भर्खरै :

पत्रकारिता र राजनीति

पत्रकारिता र राजनीति

शारीरिक वा बौद्धिक श्रम गरेर वा कुनै मजदुरीद्वारा जीवनयापन या जीवन निर्वाह गर्ने या श्रम गर्ने व्यक्ति श्रमजीवी हुन् । बौद्धिकरूपमा श्रम गरेर जीवन निर्वाह गर्ने पत्रकार श्रमजीवी पत्रकार हुन् । सार्वभौमसत्ता, अखण्डताको संवद्र्धन गर्दै देश र जनताको हित हुने समाचार लेख्ने, प्रसारण गर्ने, सूचना प्रवाह गर्ने, समाजको उत्थान गर्ने, नागरिकको नैतिक र चारित्रिक भावनालाई आघात नपार्ने खबर प्रसारण गर्नु पत्रकारिताको मूल लक्ष्य हो । समुदायको भावना, पीडा, विचार, व्यवहार र मुद्दाहरूको अग्रगामी चित्रण गर्ने काममा सञ्चार या पत्रकारिताको अहम् भूमिका हुन्छ ।
चिकित्सकले बिरामीको चिरफार गर्दा मिलेन भने बिरामीमा थप आघात पर्छ भनेझैँ पत्रकारले गलत सूचना प्रवाह गरेमा त्यसले समुदायमा नकारात्मक असर पार्छ । पत्रकारले पेसागत कामलाई पद र शक्तिको दुरूपयोग गरी गलत समाचार सम्प्रेषण गर्नु पत्रकारिताको मर्मविपरीत हुन्छ । प्रेस स्वतन्त्रता अराजकता फैलाउने, साम्प्रदायिक भावना फैलाउने, जातीय द्वन्द्व निम्त्याउने, भ्रष्टाचारी, ठग, अपराधी, कालाबजारीहरूको पक्षपोषण गर्ने लाइसेन्स होइन । यसकारण, पत्रकारहरू इमानदार हुनुपर्छ, आफ्नो पदको ख्याल गर्नुपर्छ र पत्रकारिताले जनताको विश्वास जित्नुपर्छ । पत्रकारले आफ्नो प्राप्त पद, अधिकार र अवसरको दुरुपयोग गर्नु मनासिब होइन ।
कति सञ्चारकर्मीहरू पत्रकारको काम पत्रकारिता गर्नु हो, राजनीति गर्नु होइन भन्छन् । तर राजनीति गर्नुहुँदैन भन्ने कनिष्ठ र वरिष्ठ पत्रकारहरू नै प्रत्यक्ष या अप्रत्यक्ष, चाल पाइकन या नपाइकन आफ्नो हरेक बोली, लेखन र गतिविधिमा राजनीति भिजिरहेका हुन्छन् । एउटा साधारण खेताला, मजदुर, शिक्षक, लेखक, कवि, कलाकार, गायक, नायक–नायिका, उद्योगी, व्यापारी, कर्मचारी, सेना, प्रहरी या अन्य व्यक्ति राजनीतिबाट प्रभावित हुन्छन् या राजनीतिले छोएको हुन्छ भने हरेक दिन राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद, प्रशासनिक क्षेत्रमा भिजिरहने पत्रकार कसरी राजनीतिबाट अलग हुन्छन् ? तिनै परिवेशको समाचार, लेख छापिरहने पत्रिका, पत्रकार या पत्रकारिता कसरी राजनीतिबाट अलग्ग हुन्छ ? जसरी देशमा राजनीति वर्गमा विभाजित भएको पाइन्छ त्यसरी नै पत्रकारहरू पनि विभाजित छन् । वर्गीय समाजमा पत्रकार र पत्रकारिता पनि वर्गमा विभाजित हुन्छ ।
पञ्चायतकालमा पञ्च राजनीति हुन्थ्यो र पञ्चायत समर्थक पत्रकार र पत्रकारिता पञ्चायती व्यवस्थालाई उजिल्याउने काममा लाग्थे । पञ्चायतीविरोधी दल र पञ्चायतविरोधी पत्रकार र पत्रकारिताले पनि निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा या दलीय व्यवस्थाको पक्षमा कलम चलाउनु स्वाभाविक हो । बहुदलीय व्यवस्थाकालमा मात्र होइन यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि पत्रकार र पत्रकारिता विभाजित छ । एकथरीका पत्रकारहरू पुँजीवादी व्यवस्थाको वकालत गर्छन् भने अर्काे थरीका पत्रकारहरू समाजवादी धारको पक्षमा कलम चलाउँछन् । यसकारण, पत्रकारहरू राजनीतिमा मुछ्नु हुँदैन, पत्रकारहरू राजनीतिमा लागेपछि पत्रकारिता व्यवसाय बदनाम हुन्छ, पत्रकारिता टिक्दैन भन्ने कुरा होइन । यस्तो पत्रकारिता देशलाई यथास्थितिमा राख्ने विचार हो । यो परिवर्तनशील होइन प्रतिगामी कदम हो ।
प्रेस स्वतन्त्रता व्यक्तिको सरोकारको विषयमात्र होइन, यो सार्वजनिक सरोकारको विषय पनि हो । पत्रकारिता देशको उज्यालोको लागि हो । पत्रकारिताको माध्यमबाट राज्यको कमी कमजोरी औँल्याएर सुधार्ने मौका पनि हो । पत्रकारिताले सरकारको खबरदारी गरेर अनियमितता रोक्ने, भ्रष्टाचार, ढिलासुस्ती, शोषण, दमन, अन्याय अत्याचार, कुशासनको विरोध गर्ने हुँदा पत्रकार या पत्रकारिताप्रति शासकहरूको बक्रदृष्टि पर्छ । यसकारण, शासकहरूले बेलाबखत नीति नियम बनाएर बाँध्ने, आफ्नो नियन्त्रण या उठबसमा राख्ने प्रयास गरिरहेका हुन्छन् । हो, पत्रकारिता क्षेत्रलाई स्वच्छ, मर्यादित बनाउनुपर्छ । यो पत्रकारिता क्षेत्रको मात्र होइन राज्यको दायित्व पनि हो । पत्रकारिताको नाउँमा समाचारको ठेक्का दिने, भ्रमको खेती गर्ने, षड्यन्त्र गर्ने, कुनै सङ्घ संस्था या संस्थाका गलत कार्य, अनियमितता, आपराधिक क्रियाकलाप छोपेर समाचार, लेख लेखी पैसा असुल्ने काम उचित होइन । कमिसनखोर, अपराधी, भ्रष्टाचारी, कालाबजारी, ठगहरूको प्रशंसा गरेर, सूचना प्रवाह गरेर पैसा असुल्ने काम गलत हो । बरु पत्रकारिताले गलत क्रियाकलापको निन्दा गर्दै शोषणरहित समाज स्थापना गर्ने खालका समाचार लेखेर छापेर सुसूचित पार्ने काम गर्नुपर्छ ।
पत्रकारिता नागरिक र समाजप्रति उत्तरदायी हुनुपर्छ । पत्रकारिताको प्रमुख आधार जनविश्वास हो । जनविश्वास पाउन सही विचार प्रवाह गर्नुपर्छ । सत्ता, शक्ति र पहुँचको आधारमा लुकाइएको सूचना सत्यतथ्यको रूपमा नागरिकसामु ल्याउने एक माध्यम पत्रकारिता हो । पत्रकारितामा राजनीतिक प्रभाव बढ्यो भन्ने गुनासो छ । नेपाली पत्रकारिताले विश्वास गुमाउनुको अर्थ राजनीतिक प्रभाव होइन । राजनीतिक दलप्रति आस्था राखेकै कारण पत्रकारले दलप्रति बफादार भएर समाचार सम्प्रेषण गर्दा विश्वास गुमेको तर्क राख्नु दृष्टिदोष हो । कुनै दलप्रति विश्वास राख्नु, विश्वास राखेर समाचार सम्प्रेषण गर्नु राजनीतिक हस्तक्षेप होइन । तर, सरकारको होस् या दलको अनैतिक काम, गलत विचारको ढाकछोप गर्ने या त्यसको प्रशंसा गर्नु हुँदैन । राज्य, दल या कुनैै सङ्घ र व्यक्तिको आर्थिक लाभको आधारमा जस्तोसुकै अपराध, गलत कार्यको आँखा चिम्ली समर्थक गर्नु उपयुक्त होइन । यसकारण, सञ्चारकर्मीहरू राजनीतिमा लाग्नु हुन्न, दलको प्रचार गर्नु हुन्न भन्ने तर्कमा सच्चाइ छैन । के पत्रकारहरू निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् ? आफूलाई मनपरेको दललाई मतदान गर्नुहुँदैन ? के त्यसले पत्रकार र पत्रकारिताको बदनाम हुन्छ ? सरकारलाई देश र जनताप्रति जिम्मेवार बनाउन, निर्वाचन आयोगलाई निर्वाचन, निष्पक्ष, शान्त र भयरहित बनाउन, राजनीतिक दललाई सिद्धान्त र विचारको आधारमा राजनीति गराउन, प्रशासनलाई निष्पक्ष, न्याय दिलाउन, काम छिटो छरितो र सुव्यवस्थित बनाउन के पत्रकारिताले ध्यानाकर्षण गर्नु हुँदैन ? जसरी एउटा राजनीतिक दलले अर्को राजनीतिक दलको सिद्धान्त, विचार, कार्यनीतिको टिप्पणी गर्छ त्यसरी नै एउटा पत्रिकाले अर्को पत्रिकाको टीकाटिप्पणी गर्नु या गलत कुराको खबरदारी गर्नु स्वाभाविक हो । वर्गीय समाजमा पत्रकार र पत्रकारिता पनि विभाजित हुनु के आश्चर्यको कुरा हो र ?
नागरिकमा राजनीतिक आस्था बढ्नु सकारात्मक पक्ष हो । पत्रकारितामा पनि राजनीतिक आस्था बढ्नु अन्यथा होइन । कुनै पत्रकारिताले कुनै वर्गको प्रतिनिधित्व गर्नसक्छ† त्यसअनुसार विचार प्रवाह गर्छ । सरकारले मात्र होइन सरकारी सञ्चार स्रोतले पनि सबै दल र सबै पत्रिकालाई समान दृष्टिले हेरेका छैनन् । सरकारमा आबद्ध नभएको दलको महाधिवेशन, सम्मेलन, देश र भूमि जोगाउने सन्दर्भमा ठूलठूला आन्दोलन र जुलुस गरे पनि सरकारी पत्रपत्रिकाले समाचार छाप्दैनन् । सरकारी सञ्चार र अन्य सञ्चारकर्मीले सत्तामा नरहेका दलका नेता र सांसदहरूसँगको अन्तर संवाद या बातचित कमै मात्र गर्छन् ।
पाठक आकर्षित गर्न, पत्रपत्रिका बढी बिकाउन कुनै एजेन्डालाई अतिरञ्जित गर्नु हुँदैन । अश्लील फोटो, अश्लील समाचार, लेख छापेर युवा युवतीको मन भाँड्ने काम पत्रिकाले गर्नु हुँदैन । यसले मानिसको चरित्र र मनस्थिति बिगार्छ । यो एक प्रकारको मन्दविष हो । यसतर्फ पत्रकार र पत्रकारिता सचेत हुनुपर्छ । जनतामा पत्रकारिताप्रति विश्वास बढाउन, विश्वास बढाउने ढङ्गले देश र जनताप्रति जिम्मेवार रहेर समाचार, लेख छाप्नुपर्छ । ग्रामीण समुदाय, अशिक्षित जनतामाझ सूचना प्रवाह गर्नुपर्छ । समाजमा हेपिएका, थिचिएका, पछि पारिएका विभिन्न वर्ग, समूह, समुदायको आम सञ्चारमा रुचि जगाउनुपर्छ । यसकारण, पत्रकारिता सेवामुखी र आस्थाको पत्रिका हुनुपर्छ भनिएको हो । व्यापार गर्ने प्रयोजनको निम्ति चलाइएको पत्रिकामा नाफा नोक्सानको ख्याल गरिएको हुन्छ । त्यस्तो पत्रकारले सही सिद्धान्त, सही विचारको ख्याल गर्दैन । उनीहरू आफ्नो लगानीको फल प्राप्त गर्न, अझ अकुत सम्पत्ति कमाउन विदेशीको गुणगान गर्छन्, देशका सामन्त, जमिनदार, जालीफटाहा, कालाबजारी, भ्रष्टाचारी, कमिसनखोरहरूको पक्ष लिन्छन् या यिनीहरूको कमीकमजोरी ढाकछोप गरेर प्रशंसा गर्छन् ।
राजनीति राजनीतिक नेता र कार्यकर्ताहरूमाझ मात्र सीमित राख्नु हुँदैन । राजनीति गाउँगाउँ, बस्तीबस्तीमा पु¥याएर देशलाई नै राजनीतिमय बनाइनुपर्छ । यस हिसाबले राजनीतिक दलका कार्यकर्ता, शुभचिन्तकहरू पत्रकारितामा संलग्न हुनु र पत्रकारहरू राजनीतिक दलप्रति प्रतिबद्ध हुनु नराम्रो कुरा होइन । कुनै पत्रिका या पत्रकार प्रत्यक्षरूपमा कुनै दल या दलको भ्रातृ सङ्गठनमा आबद्ध नहुँदैमा राजनीतिबाट अलग छ भन्न सकिने स्थिति छैन । पत्रकारहरूले आफूहरू जस्तोसुकै स्वतन्त्र भनेर फुके पनि, खुलमखुला कुनै दलको सिद्धान्त र विचार प्रचारप्रसार नगरे पनि घुमाइफिराइ कुनैै दल या विचारको प्रतिनिधित्व गरिरहेकै हुन्छ । कति पत्रिकाका सम्पादक र सञ्चारकर्मीहरू नेमकिपाको समाचार छाप्दैनन्; छपाउन र छाप्न डराउँछन्; कतै आफूलाई पनि कम्युनिस्ट भन्ने डर भएर होला । कसैले नेमकिपाको गतिविधिसम्बन्धी समाचार दिइहाले पनि छापिँदैन । अनि शुभचिन्तक पत्रकारहरू नेमकिपाकोे समाचार छापिँदैन भने किन दिने भनी जवाफ दिन्छन् । यसरी प्रेस जगतमा सङ्कीर्ण विचार या श्रमजीवी जनताप्रति हेयको दृष्टिले हेर्ने काम अद्यापि छ ।
नेपाली प्रेस जगतमा बढिरहेको व्यापारीकरण रोक्नुपर्छ । नेपाली प्रेसले जनताको जीवनपद्धतिसँग एकाकार गर्न सिक्नुपर्छ । नेपाली जनताको सांस्कृतिक स्तर उठाउन अन्धविश्वास, कुरीति, कुप्रथा हटाउने सामग्रीहरू पस्किनुपर्छ । राणाकाल र ३० वर्षीय पञ्चायतकालमा निरङ्कुशतावादी विचार लादिएको थियो । त्यसको पक्षधर पत्रिका पनि निरङ्कुश हुन्छ । निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा जसरी खुला या गुप्तरूपले अन्य वामपन्थी, प्रजातन्त्रवादी दलहरूले विरोध गरे त्यसरी नै प्रगतिशील पत्रिका र सञ्चारकर्मीहरूले निरङकुशतन्त्रको विरोध गरेका थिए । त्यस्तै खालको पर्चा र पुस्तकहरू छापिएका थिए । समाजवादी विचार बोकेका या त्यसको पक्षमा लेख्ने पत्रिका देखापरे; पुस्तकहरू छापिन थाले । निरङ्कुश पञ्चायती व्यवस्था र सामन्तको गुणगान गर्न पाउने अनि समाजवादको या समाजवादी पक्षधर कम्युनिस्ट पार्टीको गुणगान गर्न नहुने भन्ने हुन्छ ?
राजनीतिक नेता र साहित्यकारहरूको काम देश विदेशको गहिरो अध्ययन गरी ठीक ठीक ढङ्गले हेर्नु र बुझ्नु हो भने पत्रकारिताको काम पनि त्यस्तै हो । बन्दुकभन्दा शक्तिशाली अखबाररूपी हतियार लिएर अघि बढ्ने पत्रकार र पत्रिकाको महत्व छैन कसरी भन्ने ? स्वस्थ जनमत तयार गर्ने, आदर्शोमुख समाज बनाउने, समाजका कुतत्वलाई उदाङ्ग्याएर सत्मार्ग कोर्ने काममा पत्रकार र पत्रकारिताको महत्वपूर्ण हात हुन्छ । धैर्यपूर्वक सजाउने, विचार र भावमा घात्लिनुपर्ने र फुर्सद नहुने पेसा हो पत्रकारिता । यस्तो महत्वपूर्ण भूमिका खेल्ने पत्रकारितालाई २०६१ माघ १९ गते राजाले प्रत्यक्ष शासन गरेलगत्तै पत्रिकामा प्रतिबन्ध लगाए । ‘श्रमिक’ र ‘मजदुर’ दैनिकको कार्यालयमा सेनाले तालाबन्दी ग¥यो । तालाबन्दको कारण त्यसबेला माघ २१ गतेदेखि २५ गतेसम्म ‘जनसमाचार’ को नाउँमा ‘मजदुर’ दैनिक प्रकाशित भएको थियो । पञ्चायत कालमा प्रशासनले पत्रकारलाई थुन्ने, प्रकाशन इजाजतपत्र रद्द गर्ने प्रतिबन्ध लगाउने, दर्ता खारेज गर्ने, सेन्सर गर्ने, अनावश्यक निर्देशन र दबाब दिने काम गरेको थियो । छापिएको पत्रिका र पुस्तकसमेत जफत हुन्थ्यो । यसरी पत्रकारितामा बाधा पु¥याउने काम यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि भयो । पत्रकार र सञ्चारमाध्यमले गल्ती गरेमा बढीमा रु. १० लाखसम्म आर्थिक सजाय गर्ने व्यवस्था गरेर श्रमजीवी पत्रकारको घर सम्पत्तिमा आँखा गाड्ने काम भयो । सत्तासीन दलका नेता, मन्त्री, सांसदहरूले गरेका भ्रष्टाचार, अनियमितता आदि पोल्ने, खोल्ने काम पत्रिकाले गरेपछि सो प्रावधान ल्याइएको हो ।
पत्रिका पनि राजनीतिक सङ्गठनकर्ता बन्नु रामै्र हो । रुसी नेता लेनिनले भनेका थिए, पत्रिका सामूहिक प्रचारकर्ता, आन्दोलनकर्ता मात्र होइन सामूहिक सङ्गठनकर्ताको भूमिका पनि निर्वाह गर्छ । सोभियत सङ्घको कम्युनिस्ट पार्टीले ‘इस्का’ पत्रिका प्रशासन गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङले व्यापक जनसमूहमा भिजेको विचारधारात्मक र सङ्गठनात्मकरूपले अघि बढेको ‘इस्का’ बोल्शेभिक पार्टीको निम्ति महत्वपूर्ण रहेको बताएका थिए ।
जास्टिम ब्राउलीले अनियन्त्रित र अत्याचारी सरकारबाट आफ्नो रक्षा गर्ने जनताको साधन समाचारपत्र भने । रुसका गोर्की, चीनका लुशुन, भारतका प्रेमचन्द, अन्तर्राष्ट्रवादी पत्रकारहरू अन्ना लुइस स्ट्रङ, जोनरीड, एड्गर स्नो र विल्फ्रेड बर्चेत, नेपालका युवाकवि मोतीराम भट्ट, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्र सिंहप्रधान पत्रकारितामा आबद्ध र उल्लेख्य योगदान गर्ने व्यक्ति हुन् । रुसमा समाजवादी क्रान्ति भएपछि तपार्इँको पेसा के हो भनी सोध्दा लेनिनले जवाफ दिएका थिए – पत्रकारिता । संसारलाई अमेरिकी आणविक आतङ्कबाट मुक्ति दिलाउन माओ त्सेतुङको विचार विश्वसामु पु¥याउन महिला पत्रकार अन्ना लुइस स्ट्रङले अन्तर्वार्ता लिएकी थिइन् । क्रान्तिकारी पत्रकार जोनरीड लडाइँको लेखक बनेर अन्तर्राष्ट्रवादी बने । उनले समाजलाई बदल्न क्रान्तिको नम्ति लड्नु आफ्नो कर्तव्य ठाने । अमेरिकी पत्रकार एड्गर स्नोले माओ त्सेतुङ र चाउ ऐन लाइसँग भेटघाट गरे । विल्फ्रेड ग्राहम बर्चेत हिन्द चीनको स्थितिको सच्चाइ संसारलाई बताउने पहिलो पत्रकार थिए । केपी नारायणले लेखे, समाचारपत्र जनताको आँखा र कान हो । देश र जनताप्रति समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा भएका मजदुर, किसान, उत्पीडित जनताको आन्दोलनको समर्थन र ऐक्यबद्धता गर्ने र सोसम्बन्धी समाचार र लेख छापिरहेका पत्रिका हुन् ।
देश र जनताप्रति समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक आस्थाको पत्रिका हो । यो सेवामुखी पत्रिका हो । जनताको नागरिक भावना र सांस्कृतिक स्तर उठाउने तथा देशभक्त नागरिक तयार गर्ने पत्रिका हो । यो पत्रिकालाई राजनीतिक विश्लेषक र बुद्धिजीबीहरू कम्युनिस्ट र वामपन्थी पत्रिका ठान्छन् । यस पत्रिकाले विदेशी हस्तक्षेप, सीमा अतिक्रमण र आक्रमणको विरोध गर्छ । यो अन्तर्राष्ट्रवादी विचार बोकेको पत्रिका हो । विश्व राजनीतिको अध्ययन गर्ने र बुझ्ने पत्रिका हो । जनतासँग सम्पर्क गर्ने, जनताको कुरा जनतामाझ पु¥याउने वैचारिक पत्रिका हो । देशको स्वतन्त्रता, मुक्ति आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनको समर्थन गर्ने पत्रिका हो । यो सङ्कीर्ण विचार र जातीय राजनीतिको विरोध गर्ने पत्रिका हो । यो कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई धोका दिने, बदनाम गर्ने, सार्वभौम र स्वाधीन देशमा साम्राज्य र प्रभुत्व फैलाउने र फैलाए पनि मौन रहने दलको विचार उदाङ्ग्याउने पत्रिका हो । यसरी नै देश विदेशको समस्या उजागर गर्दै २०२५ मा ‘लालझन्डा’ २०३० देखि २०३७ सम्म ‘आह्वान’, २०३५ मा ‘मजदुर–किसान’, ‘नेपाल तराई’, ‘समाचार संसद्’, ‘आधार’, ‘ध्रुवतारा’ छापिएको थियो । ‘नेपाल तराई’, ‘समाचार संसद्’, ‘आधार’ ‘धु्रवतारा’ छापिएको थियो । ‘नेपाल तराई’, ‘समाचार संसद्’ ‘आधार’ र ‘ध्रुवतारा’ भारतबाट हिन्दीमा प्रकााशित पत्रिकाहरू हुन् । पछि ‘आधार’ २०४१ मङ्सिर ११ देखि २०४१ भदौ १० सम्म नेपालीमा प्रकाशित भयो । यसैबिच २०५० माघ १२ गते ‘श्रमिक’ साप्ताहिक, २०५१ वैशाखमा ‘प्रतिध्वनि’ मासिक र २०५५ माघ १० गते ‘मजदुर’ दैनिक प्रकाशित भयो ।
अतः पत्रिकाको काम सूचना प्रवाह गर्नुमात्र होइन, जनतालाई वैचारिक, सांस्कृतिकरूपले सुसूचित पार्नु हो । जनअधिकार प्राप्त गर्न जनतालाई सुसूचित पार्ने, जनविरोधी कामको खबरदारी गर्ने, देश र जनताको पक्षमा अभिमत राख्ने नागरिक तयार गर्ने, देश जोगाउने र बनाउने वातावरण तयार गर्ने काममा पत्रिकाको महत्वपूर्ण हात हुन्छ ।

–वागीश्वरी स्माारिका, २०८० बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *