साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
अहिले नेपालमा ‘फोर्टिफिकेसन’ को हावा चलेको छ । आमजनले खाने खाना पिठो, तेल, चामल आदिमा थरीथरीका भिटामिन, खनिज पदार्थ मिसाएर खान दिने चलन छ ।
प्रकृति दयालु छ । राम्रो स्वास्थ्यको लागि चाहिने सम्पूर्ण भोजन प्रकृतिबाटै पाइन्छ । तर राजनीतिक, सामाजिक, धार्मिक र गरिबीको कारणले मानिसहरूलाई कुपोषण हुँदा व्यापारिक घरानाका मानिसहरू “कुपोषण ठिक पार्न हामी खानामा अनेक थरीका भिटामिन मिलाइदिन्छौं । फोर्टिफिकेसन गरिदिन्छौँ, अनि कुपोषण हुँदैन” भनेर सरकारलाई भन्छन् । सरकार समस्याको विश्लेषणविनै त्यस्ता व्यापारीको चङ्गुलमा पर्छ । यसले सार्वजनिक स्वास्थ्य समस्या सिर्जना हुन्छ ।
नेपालमा अहिले पूरक खाना (पूरक आहार) भनेर अनेक प्याकेटका खाना, भिटामिन, खनिज, ओमेगा ३ जस्ता पदार्थको बिक्री भइरहेका छन् । एक चक्की वा क्याप्सुलको ५०–१०० रूपैयाँसम्म पर्ने यस्ता पूरक आहारले केही फाइदा हुँदैन । यो बनाएर बेच्ने कम्पनीहरूचाहिँ मालामाल हुन्छन् ।
कतिले विवेकशील तरिकाले पूरक आहार बेच्न नियम बनाउनुपर्छ भन्छन्, तर अनेक थरीका भिटामिन, खनिजहरू जुन प्रकारले क्याप्सुलका रूपमा उपभोक्ताले प्रयोग गर्छन्, त्यो अविवेकशील नै हुन्छ ।
विवेकशील जनस्वास्थ्य विज्ञहरूका अनुसार पूरक आहारलाई औषधिको रूपमा खानै पर्दैन । सन्तुलित खाना खाए पुग्छ । पूरक आहार किन्नु व्यर्थमा पैसा खर्च गर्नु हो । डाक्टरहरू पनि ‘तिम्रो भोजन नै औषधि हो’ भन्छन् । वास्तवमा राम्रो भोजन नभए जति औषधि खाए पनि काम लाग्दैन ।
कुपोषित बालबालिकालाई भोजनको माध्यमबाट नै स्वस्थ बनाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लामा स्थापना गरेको ‘पोषण पुनःस्थापना गृह’मा कुपोषित बालबालिकालाई भान्छाकै खानेकुरा ख्वाएर, मसाज गरेर, खेलाएर, घाममा राखेर ठिक पारिन्छ । तर पूरक आहार बनाउने कम्पनीहरू भन्छन्, ‘सूक्ष्म पोषण तत्वहरू भएको पूरक आहारले अनेक रोगबाट बचाउँछ ।’ यस्तो भ्रम सिर्जना गरेर उपभोक्तालाई नचाहिने औषधि किन्न लगाइन्छ ।
भारतमा सन् २०१७ मा ४ खर्ब डलरको ‘पूरक आहार’को व्यापार थियो , २०२२ मा यो १० खर्बको अध्ययनले देखाएको छ । अर्थात् अनेक विज्ञापनको फन्दामा फसेर मानिसहरू घरको खाना बेवास्ता गरी पूरक आहार किन्छन् । नेपालमा पनि त्यस्तै अवस्था देखा परिरहेको छ । मानिसहरूले ५ रूपैयाँमा पाइने खाना छाडेर पूरक आहारको रूपमा ५० रूपैयाँमा क्याप्सुल किन्छन् । आजभोलि स्वास्थ्यकर्मीहरूले पूरक आहारलाई औषधि भनी लेखिदिन्छन् । कति दुःखलाग्दो कुरा ।
म १६ महिना नेदरल्यान्ड बसेँ । त्यहाँ कसैलाई पनि ‘भिटामिन’ वा ‘पूरक आहार’ दिएको देखिन्न । अमेरिकामा चाहिँ ‘हेल्थ फुड’ को नाममा पूरक आहारमा अर्बौं डलरको व्यापार हुन्छ । पूरक आहार नखाने डचहरू अमेरिकनहरूभन्दा स्वस्थ छन् भन्ने तथ्याङ्कले देखाउँछ ।
भारतमा गरिएको एक अनुसन्धान अनुसार भिटामिनको चक्की, झोल र खनिज पदार्थ ४० प्रतिशत, अनेक थरीका ‘हर्वल औषधि’ भनेर २० प्रतिशत, फोबायोटिक १० प्रतिशत, ओमेगा ३ फ्याट्टी एसिड, प्रोटिन १५ प्रतिशत विभिन्न नामबाट बिक्री हुन्छ । यो पढेपछि मलाई लाग्यो, त्यहाँका करोडौँ जनतालाई ‘पूरक खाना’ को रूपमा ठगिएको छ । त्यहाँका जनताले घरको गहुँ, दाल, दही छाडेर पूरक आहार खान्छन्, भोजन होइन ।
नेपालमा कुनै–कुनै स्वास्थ्यकर्मीले बिरामीलाई ३ वटा औषधि लेखे त्यसमा २ वटा पूरक आहार लेख्छन् । औषधि विभागले यस्ता पूरक आहार औषधि पसलमा बेच्ने होइन भन्छ । तर खाद्य विभागचाहिँ यसलाई बेच भन्छ । मारमा पर्ने त उपभोक्ता नै हुन् ।
यस्ता पूरक आहारको मानिसलाई जरुरतै पर्दैन । त्यसमाथि पनि क्लिनिकल अन्कोलोजी सम्बन्धी एक अध्ययनमा सिद्ध भएको छ— भिटामिन बी ६ र भिटामिन बी १२ चक्की पूरक आहारको रूपमा खाँदा फोक्सोको क्यान्सरको सम्भावना बढ्न सक्छ । यस्ता क्याप्सुलले बेफाइदा गर्छन् भन्ने उपभोक्तहरूलाई थाहा छैन । यस्ता पूरक आहारको बाहिरपट्टि लेखिएको हुन्छ, ‘औषधि होइन’, तर डाक्टरहरूले लेखिदिन्छन् । कसैले प्रश्न गर्दैन ।
“बालबालिकालाई घरको खानाले पुग्दैन । त्यसैले भिटामिन ‘ए’, ‘डी’ मिलाइएको पिठो ख्वाउनुपर्छ । महिलाहरू गर्भवती भएका बेला घरमा पकाएको खानाले मात्र कुपोषण हुनसक्छ । बच्चा सानो हुनसक्छ । त्यसैले फोर्टिफिकेसन गरेको अन्न ख्वाउनुपर्छ । व्यापारीहरू यस्ता भ्रामक प्रचार बारम्बार गर्छन् ।
Leave a Reply