भर्खरै :

एसइई दिने विद्यार्थीका लागि : नेपाली विषयमा सफल हुनका लागि केही टिप्स

एसइई दिने विद्यार्थीका लागि : नेपाली विषयमा सफल हुनका लागि केही टिप्स

१. ‘जोडा मिलाउने’ का लागि पाठका शब्दहरू याद गर्ने ।
२. उपयुक्त शब्द पहिचानका लागि व्याकरण शब्दभण्डार याद गर्नुपर्ने । खाली ठाउँ भर्दा आवश्यक शब्दमात्र नलेखी पूरै वाक्य लेखेर थपिएको शब्दलाई रेखाङ्कन गर्ने । यसमा, सिङ्गो शब्द छान्दा ध्यान पु¥याउने ।
३. ‘वाक्यमा प्रयोग’का लागि केही अनुकरणात्मक शब्द, पारिभाषिक–प्राविधिक शब्द, उखान, टुक्का र निपात याद गर्ने । यसमा पारिभाषिक शब्द छान्दा ध्यान पु¥याउने ।
४. ‘शुद्ध शब्द छान्ने र वाक्यलाई शुद्ध पार्ने’ का लागि व्याकरणको वर्णविन्यास पढ्ने ।
५. ‘शब्द वर्ग/पदवर्ग छुट्याउने’ का लागि व्याकरणको शब्दवर्ग/पदवर्ग पढ्ने । यसमा छ ठाउँमा रेखाङ्कन गरिएको हुन्छ । यीमध्ये एउटा पदवर्ग विचलन भएको दिन्छ । ‘पदवर्ग विचलन’ भनेको एउटा पदवर्गका रूपमा जानिराखेको तर त्यहाँ प्रयोगका कारणले अर्कै पदवर्गका रूपमा रहेको भन्ने बुझ्नुपर्छ । यो विशेषतः “विशेषण : नाम, सर्वनाम : विशेषण, विशेषणः क्रियायोगी” का रूपमा आउँछन् । जस्तै, ‘बूढो मान्छे’ भन्दा यहाँ बूढो विशेषण छ तर ‘यो टोलमा पाँचजना बूढाहरू ९० वर्ष काटेका छन्’ भनियो भने यहाँ ‘बूढाहरू’ नाम हुने भयो । त्यस्तै, ऊ घरभित्र छ । (भित्र : नामयोगी), ऊ भित्र गयो । (भित्र: क्रियायोगी) ।
६. ‘उपसर्ग/प्रत्यय पहिचान गर्ने तथा समास/विग्रह र तिनको निर्माण प्रक्रियासमेत गर्नका लागि दिइएको अनुच्छेद राम्ररी पढेर त्यहीँ खोज्ने । उपसर्ग शब्दको देब्रेपट्टि आउँछ र प्रत्यय दाहिनेपट्टि आउँछ भन्ने कुरा हामीलाई थाहै छ । ‘कतिपय उपसर्गहरू नदेखिने गरी आउँछन् भने प्रत्ययहरू त झन् शब्दमा टाँसिएका हुन्छन्’ भन्ने कुरा ख्याल गर्ने । तिनको निर्माण प्रक्रिया देखाउन पनि गाह्रो छैन । समास गर्दा छरिएका शब्द जोड्ने र विग्रह गर्दा जोडिएका शब्द छुट्याउने हुँदै हो ।
७. कुनै पनि कालको पक्षमा परिवर्तनका लागि, काल र पक्षबारे राम्ररी थाहा पाउने ।
लागेको बानी : सामान्य वर्तमान – ऊ दिनको पाँच गिलास चिया पिउँछ ।
छोडेको बानी : अभ्यस्त भूत – ऊ दिनको पाँच गिलास चिया पिउँथ्यो ।
काम पहिला भएर पछि थाहा पाएको अज्ञात भूत : डाँडामा हिउँ परेछ । (हिउँ राति नै परेको थियो, बिहान हेर्दा थाहा भयो ।)
सबै कालका अपूर्ण पक्षमा तै/दै र पूर्ण पक्षमा एको/एकी/एका आउँछ भन्ने कुरा हामीलाई थाहै छ ।
८. भावका लागि सामान्यार्थ, आज्ञार्थ, इच्छार्थ, सम्भावनार्थ, सङ्केतार्थबारे फेरि एकपटक पढ्ने । कुनै पनि भाव (चार वाक्य) मा बयान गर्दा वाक्यको क्रमबद्धता र शुद्धतामा पनि ध्यान दिऊँ ।
– एउटा लिङ्ग, वचन, पुरुष, आदरमा रहेको वाक्यलाई अर्को लिङ्ग, वचन, पुरुष, आदरमा परिवर्तन गर्न कुनै गाह्रो छैन । यस क्रममा पदसङ्गतिको पनि ख्याल गर्ने ।
९. कोष्ठकमा दिइएका धातु र सङ्केतका आधारमा वाक्य परिवर्तन गर्न वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण/विश्लेषण, प्रत्यक्ष/अप्रत्यक्ष कथनबारे फेरि एकपटक व्याकरणमा पढ्ने । वाच्य, प्रेरणाार्थक, वाक्य संश्लेषण/विश्लेषणमा कालचाहिँ परिवर्तन नगर्ने ।
१०. अनुच्छेद पढेर–
रेखाङ्कन गरिएको वाक्यमा कारक र विभक्ति चिनेर लेख्नुपर्ने, उद्देश्य र विधेय चिन्नुपर्ने, आलङ्कारिक पदक्रम र व्याकरणिक पदक्रममा परिवर्तन गर्नुपर्ने हुन्छ । सरल, मिश्र र संयुक्त वाक्यमा परिवर्तन गर्नुपर्ने पनि हुन्छ । यसबारे हामी जानकार नै छौँ ।
११. पाठ्यपुस्तकमा नभएको अनुच्छेद (अनसिन प्यासेज) दिएको हुन्छ—त्यो पढेर चारओटा प्रश्नको उत्तर दिनुपर्ने । यस्ता प्रश्नको उत्तर लेख्दा अनुच्छेदमा दिइएको कुरा जस्ताको तस्तै नसार्ने । प्रश्न जुन कालमा सोधिएको छ उत्तर पनि त्यही कालमा लेख्ने । कतिपय प्रश्नको उत्तर लेख्दा मौलिक उत्तर लेख्नुपर्ने हुँदा, दिइएको अनुच्छेद राम्ररी बुझेर पढ्ने । प्रश्न कुन क्रियामा टुङ्गिएको छ भन्ने कुरा ख्याल गर्ने ।
१२. बुँदाका आधारमा कथा वा जीवनी लेख्नुपर्नेबाट १ र वादविवाद, मनोवाद र संवादमध्ये १ को उत्तर लेख्नुपर्ने गरी जम्मा दुईओटा प्रश्न सोधिएको हुन्छ । यिनमा पनि एउटा मात्र प्रश्नको उत्तर लेखे पुग्ने भएकोले, कथा वा जीवनी लेख्न जाने हुने भयो । यी दुवैमा शीर्षक लेख्नचाहिँ नबिर्सने ।
१३. कार्यालयीय चिठी/निवेदन/व्यावसायिक चिठी/सम्पादकलाई चिठीमध्येबाट १ र समाचार लेखन/विज्ञापन/निमन्त्रणापत्र लेखन १ गरी दुईओटा प्रश्न सोधिए पनि कुनै १ को मात्र उत्तर लेख्दा हुने भएकोले सोहीअनुसार तयार हुने । चिठी लेख्दा पूरै एक पेज खर्च गरौँ ।
१४. बुँदा टिपोट गर्नुपर्ने र सारांश लेख्नुपर्ने अनुच्छेद पाठ्यपुस्तककै पाठबाट आउँछ । बुँदा टिपोट गर्दा, दिइएको अनुच्छेद राम्ररी पढेर टिप्ने । वाक्य नटुङ्ग्याउने । सारांश लेख्दा वाक्य टुङ्ग्याउने र सुहाउँदो शीर्षक दिन पनि नबिर्सने ।
१५. पाठ्यपुस्तककै कथा वा कविताबाट दिइएको अनुच्छेद पढेर उत्तर दिनुपर्ने प्रश्न (२ ओटा) मा, उत्तर ५/७ वाक्यको मात्र लेख्ने । अनावश्यक लामो र गन्थने उत्तर लेखेर अङ्क नपाइने । साथै उत्तरका लागि त्यही अनुच्छेद सार्नु नहुने । उक्त अनुच्छेद जुन पाठबाट निकालिएको हो, त्यो पाठ राम्ररी बुझेको हुनुपर्ने ।
त्यस्तै निबन्ध, जीवनी वा रुपकबाट सोधिएका प्रश्न (२ ओटा) को उत्तर लेख्दा पनि मूल अनुच्छेद नै सार्ने नगरी प्रश्नले मागेको कुरो मात्र मौलिक शैलीमा लेख्ने । उक्त अंशले दिन सक्ने लाक्षणिक अर्थसमेत ठम्याएर उत्तर लेख्नुपर्ने ।
१६. आफ्नो विचार दिनुपर्ने तार्किक उत्तर लेख्दा, पहिला पाठमा भएको सन्दर्भ लेख्ने । त्यसपछि कल्पना गरेर तार्किकरूपमा आफ्ना विचार लेख्ने । यस्तो उत्तर दुई अनुच्छेदमा हुनुपर्ने ।
१७. भावविस्तार वा व्याख्या दुईओटा (एउटा कविताबाट आउने)– मध्ये एउटा गर्नुपर्छ । यो सामान्यतः तीनओटा अनुच्छेदमा गरिन्छ । उक्त पङ्क्तिले दिने सिधा अर्थभन्दा पनि लाक्षणिक अर्थमा ध्यान दिनुपर्छ । स्मरणीय छ : प्रश्नमा दिइएको अंश सानैपर्छ, सुरुका दुई शब्द र अन्तिमका दुई शब्द भए पनि । त्यो प्रस्तुतै नगरी, ‘प्रस्तुत हरफ’ भन्न मिल्दैन ।
१८. समीक्षात्मक उत्तर लामो हुन्छ । यो लेख्दा तीन खण्डमा लेख्नुपर्छ :
पहिलो अनुच्छेदमा : लेखकको नाम र लेखनको मूल विधाको चिनारी
दोस्रो अनुच्छेदमा : प्रश्नमा केन्द्रित भएर पाठको तर्कपूर्ण विश्लेषण, सम्बन्धित अंशले दिने अनेकौँ अर्थ, प्रेरणा र सन्देशको सामान्य चर्चा
तेस्रो अनुच्छेदमा : कविता भए छन्द र लयको चर्चा, निबन्ध भए विचारको चर्चा, कथा भए सन्देशको चर्चा गर्दै प्रश्नको आशयमा केन्द्रित रहेर उत्तर टुङ्ग्याउने । यस क्रममा प्रश्नको अन्तिम क्रियापदलाई ध्यान दिने ।
१९. निबन्ध लेख्दा उक्त शीर्षकबारे आफूले पहिल्यै जानेको/बुझेको कुरा लेख्ने हो । यसका लागि हामीमा अध्ययनशीलता र लेख्ने अभ्यास पनि भएको हुुनुप¥यो । निबन्ध लेखनमा पनि परिचय खण्ड, व्याख्या खण्ड र निष्कर्ष खण्ड गरी तीन खण्डमा बाँडेर लेख्न सकिन्छ । सोधिएका तीनओटा शीर्षकमध्ये एउटाको मात्र लेखिने र १५० शब्दको मात्र भए पुग्ने ।
– समयको ख्याल गरौँ । सफलताको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *