँदै छ । युद्ध र साम्राज्यवादको विरोधमा हामीले कलम चलाउनु जरुरी छ ।”
पार्टीका सचिव प्रेम सुवालले साहित्यबारे अध्यक्ष बिजुक्छेँको प्रशिक्षणबाट नयाँ पुस्ताका साहित्यकारहरू लाभान्वित हुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकबारे युवा साहित्यकारहरूबिच अन्तरक्रिया चालू राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply