भर्खरै :

युवाहरू रोजगारीको लागि विदेसिन बाध्य

युवाहरू रोजगारीको लागि विदेसिन बाध्य

रौतहट, १४ फागुन । रौतहटका अधिकांश युवाहरू रोजगारीको शिलशिलामा भारत र नेपालका विभिन्न सहरहरूलगायत तेस्रो मुलुकमा काम नपाएर भौतारिरहेका छन् । आफ्नै गाउँ गाउँमा रोजगारको प्रचुर सम्भावना भए तापनि एक अर्काको देखासिकी गरी कतिपयहरू लहलहैमा विदेसिएको देखिन्छ ।
घर, खेत गाउँका साहुमहाजनकहाँ बन्धकी राखेर वार्षिक ३६ प्रतिशत चर्काे ब्याज तिर्ने गरी लाखौँ रूपैयाँ ऋण लिएर मलेसिया, दुबई, कतारलगायतका देशहरूमा काम गर्न जान बाध्य छन् । विदेशमा पनि सोचेअनुसारको कमाइ नहुँदा बन्धकी राखेको जग्गा साहुमहाजनको हुने भएपछि घरमा आमाबुबा चिन्ताले छटपटिरहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकोले कतिपय आमाबुबाले छोराछोरीलाई पढाउन सक्ने अवस्था नभएकोले कलिलै उमेरदेखि उनीहरूले जोखिमपूर्ण काम गरिरहेका हुन्छन् । उनीहरूले भन्ने गर्छन् कि यहाँको शिक्षा पद्धति रोजगारमूलक र वैज्ञानिक नभएकोले हामीजस्ता गरिब तथा निमुखाहरू पढेर पनि शारीरिक श्रम गरेर नै खानुपर्ने भएकोले ऋण लिएर छोराछोरीहरूलाई पढाउनुभन्दा पनि काम गर्ने बानी बसाल्नु नै जाती हुन्छ ।
कतिपय युवाहरूको विदेश जान उमेर नपुग्दा पनि जन्म मिति संशोधन गरेर नागरिकता र पासपोर्ट बनाई विदेश जाने गरेको देखिन्छ । फ्रि भिसा र फ्रि टिकटको नाममा यहाँका म्यानपावर कम्पनीहरूले एउटा युवालाई विदेश पठाएबापत ३/४ लाख रूपैयाँ लिने गरेको देखिन्छ ।
सरकारले युवाहरूलाई स्वदेशमा रोजगारी दिन नसक्दा यहाँका युवाहरूले रहरले भन्दा पनि बाध्य भएर अर्काको देशमा गएर आफ्नो श्रम र पसिना बेचिरहेका छन् ।
रौतहटस्थित बौधिमाई नगरपालिका वडा नं. २ का ३० वर्षीय राजविजय साह कानुले अर्काको देशमा गएर हामी श्रम गर्नुभन्दा पनि आफ्नै देशकै माटोमा केही गरेर बाँच्छु भन्ने अठोटका साथ उनी गाउँघरमै सब परिवारसँगै बसी दिनको रु. १५०० देखि रु. २००० सम्म कमाउने गरेका छन् । उनीसहित सात जनाको परिवार त्यसकै कमाइमा बाँचिरहेका छन् । उनी मौसमअनुसारको पेसा अपनाउने गर्दछन् । गर्मीको समयमा बरफ, आइसक्रिम बेच्ने गर्छन् भने जाडोको समयमा चना, चटपट र हवाइ मिठाइ बेचेर आफ्नो घरपरिवार चलाउनुका साथै छोराछोरीहरूलाई राम्ररी पढाएर एउटा असल नागरिक बनाउने उनको सोच छ ।
अहिले उनले अपनाएको पेसा हवाइ मिठाइको हो । हवाइ मिठाइ यस्तो प्रकारको मिठाइ हो, जुन मुखमा राख्ने बित्तिकै बिलाउँछ । हवाइ मिठाइ बनाई बेच्नको लागि उनले ७–८ हजार पर्ने तीन÷चार थरीका सामानहरू अर्थात् एउटा पुरानो साइकल, सानो ग्याँस सिलिन्डर र मेसिन जोडेका छन् । हवाइ मिठाइ बनाउनको लागि चिनीमा थोरै कलर मिसाउँछन् जुन बच्चाहरूलाई मनपर्छ । मिसाएको कलर चिनी मेसिनको भाँडोमा राखेर सिलिन्डरमा आगो सल्काइ मेसिनको पाङ्ग्रा केही बेर हातले चलाएपछि हवाइ मिठाइ बन्छ ।
हवाइ मिठाइ बच्चाहरूलाई मनपर्ने भएकोले गाउँ घरमा रु. ५/रु. १० मा बिक्री हुन्छ भने कतिपयसँग पैसा नहुँदा चामल, धानसँग साटेर पनि किन्ने गर्दछन् । यही हवाइ मिठाइ सहरतिर बेचेको भए रु. २०/रु. २५ सम्म बिक्री हुन्छ,” उनी भन्छन् । उनी भन्छन्, “मेरा साथीहरू विदेशमा जति कमाउँछन्, त्योभन्दा बढी म आफ्नै गाउँठाउँमा कमाइरहेको छु । चार पाँच ठाउँमा डुलेपछि डेढदेखि २ किलोसम्म चिनीको हवाइ मिठाइ बनाएर बेच्छु । त्यसबाट मलाई रु. १५०० देखि रु. २००० सम्म आम्दानी हुन्छ । यसबाट मेरो घरपरिवार चलाउन सहज छ । यदि म पनि साथीहरूसँगै विदेश गएको भए मेरो पनि परिवारको हालत उनीहरूको जस्तै हुन्थ्यो । घर परिवार बिचल्लीमा परेको हुन्थ्यो र म विदेशमा भौतारिरहन्थेँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *