भर्खरै :

के गल्ली नगर होइन ?

के गल्ली नगर होइन ?

‘सुँगुरको खोरजस्तो भक्तपुर’ आज सफा नगरमा परिणत भएको छ । तर, सफाइ भनेको मौसमी र आवधिक होइन, दैनिक हुनुपर्छ । त्यसैले भक्तपुर सफा भयो । यो सफा जनप्रतिनिधिको कारण भयो कि सफाइ कर्मचारीको कारण ? मलाई लाग्छ, जनप्रतिनिधि र सफाइ कर्मचारीको होस्टेमा नगरवासीको हैँसेको कारण भएको हो । त्यसैले यसको श्रेयका हकदार ती नै पक्ष हुन् ।
तर, कतिपय सफाइ मजदुरमा उसैले गरेरमात्र सफा भएको भन्ने मात चढेको छ । यथार्थमा जनप्रतिनिधि फेरिन्छन्, सफाइ कर्मचारी जान्छन्–आउँछन् तर नगरवासी स्थायी हुन्छन् । नगरवासीमा सफाइप्रति आएको सचेतताकै कारण भक्तपुर सफा भएको भन्दा अतिशयोक्ति हुनेछैन ।
अहिले सफाइको काम, फोहोर सङ्कलनको काममा कहीँकतै समस्या देखिन थालेको छ । कुनै भित्री सडक, गल्लीमा बाटो बनाउने, ढल निकासको काम भयो भने हप्तौँसम्म फोहर सङ्कलन गर्नै आउँदैन । काम सके पनि ‘बाटो बिग्रेको छ’ भनी सङ्कलकहरू पन्छिन खोज्छन् । कुनै चौबाटोमा एकैछिन ‘यो नगर भक्तपुर…’ बजाउँछन् र कुदिहाल्छन् । घरबाट फोहोरको बाल्टिन लिएर दौडँदा पनि भेटाउन सकिन्न । भेटाएको दिन बाटो बनिसक्यो, एकैछिन कुर्नुस् भन्यो भने ‘चित्त नबुझे जहाँ सक्छ त्यहाँ उजुर दिनु’ भनी ठाडो जवाफ दिन्छ । केही कारबाही नहुने भएकैले त्यस्तो फूर्ति गरेको हो कि ? अनि जवाफ मुखले मात्र दिने कि टोलवासी, गल्लीवासी एकगठ भएर ‘तगडा जवाफ’ दिने ? के गल्ली नगर होइन ? गल्लीवासी नगरवासी होइनन् ? गल्लीवासीले सफाइकर तिर्दैनन् ? कर्मचारीहरूको संस्कार त्यस्तो हो कि ? संस्कृति बनाउन नसकेको हो ?
समग्रमा भक्तपुर नपाले के बुझ्नुपर्छ भने अभद्रताको जवाफ भद्रता नै हुन्छ भन्ने छैन । भक्तपुरका मूल सडकका साथै गल्ली पनि सफा हुनुपर्छ । बजार र गल्लीका नगरवासीको सेवाको लागि कर्मचारी हो, कर्मचारीको धम्की र असभ्य व्यवहार व्यहोर्न नगरवासी बाध्य छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *