भर्खरै :

“जब चिनी तीतो हुन्छ”

“जब चिनी तीतो हुन्छ”

मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रूपमा खाइन्छ तर त्यो मिठाइमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सरसमेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ । यस्ता मिठाइहरू प्रायः मैदा र चिनीबाट नै बनेका हुन्छन् । मेदा र चिनी दुबैको पौष्टिक तत्व हुँदैन र यिनको धेरै प्रयोगबाट त शरीरमा पौष्टिक तत्वको कमी हुन जान्छ । शरीरमा पौष्टिक तत्वको कमी भएपछि अनेक किसिमका स्वास्थ्य समस्या पैदा हुन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वयस्कले एक दिनमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गर्नसक्छ । तर, वास्तविक जीवनमा त हामीले धेरै नै प्रयोग गरिरहेका हुन्छौँ । उदाहरणको लागि दिनमा तीन कप चिया खाइयो भने एक कप चियामा दुई चम्चा हाले पनि छ चम्चा चिनी त यसै पनि भइहाल्यो । यदि त्यसमाथि मिठाइ पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्वत खाने गरिन्छ । यसरी बनाएका बिस्कुटहरू कस्ता गुणस्तरका हुन्छन् भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन ।
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानिकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिवल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ । आज खाएर भोलि नै केही समस्या नपर्ने हुनाले मानिसहरूलाई यसरी गुलियो धेरै हालेको पदार्थ, नदेखिने हुनाले ढुसी लागेको पदार्थ खाएपछि बिरामी परिन्छ भन्ने पनि थाहा हुँदैन ।
अमेरिकन डायवेटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनीको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायविटिज एसोसिएसन भन्छ, “डायविटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा चिनी र खाना नै हो । शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउँछ ।” सो एसोसिएसनले डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पानी, विनाचिनीको चिया, कफी वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ वा कागती पानी मात्र पिउन सुझाव दिएको छ ।
चिनी सबै चिसो पेयहरूमा पाइने एक प्रमुख तत्व हो । चिनी विभिन्न स्वादहरू मिश्रित तरल पदार्थहरूमा राखिएको हुन्छ । अधिकांश चिसो पेयमा चारदेखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रूपमा चिनी रहेको छ । त्यस्तैगरी, चिनी मानिसहरूमा मधुमेहको र साथै हृदयरोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरूको वृद्धि गर्नका लागि प्रमुख सहयोगीका रूपमा रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रकाशन गरेको बुलेटिनअनुसार चिनी मिसाइएका पेय पदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्ष यताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरू जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको वृद्धिको एउटा मुख्य कारक तत्व यिनै गुलियो पेय पदार्थ भएको पाइएको छ । यसै कारणले गर्दा पनि मेक्सिको चिनीको गुलियो भएका पेय पदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्यवृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो । यसरी कर लगाएपछि पेय पदार्थको खरिदमा छदेखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो ।
अमेरिकाको न्युयोर्क युनिभर्सिटीका अध्ययनकर्ता तथा फुड स्टडी एवं पब्लिक हेल्थका प्रोफेसर नेस्टलेका अनुसार अहिले अत्यन्तै प्रभावकारी मार्केटिङबाट यस्ता पेय पदार्थ किन्न उपभोक्तालाई लोभ्याउने पार्ने गरिन्छ । उत्पादकहरूले अहिले विज्ञापनमा धेरै खर्च गर्छन् । यो पैसा पनि उपभोक्ताले नै तिनुपर्छ । यस्ता खाद्य पदार्थका उत्पादकहरूले अहिले कम र मध्यम स्तरको आम्दानी भएका देशहरूमा यस्ता वस्तुहरूको बिक्री वृद्धि गर्ने लक्ष्य राखेका छन् । किनभने यी देशहरूमा बढी नाफा कमाउन सकिन्छ, विशेषगरी केटाकेटीहरूलाई लोभ्याएर ।
न्युयोर्क सहरमा आधाभन्दा बढी मानिसहरू अत्यधिक मोटो छन् । यसै कारणले न्युयोर्कका मेयरले सन् २०१२ मा त्यहाँ समस्याको रूपमा देखापरेको अत्यधिक मोटोपनलाई घटाउने प्रयासस्वरूप कोकाकोला, चिनी धेरै भएका चिसो पेय पदार्थका ठुला बोतलको सट्टा साना बोतल (४७३ एमएल) मात्र बेच्न पाउने निर्णय गर्न खोजेका थिए । त्यसको उद्देश्य समस्याको रूपमा रहेको ‘अत्यधिक मोटोपन’ लाई घटाउनु नै थियो । तर, न्युयोर्ककै केही बासिन्दाहरूले यसको खुलेर विरोध गरे । हामीलाई जति मन लाग्छ खान्छौँ । चिसो पेय पदार्थ खानु आफ्नो अधिकार भएको भन्दै प्रतिवाद गरे । प्यास लाग्दा चिसो जस्ता पेय वस्तु नै खाने उनीहरूलाई बानी नै परिसकेकोले उनीहरूले चिनी पनि धेरै खान्छन् । कतिपयमा त छोड्नै नसक्ने लत नै बसेको छ ।
गुलियोको कारणले पनि दाँतको पालिस पखालिने अवस्था बन्छ । यी पेय वस्तुबाट दाँतसम्बन्धी विशेषगरी दुई प्रकारका समस्याहरू बढी देखिएका छन् । दाँतमा प्वाल पार्ने र दन्त हर्ष । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरूले बताएका छन् । बट्टामा राखेको फलफुलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफुलको रस किन्नुभन्दा फलफुल नै स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ । चाडपर्वमा चिसो पेय पदार्थ र बट्टाका फलफुलको रसको पनि धेरै नै प्रयोग गरिन्छ बट्टाको फलफुलमा पनि एकदम धेरै नै प्रयोग गरिन्छ । बट्टाको फलफुलमा पनि एकदम धेरै नै चिनी भएको तथ्य छ ।
नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै अर्को पेय वस्तु बजारमा आएको छ, इनर्जी ड्रिङ्क । दसैँ तिहारमा एकदम धेरै मानिसहरूले यो प्रयोग गर्छन् । कतिपयले कोसेली पनि लैजान्छन् । यसलाई यो शक्तिबद्र्धक पेय वस्तुको रूपमा व्यापक प्रचारप्रसार गरिएको छ । युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरू अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापकरूपमा उपभोग गरिरहेका छन् । यसले शरीरमा कति धेरै हानि छ भन्ने कुरा आम उपभोक्ताहरूले बुझेका छैनन् । आम सञ्चार माध्यममा विज्ञापन आइरहेको पनि यस्ता गुलिया पदार्थहरूको बारेमा छलफल हुँदैन ।
यस पेयमा प्रशस्त मात्रामा चिनी हुने भएकोले यसले केही शक्ति दिए जस्तो हुन्छ । थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरूको भनाइ छ । वरिष्ठ बाल रोग विशेषज्ञ डा. विष्णु पण्डितका अनुसार बालबालिकालाई इनर्जी ड्रिङ्कमात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्रान्डका सफ्ट ड्रिङ्क पनि स्वास्थ्यको दृष्टिले राम्रा छैनन् । यस्ता पेय पदार्थका कारण बच्चाहरूमा खाना रुची कम हुन्छ र उनीहरूलाई आधारभूत इनर्जी पुग्दैन । यस्ता हल्का पेय वस्तुहरू खानेहरूमा मोटोपना आउँछ । चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायबिटिजको सम्भावना बढ्छ । यसले बालबालिकामा फोक्सोमा मासु बढ्छ र अनेक समस्या उत्पन्न गराउँछ ।
केही महिनाअघिको कुरा हो, एक आमाले छ वर्षिय छोरा लिएर अस्पताल गइन् । उनले डाक्टरलाई भनिन्, यो दुब्लाएको छ । बारम्बार बिरामी भइरहन्छ । खाना पनि खान मन गर्दैन । बिरामी भनेर स्कूल पनि पठाएको छैन । किन यस्तो भएको होला ? आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता टुकुटुकु गरिरहेको थियो । आमालाई बोल्न नदिने आमाको मुख आफूतिर फर्काउने आदि कोसिस गरिरहेको थियो । डाक्टरले यसले के खान्छ ? भनेर सोधे । आमाले, भात दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन, मिठाइ, चाउचाउ, चकलेट, बरफ चिसो पेय आदि मात्र मन गर्छ भनिन् । भात नखानेलाई यति दिँदा कमसेकम यसले रुचाएका केही खानेकुरा त पर्छ भनेर दिन्छु । चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ?
आमाले थाहा नै नपाइकन बच्चालाई धेरै चिनी भएको वस्तु दिएकी थिइन् । यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएर ख्वाउटे भएको रहेछ । मिठाइ र चिसो पेय मायाको प्रतीक होइन भन्ने कुरा डाक्टरले बुझाएपछि उनी छानाबाट खसेझैँ भइन् । बढी चिनी र पत्रु खानाले पोषणको कमी भएकोले छोरा दुब्लाएको रहेछ भन्ने थाहा पाइन् । बच्चालाई खुवाएको पत्रु फुडले उसको पेट त भरिन्छ तर पोषण पुग्दैन । ‘मिठाइ, चकलेटजस्ता पत्रु खाना खुवाउन छोड्नुस् र घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस् । कुनै औषधि खानु पर्दैन । हरियो तरकारी र फलफुल खुवाउन जोड गर्नुहोस् । सधैँ जङ्क फुड खुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन’ भनेर चिकित्सकले सल्लाह दिए ।
पत्रु खाना बनाउने मिठाइहरू पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन् । बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरा र मिठाइ किनेर खाने चलन छ । यसरी जहाँ पायो त्यही बनाएको, बारम्बार पकाएको तेलमा पकाएको मिठाइले गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने कुरा बुझेर सकेसम्म घरमा नै मिठाइ बनाउन सकियो भने राम्रो हुन्छ । हलुवा, पुरी, सेल, खिर आदि त घरमा पनि सहजसँग बनाउन सकिन्छ । यस्तै खानेकुरामा ध्यान दिनसकेमा निरोगी बन्न सकिन्छ ।
(लेखक पोषणविद् हुनुहुन्छ ।)

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *