भर्खरै :

हेपिएका पौष्टिक पदार्थ र उखान

हेपिएका पौष्टिक पदार्थ र उखान

‘हरे राम, कस्तो फर्सी जस्तो भ्यात्त परेको नमीठो तरकारी’ भन्छौँ हामी प्याच्च । कतिजनाले त फर्सीसँग पनि कसरी भात खाने, केही मोठो नै हुँदैन भनेका पनि सुनेकी छु । तर, यदि फर्सीको पौष्टिकताबारे थाहा पाउने हो भने यस्तो विचार बदलेर हामीले ‘वाह कस्तो फर्सी जस्तो पौष्टिक ¤’ भन्थ्यौँ होला ।
फर्सीको प्रयोगले आँखा बलियो बनाउँछ भन्ने कुरा सबैलाई थाहा भए पनि तराईतिर धेरै बालबालिकालाई फर्सीको परिकार धेरै ख्वाइँदैन । तर, आँखाको समस्याबाट बच्न भिटामिन ‘ए’ दिइन्छ ५ वर्षमुनिका बालबालिकालाई । तर, यसरी औषधि दिँदा घरका छानामा राखेका फर्सी बालबालिकालाई खान देऊ, यसले उनीहरूलाई स्वस्थ र सबल बनाउँछ भनेर न कसैले भन्छ । न त त्यसबारे छलफल नै हुन्छ ।
फर्सी वास्तवमा पौष्टिकताले भरिपूर्ण हुन्छ । यसमा भएको सूक्ष्म पोषक तत्वबारे धेरै अध्ययन÷अनुसन्धान भएका छन् । फर्सीको सुप धेरै प्रयोग गरिन्छ । नेपालमा फर्सीको पनि सुप हुन्छ र भनेर नाक खुम्चाउने चलन छ । तर, अब फर्सीलाई हेर्ने दृष्टिकोण बदलेर भिटामिनका चक्की, भिटामिन ए क्याप्सुल होइन कि फर्सीको सुप, फर्सीको तरकारी खाने गरे फाइदा हुन्छ भनेर विचार गर्ने बेला भएन र ?
‘आलु खाएर पेडाको धाक’ उखान नेपाली जनजिब्रोमा धेरै पहिलेदेखि नै जरा गाडेर बसेको छ ।
यो उखानले आलुभन्दा पेडा खानु राम्रो भन्ने आशय जगाउँछ । तर, वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने वास्तविकताचाहिँ योभन्दा ठीक उल्टो छ । आलु निकै पौष्टिक पदार्थ हो जबकि पेडा चिनीले बनाएको एकछिन खाँदा स्वाद लाग्ने तर दाँत र पेट बिगार्ने वस्तु हो । हामीकहाँ बिहान बेलुका भात खाएझैँ कति युरोपली मुलुकमा आलु प्रयोग गरिन्छ । बच्चालाई उसिनेर, भुटेर, आलुलाई पिसेर हाम्रो भाषामा हलुवा बनाएर दिइन्छ । आलुमा शक्ति दिने तत्वका साथै केहीमात्रामा म्याग्नेसियम लौह तत्व, रेशादार पदार्थ पनि हुन्छ । नेपालका केही भागमा काँचो आलु कोतरेर अचार बनाएर खाने चलन पनि छ । जाँचमा आलु खायौँ भनेर असफलता दर्शाउन प्रयोग गरिने कारण पनि आलुको महत्व नबुझेरै हो । त्यसैले आलुको विषयमा अब घोत्लिएर सोच्ने बेला आएको छ । योचाहिँ राम्रो भोजन हो भन्ने विचारले आलुलाई प्रयोग गर्ने कि ?
अब त पेडा खाएर आलुको धाक भन्ने भनाइ अघि बढाउने हो भने आलुको महत्व जनमानसमा अझ घुस्थ्यो कि ?
त्यसैगरी, ‘भटमास वा कोदो खाने बुद्धि’ भनेको पनि सुनिन्छ कहीँकहीँ त । कुनै मानिसले मूर्खतापूर्ण कुरा ग¥यो भने यस्ता शब्द प्रयोग गरिन्छ । वास्तवमा भट्ट अर्थात् भटमास र कोदो दुवैले मानसिक र शारीरिक स्वास्थ्य राम्रो पार्छ । भट्टमा त धेरै प्रोटिन, क्याल्सियम र र कोदोमा पनि शरीरलाई ऊर्जा दिने वस्तुका साथै लौह तत्व रेशादार पदार्थ वस्तु पाइन्छ । यी वस्तुको प्रयोग गरियो भने बालबालिकालाई कुपोषण हुन पाउँदैन । त्यसैले अब ‘भट्ट वा कोदो खाएर तेजिलो भएछ’ भन्नेतर्फ पो मोड्नुपर्छ कि यो भनाइलाई !
‘जात फाल्नु गहतको झोलमा’– हाम्रो समाजमा प्रचलित उखान हो । योे उखानले पनि गहत केही काम नलाग्ने खानेकुरा रहेछ भन्ने ज्ञान दिएजस्तै लाग्छ । तर, गहत प्रोटिन र सूक्ष्म पोषक तत्वले भरिपूर्ण हुन्छ भन्ने कुरा हामीलाई विज्ञानले बताएको छ । यद्यपि, सुदूरपश्चिममा गहत धेरै प्रयोग हुन्छ । गहतानी भने स्वादिष्ट भोजन गहत र मासबाट बन्छ र भातसँग खाँदा बडो मीठो हुन्छ । यो पौष्टिकताले पनि भरिपूर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *