विद्यार्थीको चाप र सम्भावित सडक दुर्घटना हुन नदिने उपाय अपनाउने कि ?
- मंसिर २०, २०८१
आजका बालबालिका बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म विद्यालयमा हुन्छन् । घर फर्कँदा अभिभावकहरू आफ्ना छोराछोरी लिन गाडीसम्म पुग्छन् । तिनको झोला आफैले बोकेर घरसम्म ल्याउँछन् । घर फर्केपछि पनि विद्यार्थीलाई गृहकार्यकै चटारो हुन्छ । ऊ बेलुका अबेरसम्म पढ्छ र भोलिपल्ट सबेरैदेखि उही दिनचर्या दोहो¥याउँछ । आमाबुबा पनि छोराछोरीलाई लेखपढबाहेक अन्य काममा लगाउँदैनन् । न त उनीहरूसँग केही समय व्यतीत गर्छन् । तिनको माग पूरा गरिदिएपछि उनीहरू सर्वस्व गरिदिएको ठान्छन् । प्रकारान्तरले उनीहरू आफ्ना बालबच्चालाई कुहिरोको काग बनाइरहेका हुन्छन् । मेरो एकजना छिमेकको भाइलाई आफ्नै ठुलोबुबाको नाम थाहा भएन । पढाइमा ऊ अब्बल छ । तर, उसलाई देखेपछि मेरो मनमा चिन्ता पलायो – वास्तविक जीवनमा ऊ कसरी घुलमिल हुनसक्ला ?
मैले चिनेकै अर्को बालकको कुरा हो । आफ्नी आमा बिरामी हुँदा सान्त्वना दिनुपर्छ भन्ने कुरा उसलाई थाहै रहेनछ । पेसाले म विद्यालयको शिक्षक हुँ । त्यसैले आजभोलिका बालबालिकासँग हेलमेल धेरै छ । विद्यार्थीलाई विद्यालयमै थन्काउने जस्तो भइरहेको छ । बेलाबेलामा केही खेल खेलाउने बाहेक उनीहरूलाई अन्य फूर्तिला काममा लगाइन्न । यसले गर्दा बालबालिका आधा काँचो आधा पाको इँटाजस्तै बनेका छन् । खेलकुदले विद्यार्थीलाई फूर्तिलो मात्र बनाउन्न, जीवनमा अपनाउनुपर्ने अनुशासन, सामूहिक भावनाजस्ता कुराहरू पनि सिकाउँछ । यी भावनाको अभावमा विद्यार्थीले पछि गएर जीवनमा अन्योलको स्थिति सामना गर्नुपर्ने हुनसक्छ ।
आजका विद्यार्थीहरू नयाँ नयाँ फेसन, नयाँ नयाँ गाडी, बाइकका कुराबारे चाहिनेभन्दा बढी चासो दिन्छन् । तर, आफ्नै गाउँमा रहेको ऐतिहासिक ठाउँबारे उनीहरूलाई धेरै थाहा हुन्न । युरोप, अमेरिका, अस्ट्रेलिया र जापान, कोरियाका सहरहरूको नाम कण्ठ हुन्छ । तर, आफ्नै देशको भूगोल थाहा हुन्न । कोरियाली गीत मधुर स्वरमा गाउन सक्छन् तर आफ्नो लोकगीत थाहा हुँदैन । यसरी विद्यार्थीहरूलाई आफ्नै देश पराइ बन्दै जान्छ । पछिल्लो समय देशका धेरै विद्यार्थीहरू १० कक्षा नपुग्दै विदेश जाने सपना बुन्दै छन् । आफ्नै देश पराइ लाग्न थालेपछि यहाँ बसून् पनि कसरी ?
विद्यार्थीले देशको सिमाना, भूअखण्डता, सार्वभौमिकता, कूटनीति, नीतिनियम, राष्ट्रिय गौरवलगायतका कुरा थाहा पाउनुपर्छ । त्यसैले, अबका विद्यार्थीलाई नैतिक शिक्षा, भूगोल, इतिहास, संस्कृति, नागरिकशास्त्र, राजनीतिशास्त्र, मानवशास्त्रलगायत विषय पनि पठनपाठन गराउन जरूरी छ । नत्र ‘देश रित्तो भयो’ ! भनेर पुर्पुरो समाउनु गोहीका आँसु चुहाउनु सराबर हुनेछ ।
Leave a Reply