भर्खरै :

महिलाहरूको स्वास्थ्यमा क्यान्सरको अवस्था र केही रोकथामका उपायहरू

महिलाहरूको स्वास्थ्यमा क्यान्सरको अवस्था र केही रोकथामका उपायहरू

शरीरको कुनै पनि भागमा अनियन्त्रितरूपमा कोषिकाहरू बढ्दै गएर नजिक रहेको अङ्गलाई असर पु¥याउनु क्यान्सर हुनु हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हुने मृत्युमध्ये क्यान्सर रोगबाट हुने मृत्यु दोस्रो स्थानमा पर्दछ । क्यान्सर बाल्यअवस्थादेखि बुढेसकालसम्म कुनै पनि उमेर समूह र महिला तथा पुरुषमा शरीरको कुनै पनि अङ्गमा हुनसक्ने रोग हो । नेपालमा प्रतिवर्ष हुने कुल मृत्युको ९ प्रतिशत क्यान्सरको कारणले हुने गर्दछ । यही कारणले पनि क्यान्सर एक चुनौतीको रूपमा रहिआएको छ । क्यान्सर हुनुका कारणहरूमा आफ्नो दैनिक जीवन शैली, चुरोट बिडीजस्ता सुर्तीजन्य पदार्थहरूको सेवन, मद्यपान, विभिन्न किसिमका भाइरस, ब्याक्टेरियाको सङ्क्रमण, विभिन्न किसिमका रसायनिक तथा बिकिरणको प्रभाव र वंशाणुगत पर्दछ ।
विश्व स्वास्थ्य सङ्गठनअनुसार विश्वमा सबैभन्दा धेरै हुने क्यान्सर फोक्सोको हो । त्यस्तै, स्तनको क्यान्सर दोस्रो स्थानमा पर्दछ । नेपालको सन्दर्भमा पनि फोक्सोको क्यान्सर पहिलो स्थानमा आउँछ, जुन करिब १४.२ प्रतिशत हो । त्यस्तै, पाठेघरको मुखको क्यान्सर करिब ११.२ प्रतिशत दोस्रो स्थानमा र स्तनको क्यान्सर करिब ७.९ प्रतिशत तेस्रो स्थानमा पर्न आउँछ । महिलामा मात्र हुने क्यान्सरको तथ्याङ्क हेर्दा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर (करिब ६.९ प्रतिशत) विश्वमा चौथो स्थान तथा नेपालको तथ्याङ्कमा प्रथम स्थानमा पर्दछ । त्यस्तै, सन् २०२० को तथ्याङ्कअनुसार विश्वमा महिलाहरूमा हुने स्तन क्यान्सर पहिलो स्थानमा पर्न आउँछ जुन करिब २५.८ प्रतिशत छ । स्तन क्यान्सर पुरुषमा पनि ०.५ देखि १ प्रतिशत हुनसक्ने सम्भावना रहेको देखिन्छ ।
स्तन क्यान्सर हुनुको मुख्य कारणहरूमा उमेर बढ्नु, कम उमेरमा महिनावारी सुरु हुनु, वंशानुगत ढिलो बच्चा पाउनु, महिनावारी सुक्न ढिला हुनु, कुनै पनि गर्भवती नभएको महिला तथा पहिले एउटा स्तनको क्यान्सर हुनुपर्दछ । दुवै स्तनको आकारमा फरक आउनु, छालाको रङ्गमा फरक हुनु, मुन्टोभित्र पस्नु, देखिने गरी स्तनमा गाँठा आउनु तथा मुन्टोबाट रगत पिप निस्किनु स्तन क्यान्सरका मुख्य लक्षणहरूमा पर्दछ ।
स्तन क्यान्सर सुरुमै पत्ता लगाउन सकेमा पूर्णतया उपचार हुने रोग हो । त्यसकारण, हरेक महिलाले आफू महिनावारी भएको ४ देखि ७ दिनभित्र स्तनलाई छामेर आत्म परीक्षण गर्नुपर्दछ । परीक्षणको क्रममा सबभन्दा पहिला ऐनाको अगाडि आफ्नो नाङ्गो छातीलाई आकार तथा कुनै किसिमको छालाको रङ्ग परिवर्तन आएको छ छैन हेर्ने गर्नुपर्दछ । त्यसपछि स्तनको कालो भागदेखि चारैतिर काखीको मुनिसम्म छाम्दै गर्नुपर्छ र पालैपालो दुवै स्तनको जाँच गर्नुपर्छ । यदि कुनै पनि लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । स्तन क्यान्सर वंशानुगत पनि हुने भएकोले परिवारको कुनै सदस्य स्तन क्यान्सर भएको भए BRCA1, BRCA2 भन्ने वंशानुगत जाँच गर्नुपर्छ । हरेक महिलाले आफू ४५ वर्ष पुगेपछि मामोग्राम (स्तनको एक्स रे) गर्नुपर्छ, जसले छामेर नभेटाएका सानो सानो गिर्खा पनि पत्ता लगाउन मद्दत गर्छ ।
महिलामा हुने अर्को महत्वपूर्ण अङ्ग पाठेघरको मुखको क्यान्सर कमजोर आर्थिक अवस्था भएका देशहरूमा धेरै पाइएको छ । पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma Virus पुरुषबाट महिलामा यौन सम्पर्कबाट सर्ने गर्दछ । यसका लक्षणहरूमा नियमित महिनावारीको बिचमा महिनावारी सुक्नु, यौन सम्पर्क पछि रगत देखापर्नु, योनीबाट गन्हाउने पानी बग्नु, ढाड दुख्नु, योनीमा असहज अनुभव गर्नुका साथै खाना रुचि नहुनु, थकाई लाग्नु, तौल घट्नु आदि पर्दछ ।
पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन हरेक महिलाले आफ्नो उमेर ३० वर्षपछि Pap Smear Test गर्नुपर्छ । यो परीक्षण सानो ब्रुसले पाठेघरको मुखको केही पदार्थ निकालेर गर्ने जाँच हो । यो जाँच प्रत्येक ३ देखि ५ वर्षको बिचमा गर्नुपर्दछ । Pap Smear Test महिनावारी भएको ७ देखि १४ दिनसम्ममा गर्नुपर्दछ भन्ने परीक्षण गर्नु २ दिन अगाडि कुनै पुरुषसँग यौन सम्पर्क गर्नुहुँदैन । Pap Smear Test ले कुनै कोषिकाको क्यान्सर हुनु पूर्वको अवस्था पनि बताउँछ र थप उपचारमा मद्दत गर्दछ ।
यो क्यान्सरबाट जोगिन किशोरीहरूको उमेर ९ देखि १४ सम्मका लागि Human Papilloma Virus खोप लगाउँदा धेरै प्रभाकारी हुन्छ । दुई मात्रामा हुने यो खोप सुरुको मात्राको ६ देखि १२ महिनाभित्र दोस्रो मात्रा पाखुरामा लगाइन्छ । १५ वर्षपछि तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई यो खोप ३ मात्रा दिइन्छ । सुरुको खोपको मात्राको १–२ महिनापछि दोस्रो र त्यसको ६ महिनापछि तेस्रो मात्रा लगाइछ ।
क्यान्सरको उपचार प्रविधिमा शल्यचिकित्सा, केमोथेरापी र रेडियोथेरापी पर्दछ, जुन एकदमै खर्चिलो छ । नेपालजस्तो निम्न आयस्रोत भएको देशमा नियमित स्वास्थ्य परीक्षण प्रभावकारी नहुँदा जटिल अवस्थामा मात्र क्यान्सर रोग पत्ता लाग्ने भएकोले यो रोग चुनौतीपूर्ण रहेको छ । त्यसैले, क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपचार गर्न सकेमा पूर्णतया निको हुने भएकोले नियमित स्वास्थ जाँच गर्नुको साथै आफ्नो खानपिन तथा स्वस्थकर जीवनशैली अपनाउनु अति आवश्यक छ ।
(लेखक सुरेश वाग्ले क्यान्सर केन्द्र, त्रि. वि. शिक्षण अस्पतालमा आबद्ध हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *