भर्खरै :

मधुमेहको जगजगी

मधुमेहको जगजगी

अन्तर्राष्ट्रिय मेडिकल पत्रिका ल्यान्सेटमा प्रकाशित एक लेखअनुसार करिब एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रु खाना, रेसादार नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखिएको छ । यस्ता पत्रु खानामा ‘चुरोट र रक्सी’ मा जस्तै लत बस्ने उक्त लेखमा भनिएको छ ।
यसरी दिनदिनै तन्नेरीहरू चिनी रोग पीडित भई उपचार नपाएर दृष्टि गुमाउने, मृगौला बिग्रने, मुटु रोग लाग्ने, पक्षघात हुनेलगायत समस्या देखिन थाल्यो भने देशको भविष्य के होला ? यस्ता रोगहरूको शारीरिक, मानसिक र आर्थिक क्षतिको पनि सीमा नै छैन ।
सरकारले मृगौलाको डायलाइसिस गर्न बिरामीलाई सातामा दुईपटकको लागि पैसा दिने नीति बनाएको छ । तर, के सरकारले मृगौला बिग्रनै नदिन जनचेतनामूलक कदम चालेको छ त ? युवाहरू मधुमेह, उच्च रक्तचाप, पक्षघातबाट पीडित नहोऊन् भनेर रोकथामको काम नगरी केवल मुटु, मृगौलाका रोगीलाई अलि अलि पैसा दिएर कहिलेसम्म धान्न सकिन्छ ?
देशका टोल टोलमा, वडा वडामा अस्पताल खोल्ने भनेर अनेक कुरा गर्ने सरकारले यो बुझ्न आवश्यक छ कि अस्पताल र औषधिको भरमा मात्रै जनस्वास्थ्य राम्रो हुँदैन ।
केही अघि डा. ज्योति भट्टराईले आफ्नो क्लिनिकमा एक १६ वर्षका किशोर मधुमेहको समस्या भएर आएको सुनाउनुभएको थियो । रोजगारीका सिलसिलामा विदेशमा भएकी आमाले ती किशोरलाई माया देखाउन धेरै पत्रु खाना, चकलेट, चिसो पेयपदार्थ खान जोड दिने रहिछन् । किशोरका बुबाले पनि उनलाई घरको स्वस्थकर खाना खान कर नगर्ने रहेछन् ।
पछि अनेक समस्या भएर जाँच गर्दा मोटोपन, अस्वस्थकर खाना र जीवनशैलीले उनलाई मधुमेह भएको पत्ता लाग्यो । सानै उमेरमा मधुमेह भएपछि उनलाई इन्सुलिन नै चलाउनुप¥यो । यसपछि बल्ल अभिभावकको पनि चेत खुल्यो ।
इन्सुलिन दिएर, खानामा सुधार ल्याएर, मोटोपन घटाएपछि उनको मधुमेहको अवस्था सुधार हुँदै गयो । बिस्तारै इन्सुलिनको मात्रा पनि घटाउँदै लगियो र बन्द गरियो । अहिले उनी मधुमेहबाट मुक्त छन् । पहिले नै अभिभावकले ध्यान दिएको भए यो समस्या आउने नै थिएन । तर, उनले भविष्यमा खानपान र जीवनशैली पुनः बिगारे भने यो समस्या बल्झिन सक्छ ।
बुटवल घर भएका एक १४ वर्षीय किशोर पनि पत्रु खानाका कारण मधुमेहपीडित छिन् । निधारको घाउ निको नभएर जचाउँदा उनलाई दोस्रो प्रकारको मधुमेह भएको पत्ता लागेको थियो । उनले औषधिसेवन गरेर मधुमेह नियन्त्रणमा राखिरहेका छन् ।
मोटोपन भएकालाई मात्र मधुमेह हुँदैन । कुपोषितहरूलाई पनि मधुमेह हुनसक्छ ।
जस्तो– जनकपुरकी एक ३० वर्षीया महिलालाई दोस्रो प्रकारको मधुमेह देखियो । उनलाई कुपोषणका कारण मधुमेह भएको थियो ।
अर्कातर्फ, आमालाई कुपोषण हुँदाहुँदै जन्मिएको बच्चालाई पनि मधुमेह हुनसक्छ । नेपालमा यसरी कुपोषित आमाबाट जन्मिने बच्चाहरू कति छन् ? गाउँघरमा जन्मिने बच्चाहरूको अवस्था कस्तो छ ? यसबारे त्यति चर्चा हुँदैन ।
युनिसेफको २०१९ को एक तथ्याङ्कअनुसार विश्वका प्रत्येक तीनमध्ये एक बालबालिका कुपोषणको शिकार छन् । दक्षिण एसियामा भने ५० प्रतिशत बालबालिका खराब पोषणको शिकार छन् । यस्ता बालबालिकालाई पछि मधुमेह वा उच्च रक्तचापको समस्या देखिने सम्भावना हुन्छ ।
केही वर्षअघि त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रदीप श्रेष्ठले मधुमेहको समस्याबारे एक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपालमा दोस्रो प्रकारको मधुमेहको जगजगी रहेको देखाइएको थियो । “दक्षिण एसियामा नै यस्तो दोस्रो प्रकारको मधुमेहको कारण विभिन्न पत्रु खाना चाउचाउ, चिप्स अनेक प्रकारका चिसो पेयपदार्थ, ससेजजस्ता मासुका परिकार हुन्,” उनको कार्यपत्रमा उल्लेख थियो ।
हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ र विश्व स्वास्थ्य सङ्गठनले एक दिनमा एक पुरुषले नौ चम्चा र महिलाले ६ चम्चा चिनीमात्र खान भनेर सिफारिश गरेको छ । तर, प्रति ३५५ मिलिलिटर चिसो पेयपदार्थमा ११ चम्चा चिनी हुन्छ । यस्तै, केक, कुकिज, पाउरोटी आदि खाँदा हामीले आवश्यकताभन्दा बढी चिनी सेवन गरिरहेका हुन्छौँ । साथै, फलफुलको रस भनेर स्वास्थ्य बिगार्ने जुसहरू पनि चिनीले भरिपूर्ण हुन्छन् । जन्मदिनजस्ता उत्सवहरूमा पनि केकमार्फत हामी जानीनजानी बालबालिकाहरूलाई मधुमेहको समस्या दिइरहेका हुन्छौँ ।
मधुमेह लागेपछि मृगौला बिग्रने सम्भावना पनि हुन्छ । मृगौलाले काम गर्न छोडेपछि शरीरका अन्य अङ्ग पनि शिथिल हुँदै जान्छन् । यस्तै, मधुमेहले बिर्सने रोग निम्त्याउन सक्छ भनेर पनि अनुसन्धान भइसकेको छ । यस्तो बिर्सने रोगलाई कतिपयले ‘मधुमेह तेस्रो’ भनी नामकरण गरेका छन् ।
मोटोपन, मधुमेह र खानपानका कारण जनस्वास्थ्यमा परेको समस्यालाई सम्बोधन गर्न कतिपय देशले पहलकदमी पनि लिएका छन् । सिङ्गापुरमा त सन् २०१७ मा प्रधानमन्त्री ली सियन लुङले नै मधुमेहको समस्याबारे बोलेका थिए । त्यहाँ हरेक नौमध्ये एक जनामा मधुमेह छ । ६० कटेका मानिसहरूमा हरेक १० मध्ये तीन जनालाई मधुमेह छ ।
अहिले नेपालमै पनि गर्भावस्थाको जाँच गराउन अस्पताल पुगेका महिलाहरूलाई यौन रोग र मधुमेह दुवैको जाँच गराउने सल्लाह दिइन्छ । किनकि, गर्भावस्थामा मधुमेह भएमा भविष्यमा त्यसले आमा र बच्चा दुवैलाई समस्यामा पार्न सक्छ ।
तर, कतिपय महिला अस्पताल वा स्वास्थ्य चौकी जान सक्दैनन् । पुग्नेहरूले पनि आवश्यक परामर्श पाउँदैनन् ।
आम सञ्चारबाट पत्रु खानाको बारे विज्ञापन आउने तर नसर्ने रोगको बार जानकारी नै न आउने किन होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *