व्यक्तिवादी सोचले ग्रस्त पश्चिमाहरू पूर्वबाट सिक्दै छन्
- आश्विन ६, २०८१
भक्तपुर सहरको बस्तीभित्र र बस्तीबाहिर साना ठुला धेरै दह, कुण्ड र पोखरीहरू छन् । बस्तीभन्दा बाहिरका पोखरीहरूमा तःपुखु (सिद्धपोखरी), नःपुखु (गुह्यपोखरी), भाज्या पुखु (भाजुपोखरी) र न्हु पुखू (रानीपोखरी) छन् भने बस्तीभित्र यातुबहारे पुखु (कमलपोखरी) लगायत अन्य पोखरीहरू छन् । भक्तपुर नगरका सबै वडामा पोखरीहरू छन् । यहाँका अधिकांश पोखरीहरूको पुनर्निर्माण, मर्मत सम्भार भइसकेका छन् । त्यसमध्येको भाज्या (भाजु पुखू) र सो पोखरीको मध्य भागमा निर्माण गरिएको जलेश्वर मन्दिरको उद्घाटन तथा ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनर्निर्माण’ पुस्तकको विमोचन फागुन २५ गते शुक्रबार बिहान ११ः३० बजे एक समारोहबिच हुने भएको छ । उक्त भाज्या (भाजु पुखू) को पुनर्निर्माणसम्बन्धी केन्द्रित रहेर उपभोक्ता समितिमा बसेर काम गर्ने लक्ष्मीनारायण राजलवट र भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीसँग ‘मजदुर’ दैनिकका संवाददाताले सङ्क्षिप्त कुराकानी गरेका थिए ।
भनपा साबिक वडा नं. १७ हाल (वडा नं. १) का भार्वाचो निवासी लक्ष्मीनारायण राजलवटसँगको सङ्क्षिप्त कुराकानी –
– लामो समयको प्रयास र अध्ययनपछि भाजुपोखरीको निर्माण कार्य सम्पन्न भयो, यहाँलाई कस्तो अनुभूति भइरहेको छ ?
पोखरीको काम सम्पन्न भयो, तर, खुड्किलो र डिलको काम पूरा भएको छैन । जति सम्पन्न भयो त्यसमा मलाई आनन्दको अनुभव भइरहेको छ । यस पोखरीको निर्माण कार्य २०५८ सालदेखि सुरु भएको हो । यस वडामा परेका ठुलठुला पोखरीहरूमध्ये भाज्या पुखू पनि एक हो । यस पोखरीको मर्मत सम्भार तथा जीर्णाेद्धारमा संलग्न भएर काम गर्न पाउँदा गर्व लाग्छ ।
– भाजुपोखरीलाई साँच्चिकै पोखरी बनाउने प्रेरणा कसरी मिल्यो ?
सिद्धपोखरी बनिसकेपछि त्यसको व्यापक प्रचार भयो । जनतामा राम्रो सन्देश फैलियो । भक्तपुर नगरपालिकाले आर्थिक सहयोग र निर्माण सामग्रीमा सहयोग गर्ने भएपछि ऐतिहासिक भाजुपोखरीलाई पनि जीवन्तता दिने ध्येयले काम थालनी भयो ।
– यो पोखरीको जीर्णाेद्धार, मर्मतसम्भार या पुनः निर्माणको क्रममा स्थानीय जनसहभागिता या श्रमदान कतिको पाउनुभयो ?
भाजुपोखरीको पुनः निर्माण कार्य २०५८ देखि नै सुरु भएको हो । त्यसबेला १७ वटै वडाका स्थानीयले श्रमदान गरेका थिए । सरसफाइ गर्न उनीहरूले आ–आफ्नै ज्यावलहरू लिएर काम गरे । कतिलाई पिक, साबेल, कुटोजस्ता सामग्रीहरू जुटाउन कठिनाइ भएको थियो । श्रमदान गर्नेहरूले आफ्नो लागि आफैँले खाजाको व्यवस्था गरेका थिए । यो राम्रो पक्ष हो ।
– यो पोखरीको जीर्णाेद्धार, मर्मतसम्भार या पुनः निर्माणको क्रममा प्रदेश तथा सङ्घबाट के कति सहयोग पाउनुभयो ?
सुरु सुरुमा कहीँबाट आर्थिक सहयोग प्राप्त भएको थिएन । ८/९ वर्षपछि पोखरीको डिलमा इँटा छाप्ने काम भयो । २०७७ साल जेठ २६ गते भक्तपुर नगरपालिकाले उपभोक्ता समिति गठन गरी नपाकै पूर्ण आर्थिक सहयोगमा पोखरीको बिचमा रहेको जलेश्वर मन्दिर पुनः निर्माण गरियो । प्रदेश तथा सङ्घबाट आर्थिक सहयोग भने प्राप्त भएको छैन । पोखरीको तल्लो पेटी बनाउन मन्त्रालयबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
– पोखरी निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको टिप्पणी के छ ?
भाजुपोखरी मूल बाटोमा नपरेको हुँदा त्यसको त्यति प्रचार भएन । बाह्य पर्यटकहरूको त्यति आवतजावत देखिँदैन । भक्तपुर बहुमुखी क्याम्पस पोखरीकै परिसरमा परेकोले अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले चासो राख्नु स्वाभाविक हो । घुम्न आउने आन्तरिक पर्यटकहरू ‘आहा ! क्या राम्रो पोखरी’ भन्छन्; रानीपोखरी (न्हु पुखू), सिद्धपोखरी (तःपुखू), गुह्यपोखरी (नःपुखू) कति रमणीय छन् भन्ने गर्छन् ।
– भाजुपोखरीलाई जीवन्तता दिन पानीको के कस्तो स्रोतको व्यवस्था गरिएको छ र त्यसको निकासको बन्दोबस्त छ कि छैन ?
पोखरीमा पानी भर्न सल्लाघारीको डेरी मिलमुनिको तःपाखेबाट बोरिङ गरी ल्याइएको छ । दुई तीन महिनादेखि साढे दुई इन्चको पाइपबाट पानी भर्दै छ । अहिले पानीको लेभल ठिक्क भइसकेको छ । पानी सुक्ने आशङ्काले पानी भर्ने काम छोडेको छैन । हाललाई निकास राखिएको छैन । पहिले पोखरीको पच्छिम–दक्षिण कुनामा निकास राखेको थियो । पानी नअडेको कारण अहिले त्यसलाई बन्द गरिएको छ ।
– पोखरी निर्माणको क्रममा आइपरेका समस्या या कठिनाइबारे केही बताइदिनुहुन्छ कि ?
काम गर्दा साना–तिना समस्या आउँछ नै । बाटोमा हिँड्दा खुट्टामा ठेस लाग्नु स्वाभाविक हो । आइपरेको समस्या साथीहरूसँग राय सल्लाह लिएर, उपभोक्ता समितिको बैठक बसेर समाधान गथ्र्याैँ ।
– भक्तपुर नगरपालिकाको बस्ती बाहिर ठुलठुला पोखरीहरू बनाइनुका कारणहरू के के होला ?
ठुलठुला पोखरीहरूमा तःपुखू, नःपुखू, न्हु पुखू भाजु पुखु, यातुबारे (कमलपोखरी) आदि गनिन्छ । पुराना बस्तीमा यस्ता पोखरीहरू लुगा धुन, नुहाउन, पौड्न, रमणीय बनाउन आगलागी हुँदा निभाउनको लागि पानी ल्याउन प्रयोजनमा ल्याएको देखिन्छ । वरपरको वातावरण रमणीय बनाउन, हावापानी सुख्खा हुन नदिन र सेपिलो बनाइराख्न पनि यसले मद्दत गर्छ । जमिनमुनिको पानीको स्रोतलाई कायम गरी ढुङ्गेधारा, कुवा, इनार आदिमा खानेपानी जुटाउनको लागि पनि यसको महत्व रहेको बताइन्छ ।
अन्त्यमा, केही भन्नुपर्ने छ कि ?
पोखरीको माथिल्लो डिल (पेटी) सम्म पानी भरिसकेको हुँदा सुरक्षाको लागि बार लगाउन पाए सुनमा सुगन्ध हुने विचार व्यक्त भएको पाइन्छ । काम गर्ने सिलसिलामा केही तीतामिठा कुरा सुन्नु परे पनि उपभोक्ता समितिभित्र र बाहिर रहेर आवश्यक साथ, सहयोग र सल्लाह दिने सबै दाजुभाइ, दिदीबहिनी, बुद्धिजीवी, विज्ञ, समाजसेवी तथा सर्वसाधारण जनतालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
Leave a Reply