अदूरदर्शी शासकहरूको कारण देशमा अन्योल
- बैशाख ८, २०८२
नेपालको संसदीय व्यवस्थामाथि गम्भीर प्रहारहरू भइरहेका छन्, नेपालप्रति ‘सद्भावना राख्ने व्यक्ति’ हरूबाटै ! यो कस्तो सद्भावना हो ? प्रधानमन्त्रीलाई ‘भारतको घोडा’ र पूर्वप्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति देउवालाई ‘तबेला’ मा राख्नुपर्ने घोडासम्म बताए, भारतीय अवकाशप्राप्त मेजर र नेपालप्रति सद्भावना राख्ने अशोक मेहताले ।
अरूको आशीर्वादमा आफ्नो व्यक्तिगत स्वार्थको निम्ति, व्यक्तिगत महत्वाकाङ्क्षाबाट प्रेरित भई आदर्श र सिद्धान्तसँग बाझिएको काम कसैले गरेमा त्यसको फल तित्तै हुन्छ, यो समाजको सामान्य व्यवहार हो ।
राजनीतिक नेतृत्वहरू ‘निःस्वार्थरूपले देश र जनताको सेवामा समर्पित’ भएका भए आजको राजनीतिक दबुलीको दृश्य फरक हुने थियो । व्यक्ति साधारण होला, तर पदमा बसेपछि छोराछोरी, दाजुभाइ, भतिजाभतिजी सबै गौण हुनुपर्छ; प्रधानमन्त्री होऊन् वा राष्ट्रपति पदअनुसारको आचरण र मर्यादामा बस्न जानुपर्छ । यदि जानिएन भने पदबाट राजीनामा दिएर आफ्नो ठाउँमा गई जनताको सेवा गर्दा प्रतिष्ठा र इज्जत अवश्य बढ्ने थियो ।
प्रदेशसभामा होस् वा संसदको बैठकमा सांसदहरूले आ–आफ्नो प्रतिष्ठा र मर्यादा बसी जिम्मेवारी बोक्नुपर्ने हो । पदीय आचरणविपरीत व्यापार, ठेक्कापट्टा, निर्वाचनमा गरेको खर्चभन्दा दोब्बर प्राप्त गर्न सांसद विकास कोष म्हास्ने निर्लज्ज इच्छा र उद्देश्य सांसद्को पदसँग कहाँनेर मिल्छ ? हरेक जानकार व्यक्तिलाई अगवत छ । यसबारे केन्द्रीय नेता, सभापति वा अध्यक्षलाई सांसद कोषको रकम व्यक्तिगतरूपमा लाभ लिँदा सांसदको गरिमा रसातलमा जान्छ भन्नेबारे नसम्झाएको होला र ? सायद शासक दलका नेता वा जिम्मेवार कुनै व्यक्तिले आ–आफ्ना कार्यकर्तालाई संसद् विकास कोषको रकम दुरूपयोग गर्नु भनी कुनै सांसदलाई शिक्षा दिएको कल्पनासमेत गर्न सकिन्न । तर, परिणाम उल्टो भयो ! कारण के होला ?
नेपाली काङ्ग्रेसजस्तो ऐतिहासिक र बारम्बार सरकार चलाएका राजनीतिक दलका केन्द्रीय समितिका सदस्य, जननिर्वाचित सांसद र मन्त्रीहरू अनेक अनियमिततामा पक्राउ पर्नु र शङ्कास्पद ढङ्गले नै रिहा हुनु वा विशेष अधिकार वा अनाधिकार कार्यबाट मुक्त भइरहेका छन् । यस्तो गतिविधि के प्रजातन्त्र हो भनी कसैले ती पार्टीका संस्थापक नेताहरूलाई प्रश्न गरेमा यदि तिनीहरूमध्ये कोही जीवित भए ती नेताहरूले जनतासँग माफी माग्ने निश्चित छ ।
ती नेताले भित्रै हृदयदेखि भन्ने थिए, “हामीले नयाँ पुस्तालाई चुनावको बेला सबै उपाय सिकायौँ, तर प्रजातन्त्र र जनताको निःस्वार्थपूर्वक सेवा गर्न सिकाउन चुक्यौँ ।” के मन्त्रीहरू जनताभन्दा माथि हुन् ? संविधान निर्माणको बेला के ‘सांसदहरूको प्रत्याह्वान’ बारे कुरा उठेका थिएनन् र ?
‘समाजवादी’ दलको साइनबोर्ड राख्ने, घोषणापत्र र कार्यक्रमको उच्चारण नगर्ने तर धेरै समाजवादी विचारहरूमध्ये कुन चाहिँ पार्टी ‘समाजवादी’ हो नभनी दिँदा र ‘जुनसुकै चिह्नमा छाप हाले पनि हाम्रै हो’ भनेपछि ‘घण्टी’, ‘लट्ठी’ वा अन्तै पार्टीले जित्नु के अस्वाभाविक हो र !
‘अनेक नाउँका ‘कम्युनिस्ट’ दलहरूको नामले गर्दा आफ्नो दलमाथि लागेको आक्षेपलाई पन्छाउन सजिलो भएको छ – सत्तामा बस्ने ‘कम्युनिस्ट’हरूलाई ! तर, पुँजीवादी सरकारमा कुन उद्देश्यले गएको ‘कामरेड’ भनी प्रश्न गर्दा सजिलै उत्तर आउने गरेकोबारे सुन्नमा आयो, “परिवर्तित संसारमा कुनै शब्दका एउटै अर्थ आउँदैन, बरू व्याख्याहरू फरक हुनु नराम्रो होइन, यो ठगी पनि होइन ।”
पूर्वसभामुख दमननाथ ढुङ्गानाले भन्नुभयो, “सङ्घीय संसद् सुन चोरहरूको संसद् भएको छ ।” (एउटा नेपाली दैनिक – १६ फागुन २०८०)
मङ्गलबारको दिन सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा उहाँले सांसद ठेकेदार, फटाहा र स्पन्सरहरूको बनिरहेको र सबै भ्रष्टाचारीहरूलाई सांसद बनाउन गइरहेको चर्चा गर्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताउनुभयो ।
Leave a Reply