भर्खरै :

विदेशबाटै पेचिङतिर–३

विदेशबाटै पेचिङतिर–३

दोस्रो खण्ड (३ भदौ, २०५२–११ भदौ, २०५२)

५८,००० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो बिहारमा १०० वटा ठुलो र अन्य ७०० वटा कोठा र चोकहरु छन् । भवनहरुले मात्रै ३८०० वर्ग मिटर ओगटेको छ । १८ जना पुराना प्रसिद्ध भिक्षुहरुको ढुँगामा कुँदेका मूर्तिहरु, श्रद्धालु र उपासकहरुवाट लिइरहेको शील, धूप, बत्ती देख्दा बीनमा धर्ममा मानिसहरुको भावना पुनर्जागरित हुँदैछ भन्ने अनुमान गर्न सकिन्छ । सुन वंशको पालामा त्यस बिहारमा १५०० सम्म भिक्षुहरु अध्ययन र अध्यापन गर्थे । भान्छा कोठा र भात पकाउने भाँडाहरु हेर्दा अचम्मै लाग्ने खालका छन् । सन् १९४९ सम्म ५/६ सय भिक्षुहरु त्यहाँ भएको बताइयो ।
ठाउँ ठाउँमा पोखरी, नागको बुट्टाले सिङ्ग्रारिएका अग्ला अग्ला ढुँगे पानसहरु, धारा आदिको राम्रो बन्दोबस्त त्यहाँ देखे । जंगलको बिचमा शान्त र हरियो त्यो बिहार सांच्चै आनन्ददायी छ । बिदा लिनु भन्दा पहिले नेपालका जनता, बौद्ध धर्माबलम्बी र भिक्षुहरुलाई केही सन्देश छ कि भनी सोध्दा उपाध्यक्ष स्यु स्यांगले भन्नुभयो– “लुम्बिनीमा शाक्य मुनिको जन्म भएको हामीलाई थाहा छ, पहिले जस्तै नेपाल र चीनको बिचमा भिक्षुहरुको आवत– जावत र आदान–प्रदानहरु होस् । वर्तमान सरकारको खुल्ला नीति वा ढोका खुल्ला गरेको हुनाले देशविदेशबाट भिक्षुहरुको आदानप्रदान गर्न सकिने छ। सरकारको त्यस नीतिप्रति बौद्ध धर्माबलम्बीहरु खुसी छन् । हाम्रो दुई छिमेकी मित्र देशहरुको बिचमा मित्रता बढोस्, नेपाल र चीनका बौद्ध भिक्षुहरु मिलेर विश्वशान्तिको निम्ति काम गर्न सकौँ । नेपाल र नेपाली जनताको विकास र समृद्धिको कामना गर्दछु ।”
भिक्षु स्यु स्यांगले मोटर राखिएको ठाउँसम्म आएर बिदा दिनुभयो र मैले उहाँंको नेपाल भ्रमणको स्वागत गर्ने र लुम्विनी र नेपाली बौद्ध बिहारहरुको अवलोकन गर्न नेपाल भ्रमणको कामना गर्दै बिदा लिए । यो बिहार दक्षिण–पूर्वी चीनको सबभन्दा ठुलोे बिहार रहेछ । निङपोमा अशोक मन्दिर र अन्य बिहारहरु पनि छन् । तर सायद म नै निङपो पुग्ने पहिलो नेपाली हुँला ।
दक्षिणी चीनको सबभन्दा पुरानो पुस्तकालय थियानयी मण्डप
४०० वर्ष अगाडि अर्थात् मिङ वंशको पालामा सन् १५६५ मा त्यसबेलाका एक विद्वान एवं उपरक्षामन्त्रीले यसलाई व्यक्तिगत पुस्तकालयको रुपमा स्थापना गरेका थिए । अहिले त्यो पुस्तकालय सरकारको एक सङ्ग्रहालयको रुपमा संरक्षित छ । १५–२० वटा साना र ठुलो चोक र भवनहरु देखाउँदै त्यहाँका युवा निर्देशकले भन्दै गए “यस पुस्तकालयमा ७०,००० पुराना ऐतिहासिक पुस्तकहरु सङ्ग्र्रहित छन् । बुद्ध धर्म र अन्य विषयका पुस्तकहरु पनि छन् । ३०० वर्ष अगाडि खाङ सी वंशको पालामा चीनमा ढुङ्गाहरुलाई मूर्तिको रुपमा सिङ्ग्रानै खूब चलन चलेको थियो ।” त्यसअनुसार हात्ती, घोडा, बाघ, चराचुरुङ्गी, कुकुर, ऐना हेरि रहेकी युवती आदिका आकार आउने ढुङ्गाका सजावट, पानीको स्रोत, पोखरी, माछा आदि हेर्दा पुस्तकालय एक प्रकारको पार्कजस्तो देखिन्छ । यस पुस्तकालयका घरपतिको २७ वर्षसम्मको परीक्षा दिइएका कापीहरु समेत संरक्षित छन् । १९४९ पछि यसलाई सङ्ग्र्रहालयको रुप दिइएको थियोद । ४०० वर्ष पहिले चिनियाँ अक्षरको छाप लिपि, २०० वर्ष पुरानो छाप, पुस्तकहरुलाई कीराबाट बचाउनको निम्ति युनानबाट त्याइएको जडीबुटी राखिएको थियो । पुरानो पुस्तकलाई हावापानीले छोइएला र ओसिएला भनेर पुराना पुस्तकहरुलाई छापेर दराजभित्र प्रदर्शित गरिएका छन् र पुराना पुराना पुस्तकहरु माथिल्लो तलामा सुरक्षित राखिएका छन् । एकचोटि अध्यक्ष माओका सचिव लि रुइले त्यहाँका पुस्तकहरु हेरेर आफूमा कम ज्ञान भएको अनुभव गर्नुभयो भन्ने कुरा बताइयो । मिङ वंशको ४०० वर्ष पुरानो अर्थात सन् १६१७ तिरको ढुङ्गामा खोपेको चिनीयाँ लिपि सिकाउने वर्णमाला आदि धेरै ऐतिहासिक सामग्रीहरु प्रदर्शित छन् । त्यस घरका अंशियार दुई भाइको अंशबन्डा हुँदा पुस्तकहरु बन्डा नगरी मूल्य राख्ने निधो गरियो । एक भाइले पुस्तकबापत केही लाख रकम पायो र अर्कोंले पुस्तक । तर, केही वर्षपछि पैसा पाउनेले खर्च गरेर पैसा सिध्याएछ र पुस्तक त बाँकी नै भएको कथा त्यहाँका निर्देशकले सुनाए । १९२३ सम्म त्यस छिङ वंशका मानिसहरु त्यहाँबस्ये अहिले कहाँ छन् थाहा छैन । त्यस पुस्तकालयमा अन्य घर जग्गासमेत थपेर विभिन्न ठाउँका ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने अन्य कलात्मक वस्तुहरु त्यहाँ सङ्ग्र्रह गर्न लगिएको छ । त्यस ठाउँलाई संरक्षित क्षेत्र बनाउन पुराना कलात्मक घरहरुलाई सजाइएको र उत्खननबाट प्राप्त सामग्रीहरुसमेत त्यहाँ ल्याउन सुुरु गरिएको छ ।
निङपो सहर र त्यस क्षेत्रमा विशेष आर्थिक क्षेत्रको रुपमा घोषणा गरिएको हुँदा नयाँ नयाँ सडक, भवन र योजनाहरु निर्माण हुँदा भेटाइएका सबै पुरातात्विक महत्वका वस्तुहरु त्यहाँ संरक्षण गर्न सुुरु गरिएका छन् र सरकारले त्यस पुस्तकालयलाई विकास र विस्तार गर्न थप रकम दिएको कुरा पनि युवा निर्देशकले बताए ।
दुई तीन वटा चोकहरु जीर्णोद्धार र पुनर्निर्माण गरिएका छन् । १९२३ तिर छिङ राजाहरुको खलकबाट एक जना नयाँ धनी व्यक्तिले किनेको भवनलाई अहिले सङ्ग्र्रहालयमा परिणत गरिएको छ । बार्दाली, चोक, मञ्च आदि हेर्दा नेपालका पुराना घरहरुको सम्झना आयो । सा¥है कलात्मक घरहरु, सामान, पालकी आदि हरेकका एक न एक कथा बताइयो । साँच्चै भनूँ भने एकदिन पूरै हेर्नुपर्ने ठाउँ रहेछ यो ।
त्यहाँबाट हामी निङपो नगरको जनसरकारको विदेश मामलाका निर्देशक हे चि चेङ (HE ZHI CHENG) ले आयोजना गर्नुभएको रात्रिभोजमा गयौँ । अतिथि सत्कारको निम्ति धन्यवाद दिदै दुई देशका जनताको मित्रता र आपसी हितको व्यापारमा जोड दिन, चिनियाँ जनताको सम्पन्नता र समृद्धिको निम्ति टोस्ट प्रस्ताव राख्यौँ ।
थ थौ गाउँ
७ भदौ २०५२ (25 AUGUST 1995) बिहीबारको दिन फुहा सहरलाई पार गर्दै ८ बजे बिहान हामी चेच्याङ प्रान्तको एक अत्याधुनिक गाउँमा ९ः३० बजेतिर पुग्याँै । राजमार्ग छोड्दै हामी १०–१५ माइल नयाँ पीचको बाटो हुँदै एक आधुनिक भवन अगाडि विश्राम गयौँ ।
त्यस गाउँको पार्टी सचिवले पार्टीको तर्फबाट र त्यहाँका जनताको तर्फबाट नेपाली मित्रलाई स्वागत गर्छ भन्नुभयो र अन्य पदाधिकारीहरूसँग परिचय गराउनुभयो । त्यस गाउँको परिचय दिँदै उहाँले त्यस गाउँमै झलेको ठुलोे नासपाती चक्कुले काट्दै दिनुभयो, आङ्गुर र अन्य फलफुलको रिकापी टक्र्याउँदै भन्नुभयो, “पहिले हामी यस गाउँको भिडियो टेप हेरौँ अनि कुराकानी गर्दै गाउँ डुलाँै हुन्न ?”
मैले सकारात्मक टाउको हल्लाएँ र भिडियोमा त्यस गाउँका खेतीपाती, बालीनाली, माछा र सुँगुरपालन, पोखरी, कारखाना, सांस्कृतिक भवन आदि हेर्दै गयौँ । यस प्रान्तको ५०० गाउँहरु मध्ये यो एक नमुना गाउँ हो । २५८ परिवार, ८०० जनसङ्ख्या र ५४ हेक्टर जगा भएको यस गाउँमा ८०० मू खेती हुन्छ । त्यसको निम्ति ९ जना किसानहरु मात्रै बर्ष भरि खेतीपातीमा काम गर्छन् । कृषि, पशुपालन, फलफुल, तरकारी, माछा र फूलको निम्ति ६ जनाले नै वर्षभरि रेखदेख गर्छन् । ट्याक्टरले नै खेत जोत्छ र मेसिनले नै धान रोप्छ, मेसिनले नै काट्छ । धान र गहुँ आदिको निम्ति कलघर छ । सुन्तला, अँगुर, नासपाती आदि यहाँका मुख्य फलफुल हुन् भने माछा, हाँस, कुखुरा, सुंगुर आदि यहाँको पशुपालनको उत्पादन हो ।
पशुपन्छीको बिष्टा र गोबरले ग्यांस निकालेर चुलोको काममा लगाइएको छ । साथै पछि त्यसलाई कम्पोष्ट मलको रुपमा पनि प्रयोग गरिन्छ । यस गाउँमा १६ वटा कल कारखानाहरु छन् । बाकस बनाउने, कपडा र छालाको कोट र लुगा बनाउने, कृत्रिम हीरा बनाउने आदि यहाँका मुख्य कारखाना हुन् । १९६५ सम्म यस गाउँको खास विकास भएको थिएन, १९७८ पछि यस गाउँको विकास सुुरु भएको हो । १९८१ देखि कृषि उत्पादनमा यसले ठुलोे विकास ग¥यो र १९९० देखि पशुपालनमा जोड दिइयो र अहिले ११०० सुँगुर पुगेको बताइयो । १९९१ मा यस गाउँको उत्पादन मूल्य २ करोड ९० लाख युआन थियो ।
कुराकानीपछि हामी गाउँ हेर्न गयौँ । झण्डै १०–१२ फीट चौडा एउटा नहर र सङ्ग्रै एउटा पक्की पीचको बाटोले गाउँलाई घेरेको छ । नयाँ घरहरुको बस्ती र पुराना घरहरुको बस्तीको बिच बिचमा ५–६ फीट चौडा नहरहरु छन् । नहरमा मत्स्यपालनको काम हुन्छ भने नहरको माथि बाँसको कप्टेरो मिलाएर अंगुरको खेती गरिएको छ । एक व्यक्तिलाई १६ वर्गमिटरको हिसाबले घर बाँडिएको छ । ठुलठुलोे एउटा घरमा ९ वटा परिवारलाई कोठाहरु बाँडिएको छ । एउटा परिवारलाई सालाखाला ३१.५ वर्गमिटरको हिसाब पर्न आउँछ ।
हामीले तरकारीको बीउ हुर्काउने घर, फूलहरु स्याहार्ने र बेच्ने ठाउँ, सुंगुर पाल्ने, गोब्बर ग्याँस प्लान्ट, तरकारी र चामल पसल हेर्दै नाचगान, खेलकुद र मनोरञ्जन गर्ने सांस्कृतिक भवनको कौसीबाट गाउँको अवलोकन ग¥र्याै ।
कुराकानी पनि हुँदै गयो । का. सचिवले भन्दै जानुभयो, “१९७८ देखि उत्पादन मात्र वृद्धि भएको होइन त्यसको स्तर पनि बढ्दै गएको छ । १९७८ देखि प्रतिव्यक्ति आय बढेर ११० युआन पुगेको थियो । तर अहिले सालाखाला प्रतिव्यक्ति आम्दानी ५०३६ युआन पुगेको छ । यो गाउँ उद्योग, सांस्कृतिक र व्यापारको नमुना भएको छ । सबैलाई सङ्ग्रै धनी बनाउने पार्टीको नीति अनुसार यो गाउँको विकास भएको हो । मेरो प्रश्नको उत्तर दिनुहुँदै उहाँले भन्नुभयो, “यहाँ किसानहरु जुवा खेल्दैनन्, झगडा गर्दैनन्, चोर्ने र अन्य अपराधहरु गर्दैनन् । यहाँ बेकारी समस्या छैन, बरु अरु गाउँबाट १ हजारभन्दा बढी श्रम शक्ति ल्याइएको छ । १०० भन्दा बढी उद्योगसम्बन्धी प्राविधिक स्कूलका स्नातक यहाँ कार्यरत छन् । जीवन सुरक्षाको निम्ति अनेक लोककल्याणका कार्यहरु भएका छन् । जस्तै ः अस्पताल, अवकास प्राप्त गरेका बुढाबुढीहरुको निम्ति घर, ग्याँस, उपचार र माध्यमिक स्कूलसम्म निःशुल्क शिसा ।”
मेरो जिज्ञासालाई मेटाउँदै पार्टी सचिवले भन्नुभयो । “विस्तारै गाउँ र सहरको भेद मेट्दै जानेछ, किसान र मजदुरको पनि भेद मेटिँदै जानेछ । खेतीको मौसममा मात्रै श्रमशक्ति प्रयोग हुन्छ– किसानको रुपमा । अहिले ५० प्रतिशत घरमा टेलिफोनको बन्दोबस्त छ । यो एक नमुना गाउँ भएको हुनाले ४० मित्र देशका २०० भन्दा बढी मित्रहरु यस गाउँको भ्रमणमा आइसक्नुभएको छ र केन्द्रबाट पार्टीको महासचिव र राष्ट्रपति चियाङ चमिन र अन्य प्रान्तीय नेताहरुले पनि भ्रमण गरिसक्नु भएको छ ।”
त्यसपछि हामी संयुक्त विदेशी लगानीको पोशाक कारखाना हेर्न गयाँै । हङकङका एक व्यापारीका अनुसार संयुक्त लगानी गरिएको यस कारखानाबाट उत्पादित लुगा (कोट, पाइन्ट, जाकेट आदि) जापान, सं.रा. अमेरिका, स्विट्जरलायन्ड आदि पश्चिमी र विकसित देशमा निर्यात हुन्छ । मेसिन, टेबुल आदि आवश्यक सामान पनि जापानबाट आयात गरिएको रहेछ । सुुरुमा यसले २,५०,००० युआन मूल्यको मात्रै उत्पादन गरेको थियो । १९९४ मा यसले ५ अर्ब युआन मूल्यको उत्पादन ग¥यो भने १९९५ मा ५ अर्ब १७ करोड युआन मूल्यको उत्पादन ग¥यो । ८५ लाख युआन चोखो नाफा बच्यो र प्रतिव्यक्ति कामदारहरुको नाफा २० हजार पुग्यो । १९९१ को सुुरुमा यसको पुँजी ५० लाख युआन मात्रै थियो भने पछि त्यो पुँजी १० करोड युआन पुग्यो । कपडा उद्योग र कारखानासङ्ग्र पनि यस कारखानाको सम्बन्ध छ ।
कारखानामा धेरैजसो महिलाहरु देखेँ । एक एक तलामै १००–१०० जना भन्दा बढी काम गर्न सक्ने कोठाहरुको तीनै तला हेरेँ । अर्को घरमा विभिन्न प्रकारका तयारी कोट, पाइन्ट र जाकेटहरु प्रदर्शित थिए । कारखानाको वातावरण अर्कै थियो । कहीँ कपडाको नाप लिदै र काट्दै, कहीँ सिउँदै, कतै टुक्रा जोड्दै र कतै इस्त्री गर्दै थिए– मजदुरहरु ।
यही कपडा कारखाना र अन्य कारखानाहरुको उत्पादन विदेश पठाएरै यस गाउँको प्रतिव्यक्ति आम्दानी बढी र उच्च भएको देखिन्छ । त्यहाँका पदाधिकारीहरु यस गाउँको आर्थिक विकासको कारण नै पार्टीको खुला नीति र आर्थिक उदारीकरण हो भन्ने मान्दछन् । पार्टीका अवकास प्राप्त सचिवसङ्ग्र पनि भेट भयो । नानचिङ उड्नु परेको हुंदा हामी हतार हतार बिदा लिँदै हिड्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *