भर्खरै :

कर्णाली प्रदेश : शिक्षा र एसईई २०८० को एक झलक

कर्णाली प्रदेश : शिक्षा र एसईई २०८० को एक झलक
कर्णाली प्रदेश सभ्यता, भाषा, संस्कृति र ऐतिहासिकताको उद्गमस्थल हो । नेपाली खस भाषा, विभिन्न जातजाति, भाषाभाषीको उद्गमस्थल कर्णाली हो । विश्वमै मानव सभ्यताको विकास तथा ठुला सहरहरूको विकास नदीहरूसँग जोडिएको छ । यथेन्स, मेसोपोटामिनिया, रोमन सभ्यता आदि सबै नदीसँग जोडिएका छन् । त्यस्तै, नेपालको पुरानो खस भाषा, सभ्यता, संस्कृति कर्णालीसँग जोडिएको छ । नेपाली भाषा संस्कृतिको उद्गमस्थल यस प्रदेशको जुम्ला जिल्लाको सिंजामा भएको हो । स्वास्थ्य, विकास, रोजगार तथा समग्र समृद्धिको दृष्टिले पछि भए तापनि प्राकृतिक साधन, स्रोत तथा सम्भावना धेरै राम्रो छ । भौगोलिकरूपमा ठुलो तर शिक्षा, स्वास्थ्य, विकासका पूर्वाधार, जनसङ्ख्या, रोजगार, प्रतिव्यक्ति आय, जनघनत्व आदिको दृष्टिले अन्य प्रदेशभन्दा केही कमजोर रहेको छ ।
नेपालका सातवटा प्रदेशहरूमा भौगोलिक हिसाबले सबैभन्दा ठुलो प्रदेश कर्णाली हो । पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश, उत्तरमा चीनको तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको बिचमा नेपालको कुल क्षेत्रफलको ३१.६ प्रतिशत समेटेको यो प्रदेशको क्षेत्रफल २७,९८४ वर्ग किमि (१०,८०५ वर्ग माइल) रहेको छ । नेपालको सबैभन्दा सुन्दर प्राकृतिक साधन र स्रोतले भरिपूर्ण, जल, जमिन, जङ्गल, जडिबुटीको धनी प्रदेश कर्णाली हो । खनिज तथा प्राकृतिक ग्यासको खानी भएको पर्यटन क्षेत्रमा असीमित सम्भावना बोकेको यस प्रदेशमा दस जिल्ला रहेका छन् । यो प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका गरेर ७९ वटा स्थानीय तहहरूमा ७१८ वटा वडा रहेका छन् । यसैगरी, यहाँ ५४ जातजाति, ३५ भाषाभाषी र १० धर्मावलम्बीको बसोबास रहेको यो प्रदेशको राजधानी वीरेन्द्रनगर हो ।
कर्णाली प्रदेशको शैक्षिक अवस्था
हरेक व्यक्तिको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गरी व्यक्ति, समाज र राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका शिक्षाको हुन्छ । जहाँको शिक्षा राम्रो, स्तरीय र उन्नत, वैज्ञानिक तथा गुणस्तरीय छ, त्यहाँको स्वास्थ्य, कृषि, यातायात, कला, संस्कृति, प्रतिव्यक्ति आय, रोजगारलगायत समग्र पक्ष राम्रो हुन्छ । तर, कर्णाली प्रदेशको शैक्षिक अवस्थामा धेरै सुधारको आवश्यकता रहेको छ र परिवर्तनको पर्खाईमा छ ।
कर्णाली प्रदेशको वर्तमान शैक्षिक स्थिति शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार निम्नानुसार छ :–
शिक्षण संस्थाहरूको विवरण
बालविकास (ECD) सङ्ख्या :– २,७११
समुदाय सिकाइ केन्द्र :– २४१
साधारण स्कूल :– सामुदायिक :– ३,०१३
संस्थागत :– १८६
कक्षा १–१० प्राविधिक स्कूल :– १६
प्राविधिक शिक्षा (TSLC) :– ६७
प्राविधिक शिक्षा (Diploma) :– ११
क्याम्पस÷कलेज :– ५६
मेडिकल कलेज :– १
विश्वविद्यालय :– १
एसईई २०८० मा कर्णाली प्रदेश
२०८० चैत १५ गते बिहीबारदेखि सञ्चालन हुन गइरहेको एसईईमा कर्णाली प्रदेशबाट छात्रतर्फ १७,६२३ र छात्रातर्फ १८,१५९ गरी कुल ३५,७८२ जना विद्यार्थीहरू सहभागी हुने भएका छन् । कर्णाली प्रदेशमा गत वर्ष छात्रछात्रा गरी ३८,९७० जना सहभागी भएका थिए ।
यो वर्षमा सञ्चालन हुन गइरहेको एसईई परिक्षाको जिल्लागत तथ्याङ्क शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार हरेक जिल्लामा गत सालको भन्दा न्यून रहेको देखिन्छ । दसवटा जिल्लामा सबैभन्दा धेरै विद्यार्थी ३३ वटा परीक्षा केन्द्र भएको सुर्खेत जिल्लामा ८३४८ जना छन् भने सबैभन्दा कम विद्यार्थी भएको जिल्ला डोल्पामा ४ वटा परीक्षा केन्द्रमा ७३३ जना विद्यार्थी रहेका छन् । यसैगरी, दैलेखमा २५ परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या ५२५७, सल्यानमा २५ परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या ४५८२, रुकुम पश्चिमा २३ परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या ३५९३, जाजरकोटमा २२ परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या ४६९४, कालीकोटमा २४ परीक्षा केन्द्र र ३७३६ विद्यार्थी सङ्ख्या, मुगुमा ८ परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या १११३ र हुम्लामा ६ परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या ११९५ रहेका छन् ।
कर्णाली प्रदेशका सबै जिल्लामा गत वर्षभन्दा यो वर्ष विद्यार्थी कम किन भए ? एउटा प्रदेशमा एक वर्षमै ३ हजारभन्दा धेरै विद्यार्थी कम हुनु भनेको सोचनीय विषय हो । जनसङ्ख्यामा कमी भयो कि ? आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्यो कि ? मृत्यु दरमा वृद्धि वा जन्मदरमा कमी भयो कि ? पढाइ बिचमै छोड्ने दर बढ्यो कि ? पढाइमा रुचि, चासो र चिन्ता तथा विश्वासमा कमी भयो कि ? शिक्षा व्यावहारिक जीवनसँग मेल खान सकेन कि ? शिक्षाले श्रम, उत्पादन, समृद्धि, खुसी र आनन्दलाई जोड्न सकेन कि ? शिक्षा वैज्ञानिक, मानवीय र दक्षतामुखी हुनसकेन कि ? विश्व परिवेश र परिस्थितिसँग मेल खान सकेन कि ? आदि प्रश्नहरूको उत्तर कसले खोज्ने हो ? यहाँका कैयौँ गाउँहरू खाली छन्, बस्तीहरू सुनसान छन्, खेतीयोग्य जमिनहरू बाँझै छन् । विगतमा हराभरा भएका गाउँ बस्तीमा यातायात, बिजुली, स्वास्थ्य सेवा, शिक्षालगायतका सुविधा पुग्दा पनि गाउँ घरमा किन खुसी, आनन्द सफलता र समृद्धि आउन सकेन । कतै हाम्रो शिक्षाले आत्मनिर्भर र स्वावलम्बी नागरिक बनाउने काम गर्नसकेन कि गम्भीररूपमा सोचेर विकल्पको खोजी गर्नुपर्ने देखिन्छ । गरिबी, कुपोषण, बाल मृत्यु, मातृमृत्यु दर धेरै भएको यस प्रदेशको शिक्षाले आमूल परिवर्तनको प्रतिक्षा गरिरहेको छ । शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्ने शिक्षा नीतिको खाँचो छ । शिक्षाले कृषि, जल, जमिन, जडिबुटी, प्राकृतिक स्रोतसाधन, होटल व्यावसाय तथा पर्यटनलाई उकास्ने हुनुपर्छ । पढ्दै कमाउँदै गर्ने अथवा पढाइ, रोजगारी र आम्दानीलाई सँगै जोडेर अगाडि बढ्नुपर्ने देखिन्छ ।
कर्णाली प्रदेश उद्योगधन्दा, कलकारखाना तथा विकासका पूर्वाधारको हिसाबले धेरै पछाडि छ । यहाँका अधिकांश बासिन्दाहरू गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको व्यावस्थापन गर्न रोजीरोटीको लागि भारत, खाडी मुलुक, कोरिया, अस्ट्रेलिया, जापान, अमेरिका आदि देशमा पुगेका छन् । कृषिको सम्भावना कम भएको यस प्रदेशमा अझै परम्परागत कृषि खेतीले ५/६ महिनासम्मको लागि खाद्यान्न पुग्दैन । कृषिको सम्भावना कम भए पनि यो प्रदेशमा फलफुल खेती, जडिबुटी खेती, जलविद्युत् उत्पादन, खनिज पदार्थको उत्खनन, वन पैदावार, पर्यटन तथा होटल व्यवसायको विकासको सम्भावना धेरै राम्रो छ । यो प्रदेशको बेरोजगारी समस्या समाधान गरी आर्थिक स्तर बढाउन सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले संयुक्तरूपमा एकद्वार पद्धतिमा विकासमा अगाडि बढ्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *