भर्खरै :

संरक्षणको पर्खाइमा अभिलेखहरू

संरक्षणको पर्खाइमा अभिलेखहरू

अभिलेखको परिचय
अभिलेख भनेको कुनै वस्तुमा कलमले वा कुनै वस्तुले कोरेर हातबाटै लेखिएको लेखन हो । नेपालमा छापा अक्षरबाट कुनै वस्तुमा छापेर निकाल्नुभन्दा पहिला लेखिराखेको ताम्रपत्र, शिलापत्र, पितलमा लेखिएको, ढुङ्गामा लेखिएको, कागजमा लेखिएको थ्याःसफु आदि भेटिन्छ । कागजमा लेखिएको विशेष गरेर बौद्ध बिहारहरूमा (बाहाबही) विभिन्न प्रकारले पाठ गर्न राखेको हुन्छ । कतिपय यस्ता पुस्तकहरू नष्ट पनि भयो होला, कति बाँकी होला । आजभन्दा सयौँ हजारौँ वर्ष पहिलेका प्रविधिअनुसार बनाइएका ती लिखितहरू अहिलेसम्म संरक्षण भएर रहन सक्नु त्यसबेलाको थ्याःसफुमा प्रयोग भएका कागजहरूलाई पनि अध्ययन गर्नु आवश्यक हुन्छ । त्यसबेला धेरै मेहनत गरेर ढुङ्गाको पत्रमा ज्यावलले कोरेर लेखिएका शिलापत्र र तामापत्रहरू नेपालको मठमन्दिर, पाटी पौवा, मन्दिर र ढुङ्गेधाराहरूमा पाइन्छ । ती सबै नेपालीहरूको अमूल्य सम्पत्ति हो, हाम्रो पुर्खाको पौरख हो । हाम्रो देशको इतिहास त्यसैमा पाउँछ । यी ढुङ्गाका अभिलेखहरू हाम्रो पुस्ताले हामीलाई हस्तान्तरण र पुस्तान्तरण गरेको छ । इतिहास बोकेका यी अभिलेखहरू हाम्रो बहुमूल्य सम्पत्ति हो । यस्ता अभिलेखहरू नेपालका विभिन्न ठाउँहरूमा यत्रतत्र छरिएर रहेको पाउँछौँ ।

अभिलेखको इतिहास
अभिलेख विशेष गरेर हातबाट लेखिएको हुन्छ, कुनै छापाखानाबाट छापिएको हुँदैन । नेपालको सन्दर्भमा यत्रतत्र छरिएर रहेका शिलापत्रहरू नेपालको इतिहास होभन्दा फरक नपर्ला । साधारणतया त्यसबेलाका पुराना कुराहरूको सँगालो नमेटिने गरी संरक्षण गरेको एक प्रकारको लिखित प्रमाण अभिलेख हो । नेपालमा भेटिएको अभिलेखहरूमा लुम्बिनीको ने.सं. २४९ को अशोक स्तम्भ र ने.सं. २५५ को निग्लिहवाको स्तम्भ नै पहिलो अभिलेख होला र मान्नुपर्छ । त्यसभन्दा पहिलेको लिखत अभिलेख भेटाएको छैन । तर, निग्लिहवाको शिला स्तम्भ लडिरहेको अवस्थामा छ । हुन त राज्यसत्ता आफ्नो हातमा लिन र आफ्नो आधिपत्य कायम गर्न अनेक षड्यन्त्रहरू नचलेको होइन । यसमा धार्मिक, राजनैतिक तथा जातीय वा अन्य कारणले आफ्नो नाम चलाउन पुर्खाका नामहरू मेटाइएका उदाहरण पनि छन् । हालसालकै कुरा गर्दा पाटन दरबार अगाडि ढल खन्दा जमिनमुनि लिच्छविकालको इतिहास बोकेको शिलापत्र भेटियो । साँच्चिकै नेपालको पुरातात्विक महत्व भएको अभिलेखहरूको खोजी गर्न जमिनमा उत्खनन गरेमा के के भेटिन्छ होला विचारणीय नै छ ।
इतिहासमा गौतम बुद्धभन्दा पहिला पनि थरीथरीका बुद्धहरू थिए । अहिलेसम्म पनि ती बुद्धहरूलाई सबैले स्वीकारेकै छन् । बौद्ध धर्म अनुयायीहरूको ग्रन्थहरूमा बुद्ध मूर्ति अङ्कित थरीथरीका हस्तलिखित अभिलेखहरू होला । कतिपय ग्रन्थहरू निरङ्कुश राणा शासनमा उर्दी नै जारी गरेर पुराना ग्रन्थहरू सरकारलाई बुझाउने हुकुम भयो भनिन्छ । त्यसबेला नेपालका त्यस्ता अभिलेखहरू लाखौँलाख वाग्मती खोलामा बगाएको थाहा पाएर इस्ट इन्डिया कम्पनीले फाल्नुभन्दा हामीलाई दिनु भनेर लगेकोले कति भारतमा कति बेलायतको पुस्तकालयमा राखेको छ भन्थे । नेपालमा लिच्छवि शासनभन्दा अगाडि किरात वंश, अहिर वंश र गोपाल वंशहरूले शासन गरेको वंशावलीमा भेटिन्छ तर तथ्य प्रमाण भेटिएको छैन । वि.सं. १९९० को महाभूकम्पपछि योगी नरहरिनाथले तयार गरेको देवमाला वंशावलीका सबै कुराहरू सत्य नभए पनि यदाकदा कसै कसैले आफ्नो लिखतहरूमा लिच्छवी शासनभन्दा पहिलेका वंशहरूको व्याख्या गरेको पाउन सकिन्छ ।
नेपालमा अभिलेखहरूको अध्ययनको कुरा गर्दा सरकारी तवरले अभिलेखहरूको संरक्षण गरेको बिरलै पाउँछ । बरु यस्ता अभिलेखहरू हराओस् या फुटाओस् मतलब गरेको छैन । हालसाल मात्रको कुरा हो प्रहरी बलको परिसर हनुमानढोकाकै अभिलेख फुटाएको छ । फुटाउने को हो थाहा छैन । राज्य सत्ताले झाराटार्ने काममात्र गरेछ, पत्ता लगाउने काम गरेन । त्यसले आशङ्का जन्माएको छ ।

अभिलेख अध्ययनको थालनी
पहिले विदेशीहरूले सम्बोधन गरेपछि मात्र नेपालीको चेट खोलेको देखिन्छ र विदेशीले जे भन्यो त्यसको पछि पछि लागेर विश्वास गर्ने बानी परेको छ । नेपालको अभिलेखको अध्ययन गर्ने सम्बन्धमा सन् १७८४ मा एसियाटिक सोसाइटी अफ बङ्गाल, वि.सं. १९३७ मा भारतीय विद्वान् पं भगवानलाल इन्द्रजी र वि.सं. १९४३ मा शिशिल बिन्डालंहरूले शिलापत्रहरूको अभिलेख प्रकाशित गरेपछि बल्लतल्ल अभिलेखहरूको अध्ययन सुरु भएको देखिन्छ । तर, नेपालको सरकारले आफ्नै बलबुट्टामा अभिलेखहरू अध्ययन गरेको देखिँदैन ।
वि.सं. २०३८ सालतिर हरिराम जोशीले सम्पादन गरेको १७५ वटा अभिलेख भएको नेपाल प्राचीन अभिलेख प्रकाशित भयो । २०३० सालमा १९० वटा अभिलेख भएको धनबज्र बज्राचार्यको लिच्छवी अभिलेख र २०५६ सालमा मध्यकालको अभिलेख प्रकाशित भयो । यी अभिलेखहरू नेपाल र एसियाली अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको हो ।
नेपालको शिलापत्र विशेष गरेर ढुङ्गे अभिलेखहरू हजारौँ वर्षसम्म टिकाउ हुने प्रकारले कुँडिएर सबै जनमानसले देख्न सक्ने गरी बाहिर नै राखेको पाइन्छ । आजभन्दा हजारौँ वर्ष पहिले त्यस्तो प्रविधि विकास गरेर हाम्रो पुर्खाले हामीलाई हस्तान्तर गरेको थियो, पुस्तान्तरण गरेको थियो । त्यसको ज्वलन्त उदाहरण अहिले पनि हाम्रोसामु ठाउँठाउँमा विशाल खम्बाजस्तै उभिएर बसेको छ । धनबज्र बज्राचार्यको लिच्छवि शासनकालको अभिलेख र मध्यकालका अभिलेखहरू हाम्रोसामु छ । त्यसपछि त्यस्तो अभिलेख त्यति प्रकाशन भएको देखिएन । न सरकारले संरक्षण नै गरेको छ ।

अभिलेखको महत्व
अभिलेखले इतिहास बोकेको हुन्छ, इतिहास लुकेको हुन्छ, इतिहास उजागर गरेको हुन्छ । प्रायः अभिलेखहरू राजा महाराजाहरूको वीरता, साहसी, बहादुरीता अङ्कित गरेको पाउँछौँ । राजा महाराजाहरूको जयजयकारको वर्णन गरिएको हुन्छ । सामन्त राजाहरू शत्रुहरूको शिर निहुराएको आदि बखान गरे पनि त्यसबेलाको राज्य व्यवस्थाको इतिहास पाइन्छ । त्यसबेलाको न्याय व्यवस्था पाइन्छ । त्यसबेलाको शासन पद्धति पाइन्छ । त्यसबेलाका ठाउँहरूको नाम उल्लेख पाइन्छ । नेपालका आदिवासीहरूको वर्णन तथा त्यसबेलाको स्थानीय नामहरू पाइन्छ । घर घर गएर कर उठाउने गरेको भेटिन्छ । कतिपय ठाउँमा कर मिनाहा गरेको पाइन्छ । अहिले जस्तो धनीहरूलाई कर मिनाहा गरेर गरिबहरूलाई च्याप्ने गरेको थिएन । सबैलाई समान तरहले कर लिने गथ्र्यो, त्यहाँ धनी र गरिबको भेदभाव थिएन । अहिलेजस्तो गरिब जनताले कर तिर्न पनि घुस दिनुपर्दैनथ्यो ।
ती अभिलेखहरूमा हाम्रो संस्कार, धर्म, संस्कृति पाइन्छ । जनतालाई कसरी सुविधा दिइएको छ, कसरी दिन सकिन्छ भन्ने कुरा उल्लेख पाइन्छ । यसले गर्दा हामीलाई यस स्थानसम्म पुग्ने मार्गदर्शन मिलेको छ । यही नेपालको पहिचान हो । यही हाम्रो पुर्खाको पुरुषार्थ हो । यही पहिचानको आधारमा यहाँ विदेशी पर्यटकमात्र होइन स्वदेशी पर्यटक पनि आकर्षण हुन्छ । तर, पुर्खादेखि चल्दै आएको संरचनाहरू नष्ट हुँदै गए । सुधार गर्ने नाममा नेपालका ती इतिहास बोकेका अभिलेखहरू छ्यालब्याल भए । कति ठाउँमा बेवारिसे बने । कति ठाउँमा पुरानो नामै परिवर्तन गरेर नयाँ नाम राखे । पुरानोलाई नष्ट गरेर नयाँ नाम दिएर जानेर वा नजानेर इतिहास मेटाउन खोजिँदै छ । सरकारी कार्यालयहरूमा संरक्षण भएका अभिलेखहरू दराजभित्र थन्किए । क्षणिक लोभलालचले पुर्खाले बनाएका संरचनाहरू व्यक्तिको नाममा सारेर कतिले खाए । कतिले पाटी नै मिचेर घर बनाए, कतिले खुला चौर मिचेर घर बनाए । कतिले सरकारकै सहयोगमा पोखरी नै मासेर घर निर्माण गरे । त्यसलाई तिनीहरू आफ्नो बहादुरी ठान्थे । हाम्रा पुर्खाले जनजीवन सहज बनाउन छोडिराखेका खुला चौर, चोक र पोखरीहरू कति मिचेर खाए । सरकार पनि चौर तथा पोखरीहरू कुनै न कुनै बहनामा मास्नतिरै लाग्यो । यी ऐतिहासिक महत्वका धरोहरहरूको संरक्षण र संवद्र्धन गर्नु प्रत्येक नेपालीहरूको कर्तव्य हो ।

अभिलेखको अवस्था
अहिलेको अभिलेखहरू हेर्दा कहीँ टुटेको, कहीँ फुटेको र कहीँ पूजा गरी टीका लगाएर अक्षर खिएर पढ्न नहुने गरी बिग्रेको स्थिति छ । कहीँ बेवारिसे अवस्थामा यत्रतत्र छ । यी अभिलेखहरू हाम्रा पुर्खाले हाम्रो लागि गाउँ ठाउँमा, सहरबजारमा, मठ मन्दिरमा, ढुङ्गेधाराहरूमा हस्तान्तर र पुस्तान्तर गरेको छ । प्रायः अभिलेखहरू स्थानीय जनमानसले संरक्षण गरेर जोगाएको पनि छ । त्यसबेलाको अभिलेखहरूमा सामाजिक रीतिरिवाज, समाजमा बस्न गर्नुपर्ने दायित्व, कर्तव्य, मठ मन्दिरहरू बिगारे भत्काए पाप लाग्ने, संरक्षण गरे पुण्य लाग्ने, सरकारलाई तिर्नुपर्ने करहरू आदि बोध हुने तरिकाले उल्लेख गरिएको छ । यसले गर्दा समाजलाई सुमार्गमा पछ्याउन सजिलो बनाएको छ । आफ्नो पौरखले सिर्जिएका यी अभिलेखहरू हाम्रो धरोहर हो ।
हामीले आफ्ना पुर्खाहरू बिर्सँदै छौँ । हाम्रो गुठीका सदस्यहरूको तीन पुस्ता पहिलेसम्मको नाम सङ्कलन गर्ने शिलशिलामा एक जना सदस्यसँग सोध्दा आफ्नो बुबाको नामसमेत थाहा भएन । आफूलाई यो संसार देखाउने समाज चिनाउने बाबुआमालाई नै नचिन्ने समाज कसले बनायो ? हामीले कस्तो समाज निर्माण ग¥यौँ ? यो एउटा प्रतिनिधि पात्रमात्र हो । हाम्रो पहिलाको सभ्य समाज यसरी अगाडि बढेमा हामी रहौँला नरहौँला ठेगान छैन । कदाचित रहे पनि जङ्गली समाजमा परिणत हुनेछ । त्यस्तै, हाम्रा पुर्खाले बनाएर राखेको हाम्रा हजारौँ वर्ष पहिलेका स्थान र नाम हाम्रो धरोहर हो । ती नाम नरहे हाम्रो इतिहास रहँदैन । इतिहास नरहे हामी बेवारिसे बन्ने पक्का छ । आफ्नै देशमा हामी विदेशी बन्ने छौँ । हजारौँ पहिलेको हाम्रो सभ्यता र संस्कृतिले भरिएको नेपालका यी धरोहरहरू मासेर आफ्नो नाक ठुलो हँुदैन । बरु त्यसलाई संरक्षण गरेर त्यसबाट सिकेर अहिलेको सुहाउँदो प्रविधि विकास गर्ने हो । त्यसैमा नेपालीको भलो हुनेछ । पुर्खाले सिर्जिएका यी धरोहरहरू बेचेर गए वा नासेर गए हाम्रा पछिल्ला सन्तानहरूले के भन्लान् ?
उदाहरणको लागि यी अभिलेख नमुनाको रूपमा राखिएको छ । यस्तो अभिलेखहरूको खोजी गरेमा देशभित्र कति होला कति । यसलाई संरक्षण गर्ने कसले ? अरु बनाउने त कुरै छाडौँ, पुर्खाले पुस्तान्तर गरेका यी धरोहरहरू पनि बचाउन नसकेका हामीजस्तो नालायक को होला ? नालायक भएर नै बस्ने हो कि त्यसलाई जोगाउन प्रयत्न गर्ने ? केन्द्र सरकार, प्रदेश सरकार स्थानीय तहले सोच्ने हो कि ?
चारघरे, क्वयना गणेशमा भएको र तेस्टुङका अभिलेखहरू पढ्न सकेको छैन । चारघरेको अभिलेखको व्याख्या डी. आर. रेग्मी र श्यामसुन्दर राजवंशीले गर्नुभएको छ । अरु अभिलेखहरू टुटेको छ, फुटेको छ । त्यस्तै निग्लिहवाको नेसं २५५ को अभिलेखको स्तम्भ भाँचिएको अवस्थामा जमिनमा लडिएको छ । समयमा संरक्षण गर्न सकेको भए सायद यसरी लडिँदैन होला भन्ने अनुमान गर्न सकिन्छ । सरकारले संरक्षण गरेकै छैन भन्दा फरक नपर्ला ।
स्थानीय तहहरूको पनि आफ्नै सम्पत्ति हो । स्थानीय तह सक्रिय भएर लागे यी धरोहरहरूलाई जोगाउन सकिन्छ र जोगाउनु हाम्रो कर्तव्य पनि हो । कतिपय अभिलेखहरूलाई रक्षा गर्न स्थानीय जनताले पूजा गरिराखेका छन् । तर, नक्कली रङ्गको रसायनले अक्षर नै मेटाइदिएका उदाहरणहरू पनि छन् । स्थानीय तहहरूले जनतालाई सचेत गर्न सके, त्यसको महत्वबारे बुझाउन सके यी धरोहरहरू बचाउन सकिन्छ । त्यसको लागि स्थानीय तहहरूले स्थानीय जनतालाई हाम्रो पुर्खाले रचेको धरोहरहरूलाई जोगाउन सचेत गर्न सके धेरै अभिलेखहरूको संरक्षणमा बल मिल्नेछ ।

क्वयना गणेशमा भएको अभिलेख पूर्ण पढ्न नसकेको तेस्टुङ बज्रबाराहीको एउटा अभिलेख फुटेर पूर्ण पढ्न नसकेको

केन्द्र, प्रदेश र स्थानीय तहहरूको भूमिका
अहिलेको संविधानअनुसार नेपालमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहको सरकार छ । कसले के के काम गर्न पाउँछ के गर्न पाउँदैन त्यो एक ठाउँमा छ । यी तिनै तहको सरकारले संरक्षण गरेको भए अति राम्रो हुनेमा शङ्का छैन । तर, भएको देखिँदैन । अहिले स्थानीय तहहरूलाई निश्चित केही अधिकारहरू दिइएको छ । उसले चाहेमा समाजको लागि केही गर्ने अधिकार दिइएको छ । गाविस होस् या नगर आफ्नो गाउँ ठाउँको संरक्षण गर्नु उसको कर्तव्य हो । स्थानीय सरकार केन्द्र वा प्रदेशको मुख ताकेरै बस्नुपर्छ भन्ने छैन । ठाउँ ठाउँका स्थानीय तहहरूमा भएका अभिलेखहरू संरक्षण गर्नु नराम्रो पक्कै होइन । यस्ता अभिलेखहरू संरक्षण गर्न सके, त्यसको प्रचार प्रसार गर्न सके हाम्रो पुर्खाले सुम्पेको धरोहर संरक्षण हुन्छ भन्ने भनाइ हो । यसैलाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाले ललितपुरभित्र रहेका अभिलेखहरू संरक्षण गर्ने प्रयास गरेको छ । यो एउटा राम्रो थालनी हो । त्यस्तै तरिकाले देशभरका अरु नगरपालिका र गाउँपालिकाले पनि संरक्षण गर्न सके पुर्खाले सृजना गरेका धरोहरहरू संरक्षण गर्न मद्दत मिल्नेछ । नेपालका ती स्थानहरू अवलोकन गर्न विदेशी पर्यटकहरूमात्र होइन स्वदेशी पर्यटकहरूको पनि ओइरो लाग्नेछ । यसले गर्दा स्थानीय जनताको व्यवसाय वृद्धि हुनेछ । आफ्नो गाउँ ठाउँको प्रचारप्रसार सँगै आम्दानी बढ्दै विकासको बाटोमा लम्किन मद्दत मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *