भर्खरै :

तुमचो, दुगुरे र चोखा आवास क्षेत्रमा ठेगाना प्रणालीबारे जानकारी

तुमचो, दुगुरे र चोखा आवास क्षेत्रमा ठेगाना प्रणालीबारे जानकारी

भक्तपुर एउटा प्राचीन एवं ऐतिहासिक नगर हो । यहाँको कला, संस्कृति र जीवनशैलीले भक्तपुरलाई विश्वस्तरको एक आकर्षक पर्यटकीय केन्द्र बनाएको छ । सहरको भौगोलिक स्थिति, आधुनिक पूर्वाधार र जीवन्त राजनीतिक, आर्थिक तथा सामाजिक संरचनाहरूले यसलाई एक आदर्श सहर बनाएको छ ।
भक्तपुर नगरलाई प्राचीन नगर क्षेत्र र नयाँ विकसित बस्ती क्षेत्रमा विभाजित गरिएको छ । प्राचीन नगर क्षेत्र आफैँमा व्यवस्थित छ । चौडा मूल सडक, सहायक बाटाहरू, गल्ली तथा चोकहरू, खुला क्षेत्र, पोखरी तथा ढुङ्गेधाराहरू, पाटी, सत्तल, मन्दिर र सांस्कृतिक डबलीहरूको व्यवस्थापन हेर्दा त्यतिबेला नै भक्तपुर सभ्य, सुसंस्कृत र वैज्ञानिक विधि अपनाएर निर्माण गरिएको बुझ्न सकिन्छ ।
भक्तपुर नगरपालिका आफैँले पछिल्लो समयमा जनभावनाबमोजिम प्राचीन नगर क्षेत्रको चारैतिर व्यवस्थित बस्तीको विकास गर्न थालेको छ । आधुनिक जीवनशैलीअनुसार ढलनिकाससहितको बाटो, पेटी, चोक, खुला क्षेत्र, हरियाली व्यवस्थापनलगायत योजनासहित बस्ती विस्तार गरिएबाट नगरवासीहरूलाई सहज बनेको छ । ती ठाउँहरूमा शैक्षिक संस्था, स्वास्थ्य उपचार केन्द्र, मनोरञ्जन स्थलहरू पनि निर्माण गरिएका छन् ।
भक्तपुरमा घर, सडकमार्ग तथा उद्योगको व्यवस्थित विकास गर्न योजनाअनुसार कार्य गरिएको छ । यसको परिणामस्वरूप सहर आकर्षक, सुरक्षित र उपयोगी बनेको छ । यो उत्कृष्ट नक्सा प्रणाली र विकास योजनाबाट अभिन्न छ । भक्तपुरमा नक्सा प्रणालीले सजीवता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक समृद्धिजस्ता विभिन्न पहलुहरूलाई एकीकृतरूपमा समाहित गरिएको छ ।
सडकको नामकरण सहरी विकासको एक महत्वपूर्ण र प्रभावशाली पक्ष हो, जसमा ऐतिहासिक संरक्षण, सांस्कृतिक प्रतिनिधित्व र व्यवहारिक विचार समावेश गरिन्छ । सडक नामकरणले स्थानीय पहिचान, ऐतिहासिकता र स्थानीय समुदायको अपनत्वको बलियो भावनालाई उद्वेलित गर्छ । यसले आगामी पुस्ताका लागि मार्गनिर्देश पनि गर्छ । सडक नामले प्रायः प्रतीकात्मक महत्व बोक्छ, मान, आदर्श वा स्थानीय स्थलचिह्नहरू प्रतिनिधित्व गर्दछ । यो प्रतीकवादले एक अद्वितीय स्थानीय पहिचानमा योगदान पु¥याउँछ र त्यहाँका बासिन्दाहरूमा गर्वको भावना जगाउँछ ।


तुमचो, दुगुरे र चोखा आवास क्षेत्र भक्तपुरको उत्तरपूर्वी भागमा अवस्थित छ । भक्तपुर नगरपालिकाले आफ्नै लगानी र जनताको सहभागितामा सम्पन्न गरेको तुमचो–दुगुरे–चोखा जग्गा एकीकरण आयोजना हो । यसले लगभग २७.४८ हेक्टर जमिनलाई आवासीय भूखण्डहरू समेट्छ । आयोजना २०६० सालमा सुरु भएको थियो । पूर्वमा गोंसपुल र चोकन्तिला पुल, दक्षिणमा च्यामासिंह–ब्रह्मायणी–गोंसपुल सडक, उत्तरमा कमलविनायक आवास क्षेत्र र पश्चिममा च्यामासिंह–कमलविनायक–पसिखेल सडकले तुमचो–दुगुरे–चोखा आवास क्षेत्र घेरिएको छ । यस आवास क्षेत्र समानुपातिक विकासको अवधारणामा बनेको हो । ठाउँअनुसार बाटो चौडा र फराकिलो बनाएको छ । विकासको पहिलो सूचक बाटो भएको हुनाले यस आवास क्षेत्रमा हरेक घरमा बाटोको पहुँच पु¥याएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार यस आवास क्षेत्रमा ६ सत्न्दा बढी पक्की घरहरू तथा सयौँ टहराहरू निर्माण भई मान्छेको बसोबास बाक्लिन थालेको छ । मालपोत नापी कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयहरू यसै क्षेत्रमा छन् । वागीश्वरी मावि र कलेज, ख्वप अस्पतालजस्ता महत्वपूर्ण संरचनाहरू पनि यसै क्षेत्रमा छन् । सबै सडक पक्की भइसकेका छन् । स्थानीयमात्र नभई विभिन्न जिल्लाका बासिन्दाहरूसमेत विभिन्न उद्देश्यले यहाँ बसोबास गर्छन् । शैक्षिक संस्था, अस्पताल र सरकारी कार्यालयहरूको उपस्थितिले देशैभरिका जनताको आवतजावत पनि बढ्न थालेको छ । यस्तो परिस्थितिमा जोसुकैलाई आफ्नो गन्तव्यबारे पूरा जानकारी राख्न र कुनै अलमलबिना नै त्यस ठाउँमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाको नमुना परियोजनाको रूपमा यस क्षेत्रमा ठेगाना प्रणाली सञ्चालन गरिएको हो । ख्वप इन्जिनियरिङ कलेजको प्राविधिक टोलीले यो प्रणालीको डिजाइन तथा सम्पूर्ण व्यवस्थापन गरेको हो भने स्थानीय जनताको उपभोक्ता समितिमार्फत यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो । आर्थिक लगानी भने भक्तपुर नगरपालिकाको रहेको छ ।
ठेगाना प्रणालीले मानिसहरूलाई जग्गाको प्लट तथा घरको लोकेसन पत्ता लगाउन सक्षम बनाउँछ अर्थात् सडक र भवनहरूको सङ्ख्या देखाउने नक्सा र सडक चिह्नहरूको प्रणालीद्वारा यसको ठेगाना परिभाषित गराउँछ । सरल, लचिलो र बुझिने ठेगाना प्रणालीको आवश्यकता महसुस गरिएकोले मेट्रिक ठेगाना प्रणालीलाई यस आवास क्षेत्रमा लागु गरिएको छ ।


ठेगाना प्रणालीका केही लाभहरू :
नेभिगेसन : यसले स्थानीय र भ्रमणकर्तालाई सहरमा आफ्नो सडक खोज्न र पत्ता लगाउन सहज बनाउँछ, किनकि तिनीहरूले नक्सा, जीपीएस यन्त्रहरूमा सडकको नामलाई सन्दर्भ बनाउन सक्छन् ।
कुशल आपत्कालीन प्रतिक्रिया : सडकका नामले एम्बुलेन्स, पुलिस र वारुणयन्त्र जस्ता आपत्कालीन सेवाहरूलाई शीघ्र विशेष स्थानहरूमा पुग्न मद्दत गर्छ, जसले जीवन र सम्पत्तिको क्षति हुनबाट बचाउन सहयोग गर्छ ।
व्यापार र वाणिज्य : नामाङ्कित सडकले कार्यालय र वाणिज्य संस्थाहरूका लागि पहिचान गर्न सहयोग गर्छन् । यसले व्यापार गतिविधिहरूलाई बढाउँदै, व्यापार गर्ने सरलतालाई बढाउँछ र ग्राहकहरूको आकर्षण गर्दछ ।
सहरी योजना र विकास : सडकको नामकरण सहरी योजना र विकासको लागि अत्यन्त आवश्यक छ । यसले नगरपालिका र सरोकारवाला संस्थाहरूलाई जनताका आधारभूत आवश्यकता पूर्ति गर्ने थुप्रै योजनाहरू सञ्चालन गर्न तथा आवश्यक स्रोतको व्यवस्थापन गर्न मद्दत गर्दछ ।
नागरिक पहिचान र ऐतिहासिक धरोहर : सडक तथा चोकको नामले त्यस स्थानको सांस्कृतिक, इतिहास र पहिचानलाई दर्शाउँछ । नेपालमा सडकको नामले थुप्रै प्रसिद्ध स्थलहरू वा सांस्कृतिक प्रतिचिह्नहरूलाई सङ्केत गर्दछ, जसले समुदायको गर्व बढाउँछ र ऐतिहासिक धरोहरलाई संरक्षण गर्दछ ।
पर्यटन र आतिथ्य : पर्यटन र आतिथ्य उद्यम प्रवद्र्धनका लागि नामाङ्कित सडक तथा चोकहरू महत्वपूर्ण हुन्छन् । पर्यटकीय आकर्षण केन्द्रहरू, होटल, रेस्टुरेन्ट र अन्य रूचि स्थलहरूलाई परिचित र दिशाबोध गर्न सजिलो भएको छ । विदेशका विभिन्न पर्यटकीय गन्तव्यस्थलहरू तथा देशभित्रकै पोखरालगायतका सहरहरूमा ठेगाना प्रणालीले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज बनाएको पाइन्छ ।


तुमचो दुगुरेमा ठेगाना प्रणाली कार्यान्वयन गर्दा :
भक्तपुर नगरपालिका वडा नं. ९ अन्तर्गत तुमचो–दुगुरे–चोखा आवास क्षेत्रको चारकिल्ला र त्यस क्षेत्रको रेखाचित्र तयारीसँगै अन्य आवश्यक योजना तयारीमा वडाध्यक्ष रवीन्द्र ज्याख्व र अन्य जनप्रतिनिधिहरूको राय सल्लाह लिइयो । वडा कार्यालयबाट केही महत्वपूर्ण दस्ताबेजहरू प्राप्त गरियो । आवास क्षेत्रमा पुर्खौँदेखि राखिएका क्षेत्रगत विशेषतासहितका नामकरण पनि थिए । ती ऐतिहासिक नामहरूलाई जस्ताको तस्तै राख्ने काम गरियो । त्यस क्रममा स्थानीय अग्रज तथा विज्ञ स्थानीयहरूसँग पटकपटक छलफल गरी चोक, सडक तथा क्षेत्र निर्धारण र नामकरण गरियो । तुमचो दुगुरे चोखा क्षेत्र आफैँमा इतिहास बोकेको क्षेत्र हो । तसर्थ, स्थानविशेषको ऐतिहासिकतालाई जीवन्त राख्ने कार्यलाई पहिलो प्राथमिकतामा राखियो । जस्तै : ‘चोखा’, ‘चोखामरु’, ‘दुगुरे’, ‘तुमचो’, ‘बनसी’, ‘बाकंतिला’, ‘गोँस’, ‘भाने’, ‘बेची ब्वङ’, ‘वाँचु हिटी’ आदि नाममा स्थानीयहरूले सहमति जनाए ।
आवास क्षेत्रको पूरा क्षेत्रफललाई सुरुमा पाँचवटा क्षेत्रमा विभाजन गरियो । तुमचो क्षेत्र, दुगुरे क्षेत्र, चोखा क्षेत्र, चोखामरु क्षेत्र र भाने क्षेत्र । प्रत्येक क्षेत्रमा एउटा सडकलाई मूल सडकको रूपमा मानी त्यसको आधारमा दायाँतर्फ जोडा नम्बर र बायाँतर्फ बिजोडा नम्बर दिएर सडकहरूको नामकरण गरियो । जस्तैः तुमचो क्षेत्रमा तुमचो सडक नं. १, तुमचो सडक नं. २ आदि ।
घरहरूको नम्बरिङ गर्ने कार्य मेट्रिक प्रणालीअनुसार गरियो । प्रत्येक चोकको मध्यबिन्दुलाई शून्य बिन्दु मानेर घडी घुम्ने दिशातर्फ घरको मूलढोकासम्मको दुरी नापेर घरको नम्बरिङ गरियो । यसक्रममा प्रवेश मार्ग र शून्य बिन्दुदेखिको दुरी सर्वेक्षण गर्ने काम वागीश्वरी कलेजका विद्यार्थीहरूले सम्पन्न गरे । मेट्रिक प्रणालीमा सङ्ख्याको क्रमबद्धता गरिएको थियो ।
घरको प्रवेशद्वार (मूल ढोका) लाई सडकको चौबाटो ‘शून्य बिन्दु’ बाटोको उन्नति क्रमअनुसार क्रमाङ्कित गरियो ।
उदाहरणको लागि,
शून्य बिन्दुबाट ६ मिटर टाढाको घरलाई घर नं. ६ दिइयो । घरसङ्ख्या वास्तविक गर्ने सम्बन्धमा विशेष ध्यान दिइएको थियो । अहिले जग्गा रहेको र पछि घर बन्ने निश्चित भएका कित्ताहरूमा समेत घर नम्बरिङमा समस्या नहोस् भनेर पनि मेट्रिक प्रणाली लागू गरिएको हो । बाटोको बायाँतिरका घरहरूको सन्दर्भमा बेजोड नम्बर र दायाँतिरका घरहरूलाई जोड नम्बरको व्यवस्था गरियोे ।
चोक, सडक र घरको नाम तथा नम्बरअङ्कित बोर्डको आकार, प्रकार र रङ्गमा समेत एकरूपता ल्याउने काम गरियो । प्रमुख चोकहरूमा आवास क्षेत्रको सम्पूर्ण बाटोहरूको रेखाङ्कनसहितको नक्सा बोर्ड पनि राखियो ।


ठेगाना प्रणालीको उपयोगिता :
यस क्षेत्रमा ठेगाना प्रणालीसम्बन्धी गरिएका सबै कार्यहरूको विस्तृत अभिलेखीकरण गरिएको छ । सर्वसाधारण जनताले समेत दीर्घकालसम्म यसको सहज ढङ्गले उपयोग गर्न सकियोस् भनेर गृहकार्य भइरहेको छ । यस क्षेत्रका प्रत्येक सडक, चोक र घर, भवन, व्यवसायहरूको गुगल म्यापिङ कार्य भइरहेको छ । इन्टरनेटको सुविधा नहुँदा समेत सबैले आफ्नो मोबाइलमार्फत लोकेसन थाहा पाउन सकिने बन्दोबस्त हुँदै छ ।
अन्त्यमा, भक्तपुर नगरपालिकाको हकमा ठेगाना प्रणाली कार्यान्वयन गरिएको यो पहिलो प्रयास हो । त्यसैले केही कमीकमजोरी अवश्य होला भन्ने लाग्छ । यो प्रणाली लागू गर्दै गर्दा पनि स्थानीयहरूको सुझावमा सुधारहरू गरिएका छन् । यसलाई थप व्यवस्थित गर्न अझै थुप्रै सुझावहरू आउने अपेक्षा छ । यसलाई आधार मानेर लिबाली आवास क्षेत्रमा पनि ठेगाना प्रणाली लागू गर्ने प्रयास हुँदै छ । विभिन्न ठाउँमा यो प्रणाली लागू गर्दै गर्दाका सुझाव र अनुभवका आधारमा थप परिमार्जन गर्दै भक्तपुरको पुरानो बस्तीमा पनि यो प्रणाली लागू गर्न सकिने वा नसकिने अध्ययन गर्ने प्रयत्न हुन्छ ।
यो प्रणालीको डिजाइनदेखि तयारी, रेखाङ्कन र अभिलेखीकरण कार्यमा नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले ठुलो भूमिका खेलेको छ । त्यस्तै, भक्तपुर नगरपालिका, ९ नं. वडा कार्यालय र स्थानीय अग्रज व्यक्तित्वहरूको योगदान पनि उत्तिकै छ । सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।


(लेखक ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राविधिक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *