जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु
- आश्विन ३, २०८१
सन् १९५६ को वसन्तदेखि अगाडि बढेको अथवा पूर्ण समाजवादी सहकारी संस्थाको स्थापनाको आन्दोलन तीव्रगतिले सुरु भएको थियो । हुन त यसको स्थापना सन् १९५५ को अन्ततिर नै भइसकेको थियो । त्यसबेला ४७,००,००० अथवा ४ प्रतिशत परिवारले मात्रै त्यसमा भाग लिएका थिए । तर, सन् १९५६ मा यो तीव्रगतिले बढ्यो र सन् १९५६ को जूनसम्ममा ७,५४,१०,००० अथवा ६२.२ प्रतिशत किसान परिवारले अगाडि बढेको सहकारी संस्थामा भाग लिइसकेका थिए ।
समाजवादी सहकारी संस्था दुई कारणले प्राथमिक सहकारीभन्दा अगाडि बढेको थियो– पहिलो आकारमा र अर्को समाजवादी चरित्रमा ।
प्राथमिक सहकारी संस्थामा २०–३० परिवारमात्र सम्मिलित भएको हुन्थ्यो । अगाडि बढेको सहकारी संस्थामा १७०–१८० परिवारहरू सम्मिलित थिए । अगाडि बढेको सहकारी संस्थामा यति नै परिवार हुनुपर्छ भन्ने केही कडा नियम थिएन । त्यो उनीहरूको भौगोलिक र स्थानीय परिस्थितिहरूमा निर्भर गर्दथ्यो । यसबारे अध्यक्ष माओले ‘चिनियाँ गाउँतिर समाजवादको लहर’ मा लेख्नुभएको छ, “केही ठाउँहरूमा हरेक सहर क्षेत्रको लागि एउटै सहकारी संस्था हुन सक्छ । थोरै ठाउँहरूमा एक सहकारीमा धेरै सहरहरू सम्मिलित गराउन सकिन्छ तर धेरै ठाउँहरूमा अवश्य पनि एक सहरमा धेरै सहकारी संस्थाहरू सम्मिलित हुनेछन् ।” साथै अध्यक्ष माओले त्यसमा के पनि भन्नुभएको थियो भने यो कुरो “अरु ठाउँमा पनि लागु हुनसक्छ । यो कुरो समतल ठाउँहरूमा मात्रै ठुलठुला सहकारी संस्थाहरू बनाउन सक्ने होइन, पहाडी इलाकाहरूमा पनि बनाउन सकिन्छ ।”
उक्त कुराले स्पष्टै छ, प्राथमिक सहकारीभन्दा अगाडि बढेको भन्नुको अर्थ त्यसको समाजवादी चरित्र हो । त्यसमा दुई विषय छन् – पहिलो, उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम हुनु र अर्को, वितरण व्यवस्थामा समाजवादी सिद्धान्त लागु गर्नु ।
अगाडि बढेको सहकारी संस्थामा उत्पादनका सारा साधनहरूमा भएको व्यक्तिगत स्वामित्व सामूहिक स्वामित्वमा परिणत भयो । साथै व्यक्तिगत मालिकत्व र सामूहिक स्वामित्वको बिचको अन्तरविरोधबाट उठ्ने बाधाहरू हटी उत्पादनका कार्यमा सामूहिक श्रम लगाउन सकिन्थ्यो ।
उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व नभएपछि सामूहिक श्रमको उत्पादनको केही अंश भाडाको रूपमा दिने गरेको बहाल दिन बन्द गरियो । त्यसले सामूहिक सम्पत्तिलाई अझ बढायो ।
अर्को विषय, उत्पादनका साधनहरूलाई दिइने बहाल नदिई सहकारी संस्थामा उत्पादनका सबै भाग (सामूहिक कल्याण, सञ्चय छोडेर) समाजवादी सिद्धान्तमा कामअनुसारको ज्याला वितरण गरिन्थ्यो । प्राथमिक सहकारी संस्थामा उत्पादनको अनुपातमा सामूहिक श्रमको केही भागमात्र वितरण हुँदा गरिब किसानहरू मर्कामा पर्थे । त्यस वितरण व्यवस्थाले किसानहरूको आर्थिक जीवनमा विषमता ल्याउँथ्यो र त्यो दोषपूर्ण थियो । तर, पनि उत्पादनको बढी भाग ‘हरेकलाई कामअनुसार’ को वितरण सिद्धान्त लागु गरेको उत्पादनका साधनहरूमा सामूहिक प्रबन्ध भएकोले प्राथमिक सहकारी अर्ध–समाजवादी भनिन्थ्यो । अगाडि बढेको सहकारी संस्थाका उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व कायम भएको र वितरण व्यवस्था कामको गुण र मात्रा हेरेर अर्थात् ‘हरेकलाई आफ्नो कामअनुसार’ को समाजवादी सिद्धान्तअनुसार वितरण गर्नाले अगाडि बढेको सहकारी संस्थालाई पूर्ण समाजवादी सहकारी संस्था भनिएको हो ।
उत्पादनका साधनहरूमा सामूहिक स्वामित्व समाजवादी वितरण व्यवस्था र पहिलेको भन्दा ठुलो आकारको खेती भएकोले समाजवादी सहकारी संस्थाका सदस्यहरूको आम्दानी प्राथमिक सहकारी संस्थाको बेलाको भन्दा बढी भएर विस्तारै जनताको जीवनस्तर माथि उठ्न थाल्यो । अर्ध–समाजवादी सहकारीको समयमा परिवारको वास्तविक आम्दानी २७,४०० यान थियो भने समाजवादी सहकारीको बेलामा ४१३०० यानभन्दा बढी पुग्यो ।
अध्यक्ष माओको ‘अरु सहकारी संस्थाहरूसँग मिल्न जानुपर्छ’ भन्ने उक्तिमा विश्वास नराख्ने सहकारी संस्था र विश्वास राखेर साना साना सहकारीहरू मिलेर बनेको ठुलो एक सहकारी संस्थाको तुलनात्मक उदाहरण तल दिएको छ । त्यसबाट अध्यक्ष माओको उक्तिको साकार रूप देखिन्थ्यो ।
हुनान प्रान्तमा एक हजारभन्दा बढी सदस्य सङ्ख्या भएको शुशिह काउन्टीको ‘पहिलो जुलाई’ सहकारी संस्था, जुननान काउन्टीको ‘स्वाङमिङ सहकारी संस्था’, हसिंस्याङ काउन्टीको ‘छीली च्याङ सहकारी संस्था’, लु साङ, काउन्टीको ‘चीन–सोभियत मैत्री सहकारी संस्था’ र आन्चाङ काउन्टीको आङ फेङ सहकारी संस्था मिलेर एक समाजवादी सहकारी संस्था बनाइयो । त्यस सहकारी संस्थाको उत्पादन १९५६ र १९५७ को बिचमै १७० प्रतिशत बढ्यो र १६०,००० यान जम्मा गरेर पानी घट्ट, दुई जोडी हल, रबरको टायरको गाडासमेत गरेर ९६० नयाँ प्रकारका औजारहरू, १,६०४ पानी छर्ने, एक डिजेल जेनेरेटर, हरेक प्रकारको ४७ वटा पानी तान्ने पम्प, तीन ट्याक्टर, आठ पिठो पेल्ने मिल र ३९ सिउने कल संस्थाले किन्यो तथा केही नयाँ इँटाभट्टा बनायो । सन् १९५७ मा यस सहकारी संस्थाको प्रत्येक सदस्यको सालाखाला आम्दानी १५० यानसम्म पुग्यो ।
तर, अध्यक्ष माओको भनाइमा विश्वास नराख्ने केही मध्यम र धनी किसानहरूको बोलवाल भएको, आन्फेङ सहकारी संस्थासँगै १८५ परिवारको सहकारी संस्थाले एक वर्षमा सालाखाला हरेक सदस्यलाई ४१ यानमात्र दिनसक्यो । आकारमा सानो र धन सञ्चयमा पनि कमी भएकोले अध्यक्ष माओले भन्नुभएजस्तै उत्पादनको वृद्धि ढीलो भयो र केही उन्नत औजारबाहेक अरु पानी तान्ने कल आदि केही पनि किन्न सकिएन ।
उक्त उदाहरणले अध्यक्ष माओको भनाइ सानासाना सहकारीहरूमा जम्मा धन र सदस्यहरूको कमी हुन्छ । तिनीहरू ठुलो आकारमा अथवा मेसिनहरू प्रयोगमा ल्याउन सक्दैनन् । तिनीहरूको उत्पादनको शक्ति सबै अवरुद्ध नै हुन्छ । तिनीहरू यस अवस्थामा धेरै समय बस्नुहुँदैन बरु अरु अरु सहकारी संस्थाहरूसँग मिल्न जानुपर्छ भन्ने कुरा पूर्णतया सत्य प्रमाणित भयो ।
यसरी किसानहरूमा अनुभव र समाजवादी चेतनाको विकासले उनीहरू आपसमा मिलेर स–साना अर्ध–समाजवादी सहकारी संस्थाहरू मिलेर ठुलठुला अगाडि बढेको सहकारी संस्थाहरू बनाउँदै लगे ।
समाजवादी सहकारी संस्थाहरूमा प्राथमिक सहकारी संस्थाहरूको भन्दा बढी पुँजी, श्रम शक्ति, साधन र आर्थिक स्रोतहरू हुने भएकोले उत्पादनमा वृद्धि हुँदै जनताको जीवनस्तर बढ्न थाल्यो । साधन, श्रम शक्ति, पुँजी आदिको उत्तरोत्तर वृद्धिले सहकारी संस्थाहरूले विस्तारै साना व्यापार, शिल्प व्यवसाय, यातायात, कुलो खन्ने आदि निर्माणका स्रोतहरूमा पनि हात हाल्न सके । विस्तारै ठुलठुला आकारमा उत्पादन गर्ने अभ्यास बढेर ठुलठुलो सहकारीमै जनकम्युनको कोपिला फुलेको थियो ।
प्राथमिक सहकारी संस्थाभन्दा समाजवादी सहकारी संस्थाको अर्को विशेषता थियो – शोषणको काममा लागेका पहिलेका जमिनदार र धनी किसानहरूलाई सहकारी संस्थाको स्थापनाको सुरु सुरुमा सदस्य बनाइएन ।
सहकारी संस्थाको विकास र उत्पादनको वृद्धिले किसानहरूको आम्दानी बढेर मध्यम र गरिब किसानहरूको बिचको अन्तर घट्दै गयो । जमिनदार र धनी किसानहरूलाई सहकारी संस्थामा सदस्य नबनाउँदा उनीहरूको आम्दानी सहकारी संस्थामा भाग लिएका किसानहरूको तुलनामा बढेन । एकातिर सहकारी संस्थामा भाग लिएका साधारण किसानहरूको आम्दानी तीव्रगतिले बढिरहेको थियो, अर्कोतिर पहिलेको जमिनदार र धनी किसानहरूको आम्दानी उनीहरूको अनुपातमा बढ्न नसक्दा विस्तारै वर्गभेद हट्दै जान लागेको थियो ।
यसकारण, समाजवादी गणतन्त्र चीनको ३० जून १९५६ को पहिलो प्रतिनिधिसभाको तेस्रो सेसन (बैठक) मा स्वीकार गरिएको अगाडि बढेको सहकारी संस्थाको नियममा के बताइएको थियो भने खेती सहकारी नै एउटा स्पष्ट बाटो हो, जसले कामदार किसानहरूलाई अन्तिममा गरिबी र शोषणबाट मुक्त गर्नेछ । किसानहरू विस्तार विस्तार सहकारी संस्थाहरूमा सम्मिलित भएर गाउँतिर समाजवादको पूर्ण विजय हुनेछ ।
दोस्रो अध्याय
जनकम्युन किन र कसरी ?
चिनियाँ जनकम्युनलाई चिनियाँ भाषामा ‘रेन–मिन कुंशो’ भनिन्छ । ‘रेन मिन’ को अर्थ मानिसहरू र ‘कुंशो’ को अर्थ ‘ज्यासल’ भन्ने हुन्छ । कम्युन उद्योग र खेतीको मिश्रित सङ्गठन हो । चिनियाँ जनकम्युन चिनियाँ समाजवादी समाजको सबभन्दा तल्लो सङ्गठन हो जसमा खेती (किसान), उद्योग (मजदुर), शिक्षा र संस्कृति (विद्यार्थी), व्यापार र मिलिशियाका (जन सेना) आदि सबै क्षेत्र सम्मिलित छन् । जनकम्युन सहर र गाउँको एकै उत्पादनको सङ्गठनको साथै प्रशासनको एक अङ्ग पनि हो । चिनियाँ जनकम्युनको एक आफ्नै विशेषता छ, त्यो हो– जनकम्युन यो एक तल्लो सामाजिक सङ्गठन हुनुको साथै राज्य–शासनको एक तल्लो अङ्ग पनि ।
तर, कम्युन शब्दको अर्थ धेरै अर्थमा प्रयोग भएको देखिन्छ – जस्तै समुदाय, जाति, सोभियत रुसको सहकारी खेती, ‘पेरिस कम्युन’ आदि । तर, चिनियाँ जनकम्युन भने माथि अर्थ लगाइएका कुनै अर्थसँग पनि मेल खाँदैन, यसको आफ्नै विशेषता छ । त्यसैले अमेरिकी पत्रकार र लेखिका अन्ना लाउस स्ट्रङले आफ्नो किताब ’चिनियाँ जनकम्युनको उत्थान’ मा स्पष्टै भन्नुहुन्छ, “चिनियाँ जनकम्युन अरु जम्मै कम्युनहरूसँग फरक छ । त्यसैले चिनियाँ जनकम्युनलाई चीनको आफ्नै तथ्यहरूको आधारमा बताउनुपर्छ, पहिलेका जानकारीहरूको आधारमा होइन ।”
चीनमा जनकम्युनको स्थापनाको आन्दोलन सन् १९५८ को मध्यदेखि नै सुरु भएको थियो । त्यस आन्दोलनको लहरले चीनको सारा भू–भाग (एक दुई अल्पसङ्ख्यक जातिहरूको इलाका छोडेर) मा मात्र कम्युनको स्थापना भएन बरु त्यसले संसारको कुना काप्चामा पनि हल्लीखल्ली मच्चायो । संरा अमेरिका, बेलायत र फ्रान्सजस्ता चीनविरोधी साम्राज्यवादी देशहरू र तिनीहरूको ‘हो’ मा ‘हो’ मिलाउने पुँजीवादी देशहरूले चिनियाँ जनकम्युनको उल्टो अर्थ लगाएर चिनियाँ जनता, चिनियाँ जनवादी सरकार र चिनियाँ कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सा¥है बदनाम गर्न खोजेका थिए । तर, एक दुई तटस्थ भनाउँदा देशहरूले पनि जनकम्युनको अर्थै नबुझेर पनि साम्राज्यवादीहरूको दलाल देशहरूले जस्तै चिनियाँ जनकम्युनलाई ‘व्यारेक’ को संज्ञा दिन पुगे । वास्तवमा चिनियाँ जनकम्युन एउटा यस्तो सङ्गठन हो, जसको विकासले चिनियाँ समाजमा सहर र गाउँ, मजदुर र किसान, शारीरिक र बौद्धिक श्रमको बिचको भेदलाई हटाएर चिनियाँ समाजमा ‘हरेकलाई कामअनुसारको’ समाजवादी सिद्धान्तबाट ‘हरेकलाई आवश्यकताअनुसार’ को साम्यवादी समाजको निर्माणमा लैजाने एउटा माध्यम बनाएको थियो । त्यसैले भारतका प्रसिद्ध लेखक र विद्वान् राहुल सांकृत्यायन भन्नुहुन्छ, “जनकम्युन साम्यवादको लागि एक गहिरो र लामो पाइला हो ।” त्यसैले जनकम्युनले खेतीको चौतर्फी विकास जस्तै खेती, पशुपालन, वन–उद्योग, माछा पाल्ने र अरु कुटीर व्यवसायमात्र होइन, उद्योग, व्यापार, शिक्षा र संस्कृति अनि भित्री र बाहिरी शत्रुहरूबाट देशको रक्षा गर्न सैनिक कार्यकलापको पनि तीव्रतर विकास गर्ने एउटा सजिलो माध्यम बन्यो ।
चिनियाँ समाजमा जनकम्युनको स्थापना चिनियाँ समाजको क्रमिक विकासको परिणाम हो । तर, केही पुँजीवादी देशहरूका नेता र लेखकहरू चीनमा चिनियाँ जनकम्युनको स्थापना चिनियाँ समाजको क्रमिक विकासलाई अस्वीकार गर्थे । तिनीहरू चिनियाँ जनकम्युनलाई चिनियाँ समाजको आन्तरिक विकासलाई नमानेर चीनमा जनकम्युनको स्थापना चिनियाँ कम्युनिस्ट सरकारको किसानहरूमाथिको दमनको फल हो भन्दथे । तर, फेरि आफूलाई कम्युनिस्ट भन्नेहरू (युगोस्लाभियाका केही नेताहरू र अरु देशका संशोधनवादीहरू) पनि साम्राज्यवादीहरूको राग अलाप्दै चिनियाँ जनकम्युनको स्थापना एक आकस्मिक घटना मान्थे । यसरी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि जनकम्युनको विरोध गर्ने र माक्र्सवादलाई पुरानो घोषणा गर्ने संशोधनवादीहरू घुमाउरो तरिकाले चिनियाँ कम्युनिस्ट पार्टीप्रति घृणा फैलाएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा फुट ल्याउने र कमजोर बनाउन खोज्थे ।
वास्तवमा चिनियाँ जनकम्युनको स्थापना कम्युनिस्टहरूको दमनले होइन, न त कुनै आकस्मिक घटना नै थियो । त्यो त चिनियाँ समाजको आन्तरिक विकासको साथै चिनियाँ जनताको जनकम्युनको स्थापना गर्ने पूर्ण स्वेच्छाले स्थापना भएको थियो ।
सन् १९५७ र १९५८ को बिचमा चीनमा व्यापक सुद्धीकरण आन्दोलन सुरु गरियो । त्यस आन्दोलनमा देशले समाजवादको बाटो लाग्ने हो अथवा पुँजीवादी बाटो लाग्ने हो भन्ने कुरोमा चीनको कुनाकाप्चामा छलफल सुरु गराइएको थियो । पुँजीवादीहरू, पहिलेका जमिनदारहरू र च्याङ काईशेकका बाँकी रहेका प्रतिक्रियावादी तत्वहरूबाहेक अरु सारा जनताले समाजवादको बाटो रोजेका थिए । तर, समाजवादको निर्माण गर्न चीनमा पुरानै ढाँचाबाट सम्भव थिएन बरु त्यसलाई फेर्नु आवश्यक थियो । समाजवादको सफलताको लागि चीनको आकाशमा ‘लामो पाइला’ (Big Leap Forward) को नारा गाउँगाउँमा गुज्रिन थाल्यो । त्यसबेला चीनको खेती उत्पादन सहकारी संस्थाको तीव्र विकास हुँदै थियो । तर, पनि पुँजी, श्रम शक्ति, साधन र प्राकृतिक स्रोतको कमी भएको सहकारीले मात्रै चीनमा समाजवादको निर्माण गर्न सम्भव थिएन । समाजवादको निर्माणको लागि ‘लामो पाइला’ को नारालाई राम्रोसँग कार्य रूपमा ल्याउन खेती सहकारी संस्थाहरूले अझ ठुलो र राम्रो ढङ्गले (उच्च स्वभावको सङ्गठनमा) सङ्गठित हुनु आवश्यक देखियो । चीनको गाउँ–गाउँमा समाजवादको निर्माणको लागि खेतीलाई यान्त्रीकरण र विद्युतीकरण गर्नुको साथै उद्योग, यातायात, शिक्षा र संस्कृतिको पनि तीव्र विकासको अत्यन्त जरुरी थियो । त्यसलाई खेती सहकारीले मात्रै पूरा गर्न सक्ने सम्भावना थिएन । व्हाङ्हो, याङसी र सिक्याङजस्ता ठुलठुला नदीहरूको बाढीलाई रोक्न र सुख्खा जस्तो प्राकृतिक प्रकोपहरूसँग जुझ्न तथा काबुमा ल्याउन ठुलठुला पानीको योजना (पोखरी खन्ने, नहर आदि बनाउने) लाई कम श्रमशक्ति, कम पुँजी र थोरै साधनहरू भएको खेती सहकारी संस्थाहरूले मात्रै सम्भव थिएन । त्यसैले सचेत चिनियाँ किसानहरू देशका सम्पूर्ण गाउँहरूमा समाजवादको निर्माणको लागि कम्युनिस्ट पार्टी र सरकारको मद्दत र निर्देशनमा धेरै खेती उत्पादन सहकारी संस्थाहरूलाई मिलाएर एउटा ठुलो र राम्रो ढङ्गको (उच्च स्तरको) सहकारी संस्था निर्माण गर्न चाहन्थे । त्यसैलाई कम्युन भनियो । ‘लामो पाइला’ र समाजवादको झन्डा लिएर तिनीहरू अगाडि बढे ।
चिनियाँ जनकम्युनको स्थापनाबारे चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सातौँ अधिवेशनको विस्तारित बैठकको पुस्तिकामा उल्लेख गरिएको छ, चिनियाँ जनकम्युनको स्थापना कुनै आकस्मिक घटना होइन, बरु चिनियाँ जनताको आर्थिक र राजनैतिक चेतनाको विकास, चिनियाँ कम्युनिस्ट पार्टीद्वारा चलाइएको सुद्धीकरण आन्दोलन, पार्टीको निर्णयअनुसार समाजवादको निर्माण र सन् १९५८ को समाजवादी निर्माणको लागि लगाइएको ‘लामो पाइला’ को फल हो ।
जनकम्युनका विरोधीहरूलाई जनताले तथ्य तथ्याङ्कबाट जवाफ दिएका थिए अर्थात् सन् १९५८ को केही महिनाभित्र मात्र सुरु भएको जनकम्युनको लोकप्रियताले दियो । जनकम्युनको स्थापनाको सुरुका केही महिनामा नै ७,४०,००० (सात लाख चालीस हजार) खेती उत्पादक सहकारीहरू मिलेर २६,००० (छब्बीस हजार) जनकम्युनको स्थापना गरे । यसरी कम्युनको स्थापना स्थानीय किसानहरूको पूर्ण स्वेच्छा र स्वतन्त्रतापूर्वक भएको थियो । त्यसमा बा¥ह करोड घर वा परिवार सम्मिलित थिए । जनसङ्ख्याको हिसाबले त्यो सङ्ख्या चीनका सबै जातिहरूको ९९ प्रतिशतभन्दा बढी थियो ।
Leave a Reply