भर्खरै :

संरा अमेरिका र चीनबिचको व्यापार युद्ध र व्यापार युद्धको विगत – १

संरा अमेरिका र चीनबिचको व्यापार युद्ध र व्यापार युद्धको विगत – १

एउटा आर्थिकरूपमा शक्तिशाली देशले आफ्नो सर्वोच्चता कायम राख्न व्यापार संरक्षणवादी नीतिमार्फत अन्य उदीयमान देशहरूबाट गरिने आयातमा अत्यधिक महसुल, कर वा कोटा लाछ र अन्य देशले पनि आफू अनुकूल स्वाभाविक प्रतिवाद गर्छ भने त्यहाँ व्यापार युद्धको शङ्खघोष हुन्छ ।
आफ्नो देशको आन्तरिक उद्योग, कलकारखानाको संरक्षण गर्ने र रोजगारीको सृजना गर्ने स्वार्थबाट व्यापार युद्ध छेडिन्छ । छोटो अवधिका लागि यसले काम गरेजस्तो देखिए पनि कालान्तरमा यसले कुनै पनि देशको आर्थिक वृद्धिमा टेवा पु¥याउँदैन । बरु रोजगारीको वृद्धिदर घट्ने, आर्थिक गतिविधिहरूमा प्रत्यक्ष वा परोक्षरूपमा नकारात्मक असर बेहोर्नुपर्ने हुन्छ । आयात हुने सामानहरूमा कर बढाइँदा उपभोग्य सामानहरूको मूल्य वृद्धि हुन्छ । छोटो समयमै अर्थतन्त्रमा मुद्रास्फीतिको प्रभाव देखिन थाल्छ† उत्पादन र वितरणको प्रक्रिया बिथोलिन्छ । पुँजीको स्वाभाविक प्रवाहलाई रोक्छ । लामो समयसम्म चल्ने व्यापार युद्धले अन्तर्राष्ट्रियरूपमै आर्थिक मन्दीको वातावरण सृजना गर्ने सम्भावना बढाउँछ । अझ भनौँ, महामन्दी पनि निम्तिएला भन्न सकिन्न । अन्तर्राष्ट्रिय व्यापार नियम उल्लङ्घन र अनुशासनहीनता बढेर एक किसिमको व्यापारिक अराजकता हाबी हुन्छ ।
व्यापार युद्ध पुँजीवादी अर्थतन्त्र र अस्वस्थ व्यापार प्रतिस्पर्धी नीतिहरूको परिणति हो भन्दा फरक पर्दैन । व्यापार युद्धले अन्तर्राष्ट्रिय व्यापार र वस्तुहरूको उपभोगको अङ्कगणितीय रेखाचित्रमै ठुलो उतारचढाव र अस्थिरता पैदा गर्छ । व्यापार युद्धको थालनी गर्ने देशले पनि दीर्घकालीनरूपमा नाफा प्राप्त गरेको इतिहास छैन । बरु उक्त देश नै समयको गतिसँगै एक्लिँदै गएको पाइन्छ । व्यापार युद्धको घोषणा गर्ने देशको निहित स्वार्थ भनेकै अन्य प्रतिस्पर्धी देशको आर्थिक उन्नयन र तीव्र आर्थिक वृद्धि रोक्ने, आफ्नो उचाइसम्म पुग्न नदिने नै हो भन्दा अतिशयुक्ति हुँदैन । यो इतिहासले गरेको विश्लेषण हो ।
केही अर्थविद्हरू भन्छन्, “अहिलेसम्मको इतिहास व्यापार युद्धहरूको इतिहास हो ।” इतिहासको विभिन्न कालखण्डमा ठुला–साना व्यापार युद्धहरू भएका छन् । तीमध्ये केहीको यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
१) अफिम युद्ध (Opium War)
सन् १८२० तिर अर्थात् अफिम युद्ध हुनुअघि चीन सबैभन्दा ठुला अर्थतन्त्रको रूपमा विश्व मानचित्रमा स्थापित थियो । हिजोको चीनको त्यो सर्वोच्च स्थान पुनः प्राप्तिको लागि त्यसकारण पनि चिनियाँहरू आज भनिरहेका छन्, ‘हामी पुनर्जागरण (Rejuvenation) को बाटोमा छौँ ।’ पहिलो अफिम युद्ध छिङ वंश (Qing Dynasty) विरुद्ध बेलायती साम्राज्यले सन् १८४०–१८४२ मा छेडेको थियो । त्यो अवधिलाई ‘अपहेलनाको शताब्दी’ (Century of Humiliation) का रूपमा चिनियाँहरू आज पनि सम्झन्छन् । ब्रिटिस इस्ट इन्डिया कम्पनीलगायत अन्य साम्राज्यवादी देशहरूले चीनको सामान निर्यात र बेचबिखनमा प्रतिबन्ध लगाए । सन् १८५६–१८६० मा पुनः दोस्रो अफिम युद्ध भयो । चीनको अर्थतन्त्र कमजोर बन्दै गयो । त्यतिन्जेलसम्म चीनको अर्थतन्त्र पहिलाको तुलनामा आधा मात्र बाँकी रह्यो । चीनका राजा र नेतृत्वलाई अफिमको नशामा बेहोस बनाएर त्यहाँको सार्वभौमसत्ता र बलियो राजनैतिक व्यवस्था तहसनहस गरी भत्काउनु नै अफिम युद्धको मुख्य उद्देश्य थियो । यसको आवरण भने व्यापार युद्ध बन्यो । त्यतिबेला चीनमा बेलायत र फ्रान्सको निर्यात व्यापार बढाउन सम्पूर्ण चीनलाई विदेशी सामानको लागि खुला गर्न दबाब दिइयो । चीनका घरेलु उद्योगहरू बन्द हुन थाले । उत्पादन घट्यो, चिनियाँ जनताको रोजगारी गुम्न थाल्यो र एक किसिमको आर्थिक मन्दी चीनले बेहोर्नुपर्यो । यसरी यी दुई अफिम युद्धहरूले छिङ वंशलाई सबै किसिमले कमजोर बनाए । १९ औँ शताब्दीसम्ममा बेलायत भने बलियो अर्थतन्त्रको रूपमा उदाइसकेको थियो ।
२) स्मुट–हावले (Smoot Hawley) कर नीति १९३०
सन् १९३० को स्मुट हावले कर नीतिलाई आधुनिक अर्थतन्त्रमा एउटा प्रमुख व्यापार युद्धको रूपमा लिइन्छ । सन् १९२९ को उत्तराद्र्धमा संरा अमेरिकाको सिनेट वित्तीय समितिका अध्यक्ष रिड स्मुट (Reed Smoot, Chairman of Senate Finance Committee) र अमेरिकी राजनीतिज्ञ विलिस च्याटम्यान हावले (Willis Chatman Hawley) ले यस नीतिको निर्माण गरेका थिए । सोही वर्ष संसद्मा उक्त कर विधेयक संरा अमेरिकी राष्ट्रपति हर्बट हुवर (Herbert Hoover) बाट पेस गरियो ।
संरा अमेरिकाको खस्कँदो स्टक बजार (Stock Market) र घरेलु उद्योग व्यवसायलाई संरक्षण गर्न उक्त नीति लिइएको थियो । यस नीतिले आयात हुने करिब ४० देखि ४८ प्रतिशत सामग्रीमा अचाक्ली कर महसुल वृद्धि गर्यो र २० हजार वा सोभन्दा बढी उत्पादित कृषिजन्य अनि उद्योग निर्मित वस्तुहरूमा करको दर बढायो । यसको ठुलो असर त्यहाँका मजदुर र किसानहरूमा पर्यो । सन् १९३३ सम्ममा संरा अमेरिकाको आयातमा ६६ प्रतिशत र निर्यातमा ६१ प्रतिशतले कमी आयो । यसले ठुलो आर्थिक सङ्कत खडा गर्यो । आर्थिक सङ्कतको थिलथिलोमा परेका अमेरिकी जनताले आधारभूत खाद्यवस्तुमा समेत अत्यधिक मूल्यवृद्धिको सामना गर्नुपर्यो । विशेषतः व्यापार साझेदार देशहरू क्यानाडा, फ्रान्स, स्पेन, स्वीट्जरल्यान्डलगायतका देशहरूबाट अमेरिकामा आयात गरिने वस्तुहरूमा कर वृद्धि गरिएको थियो । यसले विश्व व्यापारमा ६५ प्रतिशतले कमी आयो र दोस्रो विश्वयुद्ध सुरु गर्न उक्सायो ।
३) चिकेन युद्ध (Chicken War)
६० को दशकको सुरुआतबाट संरा अमेरिकाले कृषिलाई औद्योगिकीकरणसँग जोड्यो । ठुलो परिमाणमा कुखुराको मासुको उत्पादन गर्न थालियो । उत्पादन क्षमताको वृद्धिसँगै माग र पूर्तिको सन्तुलनबाट मूल्य घटाउनुपर्यो । दोस्रो विश्वयुद्धको विध्वंसबाट भर्खरै आर्थिकरूपमा तङ्ग्रिँदै गरेको फ्रान्स र जर्मनीको उपभोक्ता बजारलाई अमेरिकी कुखुराले ठ्याम्मै छोप्यो । जसले युरापेली कुखुराको माग घटायो र विस्थापन गर्यो । जर्मनी र फ्रान्सलाई यो अवस्था स्वीकार्य नभएपछि अमेरिकी कुखुराको मासुमा कर बढायो । यसको प्रतिउत्तरमा संरा अमेरिकाले युरोपबाट आयात गरिने थुप्रै वस्तुहरूमा करको दर बढायो । उदाहरणको लागि फ्रेन्च ब्रान्डी र भी.डब्लु. ट्रक आदिमा कर अचाक्ली बढायो । संरा अमेरिकाले नाटो सैनिक दललाई समेत युरोप नपठाउन धम्की र चेतावनी दियो । तथापि, फ्रान्स र जर्मनीले यो दबाबसामु घुँडा टेकेनन् । त्यस व्यापार युद्धबाट एटलान्टिक महासागर (Atlantic Ocean) का दुई किनारका जनताले वास्तवमा हार्नुपर्यो । यस व्यापार युद्ध चिकेन फ्रिक्सन (Chicken Friction) को नाममा पनि चर्चित छ ।
४) जापानमाथि व्यापार हमला (Jabs at Japan)
दोस्रो विश्वयुद्धको अन्त्यपछि संरा अमेरिकाको अर्थतन्त्रमा ठुलो खतराको सङ्केत देखापर्यो । सन् १९७१ को मे १० का दिन ‘टाइम्स’ म्यागाजिनले एक सनसनीपूर्ण खबर छाप्यो – ‘जापानको व्यापार आक्रमण कसरी सामना गर्ने ।’ चौध वर्षपछि सन् १९८५ को ‘ज्युयोर्क टाइम्स’ म्यागाजिनमा ‘जापानबाट खतरा’ शीर्षकमा लेख छापियो । ती लेखहरूमा दाबी गरिएको थियो, ‘दोस्रो विश्वयुद्धपश्चात् ४० वर्षमा जापान इतिहासकै ठुलो व्यापार आक्रमणको बाटोमा अगाडि बढ्दै छ, अमेरिकी उद्योगहरू भत्काउन लागिपरेको छ ।’ यसरी अमेरिकामा जापानको आर्थिक प्रगतिविरुद्ध अमेरिकी राष्ट्रवादको नारा लगाइयो ।
हामीले सेतो झन्डालाई पछ्याउन बन्द गर्नुपर्छ, अमेरिकी झन्डा पुनः फहराउनुपर्छ, बदलिनुपर्छ, सङ्घर्ष गर्नुपर्छ र रोजगारी यसै देशमा प्राप्त गर्न सकिने गरी अन्तर्राष्ट्रिय व्यापारमा ‘अमेरिका पहिलो’ बनाउनुपर्छ भन्ने अभिव्यक्ति चुलिइँदै गयो । आज चीनको हकमा पनि ट्रम्पले हिजोकै नीति पछ्याएको देखिन्छ ।
जापानको उदाउँदो अर्थतन्त्रलाई संरा अमेरिकाले प्रमुख चुनौतीका रूपमा हे¥यो । सँगै विश्व बजारमा जापानको औद्योगिक र व्यापारिक प्रभाव उँचो हुँदै गएपछि अमेरिकाले त्यसको प्रतिक्रियास्वरूप रणनीतिक चालबाजी थाल्यो । जापानविरुद्ध संरा अमेरिकाले व्यापार युद्ध छेड्यो । त्यसकारण, सन् १९८० को दशकमा जापान र अमेरिकाबिचको द्विदेशीय सम्बन्ध बिग्रियो । संरा अमेरिकाको व्यापार कानुन १९७५ को ‘खण्ड ३०१’ अनुसार सन् १९८९ मा जापानविरुद्ध जम्मा २४ वटा अनुसन्धानहरू गरिए ।
जापानजस्तो एक महत्वपूर्ण मित्रराष्ट्रविरुद्ध किन ‘खण्ड ३०१’ अनुसन्धान थाल्यो भन्ने प्रश्न विचारणीय रह्यो । जापानलाई व्यापार सम्झौताका लागि वार्तामा ल्याउन ‘खण्ड ३०१’ अनुसन्धान एउटा प्रभावकारी आधार बन्यो संरा अमेरिकाको लागि । जापानविरुद्ध त्यतिबेला ठुल्ठुला आधुनिक बम प्रहार गरिए । प्रजातान्त्रिक पार्टीका तात्कालीन सांसद ज्याक ब्रसले समेत हाकाहाकी बोले, “जापानमाथि चारवटा बम प्रहार गर्नुपथ्र्यो, दुई वटाले पुग्दैन ।”
जापानलाई आर्थिकरूपमा शिथिल बनाउन संरा अमेरिकाले हरसम्भव प्रयत्न गरिरहेको थियो । विशेषतः जापान निर्मित अटोमोबाइल, मोटरसाइकलहरू, सेमिकन्डक्टरहरू र उपभोग्य विद्युतीय सामग्रीहरूमा करको भार थोपरेको थियो ।
ऐतिहासिक तथ्यका अनुसार संरा अमेरिकाले आफ्नै मित्रराष्ट्र जापान (जो १९७० र १९८० को दशकमा एउटा शक्तिशाली आर्थिक शक्ति बनिसकेको थियो) माथि बारम्बार चलाखीपूर्वक ‘सुपर ३०१’ अनुसन्धानको नाममा जापानमाथि दबाब दिई नै रह्यो । जापानको उत्पादन स्याटलाइट, सुपरकम्प्युटर र वनजन्य उत्पादनका उद्योगहरूमा संरक्षणवादी नीति लिएर संरा अमेरिकाले दबायो । ‘खण्ड ३०१’ संरा अमेरिकाको व्यापार नीति हो जसलाई अन्तर्राष्ट्रिय व्यापार असङ्गति, असहमति भेदभावविरुद्ध खडा गर्ने एउटा हतियार बताए पनि अमेरिकाले आफू अनुकूल यसको प्रयोग गर्यो । हालै चीनसँगको व्यापार युद्धमा पनि अमेरिकाले यही नीतिलाई अघि सारेको छ । वास्तवमा ‘सुपर ३०१’ अनुसन्धान विश्व व्यापार बाधा तथा चुनौतीहरूको हल गर्न अघि सारिएको थियो । यद्यपि, संरा अमेरिकाले यसलाई आफू अनुकूल ढाली WTO लाई नै आफ्नो साधन बनायो । जापानको सामग्री बजार मूल्त्न्दा कम मूल्यमा निर्यात गर्न बाध्य बनाइयो । संरा अमेरिकाले निकै दबाब दिएपछि जापानले स्वयम्सेवी निर्यात नियन्त्रणको कार्यक्रम (Voluntary Export Restraint Program) अवलम्बन गर्यो । जापानी मुद्रा येनको अवमूल्यन र सामग्रीको मूल्य अवमूल्यन भएपछि जापानले सो नीति अवलम्बन गरेको थियो । यसले गर्दा अमेरिकी बजारमा जापानको सामान पुग्न सकेन । सन् १९८० को संरा अमेरिकी व्यापार घाटा कम गर्न यसले खासै भूमिका खेलेन, बरु अमेरिकी उद्योगहरूलाई संरक्षण गर्ने होडमा अमेरिकी उपभोक्ताहरूले निकै ठुलो सास्ती बेहोर्नुपर्यो ।
यो व्यापार युद्धले संरा अमेरिका आज मात्र होइन इतिहासमा पनि अन्य देशको आर्थिक प्रगति स्वीकार्न नसक्ने साम्राज्यवादी देश थियो भन्ने पुष्टि गर्छ ।
आज चीनविरुद्ध अमेरिकाले त्यही ब्वाँसो नीति अपनाउँदा इतिहासबारे जानकारहरू आश्चर्यचकित पक्कै छैनन् । चीन संरा अमेरिकाको लागि आर्थिक मात्र नभएर राजनीतिक, संस्थागतरूपमै बलियो प्रतिद्वन्द्वीको रूपमा उभिरहँदा धेरैले आज संरा अमेरिका र जापानबिचको व्यापार युद्धको सम्झना गर्दै छन् ।
५) काठको युद्ध (War of the Woods)
संरा अमेरिका र क्यानाडाबिचको बृहत्तर द्विदेशीय व्यापार सम्बन्धको एक समयमा व्यापक चर्चा थियो । निकै लामो समयसम्म त्यो व्यापार सम्बन्ध सहज र सुमधुर बन्यो । त्यही अवधि बिचमा सन् १९८२ तिर काठको अभाव विश्व बजारमा देखियो । त्यो समयमा संरा अमेरिकामा काठको व्यापार निजी क्षेत्रहरूले गर्यो भने क्यानाडामा प्रान्तीय सरकारले आफ्नो स्वामित्वमा राखेको थियो । काटिएको नरम काठको व्यापारको विषयमा संरा अमेरिका र क्यानाडाबिच विवाद र असमझदारी नराम्ररी चुलियो । क्यानाडाको नरम काठमाथि अमेरिकाले नियन्त्रण गर्न सुरु गर्यो । क्यानाडाको काठको कम मूल्याङ्कन गरी सस्तोमा बेच्नुपर्ने बाध्यता खडा गर्न थालियो । यो विवाद आज पनि अन्त्य भएको छैन ।
६) पास्ता युद्ध (Pasta Spat)
सन् १८८५ मा अमेरिकी रेगन प्रशासनले युरोपबाट आयात गरिने पास्तामा महसुल कर बढायो । संरा अमेरिकाले ऋष्तचगक (खट्टा) फलको उत्पादनमा देखिएको निराशाजनक उपलब्धिका कारण यस व्यापारयुद्धको सुरुआत गरेको विश्लेषण छ । यसको प्रतिवादमा युरोपले पनि संरा अमेरिकी कागती र ओखरमा चर्को कर वृद्धि गर्यो । सन् १९८६ को अगस्टमा दुवै पक्षले ‘साइट्रस’ विवाद अन्त्यको निम्ति सम्झौता पत्रमा हस्ताक्षर गरे र सन् १९८७ को अक्टोबरमा पास्ता स्पाट (Pasta Spat) को नामले चर्चित यस व्यापार युद्धको अन्त्य भयो ।

स्रोत : चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धबारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *