भर्खरै :

नानकिङतिर

नानकिङतिर

दोस्रो खण्ड (३ भदौ, २०५२–११ भदौ, २०५२)

भदौ ७, २०५२ दिउँसो १२ः४० मा हामी निङपो हवाई अड्डाको निम्ति हिँड्यौँ र १ बजे पुग्यौँ । साथी चेन होङ वेइसँग बिदा लियौँ र समयलाई पख्र्यौँ । ठीक १ः४५ मा हवाईजहाज (पूर्वी चीन) ले निङपो छोड्यो र २ः४५ मा विमानले नानकिङको धर्तीलाई छोयो ।
हवाई अड्डामा ३ बजे चियाङसु प्रान्तीय जन–सरकारको परराष्ट्र मामलाको एसियाली विभाग (Division of Asian Affairs, Foreign Office Jiyangsu Provincial People’s Government) का प्रमुख शाओ सिफिङ (SHAO XIPING) र चियाङसु प्रान्तीय जन–सरकारको विदेश मामिलाका विभागीय प्रमुख गाओ यान (GAO YAN) ले स्वागत गर्नुभयो । शाओ सिफिङले मोटरमा बस्दै चियाङसु प्रान्तबारे परिचय दिँदै जानुभयो । उहाँ फ्रान्सेली भाषामात्रै बोल्ने भएकोले अङ्ग्रेजीमा अनुवाद गर्दै जानुभयो गाओ यानले ।
“चियाङसु प्रान्तको क्षेत्रफल १,००,००० वर्ग किलोमिटरसम्म फैलिएको छ । चीनका अन्य प्रान्तहरूको तुलनामा त्यति ठुलो प्रान्त भने होइन । यसको जनसङ्ख्या ७ करोड छ अर्थात् फ्रान्सको जति छ । आर्थिक दृष्टिले यो एक महत्वपूर्ण प्रान्त हो । औद्योगिक उत्पादनमा चियाङसु प्रान्त शाङ्घाईपछि दोस्रो हो र विदेशी व्यापारमा क्वाङचाउ र शाङ्घाईपछि यो तेस्रो हो । अहिले यहाँ २०,००० संयुक्त लगानीको कारोबार चालु भएको छ ।
नानकिङ चियाङसु प्रान्तको राजधानी हो, चीनको ६ प्राचीन राजधानीहरूमध्ये एक हो । मुक्तिभन्दा पहिले अर्थात् १९४९ भन्दा पहिले नानकिङ चीनको राजधानी थियो । चियाङसु उत्तर र दक्षिण दुई भागमा विभाजित छ । उत्तर चियाङसुको भन्दा दक्षिण चियाङसुको आर्थिक स्तर र प्रतिव्यक्ति आम्दानी बढी छ । दक्षिण चियाङसुको प्रतिव्यक्ति आम्दानी १,००० अमेरिकी डलर पुग्दछ । चियाङसुको भनाइ छ– विज्ञान, प्रविधि र शिक्षामा अगाडि जानु, दोस्रो, आर्थिक स्तरलाई समान गरौँ । (उहाँले माओ त्सेतुङको उदाहरणसमेत दिँदै भन्नुभएको थियो ।)
नानकिङको चारैतिरको जनसङ्ख्या ५० लाख पुग्छ तर नगरको मात्रै २५ लाख छ । यस ऐतिहासिक र आर्थिक महत्वको ठाउँमा स्वागत गर्न पाएकोमा हामीलाई धेरै खुसी लागेको छ । अहिले हामी तपार्इँलाई चिनलिन होटल (Jinling Hotel) मा लैजाँदै छौँ । चिनलिन होटेल देशको सबभन्दा पुरानो पाँचतारे होटलमध्ये एक हो । अहिले एक अर्को नयाँ पाँचतारे होटल छ तर यो तपाईँको निम्ति आरामदायिक होला भन्ने अनुमान गर्छु ।”
सन यात सेन सडक पार गर्दै हामी चिनलिन होटलमा पुग्यौँ । त्यहाँ पुग्नासाथै होटेलका महाप्रबन्धक र अन्य कर्मचारीहरूले स्वागत गर्दै २५ तलाको २५०३ नं. को कोठामा पु¥याउन आए र साँचो तथा होटलको पासपोर्ट दिए ।
चाउ एनलाई स्मृति भवन
४ः३० बजे चियाङसु प्रान्तीय जन–सरकारको विदेश मामलाका विभागीय प्रमुख गाओ यान (GAO YAN) ले मोटरमा भन्दै जानुभयो, “हामी अहिले १९४६ मई महिनादेखि १९४७ को मार्च महिनासम्मको गृहयुद्ध रोक्न कोमिङताङ (च्याङकाई शेक) सँग वार्ता गर्न चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरी चाउ एन–लाई आउनु हुँदा उहाँले प्रयोग गर्नुभएको कार्यालयमा जाँदै छौँ । त्यो कार्यालय अहिले चाउ एन–लाई स्मृति भवनको रूपमा संरक्षित र प्रदर्शित छ ।
नानकिङ वा चियाङसु प्रान्त देशको एक महत्वपूर्ण शिक्षा केन्द्र हो । यहाँ ७० वटा विश्वविद्यालय छन् । ४० वटा विश्वविद्यालयले विद्यावारिधि अर्थात् पी.एच.डी. सम्मको डिग्री प्रदान गर्दछ । अन्य विश्वविद्यालयहरूले स्नातकोत्तर वा एम. ए. सम्मको उपाधि प्रदान गर्दछ । प्राविधिक, मेडिकल, हवाई (Aronoctical), औषधि (Pharmalogical) सम्बन्धी आदि विषयमा यहाँका विश्वविद्यालय बढी प्रख्यात छ । यहाँका विश्वविद्यालयमा १ लाख २५००० छात्रछात्राहरू पढ्छन् ।”
मैयान सिनकुन (Meiyuan Xincun) भन्ने नानकिङ नगरको पूर्वतिर चीनको गृहयुद्ध रोक्न १९४६ मई महिनादेखि १९४७ मार्च महिनासम्म कोमिङताङ (राष्ट्रवादी पार्टी) को सरकारसँग वार्ता गर्न चाउ एन–लाईको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको एउटा प्रतिनिधिमण्डलले यस ठाउँमा कार्यालय बनाएको थियो । यही कार्यालयलाई आज चाउ एनलाई स्मृति भवन सङ्ग्रहालय भन्ने गरिन्छ ।
चिनियाँ भाषामा त्यस प्रतिनिधिमण्डललाई आन्तरिकरूपले ‘नानकिङ समिति’ पनि भन्दा रहेछन् । प्रतिनिधिमण्डलले त्यहाँ बस्दा जीवनका हरेक क्षेत्र र वर्गका मानिसहरू भेटेर च्याङ काईशेकको विरोधमा, गृहयुद्धको विरोधमा र मुक्तियुद्ध विजय गर्न ‘दोस्रो बाटो’ को निम्ति काम गरेको थियो । कम्युनिस्ट पार्टीको त्यस प्रतिनिधिमण्डलमा अर्का महत्वपूर्ण नेता तोङ पि–उ (Dong Pi–wu) र उहाँको जहान हे लियान चि (He Lian – Zhi), लियाउ चाइ चि (Liau Chang–zhi) र उहाँको जहान लि वई हान (Lei Wei– han) पनि हुनुहुन्थ्यो । चाउ एनलाईसँग उहाँको जहान तङ यिङ–चाओ (Teng Ying–chao) पनि हुनुहुन्थ्यो ।
स्मृति भवनको अगाडि नै चाउ एनलाईको ३.२ मिटर अग्लो तामाको सालिक छ । त्यसको भित्र सानो चोकमा चाउ एनलाई र उहाँको प्रतिनिधिमण्डलका सदस्यहरू भएको एउटा सिंहमर्मरमा कुँदिएको मूर्ति छ । २–४ वटा चोक र घरहरू जोडिएको त्यस स्मृति भवनमा त्यसबेला चाउ एनलाई र प्रतिनिधिमण्डलले भेटेका मानिसहरूको चित्र, त्यसबेला छापिएका पत्रिकाहरू, पर्चाहरू, पुस्तकहरू, लगाउने गरेका पोशाकहरू, प्रयोग गर्ने गरेका सामानहरू, ओछ्यान, मोटरकार आदि त्यहाँ प्रदर्शित थिए ।
त्यहाँ चाउ एनलाईसँग सम्बन्धित अन्य चित्रहरूसमेत प्रदर्शित थिए । एकपछि अर्को कोठा, चोक र घर हुँदै हामी निस्क्यौँ तर बाहिर सडकको किनारमा चाउ एन–लाईका विदेश भ्रमणका चित्रहरू पनि प्रदर्शित थिए । महत्वपूर्ण ऐतिहासिक समयका माओ त्सेतुङ, कोमोरो, अमेरिकी राजदूतहरू र अन्य नेताहरूसँगको भेटघाट, मस्को बैठकबाट फर्कँदा हवाई अड्डामा अध्यक्ष माओ र अरु नेताहरूसँगको फोटो श्रीमती भन्दारनायकसँगको फोटो आदि चित्रहरू पनि प्रदर्शित थिए ।
विभागीय प्रमुख श्री गाओ यानले भन्नुभयो, “यी घरहरूको चारैतिर च्याङ काईशेकका गुप्तीहरूको २४ सै घण्टा आँखा गाडिएको हुन्थ्यो ।”
प्रदर्शित पुस्तिकाहरूमा स्तालिनका पुस्तक, सोभियत संविधान, प्राचीन कालका चीनको अध्ययन, क्रान्ति र व्यवहार, जापानी आक्रमणको बेलाका र महिलासम्बन्धी अनेक पुस्तकहरू थिए । तर, त्यहाँ बताइदिने गाइडको अति कमी अनुभव भयो । त्यहाँ सहिद भएका र अन्य देशभक्तहरूको चित्र पनि प्रदर्शित थिए । त्यसबेलाको ‘जन–समूह’ र सिन्ह्वा भन्ने पत्रिकाको अङ्क पनि प्रदर्शित थियो ।
एउटा कोठामा चाउ एनलाईका राजनैतिक सचिव सुङ फिङोको चित्र पनि थियो । उहाँ एकपटक चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको स्थायी समितिका सदस्य र अहिले पनि जीउँदै हुनुहुन्छ भन्ने कुरा बताइयो । वार्ता असफल भएपछि चाउ एनलाई येनान फर्कनुभएको चित्र पनि थियो ।
सङ्ग्रहालयभित्र पसल देख्दा भने अचम्म लाग्यो । साथै त्यहाँ चियाङसुमा मात्रै पाउने विभिन्न रङ्ग र प्राकृतिक चित्र भएका ढुङ्गाहरू, चिनियाँ माटाका भाँडाको कचौरामा पानी राखेर प्रदर्शित गरिएको देखेँ । ती ढुङ्गाहरू व्यक्तिगतरूपले सँगालिएका थिए । बाहिर पुस्तक पसलमा राजनीति मात्र होइन विभिन्न प्रकारका पुस्तकहरू पनि प्रदर्शित थिए ।
उ तोङह्वाबाट रात्रिभोज
६ः३० बजे चिनलिन होटलको दोस्रो तलामा राष्ट्रिय जनप्रतिनिधि सभाको प्रतिनिधि, चियाङसु प्रान्तीय जनसरकारको विदेश मामलाको निर्देशक (Deputy of the National People’s Congress, Director of the Foreign Affairs office, Jiangsu Provincial People’s government) उ तोङह्वा (Wu Donghua) ले रात्रिभोजको आयोजना गर्नुभएको थियो ।
स्वागत गर्न पाउनुभएकोमा खुसी व्यक्त गर्दै उहाँले दुई देशको पुरानो मित्रताको चर्चा गर्नुभयो । चियाङसु प्रान्तीय जन सरकारको विदेश र एसिया विभागको प्रमुख शाओ सिफिङ र विभागीय प्रमुख गाओ यान पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रिय जनप्रतिनिधि सभाका सदस्य र चियाङसु प्रान्तीय सरकारको विदेश विभागको निर्देशक श्री उ तोङह्वाले चियाइसु प्रान्तबारे बताउँदै जानुभयो, “कृषि, उद्योग र सेवामा यो प्रान्त अगाडि छ । कृषिमा अन्नबाहेक, मत्स्यपालन, फलफुल, कपास, रेशम कीरापालन, खानेतेल (तोरी), चिया, भेँडापालन आदिबाट यसले प्रशस्त कृषिजन्य सामान उत्पादन गर्दछ । रासायनिक उद्योग, पेट्रोल, कोइला र नुन आदिमा तथा मेसिनरी, कपडा, इलेक्ट्रोनिक्स, घर निर्माणको लागि चाहिने सामान, खानेकुराको उद्योग फस्टाउँदै गएको छ । खनिजमा कोइला र पेट्रोल मुख्य हुन् भने सेवामा पर्यटन, बैङ्क र व्यापार पर्दछ । यहाँ वर्षको ७ लाख पर्यटकहरू आउँछन् र व्यापारमा भन्ने हो भने १३ अर्बको विदेश व्यापार हुन्छ । पार्टी र सरकारले आर्थिक सुधारको नीति लागु गरेको हुँदा यस प्रान्तमा २०,००० भन्दा बढी संयुक्त लगानीका कलकारखानाहरू खुल्दै छन् । त्यस मध्ये ८,००० संयुक्त लगानी चालु भइसकेको छ । चियाङसु प्रान्तमा खास गरेर सानो र मध्यम उद्योगको बाहुल्यता छ । यहाँ ठुलो रासायनिक मल कारखाना पनि छ । तर, भोलि तपाईँलाई एउटा सानो मल कारखाना हामी देखाउँदै छौँ ।”
हिजो निङपोका जनसरकारका विदेश विभागका निर्देशक ह–चाई चेङले जस्तै आज चियाङसु प्रान्तका विदेश मामलाका निर्देशक र प्रतिनिधिसभाका सदस्य उ तोङह्वाले पनि नेपालको मुख्य मुख्य उत्पादन र कच्चा मालबारे सोध्नुभयो । मैले उहाँहरूलाई पहिले नेपाल भ्रमण गर्नुहोला, हामी तपाईँहरूको स्वागत गछौँ, चीनको प्रविधि, पुँजी र अनुभवबाट नेपाली जनता पनि फाइदा उठाउन चाहन्छन् भनेँ । उहाँहरूले हाम्रो निमन्त्रणालाई खुसी भएर समर्थन गर्नुभयो र सकारात्मक उत्तर दिनुभयो ।
खानाका नयाँ नयाँ परिकारहरू चाख्दै कुराकानी अगाडि बढ्दै गयो । नेपाल र चिनियाँ जनताको मैत्री अगाडि बढाउन र चिनियाँ जनताको उत्तरोत्तर प्रगति र स्मृतिको कामना गर्न दोस्रो टोस्ट प्रस्ताव राखेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *