भर्खरै :

विद्यार्थीलाई राम्रो शिक्षा दिएर सुसंस्कृत र देशभक्त बनाउनु जरुरी

विद्यार्थीलाई राम्रो शिक्षा दिएर सुसंस्कृत र देशभक्त बनाउनु जरुरी

भक्तपुर, २९ फागुन । गणेश माध्यमिक विद्यालयको मङ्गलबार ४३ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो ।
उक्त समारोहको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले विद्यार्थीलाई राम्रो शिक्षा दिएर सुसंस्कृत र देशभक्त बनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षकले विद्यार्थीलाई तान्नेभन्दा विद्यार्थीले शिक्षकलाई तान्ने अर्थात् विद्यार्थीले एउटा पाठ बुझेपछि मात्र अर्को पाठमा प्रवेश गर्ने शिक्षण विधि जरुरी छ । शिक्षकहरूले विद्यार्थीको सिकाइ कक्षाकोठामा सीमित नगराई पाठ्यपुस्तक र सन्दर्भ पुस्तकसमेतका विषयलाई समेटेर व्यावहारिक शिक्षा दिनु जरुरी छ ।”
उहाँले नेपाली विद्यार्थीहरूको सिकाइस्तर औसत ५० प्रतिशत मात्र रहेको तथ्याङ्क भएकोले कम्तीमा ९० प्रतिशत पु¥याउनु जरुरी रहेको आवश्यकता औँल्याउँदै विद्यार्थीले पढ्ने पाठ्यपुस्तक लेखनमा महिलाको १६ प्रतिशतमात्र भूमिका रहेको र पाठ्यपुस्तकमा महिलालाई खाना पकाउने, लुगा धुने र बच्चा हेरचाह गर्ने तस्बिरमा मात्र सीमित गरिएकोमा आलोचना भइरहेको बताउनुभयो ।
सांसद सुवालले नेपाललाई ४ वर्ण ३६ जातको फूलबारी भनिए पनि जातीय र वर्गीय दमन कायम रहेको उल्लेख गर्दै अभिभावकहरूले पनि छोराछोरीमाथि भेदभाव नगरी समान व्यवहार गर्नु जरुरी रहेको बताउनुभयो ।
सांसद सुवालले कक्षा १० को नेपाली विषयको पाठ्यपुस्तकमा अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोराको विद्यालयका प्राचार्यलाई छोराको बारे लेखेको चिठी सत्य नभएको सन् २००१ मा पुष्टि भए पनि पाठ्यपुस्तकमा हालसम्म यथावत राखिएको बारे आलोचना भइरहेको, सोही कक्षाको पुस्तकको ‘घरझगडा’ शीर्षकमा “वास्तवमा नायबी सिनोको निम्ति मरिमेट्ने गिद्ध म होइन” हुनुपर्नेमा “नायबी सेनाका निम्ति मरिमेट्ने गिद्ध म होइन” उल्लेख गरिएको, कक्षा १० को सामाजिक शिक्षा रिडमोरको पृष्ठ १४९ मा ‘बाँदर र बाघको उद्गम थलो’ जर्मनी भनेर उल्लेख गरिएको तर अध्ययनले दक्षिण एसियाली देशमा बाँदर र बाघ पाइने तथ्य फेला परेको बारे पनि आलोचना भइरहेको बताउनुभयो ।
“सरकारहरूले कक्षा १२ मा उत्तीर्ण लाखौँ विद्यार्थीलाई आमाबुबाको घरखेत बेच्न लगाउँदै विभिन्न देशमा पढ्न पठाउँदै छन् । नेपालका ५–६ सय कलेजहरू विद्यार्थी अभावमा बन्द हुने अवस्था छ । सरकारहरूले वर्षमा लाखौँ नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा १७१ भन्दा बढी देशमा सस्तो ज्यामी बन्न पठाएका छन् । परराष्ट्र मन्त्रालयले युवालाई पासपोर्ट मात्र दिएर हुन्न, देशमै रोजगारी दिनुपर्छ । सरकारले नेपाली युवालाई अन्य देशमा लड्न र मर्न पठाउनु हुँदैन । नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती बन्द गर्नुपर्छ” सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले शासक दलका नेताहरूको कारण काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहर बनेकोतर्फ सचेत पार्दै भएभरका जनतालाई काठमाडौँ उपत्यकामा मात्र नथुपारी जिल्ला–जिल्लामा शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधारहरूको पहुँच पु¥याएर देशको सन्तुलित विकास गर्नु जरुरी रहेको बताउनुभयो ।
भारतीय विस्तारवादले नेपालको प्राकृतिक स्रोत, साधन कब्जा गरेको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “नेपालको नदीनालाबाट बिजुली उत्पादन गरेर नेपाली जनतालाई सस्तोमा दिई भारतीय ग्यास विस्थापन गर्नुपर्छ ।”
सांसद सुवालले चाँगुनारायण नपा ७, बागेश्वरीस्थित भङ्गेरी डाँडामा खेलमैदान बनाउने नाममा डोजर चलाएर वन विनाश गरेकोतर्फ चानपाका प्रमुखको ध्यानाकर्षण गराउँदै नगरकोट र बागेश्वरीको वनक्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्नु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरभित्र रहेका सबै सामुदायिक विद्यालयलाई अब्बल विद्यालय बनाउन नपाले विशेष चासो दिएको उल्लेख गर्दै आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको शैक्षिक, भौतिक स्तर उठाउन र विद्यालय व्यवस्थापनले भोगिरहेको समस्यालाई न्यूनीकरण गर्न आवश्यक सुधारका कार्यक्रमहरू ल्याउने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछेभक्त फोजूले तत्कालीन पञ्चायती सरकारको पालामा विद्यालय स्थापनाका निम्ति सिफारिस लिन र जिशिकाबाट स्वीकृति लिन निकै कठिनाइ झेल्नु परेको स्मरण गर्दै २०४५ सालको भूकम्पपछि पक्की भवन निर्माण गर्ने क्रममा भूकम्प पुनःस्थापना परियोजनाका कर्मचारी र प्लान इन्टरनेशनलका कर्मचारीले व्यक्तिगत लाभका लागि दिएको दुःख सम्झँदा अहिले पनि पीडा महशुस हुने गरेको बताउनुभयो ।
तत्कालीन प्रहरी प्रशासन र शिक्षाविरोधी भ्रष्ट पञ्चहरूले शिक्षकहरूलाई विभिन्न आरोप लगाई अमानवीय दुःख दिई विद्यालयको छाना छाउन राखिएको जस्तापाता, विद्यार्थीको पौष्टिक आहारसमेत चोरी गर्न लगाई दुःख दिएको पनि अध्यक्ष फोजुले स्मरण गर्नुभयो ।
उहाँले अनेक कठिनाइ भए पनि विद्यालय आजको अवस्थासम्म आइपुग्नुमा अभिभावक तथा अग्रज योद्धाहरूको अतुलनीय योगदान रहेको चर्चा गर्नुभयो ।
उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक इन्द्रबहादु फोजुले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभयो भने विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मिनबहादुर बाटा, विद्यालयका पूर्वप्रधानाध्यापक रत्नबहादुर ह्यौँमिखा, शिक्षा विकास समन्वयका कमला ज्ञवाली, चाँगुनारायण नगर शिक्षा विकासका प्रमुख वीरबहादुर खड्का, संयुक्त परीक्षा समितिका प्रतिनिधि राजाराम छुकां, शिक्षक रामकृष्ण त्यातलगायतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा जनगायक विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो भने दीनानाथ पोख्रेलले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि प्रेम सुवालले विद्यालयको स्मारिका २०८० विमोचन गर्नुभयो भने विद्यालयका संस्थापक बुद्धिकुमार गोसाई र आशाकाजी बासुकला, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, भूतपूर्व प्रधानाध्यापक, २५ वर्ष सेवारत शिक्षक एवम् कर्मचारी, १० वर्ष विद्यालयमा सेवारत शिक्षक र उत्कृष्ट अभिभावकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । उद्घाटन सत्रपछिको दोस्रो सेसनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *