भर्खरै :

मनमोहक हालोन बे

मनमोहक हालोन बे

भियतनाम यात्रा – ७

लोभ्याउने मोतीको कारखाना
हालोन बे पुग्न २/४ किमि अगाडि एउटा नसोचेको स्थानमा लगियो । ‘नगट्राइ नुआई’ भनिने मोती उत्पादन गर्ने प्रयोगशाला र बिक्री तथा अवलोकन स्थलमा । चार/पाँच वटा लहरै राखिएको टेबलमा मोती उत्पादनको प्रक्रिया लात् नै देखाइयो । सुन, चाँदी, गहना सम्बन्धमा हामीलाई त्यति ज्ञान पनि थिएन, चाख पनि भएन । मोतीको उत्पादनका बारेमा पनि केही पूर्व ज्ञान त झनै थिएन । उक्त प्रक्रियाले नयाँ कुरा सिक्न पाएको महसुस भयो । अङ्ग्रेजीमा अस्टर (Oyster) भनिने एक चेप्टो शङ्खेकीराको भित्री भागमा प्राकृतिकरूपमा उब्जिने सेतो गोलो कडा भाग नै मोती हुँदो रहेछ । परापूर्वकालदेखि मानिसले गहनाको रूपमा लगाइने मोती सा¥है साझा र महँगो गहना मानिन्छ । प्राकृतिकरूपमा पाइने मोतीको आकार सबै सामान र राम्रो नदेखिने रहेछ । सन् १८९३ अथवा आजभन्दा एकसय तीस वर्ष पहिलेसम्म मानिसले प्राकृतिकरूपमा पाइने मोतीमात्र प्रयोग गर्न पाउँथे । तर, सन् १८९३ मा कोकिचि मिकीमोटो भनिने एक जापानी मोतीका व्यवसायीले मानिसले चाहेजस्तो आकार र साइजको मोती पाउन मोती बन्ने प्राकृतिक प्रक्रियाको गहन अध्ययन गर्दै आखिरमा ‘कल्चर्ड मोती’ (कृतिमरूपमा जिउँदो शङ्खभित्र मोती राखेर त्यसबाट आफूले चाहेको मोती निकाल्ने प्रविधि) खेती नै गर्न सकिने तरिकाको विकास गरे । मिकीमोटोको नयाँ प्रविधिले मोतीको उत्पादन, उद्योग र व्यवसायमा नयाँ क्रान्ति नै ल्याएको मानिन्छ ।
मोती उत्पादन गर्ने यस प्रक्रियाको अवलोकन गराइसकेपश्चात् बिक्री र अवलोकन कक्षमा लगियो । मूल्य अङ्कित कागज (Price tag) हेर्दै जिब्रो टोक्दै हामी निस्कियौँ । तर, हाम्रो समूहको दुई जनालाई करिब आधा घण्टा बसभित्रै कुर्नुपर्यो । एक नवविवाहित जोडी दामको थैलो पनि ठुलै थियो क्यारे ! मोतीको गहिराइमै हराएछन् राम्रो मोतीको माला किन्दा किन्दै । मोती उत्पादनको कक्षबाट बस सिधैँ हालोन बेतिर हानियो ।

शङ्ख कीराबाट मोती निकाल्ने प्रयोगशालामा पर्यटकहरूलाई प्रत्यक्ष अवलोकन गराउँदै

मनमोहक ‘हालोन बे’
राजधानी हनोईको उत्तरपूर्वमा अवस्थित समुद्री किनारलाई ‘गल्फ अफ तोकिन’ (Gulf of Tokin) भनिन्छ । भौतिक भूगोलको शब्दावलीअनुसार अङ्ग्रेजी गल्फ (Gulf) र बे (Bay) को अर्थ खाडी हुन्छ जसको अर्थ तीनतिर जमिनले घेरिएको एकातिर खुला समुद्रको भागलाई भनिन्छ । विगत केही वर्षमा यस क्षेत्र विश्वकै पर्यटनको नयाँ गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको छ । हनोईबाट १०२ किमि पूर्वमा पर्ने समुद्री किनारको हाइफोङ्ग सहर हँुदै त्यहाँबाट पनि अझ ३० किमि उत्तर–पूर्वमा पर्ने हालोन अर्को समुद्री किनारको सहर हो । यही सहरको पूर्वतर्फको करिब १५००० वर्गकिमिमा फैलिएको सामुद्रिक क्षेत्र जुन करिब १९६९ वटा साना ठुला टापुहरू छरिएर रहेको अत्यन्त मनमोहक प्राकृतिक क्षेत्र हो । ती १९६९ मध्ये करिब ९०० वटा टापुको नामकरण भइसकेको र अझ धेरैको गर्न बाँकी रहेको छ । यी टापुहरू कुनै थुम्को जस्तै लाग्छ भने कुनै डाँडाजस्ता । कुनै एक आपसमा जोडिएको लामो थुम्कोहरूको मालाजस्तो देखिन्छन् भने कुनै एक्लो डाँडे टापुजस्तो । संसारकै प्राकृतिकरूपमा सुन्दर स्थानहरूमध्येको मानिने यस क्षेत्र हालैका वर्षहरूमा भियतनामको मुख्य पर्यटन स्थलहरूमध्येमा पर्छ ।
अदभूत स्वर्ग दरबार गुफा
हालोन बे अवस्थित क्वान न्हिन प्रान्त क्षेत्रमा ढुङ्गेयुग अथवा करिब ३००,००० लाख वर्ष पहिलेदेखि नै मानव बस्ती रहेको पुरातात्विक प्रमाणहरूले देखाएको दाबी गरिन्छ । भौगर्भिक र जैविकरूपमा अति महत्वपूर्ण र प्राकृतिकरूपमा अति सुन्दर यस क्षेत्रलाई युनेस्कोले सन् १९९४ मा प्राकृतिक विश्व सम्पदाको सूचीमा समावेश गर्यो । जैविक विविधता र पारिस्थितिकीय प्रणालीको दृष्टिकोणले समेत यसको महत्व रहेकोले फेरि सन् २००० मा यसलाई विश्व प्राकृतिक सम्पदाको सूचीमा थप्यो । यस क्षेत्रका टापु, जङ्गल र सामुद्रीक भागहरू सबै गरेर करिब चार हजार नौ सय दस (४,९१०) विभिन्न बोटबिरुवा र जीवको वासस्थान रहेको मानिन्छ । तीमध्ये १९८ जात आइयूसीएनको (IUCN–International Union of Conservation of Nature) लोपोन्मुख सूचीमा परेका छन् ।

हालोन बेको एक थुम्कोभित्रको विशाल स्वर्ग दरबार गुफा

भौगर्भिकरूपमा चुन ढुङ्गाले बनेका यी डाँडे टापुहरूमा चुनढुङ्गा पग्लिँदा र पानीले खियाउँदा विभिन्न साना ठुला गुफाहरू र विभिन्नि आकारका खाल्डाखुल्डीहरूको र अन्य रूपहरू देखिन्छन् । हालोन बेको यात्राको क्रममा सानो कोठे स्टीमरको (३०/४० जना पर्यटकको लागि व्यवस्थापन गरिएको सानो डुङ्गा) सयर गराउँदै घुमाइएका एक डाँडे टापुको नाम थियो – स्वर्ग दरबार गुफा । पोखराको महेन्द्र गुफाको झझल्को दिने गुफा हेर्न २०० मि. जति सिढीँ चढ्यौँ । तर, भित्र जाँदै गर्दा अचम्मकै ठुलो थियो । साँच्चिकै विशाल हलजस्तै देखिने यो गुफा अद्भूत नै लाग्यो । गुफाभित्र पनि अवलोकनकर्तालाई आनन्दले हेर्न र भित्र घुम्न सजिलो गर्न हिँड्ने बाटामा चारकुने ढुङ्गा छापिएको थियो र हरेक कुनामा आवश्यक बत्तीको व्यवस्था गरिएकोले गुफामा होइन एउटा स्वर्गकै दरबारमा पुगेको महसुस हुँदोरहेछ । गुफाका भित्ताहरू चिप्लो र सफा होइन बरु खस्रो तर मूर्तिकारको कुशल हातले बनाएझैँ लाग्ने विभिन्न आकारहरूको अवलोकन गर्दा आश्चर्य र खुल्दुलीको अनुभूति हुन्छ ।
भियतनाम पर्यटन व्यवसायको व्यवस्थापनमा कुशल देखिन्छ । अवलोकन गर्ने कुनै स्थलको प्रवेश क्षेत्र (Entry Point) र बाहिरिने क्षेत्रहरूमा (Exit Point) सफा शौचालयको सुविधा र सोभनियरका सामानहरू खरिद गर्ने तथा चिया चमेना किन्न र अवलोकन गर्ने व्यवस्था पनि राम्रै देखिन्छ । तर, कुनै सामान बेच्नेहरूबाट पर्यटकलाई लखेटी लखेटी सामान किन बाध्य पारेको घटना भने अनुभव गर्नुपरेन ।
हालोन बेसम्म पुग्न निर्माण गरिएका फराकिला हाइवेहरू, हाइवेका विभिन्न स्थानमा एकछिनका लागि गाडीबाट झरेर आराम गर्न, चमेना गर्न र शौचको लागि व्यवस्था गरिएका पार्क र स्टेसनहरू सफा र सुन्दर देखिन्छन् । यस्तै अनुभव सन् २०१३ मा चीनको पेचिङ, शाङ्घाई र इयुको भ्रमणताका र सन् २०१७ मा भारतको उत्तर प्रदेश र विहारको बौद्ध चक्र (सर्किट) को भ्रमणको बेला पनि महसुस भएको थियो । हालोन बेको समुद्रको सयर गर्न डुङ्गा वा क्रुजहरूमा चढाउन बनाइएका टर्मिनल भवनहरू पनि साना र चिटिक्क देखिन्छन् जहाँ उपहारका सामान खरिद गर्न र चमेना गर्ने व्यवस्था पनि थियो । बिहानको खाना (लन्च) करिब १२ बजेतिर गराउँदै हालोन बेको समुद्री किनारको सयरले करिब ५ घण्टा लियो । अरु पर्यटक साथीहरू भन्थे, राति पनि क्रुजको यात्राको व्यवस्था छ जसमा रात्रि खाना र अरु सांस्कृतिक कार्यक्रमहरूको पनि अवलोकन गराइन्छ ।

जापानी उद्यमी कोकीची मीकीमोटो (इन्सेटमा जम्मा गरिएको मोती)

भियतनामको बाँस र बाँसको कपास
भियतनामको राष्ट्रिय फूल कमलको धार्मिक, सांस्कृतिक र दैनिक जीवनमा महत्व रहेजस्तै बाँसलाई पनि भियतनामी जनजीवनको अभिन्न अङ्गको रूपमा लिइन्छ । ठुलठुला आँधीबेहरीमा रुखहरू ढल्ने गर्छन् । तर, बाँसहरू ढल्दैनन् किनभने यसमा लचकताका हुन्छ । आजभोलिको शब्दावलीमा यस्तो विशेषतालाई उत्थानशीलता (Resillient) भनिन्छ । जतिसुकै दुःखकष्ट झेल्नुपरे पनि तुरुन्त तङ्ग्रीन सक्ने क्षमता वा अनूकुलनता छ । भियतनामीहरू साङ्केतिकरूपमा आफूलाई यही बाँसको विशेषतासँग तुलना गर्न रुचाउँछन् । यसबाहेक बाँसलाई निर्माण कार्यहरू, विभिन्न सुन्दर सामानहरू बनाउनका लागि पनि प्रयोग गरिन्छन् । भियतनाम युद्ध ताका विभिन्न भाला, धराप र जाल बुन्न पनि अत्यधिक बाँसको प्रयोग गरिएको मानिन्छ ।
तर, ‘हालोन बे’ (हालोन खाडी) अवलोकन र समुद्री सयरपछि यही बाँससँग सम्बन्धित स्थानको अवलोकन गर्न लगियो । अनुमान भइहाल्यो, हामीकहाँ जस्तो बाँसका कप्टेरो, ¥याक, कफिटेबल आदि बाँसका कलासँग सम्बन्धित कुराहरूकै कारखानामा अवलोकन गराइने भयो । तर, अनुमानविपरीत बाँसको फाइबरले बनेका कपडाबाट बनेका लुगाफाटाहरूको बिक्री कक्षमा लगियो । बिक्री कक्षमा लगिनुपूर्व बाँसको फाइबर र सामान्य कपासमा के भिन्नता छ भन्नेबारेमा एउटा सानो हलमा राखेर डेमो गरियो । प्रयोगात्मक तरिकाले दुईवटा छुट्टाछुट्टै पानीको ग्लासमध्ये एउटा ग्लासमा एक डल्लो कपास र अर्को ग्लासमा त्यत्तिकै मात्राको बाँसको फाइबरको डल्लो राख्यो । कपासको डल्लो पानीको सतहमै तैरिरह्यो र फाइबारको डल्लो एकै छिनमा ग¥हौँ भएर ग्लासको पिँढमा पुग्यो । प्रमाणित गर्न खोजेको– कपासले बनेको सामान्य कपडाले भन्दा बाँसको फाइबरले बनेको कपडाले चाँडै र धेरै पानी सोच्छ । साथै, बाँसको फाइबरले बनेको कपडा लगाउँदा छालाको एलर्जी नहुने, यस्तो फाइबरको मोजा लगाउँदा नगन्हाउने, गर्मीमा शरीरबाट ताप बाहिर फाल्ने र जाडोमा भित्र सोसी राख्ने भएकोले सामान्य कपडाभन्दा यसको उपयोगिता धेरै भएको जानकारी गराइयो र पछि बिक्री कक्षमा लगियो । नितान्त नयाँ र वैज्ञानिकजस्तो लागेकोले प्रयोग गरेर हेर्ने मनसायले हामी सबै साथीभाइ मिलेर मोजा, तौलिया, घाँटी, घुँडा, हातमा लगाउने बेल्ट, सर्ट आदि सामान खरिद गरी घरमा पुगेर यसको प्रयोगको सपना बुन्दै हामी बाहिरियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *