भर्खरै :

विदेशी गैरसरकारी संस्था किन ?

विदेशी गैरसरकारी संस्था किन ?

‘एनजीओ–आईएनजीओमा बेथितिको डङ्गुर’, ‘पाँच वर्षमा साढे १० खर्ब आयो, कता गयो ?’ (‘अन्नपूर्ण पोष्ट, १० फागुन २०८०)
नौ क्षेत्रमा लगानी गरे पनि ती संस्थाहरू सबै विदेशीलाई प्रतिवेदन अथवा जानकारी दिने संस्थाहरू साबित भए । अरू देशबाट सिकौँ ।
व्यवहारिक दृष्टिले हेर्दा साम्राज्यवादी देशहरू तेस्रो देशका मुलुकहरूलाई कलकारखाना, उत्पादनमूलक वस्तु र कुनै गरिब देश आफ्नो खुट्टामा उभिन सहयोग गर्दैनन् । साम्राज्यवादी देश र तेस्रो विश्वका मुलुकहरूको सम्बन्ध ‘बाघ र बाछो’ जस्तै हो । ‘शिकारी र शिकार’ को सम्बन्धलाई पश्चिमी देश परोपकारी वा कल्याणकारी भनी मनमा मात्र राखे पनि हाम्रो वा देशको जीवन खतरामा पर्नेछ ।
संरा अमेरिका र फ्रान्सले कम्बोडियामा ३०–४० वर्ष शासन गर्दा पानी तान्ने कल ‘ट्युव बेल’ वा ‘चापा कल’ र ‘भेनिस्टाको सानो ज्यासल’ कम्बोडियामा खोल्यो । भारतले नेपाललाई ‘किन चाहियो नेपाललाई कपडा, चाहे जत्ति कपडा हामीले पु¥याइरहेका छौँ, किन जान्ने भएको’ भन्ने उत्तर नेपालीले सुनेका थिए । बेलायतले भारतमा रेल बनाउनुको कारण भारतीय जनतालाई भन्दा भारतमा बेलायतको व्यापार वा भारतीय कच्चा पदार्थ बेलायत लाने र तयारी माल भारतमा बेचेर नाफा लिनु हो ।
त्यस्तै बेलायतले चीनमा १९ औँ शताब्दीको पछिलो चरणमा अफिम बेच्यो – मानौँ त्यो अमृत हो । सन् १८४० तिर पुग्दा चीनका सबै सुन र चाँडी बेलायतको थैलीमा पुग्यो । दरबारदेखि सहरका मध्यमवर्गसम्म ‘अफिम’ खाएर चुपचाप बस्ने गरे ।
चिनियाँ जनताले चाल पाउँदा दरबारका कति महत्वपूर्ण पदाधिकारीहरू चीनको पक्षमा होइन बेलायती साम्राज्यवादको पक्षमा थिए – जसरी सुगौली सन्धि हुँदा गजराज मिश्र र चन्द्रशेखर उपाध्याय थिए । त्यस्तै चीनका कैयौँ ठुलाबडा दरबारिया बेलायतका दलाल बनेका थिए नेपालका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायजस्तै ।
नेपालका आईएनजीओका ठुलाबडाहरू नेपाली भए पनि तिनीहरू नेपाल र नेपालीको हितमा होइन, ‘नुनको सोझो गर्ने’ गर्थे या ‘जसको सिता खान्छ, उसकै गीता गाउने’ खालका हुन्थे । यसमा कुनै दुविधा छैन ।
पश्चिमी देशले ‘सीटीईभीटी’ (प्राविधिक शिक्षा र व्यवसायिक तालिम) अन्तर्गत उत्तरी पहाडी विद्यालयका छात्राहरूलाई लुगा र पुस्तकहरू दिए, कति ठाउँमा अर्कै गैरसरकारी संस्थाहरूले छात्रछात्राहरूलाई खाद्य सामग्री र दूध दिए । त्यसमध्ये कति ठाउँमा केही ठग शिक्षकहरूले भ्रष्टाचार गरे । तिनीहरू पक्राउमा परे, जेल गए र तिनीहरूको जागिर पनि गयो ।
१० वर्षमा ती छात्राहरूमध्ये केही प्रतिशत प्रवेशिका परीक्षा उत्तीर्ण भए र तिनीहरूमध्ये केही दाता राष्ट्रहरूकहाँ पुगे ।
त्यसबेला एउटा दाता राष्ट्रलाई सालाखाला ६० हजार नर्सहरूको आवश्यकता पथ्र्यो, तर विवाह गरेपछि केही प्रतिशत नर्सिङ पेसा छोड्थे, केही अवकाशमा जान्थे र केही बढी (डलर) पैसा पाउने भएर संरा अमेरिका पुग्थे ।
त्यस देशलाई हरेक वर्ष भारतको केराला, श्रीलङ्का र फिलिपिन्सबाट नर्सहरू लैजान्थे । ती देशका नर्सहरू पनि अमेरिकामा नर्सिङ सेवा छोड्थे र अवकाश पाउँथे । नयाँ नर्सहरूको क्षेत्र नेपालको हिमाल र पहाड रोजियो र त्यसैको निम्ति ‘सिरिचिरी’ स्थापना गरियो ।
नेपाली काङ्ग्रेसको हातमा सुनको चरी प्राप्त भयो । एक एक जना नर्सको परीक्षामा १ देखि ३ लाखसम्म घुस खाएको प्रमाण भेटाएपछि केही वर्ष भक्तपुरलाई ‘नर्सिङ’ कलेज दियो र फेरि एकजना माओवादी मन्त्रीले १०० शøयाको अस्पताल नभए नर्सिङ कलेज बन्द गर्ने नीति ल्याए, धेरै नर्सिङ कलेजहरू बन्द हुनासाथै नेपालको सीमामा दर्जनौँ भारतीय नर्सिङ कलेजहरू खुले । त्यस्तै नीतिले गर्दा नेपालका अन्य कलेजहरू बन्द भए र छात्रछात्राहरू पश्चिमी देशमा पुगे तथा नेपालको अर्बौँ डलर विदेश पुग्यो ।
सानो ठिमीको ‘प्राविधिक शिक्षा र व्यवसायिक तालिम’ दिने विद्यालयले अनेक प्राविधिक श्रमिक तालिम दियो; लाखौँ ती युवाहरूलाई बहुराष्ट्रिय कम्पनीहरूको निम्ति सस्तो ज्यामी वा सस्तो दास उपलब्ध गरायो । काङ्ग्रेसको ठाउँमा एमाले, माओवादी र अनेक ‘समाजवादी’ दलहरू आए गए । तर, उनीहरुले काम नेपाली काङ्ग्रेस र पञ्चायतकै गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *