भर्खरै :

भक्तपुरमा सांस्कृतिक अतिक्रमण ?

भक्तपुरमा सांस्कृतिक अतिक्रमण ?

भक्तपुर । १० फागुन, २०८० को ‘परिवर्तनशील आवाज’ साप्ताहिक पत्रिकाको पाठक आवाज कोलममा मेरिना शाक्य, इनाचो ७, भक्तपुरको ‘चिनियाँ नयाँ वर्षलाई टौमढी र दरबार क्षेत्र प्रयोग’ शीर्षकले मेरो ध्यान आकर्षित गरेको छ । सो पत्रमा पाठकले निम्न बुँदाहरू उठाएका छन् ः
१) ‘…..जनप्रतिनिधिले सांस्कृतिक सम्पदा जोगाउने नाउँमा टौमढी र दरबार क्षेत्रभित्र कुनै पनि खालको सवारी साधनलाई प्रवेश गर्न नपाउने गरी ढुङ्गेखम्बा गाडेर बलियो सिक्री लाउने गरेको छ ……. यो राम्रो काम पनि हो । …….सम्पदा सुरक्षाको लागि यो राम्रो पक्षको रूपमा नगरवासीहरूले लिने गरेका छन् ।’
२) नेपाल संवत्को शुभकामना जुलुस निकाल्ने क्रममा काठमाडौँ, बनेपा, पाटन सबैतिरबाट शुभकामना दिँदै नगर प्रवेश गरेका टोलीलाई सो क्षेत्रमा प्रवेश गर्न दिइएन ।
३) तर, गत हप्ता चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूलाई भने भक्तपुर नगरपालिकाले दरबार क्षेत्र नै प्रयोग गरी उनीहरूको नाच प्रस्तुत गर्न दिएको पाइयो । यो सांस्कृतिक अतिक्रमण भएन र ?
पाठक मेरिना शाक्यको यस विचारले दरबार क्षेत्र र टौमढी क्षेत्रमा सवारीसाधन चलाउन नपाले रोक लगाएको कार्यलाई मन नपराए पनि राम्रो काम गरेको भन्न बाध्य भएको भान हुन्छ्र । संसारका धेरै आधुनिक एवं प्राचीन सहरहरूको विश्व सम्पदा क्षेत्रलगायतका अति संवेदनशील क्षेत्रहरूमा सवारी साधन निषेध गरिएको तथ्य सबैलाई अवगत नै होला । यही पृष्ठभूमिमा धेरै नेपालीलगायत विदेशी सम्पदाविद्हरू पूरै भक्तपुर नगरको भित्री क्षेत्र (कोर एरिया) लाई नै सवारीसाधन मुक्त सहर बनाउनुपर्ने आवाज उठाइरहेको बारे पनि पाठक अवगतै भएकै हुनुपर्छ ।
त्यस्तै, नपुखुः देखि खौमा क्षेत्रसम्म हुने जामको कारण सवारीसाधन निषेध नै गर्नुपर्ने आवाज उठिरहेको तथ्य पनि अनभिज्ञ छैन होला । भक्तपुर नगरपालिकाले सवारी साधनको निषेधको नियमलाई जबरजस्ती लादेको पनि होइन । सरोकारवालासँग लामो छलफलपछि मात्र क्रमशः सवारीसाधन चलाउन निषेध गरिएको थियो । दरबार क्षेत्र (लाय्कुमा) सवारी निषेध गरेको धेरै वर्षपछि मात्र टौमढी क्षेत्रमा पनि प्रयोग गरिएको हो । भक्तपुर नगरको ट्राफिक व्यवस्थापनको लागि निश्चय नै जनताको साथ र सहयोगमा नगरपालिकाले योजना बनाउनेछ भन्नेमा भक्तपुरवासीको नाताले म विश्वस्त छु ।
जहाँसम्म नेपाल संवत्को न्हुदयाँ भिन्तुना ¥यालीलाई प्रवेश गर्न नदिइएको प्रसङ्ग छ, सो जुलुसका आयोजकलाई भक्तपुर नगरपालिकाको नियम थाहा नभएको जस्तो लाग्छ । भक्तपुरवासीहरूले टौमढी क्षेत्रमा विवाहको जन्ती आदि लानु परेमा नगरपालिकालाई अग्रीम जानकारी दिँदा नगरपालिकाका कर्मचारीले सिक्री खोल्ने नियम छ । यो नियम भक्तपुरका सबैले पालना गरेको पाइन्छ । यही नियम भक्तपुरवासीको लागि मात्र होइन, भक्तपुर बाहिरकाहरूको लागि पनि हो । स्थानीय पालिकाहरूको आफ्नै नियम हुनसक्छ । त्यो नियम बनाउने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहलाई प्रत्यायोजन गरेको छ । भक्तपुरमा आउँदा भक्तपुर नगरपालिकाको नियम र काठमाडौँमा जाँदा त्यहाँकै नियम लागु हुने कुरा सामान्य नै हो । भक्तपुर नपाको नियम थाहा छैन भनी ताला फोड्ने कार्य गलत हो । भक्तपुरवासीहरूले तःमुंज्याको ¥याली काठमाडौँ दरबार क्षेत्रमा प्रवेश गरेपछि सबै साइकल चालकहरूले साइकलबाट ओर्लेर साइकललाई दो¥याउँदै कानपाको नियमलाई पालना गर्दै गए । यो शालीन र भद्र कार्य थियो ।
पाठक मेरिना शाक्यले भक्तपुरमा चिनियाँ नयाँ वर्ष मनाएको बारेमा पनि सांस्कृतिक अतिक्रमण भयो भनी विचार पोखेकी छन् । आफ्नो संस्कृतिप्रतिको मायालाई सबैले सराहना गर्नुपर्छ, यसमा दुईमत हुनसक्दैन । यस वर्ष नेपालमा नेपालस्थित चिनियाँ राजदूतावासले उपत्यकाका तिनै सहरहरूमा चिनियाँ नयाँ वर्ष मनाएको छ । तर, भक्तपुरमा मनाएको चिनियाँ नयाँ वर्षको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । यसलाई विदेशी सांस्कृतिक अतिक्रमण भएको भनिएको छ । पत्रमा उल्लेख भएजस्तै उक्त उत्सवमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूको उपस्थिति त्यहाँ थिएन । सबैजसो दूतावासका कर्मचारीहरू हुन् । कार्यक्रमका सह–प्रायोजकहरू नै भक्तपुर नगरपालिका र टुरिजम बोर्ड थिए । अझ उक्त कार्यक्रममा चिनियाँ नाच सँगसँगै भनपाले भक्तपुरको परम्परागत नाचलाई स्थान दिएको थियो । यो सांस्कृतिक आदानप्रदानको ज्वलन्त नमुना हो । संसारभर यो प्रचलन चलिआएको छ । नेपाल पर्यटन बोर्ड र भनपा यस कायक्रमसँग जोड्नु चिनियाँ पर्यटकहरूलाई नेपाल र भक्तपुरमा आकर्षित गर्ने रणनीति पनि हो । हाम्रै नेपाली ल्होसारको नयाँ वर्षसँग चिनियाँ क्यालेन्डर हुबहु मिल्न आउँछ । त्यसैले काठमाडौँमा उनीहरूले सँगै मनाए ।
दुई घण्टाको एउटा कार्यक्रम भएको आधारमा सांस्कृतिक अतिक्रमण भयो भन्नु अतिशयोक्ति नै हो । योभन्दा पहिले पनि भक्तपुरमा यस्ता धेरै कार्यक्रमहरू भएका छन् । जस्तैः भक्तपुरमा कृष्ण जन्माष्टमीको दिनमा मात्र कृष्णको जन्माष्टमी मनाइन्छ । तर, आजकल दरबार क्षेत्रमा हरेक साँझ नाचगानका साथ कृष्णको भजन हुन्छ । त्यस्तै क्रिस्चियनहरूले पनि आफ्नो नयाँ वर्ष मनाउन थालेका छन् । साथै हरेक वर्ष भक्तपुर बाहिरका गैरनेवारहरू भक्तपुरमा आएर धुमधामसँग तीज, छठ, देउडा, तःमु ल्होसार मनाउने गर्छन्, जुन हाम्रो लागि नौलो हो  । के यसलाई पनि हामीले सांस्कृतिक अतिक्रमणको रूपमा हेर्ने हो ? आजकल हाम्रो विवाहलगायत सबै किसिमका कार्यक्रम मनाउने तरिकामा धेरै परिवर्तन भइरहेको छ । हामी यी कार्यक्रमहरू धेरै खर्चिलो भएको कुरा गर्छौँ । तर, यी सबै कार्यक्रममा भारतीय प्रभावबारेमा हामी कुरा गर्दैनौँ । जन्म दिन मनाउँदा योमरीको माला लाएर पूजा गर्ने चलन भएकोमा अहिले केक काटेर रेस्टुराँमा मनाउने चलन हुँदै छ । योमरी पुन्हीँमा त्योछिंत्यो मनाउने (योमरी माग्ने जाने चलन) चलन हराइसकेको छ । त्यसको बदलामा तिहारमा द्यौसी भैलोले विस्थापन नै गरिदिएको छ । नेवार बस्तीहरूको ठाउँंको नाम पनि नेवारी नामको सट्टामा अन्य नामले विस्थापन गरिसकेको छ । बरु यी एक किसिमले सांस्कृतिक अतिक्रमण नै होइन र ? केही समयअगाडि काठमाडौँमा भारतीय बाबा रविशङ्कर आएर नेपाली प्रचलनभन्दा भिन्न लिङ्ग भैरवीको मूर्ति स्थापना गरी सबैलाई भजन किर्तन साथ नचाएर गए । थरी थरीका भारतीय बाबाहरू नेपालका कर्मचारीदेखि नेताहरूलाई लट्ठ पारेर नेपालको राजनीतिमा समेत प्रभाव पारिरहेको छ, यसलाई के भन्ने ?
नेपालमा रहेको विदेशी राजदूतावासले देशका चाडपर्वहरू तथा देशका राष्ट्रिय पर्वहरू आफ्नै किसिमले मनाउने गर्छ । देशका प्रधानमन्त्रीदेखि विभिन्न नेपाली पार्टीका नेताहरूको त्यस्ता कार्यक्रममा सहभागिता रहेको हुन्छ । यस्ता कार्यक्रमलाई त सांस्कृतिक अतिक्रमण भन्ने गरिँदैन । दुई देशबिच राम्रो सम्बन्धका लागि समयसमयमा यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरूको आयोजना हुने वा गरिने चलन छ । हाम्रो खुला स्थानहरू (स्क्वायरहरू) यस्तै सामाजिक क्रियाकलापहरू गर्नका लागि नै हो । यस्ता क्रियाकलापहरू गर्दा हाम्रो सांस्कृतिक सम्पदाहरूमा क्षति पुग्ने किसिमको कुनै पनि कार्यहरू हुनु भएन । यहाँ पार्टीको विजय जुलुस नगर परिक्रमा गर्दा दरबार स्क्वायरमा पैदल नै हिँडेर ¥याली गरेको कुरा स्मरण गराउन चाहन्छु । त्यो दिन पनि चिनियाँ नव वर्ष मनाउने कार्यक्रममा चिनियाँहरूले दरबार स्क्वायरमा सवारी साधनको प्रयोग भएको थिएन । हो, आज चिनियाँहरूलाई कार्यक्रम गर्न दिएपछि भोलि अरु देशहरूले कार्यक्रम गर्न स्वीकृति माग भएमा अरुलाई पनि दिनुपर्ने हुन्छ, दिनु पनि पर्छ । टौमढी, दरबार स्क्वायर क्षेत्रमा पहिले पनि विदेशीहरूको यस्ता कार्यक्रमहरू हुने गरेकै थियो । त्यसैले आइन्दा यस्ता कार्यक्रमहरूको आयोजना गर्दा हाम्रा सम्पदाहरूमा क्षति नपुगोस् भन्नेमा प्रत्येक भक्तपुरवासीहरूले जहिल्यै निगरानी गरी नै राख्नुपर्छ । एक सचेत नागरिकको नाताले देशभित्र भइरहेको सांस्कृतिक अतिक्रमणहरूको पनि चनाखो भई विरोध गरिराख्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *