भर्खरै :

“विद्यालयहरूमा नयाँ पुस्तालाई कला – संस्कृति हस्तान्तरण गर्ने कार्य हुनु सराहनीय छ”

“विद्यालयहरूमा नयाँ पुस्तालाई कला – संस्कृति हस्तान्तरण गर्ने कार्य हुनु सराहनीय छ”

भक्तपुर, १९ फागुन । बाल विकास सेकेन्डरी स्कूलको दोस्रो ३६ औँ वार्षिकोत्सव समारेह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा शिक्षक, कर्मचारी सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गरी शनिबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि बिजुक्छेँबाट समुद्घाटन भएको उक्त समारोहमा उहाँले स्कूलको स्मारिका विमोचन गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उहाँले स्कूलबाट उत्पादित जनशक्ति को को कहाँ कहाँ कुन कुन अवस्थामा छ भन्ने जानकारी राख्ने समाजको एउटा सग्लो चित्र त्यसमा आउने चर्चा गर्नुभयो ।
देश भूगोलमात्र नभएको चर्चा गर्दै देशलाई चिनाउने जोगाउने त्यहाँको कला संस्कृति हो अहिले विद्यालय–विद्यालयमा नयाँ पुस्तालाई कला संस्कृति हस्तान्तरण गर्ने जुन काम भइरहेको छ त्यो सराहनीय छ, उहाँले भन्नुभयो ।
रुस–युक्रेन युद्धमा नेपाल सरकारले युक्रेनको पक्ष लिनु गलत छ त्यसको नेमकिपाले निरन्तर विरोध गरिरहेको चर्चा गर्दै उहाँले त्यही युद्धका कारण आज युरोपको अर्थतन्त्र गञ्जागोल भएको छ भन्नुभयो ।
त्यस्तै इजरायलले प्यालेस्टिनमाथि गरिरहेको अत्याचारको विरोध गर्दै आज त्यसबाट १८ वटा अरब देशहरू प्रभावित भएका छन् । गलत र अन्यायको विरोध गर्नु पनि अन्तर्राष्ट्रिय सदाचार हो† यस्तो सदाचार स्कूलदेखि नै सिक्न सिकाउन आवश्यक छ, उहाँले भन्नुभयो ।
सरकारले भूगोल र इतिहास पढाउनै छोडेकोमा आपत्ति जनाउँदै प्रमुख अतिथि बिजुक्छेँले जनतालाई विदेशीको ज्यामीमात्र बनाउने सरकारी नीतिविरुद्ध नयाँ पुस्तामा चेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
पश्चिमा विदेशी शैली नभइ आफ्नै पहिचानलाई महत्व दिनुपर्नेमा जोड दिँदै उहाँले विदेशी दलालहरूबाट देशलाई जोगाउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो देश हाम्रो समाज हामीले नै बनाउने हो† अरुको भर परे हामी मगन्ते बन्ने छौँ, परनिर्भर बन्नु हुँदैन† दुःख भए पनि आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्छ ।”
माओवादीलाई नेमकिपाले १०–२० वर्ष पहिले नै भारतको ट्रोजन हर्स भनी आलोचना गरेको स्मरण गर्दै उहाँले हालै भारतका एक अवकाश प्राप्त सैनिक जनरल अशोक मेहत्ताले माओवादी भारतको घोडै हो भनेका छन्† त्यसको माओवादीले खण्डनसम्म गरेको छैन, ट्रोजन हर्स पुनर्पुष्टि भएको छ भन्नुभयो ।
जनतालाई सही कुरा बताउने कठिन काम गर्न हामी हरेस खाँदैनौँ निरन्तर काम गर्दै गए अन्ततः सही प्रतिफल आउने छ भन्दै उहाँले जनताको सेवामा निरन्तर लाग्न सुझाव दिनुभयो ।
एक बेग्लै सन्दर्भमा उहाँले समाजमा २५ प्रतिशतमा मानसिक रोग छ भनिएको हुँदा घरघरमा त्यसको समीक्षा गर्नुपर्ने बताउँदै जहाँ पनि र जहिले पनि पैसा पैसा भनी कुर्लनु पनि मानसिक रोग हुन सक्नेमा सचेत पार्नुभयो ।
कार्यक्रममा मनोचिकित्सक डा. विश्वबन्धु शर्माले भक्तपुर हरेक कुरामा नमुना भएको चर्चा गर्दै निजी गुठीबाट सञ्चालित स्कूल पनि गैरनाफामुखी हुँदा रहेछ यो पनि एउटा नमुना नै हो भन्नुभयो ।
पागलपनमात्र मानसिक रोग होइन भन्दै उहाँले समाजमा २५ प्रतिशत मानिस मानसिक रोगबाट पीडित रहेको चर्चा गर्नुभयो । विद्यालयको पाठ्यक्रममा मानसिक रोगबाट कुनै पाठ नभए पनि स्कूल स्कूलमा त्यसबारे जनचेतना जगाउन सके रोगको सुरुमै पहिचान गर्न सकिन्थ्यो र त्यो अवस्थामा उपचार गर्न सहज हुने सुझाव दिनुभयो ।
विद्यालयका प्रिन्सिपल एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाइले धेरै स्कूलहरूसँग मिलेर सहकार्य गर्ने स्कूलको चाहना भएको चर्चा गर्दै कोही कसैप्रति गुनासो गर्नुभन्दा सकेसम्म आफै उदाहरण बनेर देखाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले स्कूलका संस्थापकहरूप्रति सामूहिक नेतृत्वको साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद सृजना सैँजूले निजी शैक्षिक गुठीबाट सञ्चालित स्कूल पनि गैरनाफामुखी हुन सक्छ भन्ने कुरा सरकारले बालविकासबाट सिक्नुपर्छ शिक्षाको पूर्ण दायित्व राज्यको हो भन्नुभयो ।
लाखौँ युवा देश नफर्किने गरी बिदेसिनु विदेशमा नेपाली दोस्रो दर्जामा बस्न बाध्य हुनु देशकै दुर्भाग्य हो भन्दै उहाँले देशको गञ्जोगाल सम्हाल्ने नयाँ पुस्ता स्कूलदेखि नै तयारी गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा प्रा.डा रामप्रसाद ज्ञवाली व्यावहारिक सिपविनाको घोकन्ते शिक्षाको प्रमाणपत्रको कुनै अर्थ नहुने चर्चा गर्दै विद्यार्थीलाई घरबाट संस्कार र स्कूलले जीवन सङ्घर्षका कुराहरू सिकाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालय स्थापनाकालको सदस्य डा. के.वी कर्माचार्य, अभिभावकद्वय काठमाडौँ विश्वविद्यालयका गणित विषयका उपप्राध्यापक गंगाराम फैजु र ख्वप कलेजका उपप्राध्यापक अञ्जु ग्वाछाले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा शिक्षिका सीतालक्ष्मी प्रजापतिले स्वागत मन्तव्य दिँदै स्कूलमा हाल १२ सय विद्यार्थी अध्ययनरत रहेको र एक सय जना स्टाफ कार्यरत रहेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा निरन्तर १० वर्ष सेवा गरेका शिक्षक कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
३६ औँ वार्षिकोत्सवको पहिलो चरण गत माघ २० गते सम्पन्न गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट देशभक्तिपूर्ण गीतमा नृत्यहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *