भर्खरै :

उफ ! मोटोपनको यो महामारी

उफ ! मोटोपनको यो महामारी

मेरा एक मित्रकी छोरी १६ वर्षकी भइन् । उनको तौल झन्डै सय केजी छ ।
पहिले माया गरेर छोरीले मागेजस्तो बजारिया र महँगो खाना दिँदा दिँदा छोरीले घरको खाना नै खान छोडेकी हुन् । चाउचाउ, कोकाकोला र फ्यान्टा उनको खाना हुन्थ्यो । खाजा पनि बिस्कुट र कुरमुरे आदि हुन्थ्यो । उनमा यस्तो कुराको लत बस्दै गयो । उनको तौल अस्वाभाविकरूपमा बढ्दै गयो । अहिले उनी अनेक समस्याबाट पीडित छिन् ।
स्वास्थ्यमा समस्या देखिनुमा हाम्रो हात हुँदैन तर कतिपय स्वास्थ्य समस्याचाहिँ हाम्रै बानी, व्यवहार, भोजन र जीवनशैलीका कारण निम्तिएका हुन्छन् । हाम्रो खानपानमा आएको परिवर्तनले साना बालबालिकादेखि वयस्कसम्म समस्यामा छन् । म भान्छामा गएर सायद स्वादिष्ट खाना त बनाउन सक्दिनँ तर खान हुने स्वस्थकर खानाचाहिँ बनाउन सक्छु ।
प्रत्येक आमाबुबालाई मैले भन्ने गरेकी छु, “तपाईंले आफ्नो सन्तानलाई स्वस्थकर खाना खाने बानी लगाइदिनुभयो, स्वस्थकर खाना कसरी बनाउने भनेर व्यावहारिकरूपमा सिकाइदिनुभयो भने यो उनीहरूका लागि एक ठुलो शिक्षा र सम्पत्ति हुनेछ ।”
तपाईंका बालबालिका देश विदेश जहाँ गए पनि आफैं स्वस्थकर खाना खुवाउन सक्नेछन् । यसकारण, उनीहरूको पैसा बचत हुन्छ र शरीर स्वस्थ हुन्छ । उनीहरू काम गर्न सक्छन् ।
कति आमाबुबाले “हामी त छोराछोरीलाई भान्छाको काम लगाउँदैनौँ, उनीहरूलाई त चिया पनि राम्रोसँग पकाउन आउँदैन” भनेर बडो गर्वपूर्वक सुनाउँछन् । यो गर्व गर्ने विषय होइन, लज्जाको कुरा हो । बाल्यकालदेखि नै भान्छामा सहभागी हुन सन्तानलाई प्रेरणा दिइरहनुपर्छ । खाना बनाउनु एउटा कला हो, पाँचतारे होटेलको जस्तो बनाउन सबैले सक्दैनन् र जरुरत पनि छैन । तर, साधारण खाना बनाउन जान्नु निकै राम्रो हो । अहिले वैदेशिक रोजगारमा जानेहरू आफूसँगै चाउचाउ लिएर जान्छन् । दिनभर काम गरेर कोठा फर्किएपछि चाउचाउ उमालेर खान्छन् । अनि, अस्वस्थ हुन्छन् ।
यस्ता विभिन्न कारणले मानिस अस्वस्थ भएकाले पोषणबारे लेख्न जरुरी भएको हो । अहिले कति अभिभावक स्वास्थ्यप्रति सचेत छन् । “तपाईंले पोषणहीन खाना दिँदा उनीहरूलाई विषालु माया दिएजस्तै लाग्छ । बालबालिकाले रोएर माग्यो भने तपाईं चुरोट र रक्सी त दिनुहुन्न नि । जङ्क फुड पनि त्यस्तै हो, लागूपदार्थजस्तो ।
सरकारी र निजी अस्पतालका क्यान्टिनमा प्याकेट बन्द पत्रु खाना, केक, चिसो पेयपदार्थ धमाधम बेचिन्छन् । मानिसहरू मुटु र मिर्गौला खराब पार्ने तिनै वस्तु धमाधम खाइरहेका हुन्छन्, अस्पतालभित्र परिवारका कुनै सदस्यको मुटु वा मिर्गौलाको उपचार चलिरहेको हुन्छ ।
पत्रु खानाको वर्चस्व कस्तो छ भने, यसलाई विशिष्ट र आकर्षक परिकार मान्दै महत्वपूर्ण जमघटमा छुटाइँदैन । अरूको के कुरा, विभिन्न मन्त्रालयका बैठकहरूमा खाजा राख्दा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस राख्छन् । त्यस्ता बैठकमा सहभागी हुँदा म त्यस्तो खाजा बहिष्कार गर्छु । तर, सरकारी कर्मचारी, मन्त्रीगण, नेता स्वादको भुलभुलैयामा लागेर आफू र अरूलाई रोगी बनाउन उद्यत छन् । त्यस्तो खानपानकै कारण होला, प्रायः नेपाली नेताहरू नसर्ने रोगबाट पीडित छन् ।
समाजका यी ‘ठुलाबडा’ र अभिभावकको खानपान अभ्यास, विज्ञापन बजार आदिकै प्रभावले होला, हाम्रा बालबालिका त्यही सिकेर ‘पत्रु खाना’ को कुलतमा परेका छन् । यसले बालबालिकालाई सानैदेखि दीर्घ रोग हुने जोखिम बढेको छ । बालबालिका दीर्घ रोगले घेरिए परिवार र समाजमा मात्र होइन, देश विकासमै समस्या पर्छ । त्यसैले, स्वास्थ्य क्षेत्रमा छुट्याउने बजेट ‘रोग नलागोस् भनेर रोकथामका कार्यक्रममा पनि खर्च गरिनुपर्छ ।
शिक्षकले नै केटाकेटीसामु पसलमा “लौ त साहुुजी चाउचाउ छिटो पकाइदिनू”, “साहुुनी ‘चिसो’ दिनु त” भनेको कति सुनिएको छ । त्यसैले बालबालिकालाई मोटोपन र कुपोषणबाट बचाउने हो भने शिक्षक, अभिभावक सबै जना सजग हुनुपर्छ, आफ्नो आहारविहार सुधार्दै स्वस्थकर खानाको बानी बसाल्नुपर्छ ।
वगलप खानाका कारण बालबालिकामा बढिरहेको मोटोपनको ‘महामारी’ विरुद्ध लड्न घरेलु पौष्टिक खानेकुराको प्रवद्र्धन गर्ने, पत्रु खानाको विज्ञापन नियन्त्रण गर्दै लैजाने, स्वास्थ्य क्षेत्रको बजेट रोगको रोकथाममा खर्चने जस्ता सरकारी अग्रसरता आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *