भर्खरै :

मन्टेश्वरी शिक्षा

मन्टेश्वरी शिक्षा

अभिभावकहरूको एक मात्र रोजाइ मन्टेश्वरी विद्यालय अहिले च्याउजस्तै जताततै उम्रिरहेका छन् । मन्टेश्वरी भनेबित्तिकै अभिभावकहरू बालबालिकाहरूलाई त्यस विद्यालयमा राख्न हतार गरिहाल्छन् । वास्तवमा मन्टेश्वरी शिक्षा पद्वती के हो त ? मन्टेश्वरी भनेर चिनिने विद्यालयहरूमा के शिक्षा दिइन्छ जुन अरु भन्दा भिन्न हुन्छ भन्ने कुरा अभिभावकहरूले सोचेका होलान् त ? मन्टेश्वरी शब्द हरेक अभिभावकहरूको मुखमुखमा झुण्डिएको छ । यस नामप्रति अभिभावकहरूको आकर्षण बढिरहेको अवस्था छ । यो आर्कषण मन्टेश्वरीको विशेषता थाहा भएको कारणले हो कि ? हल्लाकै पछि परेर भन्न सकिँदैन । मन्टेश्वरी स्कूलको खोजी बढेसँगै पाइलैपिच्छे मन्टेश्वरी स्कुल खोल्ने क्रम पनि जारी छ । धेरैजसो स्कूलले देखाउने दाँत मात्र मन्टेश्वरीभित्र परम्परागत शैलीमा शिक्षा प्रदान गरिराखेको पाइरहेका छौं । कति अभिभावकले मन्टेश्वरी भनेको कक्षा सजावट वा भित्ताभरि विभिन्न पोष्ट र टाँसिएको आकर्षक कोठालाई बुझ्ने गर्छन् भने, कतिले महँगा नयाँ बजारका सामानहरू व्यवस्थित गरी खेलाउने ठाउँ या बच्चाहरूलाई रोकटोक नगरी मन लाग्ने गतिविधि गर्न लगाउने स्थान भनेर बुझ्दछन् । सुन्दा महँगा र कानलाई आराम मिल्ने खालका विदेशी शब्द प्रयोग गरेका खाना उपलब्ध गराउने स्थान भनी मन्टेश्वरीलाई चिनिन्छ । विभिन्न अभिभावकहरूले विभिन्न किसिमले यस शिक्षा पद्धतिलाई बुझ्दै गरेको हामी पाउँछौँ ।
अभिभावकहरूले आफ्ना छोराछोरीलाई मन्टेश्वरीमा राख्नुअघि आवश्यक विभिन्न कुराहरूको अनुसन्धान गर्नुपर्दछ । त्यसपछि मात्र आफ्नो बालबालिकामा शारीरिक, सामाजिक तथा संवेगात्मक, बौद्धिक, भाषिक र सांस्कृतिक सम्पूर्ण विकास हुनसक्छ ।
मन्टेश्वरी शिक्षा एक अनुशासनमा आधारित शिक्षा प्रणाली हो जुन मारिया मन्टेश्वरीले इटालीमा १९०७ मा सुरु गरेकी थिइन् । यो शिक्षा प्रणाली बालबालिकाको मनोविज्ञान बुझेर भिन्नाभिन्नै तरिकाले कुनै पनि कुरा सिकाउने विधि हो । यस विधिमा बालबालिकाका व्यक्तिगत क्षमता, रुचि, स्वभाव प्रवृत्ति पहिचान गरेर फरक फरक शैली प्रयोग गरी कक्षा कोठा र कक्षा बाहिर पनि लगेर शिक्षा प्रदान गर्छन् । बालबालिकाले शिक्षा ग्रहण गर्ने तरिका पनि विद्यार्थीअनुसार फरक फरक हुन्छ । जस्तै ‘क’ भन्ने अक्षर सिक्नको लागि कोही चित्र वा भिडियो हेरेर सिक्छन् भने कोही गीतमार्फत सिक्छन्, कसैले लेखेर, छोएर, खेलको माध्यमबाट सिक्ने गर्दछन् । मन्टेश्वरीले यही कुरा मध्यनजर गरी सबै ज्ञानेन्द्रिय प्रयोग गरेर सिकाइलाई अगाडि बढाउँछ । कुनै पनि कुरा हेरेर, सुनेर, सुँघेर र छामेर सिकाइन्छ । त्यस्तै, भनौँ गीत गाएर, नचाएर, फिल्म देखाएर, प्रयोगात्मक अभ्यास गराएर, विभिन्न खेल खेलाएर, विषय सम्बन्धित स्थलगत अवलोकनमार्फत आर्ट एन्ड क्राफ्टमार्फत ज्ञान दिइन्छ । खासमा मन्टेश्वरी शिक्षा विधिमा सम्भव भएसम्म वस्तु नै देखाएर बालबालिकालाई सिकाउने गरिन्छ । जस्तै हरियो सागसब्जीको बारेमा पढाउँदै छाँै भने बालबालिकालाई कक्षा कोठामा त्यसको चित्र नदेखाई करेसाबारीमा लगेर स्थलगत अवलोकन गराउने वा कक्षामा सागसब्जी लगेर देखाउने । यस विधिमा रोपाईमा धान रोप्न लग्ने, दही चिउरा खुवाउने, दसैंमा जमरा र टीका लगाइदिने इत्यादि कार्यक्रमहरू आयोजना गरेर आफ्नो संस्कृतिसँग परिचित गराइन्छ । सबै कुरा विद्यार्थीको मस्तिष्कमा सधैँ रहिरहन विद्यार्थी आफैँलाई यस्ता कार्यक्रममा संलग्न गराइन्छ । जब आफैले देख्छ, सुन्छ र महसुस गरिन्छ ती कुरा भुल्न त्यति सजिलो हुँदैन ।
राष्ट्रिय योजना आयोगबाट तयार गरिएको प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति (०७७ ०८८) ले प्रारम्भिक बाल्य अवस्थालाई गर्भावस्थादेखि ८ वर्षसम्मको उमेरभनी परिभाषित गरेको छ । यस चरणमा हुने बालबालिकाको चौतर्फी विकास (शारीरिक, भाषिक, बौद्धिक, संवेगात्मक, तथा सामाजिक विकास नै प्रारम्भिक बालविकास हो । मन्टेश्वरी सिकाइ प्रणालीले बालबालिकाको चौतर्फी विकासलाई जोड दिएको छ । यसअन्र्तगत सिकाइ धेरै प्रकारका सीपमध्ये लेख्ने तथा पढ्ने सीप पनि प्रमुख हो । तर त्यति मात्र सबै कुरा होइन । कति अभिभावकहरूले दुई वर्ष लागेका बाबुनानीहरूले लेख्न जानेनन् भन्ने गुनासो गरेका पाइन्छ । विद्यालय दाखिला गर्ने वित्तिकै लेख्न वा पढ्न सक्नुपर्छ भन्ने बुझाइ छ । तर, मन्टेश्वरी शिक्षाअनुसार दुई वर्षका बालबालिकालाई कापी र कलमको प्रयोग मात्र नभई विभिन्न प्रयोगशालाका सामग्रीहरू प्रयोग गरी नयाँ नयाँ शब्द उचारण गर्न र सीप विकास गराउन सकिन्छ । जस्तैः आँखा र हातको गतिविधिको तालमेल हुने अभ्यास, सिधा अगाडी हिँड्ने अभ्यास, चम्चा प्रयोग गर्ने अभ्यास, पालो पर्खिने बानी, साथीसँग आफ्नो खेलौना बाँडेर समूहमा खेल्ने बानी सिकाउन सकिन्छ । साथै मनोरञ्जनात्मक एवम् सृजनात्मक खेल खेलाएर विभिन्न रङ्ग, जनावर, फलफुल इत्यादि पहिचान गराउन वा चिनाउने, शारीरिक वृद्धिको लागि सामान्य कसरत गराउन तथा विभिन्न क्रियाकलापहरू गर्नुपर्ने आवश्यक हुन्छ  ।
वास्तवमा यो शिक्षा विधिले शैक्षिक क्षेत्रमा मात्र नभई व्यवहारिक, सांस्कृतिक र सामाजिक ज्ञानलाई पनि जोड दिएको छ । बालबालिकाको उमेर सुहाउँदो क्रियाकलापद्वारा खेलाउँदै पढाउने मन्टेश्वरी शिक्षाको विशेषता हो । यो शिक्षा प्रणालीको उद्देश्य भनेको कुनै तनाबबिना विभिन्न क्रियाकलापद्वारा बालबालिकामा आत्मविश्वास जगाउनु, अन्य व्यक्तिहरूप्रति आदर तथा सकारात्मक सोच विकास गर्नु, सकारात्मक संवेग र नकारात्मक संवेगको नियन्त्रण गरी सही ठाउँमा प्रकट गर्ने सीप विकास गर्नु, समाजमा मिलेर बस्ने व्यक्तिहरू चिन्ने, सामाजिक नियमहरू बुझ्न सहयोग गर्ने, घुलमिल गर्ने, भाषाले बुझ्ने, तर्क गर्ने, निर्णय गर्ने, क्षमताको विकास गर्ने, चेतनाको विकास, विवेक विकास स्मरण शक्तिको विकास, समस्या सुल्झाउने, विश्लेषण गर्ने र असल नागरिक हुन प्रेरित गराउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *